English Edition

फुटबलको महामेला सुरु:-बिश्वकप फुटबल २०१४

   विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ। जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना कोरिन्थियन्स रंगशालामा बिहीबार राति औपचारिक उद्घाटनसँगै सुरु हुनेछ।

ब्राजिलमा दोस्रोपटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप आयोजना गरेको थियो।

पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता स्पेन, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र जर्मनीलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि रियो दे जेनेरियोस्थित स्टेडियो डो माराकानाबाट बिदा लिनेछ।

रंगशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले विश्वव्यापी आलोचना बेहोरेको ब्राजिलका राष्ट्रपति डिल्मा रौसेफले देश विश्वकप आयोजना गर्न पूर्ण तयार भइसकेको घोषणा गरेकी छन्। केही साताअघिसम्म पनि रंगशाला निर्माणधरि नसकिएको भन्दै फिफाले कामको गति बढाउन आयोजकलाई दबाब दिएको थियो। गत वर्ष अन्तरमहादेशीय कप आयोजनादेखि नै विश्वकपका लागि अर्बौं डलर खर्च गरेर ब्राजिलले शिक्षा, स्वास्थ्य, यातायातलगायत अत्यावश्यक क्षेत्रमा लगानी कटौती गरेको विरोधमा दसौं लाख जनता विश्वकप आयोजनाविरुद्ध् आन्दोलित छन्। ब्राजिलले विश्वकप आयोजनामा ११ अर्ब अमेरिकी डलर खर्च गरेको थियो।

राष्ट्रपति रौसेफले मंगलबार राति पत्रकारसँग ब्राजिलले सबै चुनौती विश्वकपअघि नै पन्छाइसकेको बताइन्। उनले रियोस्थित क्राइस्ट दी रेडेमिर सालिकझैं ब्राजिलले खुला अँगालोसाथ विश्वभरका फुटबल समर्थकलाई विश्वकपमा स्वागत गर्ने बताइन्।

'सके उपाधि घरमै राख्नुपर्छ, तैपनि विश्वकप आयोजना गर्नु पनि मैदान उत्रनुजस्तै हो। हरेक चरणमा हामी आयोजनाका चुनौती भोगिरहेका हुन्छौं, मैदानमा खेलाडीले जस्तै। त्यसैले सफलतापूर्वक आयोजना गर्न सक्नु पनि उपाधि जित्नुजस्तै हो।'

आयोजनाका लागि अर्बौं डलर खर्च गरे पनि त्यहाँको पर्यटन व्यवसाय फस्टाउन, लगानी बढाउन र विश्वकपकै कारण खलबलिएको सामाजिक एकता यही प्रतियोगिताबाट कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। 

सन् २००७ को अक्टोबरमा आयोजनाको जिम्मा पाएयता ब्राजिलको अवस्थामा धेरै प्रश्न उठेका थिए। लगातारका आन्दोलन र विवादले निर्माणमा ढिलाइ हुँदा ब्राजिलमाथिको प्रश्न थप जटिल बनेको थियो। अन्तिम समयमा भने निर्माणका सबै काम जसोतसो पूरा गरेर ब्राजिल विश्वकपका लागि तयार भएको छ। 
माराकाना, एरिना कोरिन्थियन्स, स्टेडियो नेसनललगायत १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना गर्नेछन्। विश्वकप हुने १२ मध्ये सात रंगशाला नयाँ हुन्। पाँच रंगशाला भने मर्मतसम्भार गरेर विश्वकपलाई तयार गरिएको थियो। 
प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर विश्वकपका खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ। विश्वकपका लागि ६ लाख विदेशी पर्यटकले भ्रमण गर्ने र देशले २ करोड ५० लाख डलर आम्दानी गर्ने ब्राजिली पर्यटन प्रशासनले आशा गरेको छ।
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले आउँदो एक महिना विश्वकपका माध्यमबाट फुटबलले सम्पूर्ण विश्वलाई एकताको सूत्रमा गाँस्ने बताएका छन्। 'विश्वभर यो खेललाई माया गर्नेको संख्या अरुभन्दा बढी छ। ब्राजिलमा आउँदो एक महिना इतिहासकै भव्य विश्वकप हुनेमा म विश्वस्त छु। हामी सबै मिलेर यसलाई सफल बनाउनुपर्छ। यो ब्राजिलका लागिमात्र नभई पूरा विश्वका लागि एउटा स्मरणीय विश्वकप हुनेछ,' फिफा कंग्रेस सुरु हुनुअघि ब्लाटरले मंगलबार भनेका थिए।
ब्लाटरले यस्तो बताइरहे पनि एक वर्षअघिदेखि आन्दोलित ब्राजिलमा विदेशी समर्थक र टिमको सुरक्षासँगै चुस्त यातायात व्यवस्था मुख्य चुनौतीका रुपमा तेर्सिएको छ। तथापि ब्राजिलले विश्वकप खेल्न, हेर्न वा यही समयमा घुम्न आउने पाहुनाको सुरक्षा र सुविधाका लागि सबैखाले व्यवस्था मिलाउने बाचा गरेको छ। स्वयं राष्ट्रपति रौसेफले देशका सबै सहरका सुरक्षा प्रमुखहरूलाई कडा सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिइसकेकी छन्। 
   ब्राजिल र क्रोएसियाबीच 
उद्घाटन खेल बिहीबार नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ। खेलअघि चल्ने २५ मिनेटको उद्घाटन समारोहमा पप सुपरस्टार जेनिफर लोपेज, र्यासपर पिटबुल र ब्राजिली गायिका क्लाउडिया लेइटेसँगै ६ सय जिम्न्यास्ट, मार्सल आर्टिस्टलगायत कलाकारको प्रस्तुति रहनेछ। अमेरिकी पप सुपरस्टार जेनिफर लोपेजसहित पिटबुल र लेइटेले गाएको विश्वकपको आधिकारिक गीत (वी आर वान) उद्घाटन समारोहको मुख्य आकर्षण हुनेछ। फिफाले आइतबार लोपेज उद्घाटन समारोहमा उपस्थित नहुने बताए पनि मंगलबार उनी उपलब्ध हुने जनाएको छ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment