English Edition

रास्ट्रिय क्रिकेट टिमका प्रतेक खेलाडीलाई २० हजार देखि ३० हजार सम्मको मासिकपारिश्रमिकको प्रस्ताब : दासानायेके

 एसोसियट राष्ट्रमा नेपाललाई शीर्ष स्थानमा पुर्याउने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले बुधबार नेपाल क्रिकेट संघ (क्यान) लाई आफ्नो दुईवर्षे कार्य योजना बुझाएका छन्। दासानायकेले बुधबार क्यानडा प्रस्थान गर्नुअघि क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) दुबैलाई आफ्नो कार्ययोजना बुझाएका हुन्।
        'नेपाललाई एसोसियट राष्ट्रमा अब्बल बनाउने मेरो लक्ष्य हो। मैले नेपाललाई आगामी विश्वकपमा छनोट गराउनुलाई पनि आफ्नो प्राथमिकतामा राखेको छु', दासानायकेले भने। उनले नेपाललाई टीट्वान्टी राष्ट्रको मान्यता दिन औपचारिक पहलका लागि क्यानले पहल गर्नुपर्ने विषयलाई पनि आफ्नो कार्ययोजनामा समावेश गरेका छन्।

बंगलादेशमा जारी टीट्वान्टी विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानले सोमबार मात्र दासानायकेको कार्यकाल एक वर्ष लम्ब्याएको थियो। त्यसको दुई दिनपछि नै दासानायकेले राखेपका सदस्यसचिव युवराज लामा, क्यानका अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुरेल, क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा लगायतको उपस्थितिमा राखेपको हलमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। उनले क्यानकै सुझावका आगामी दुई वर्षमा क्रिकेटमा गर्नुपर्ने आवश्यक सुधारका विषय समेटेर कार्यक्रम तय गरेका हुन्।

दासानायकेले सन् २०१४ र सन २०१५ का लागि छुट्टाछुट्टै कार्यक्रम प्रस्तुत गरेका छन्। प्रशिक्षक दासानायकेले आफ्नो पहिलो एजेन्डामा राष्ट्रिय क्रिकेटरको मासिक आम्दानीलाई ठाउँ दिएका छन्। उनले राष्ट्रिय टोलीका १८ खेलाडीलाई तीन भागमा विभाजन गरेर उनले कम्तीमा २० हजारदेखि ३० हजार रुपैयाँसम्म मासिक पारिश्रमिकको प्रस्ताव राखेका छन्। हाल राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई क्यानले १०/१० हजार रुपैयाँ मासिक तलब दिँदै आएको छ।

सन् २०१४ को योजनामा एसीसी प्रिमियर कपको उपाधि जित्नु, एसियन गेम्सको फाइनलमा पुग्नु, एसीसी दुई दिवसीय च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्नु र एसीसी टीट्वान्टी छनोट चरणको उपाधि जित्नेलगायतका विषय समेटिएका छन्। एसीसीले इलाइट कपलाई यसपटकदेखि प्रिमियर लिगमा परिवर्तन गरेको छ। मलेसियाको क्वालालम्पुरमा आगामी अप्रिलको अन्त्यमा हुने प्रिमियर लिगमा ६ राष्ट्र सम्मिलित हुनेछन्। शीर्ष चारमा आउने टोलीले वर्षको अन्त्यमा हुने दुईदिवसीय च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी उनको सन् २०१५ को योजनामा विश्व टीट्वान्टी छनोट चरणको फाइनलमा पुग्नु, एसीसीका सबै प्रतियोगिता जित्नु र आइसीसी वल्र्ड क्रिकेट डिभिजन दुईको उपाधि जित्नु लगायतका छन्। उनले डिभिजन दुई नेपालले आयोजन गर्न सके खेलाडी र राष्ट्र दुबैका लागि राम्रो हुने भएकाले त्यसका लागि पहल सुरु गर्न सुझाउ दिएका छन्।

उनले आफ्नो कार्य योजनामा खेलाडी उत्पादन, नेपाली क्रिकेटरलाई विदेशी लिगको अवसर, उमेर समूह र महिला क्रिकेटका लागि छुट्टाछुट्टै योजना बनाएर बुझाएका छन्। क्यानले दासानायकेको एजेन्डालाई बैठकमा प्रस्तुत गरेर सोहीअनुसार अघि बढ्ने निर्णय गर्ने जनाएको छ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment