English Edition

अब जर्मनीको टिमलाई स्वेन्सटिगरले कप्तानी गर्ने सम्भावना

 

कप्तान फिलिप ल्ह्यामले संन्यास लिएसँगै विश्वकप विजेता जर्मनीलाई अब कसले नेतृत्व गर्छ भन्ने जिज्ञासा बढेको छ। वर्तमान उपकप्तान बास्टियन स्वेन्सटिगरको सम्भावना बलियो छ। प्रशिक्षक जोचिम लोयले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेमा ध्यान दिए थोमस मुलर र मेट्स ह्युमेल्समध्ये एकको सम्भावना बढी रहने जनाइएको छ।

एक साता अघिमात्र जर्मनीलाई विश्वविजेता बनाएर कप्तान र खेलाडी दुवै रूपमा चर्चा पाएका ३० वर्षीय ल्ह्यामले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यासको घोषणा गरेर धेरैलाई आश्चर्यमा पारेका थिए। जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १-० गोलले हराएर २४ वर्षपछि र समग्रमा चौथोपटक विश्व विजेता भएको थियो।


मिडफिल्डर स्वेन्सटिगर यस यात्रामा अभिन्न अंग बनेका थिए। उनको प्रदर्शन उच्च रहेको थियो। ल्ह्याम र स्वेन्सटिगर उमेरले पनि समान खेलाडी थिए। ल्ह्यामपछि टोलीको नेतृत्व गर्ने जिम्मा यिनै मिडफिल्डरले पाउने गरेकाले स्वेन्सटिगर कप्तानको निर्विकल्प दाबेदार रहेको पूर्वकप्तान लोथार म्याथुस बताउँछन्। 'धेरै लामो समयका लागि सोचिरहन पर्दैन। स्वेन्सटिगर टोलीको दोस्रो रोजाइका कप्तान थिए। अब ल्ह्यामले छाडेपछि उनी निर्विकल्प भएका छन्', सन् १९९० को विश्वकप जर्मनीले जित्दा कप्तान रहेका म्याथुस भन्छन्।

आगामी अगस्त १ देखि उमेरले ३० वर्ष टेक्न लागेको स्वेन्सटिगरले जर्मनीका लागि एक सय आठवटा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका थिए। पछिल्ला केही वर्ष उनी चोटग्रस्त भएकाले स्वाभाविक लयमा नदेखिए पनि उनको मेहनत भने कम थिएन। जर्मनीका चर्चित खेलाडी कार्ल हैन्ज रुम्मेनिज ल्ह्यामका उत्तराधिकारी हुन सजिलो नभएको बताउँछन्। 'खेलाडी र कप्तान दुवै जिम्मेवारीमा ल्ह्यामले जसरी आफूलाई प्रस्तुत गरे, ठिक त्यस्तै चरित्र निर्वाह गर्न अन्य खेलाडीलाई सजिलो हुनेछैन। ल्ह्याम एक सामान्य व्यक्तिका रूपमा राम्रा थिए', रुम्मेनिजले भने।

'टोलीमा तिमीलाई सधैं सम्झिरहनेछौं, साथी। तिमीसँग बिताएको समय कहिल्यैं बिर्सने छैन', फिलिपले संन्यास घोषणा गरेपछि स्वेन्सटिगरले ट्विटरमार्फत उनलाई आगामी जीवनको सफलताका लागि शुभकामना दिए। स्वेन्सटिगर र ल्ह्यामले राष्ट्रिय टोलीमा एकै वर्ष डेब्यु गरेका थिए। स्वेन्सटिगरले राष्ट्रिय टिमका लागि एक सय आठ खेलमा २३ गोल गरेका छन्।

प्रशिक्षक लोयले आगामी सेप्टेम्बरमा सुरु हुने युरोकप छनोटअघि नै कप्तानको घोषणा गर्नेछन्। युवा खेलाडीद्वय मुलर र ह्युमेल्सको प्रदर्शन पनि उच्चस्तरको भएकाले लामो समयका लागि नेतृत्व तयार गर्न लोयले कम उमेरका खेलाडीलाई पनि छान्न सक्ने सम्भावना रहेको बताइन्छ। मुलर, स्वेन्सटिगर र ल्ह्याम व्यावसायिक फुटबलमा एउटै क्लब बायर्न म्युनिखबाट खेल्ने गर्छन्।


२० वर्षपछि फिफा वरीयताक्रममा शीर्षस्थानमा पुगेको जर्मनीसामु यसलाई जोगाई राख्नुपर्ने चुनौती छ, तर नेतृत्व परिवर्तनसँगै यो चुनौतीपूर्ण बनेको छ। सन् २०१० को विश्वकप पूर्वसन्ध्यामा प्रशिक्षक लोयले ल्ह्यामलाई कप्तानको जिम्मेवारी दिएका थिए। ल्ह्यामले संन्यासका लागि उपयुक्त समय आएको भन्दै अन्तर्राष्ट्रिय फुटबल नखेल्ने निर्णय गरेका हुन्। सन् २००४ मा उनलाई राष्ट्रिय टिममा डेब्यु गराएका प्रशिक्षक रुडी भोलरले ल्ह्यामले कम्तीमा सन् २०१८ को विश्वकपसम्म टोलीको कप्तानी गर्नुपर्ने बताउनुले पनि ल्ह्याम जर्मनीका लागि कत्ति महत्त्वपूर्ण छन् भन्ने प्रस्ट हुन्छ। -एजेन्सी


    Share on Google Plus

    About Unknown

    We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
      Blogger Comment
      Facebook Comment

    0 comments :

    Post a Comment