English Edition

बिश्वकपमा सर्बाधिक गोलकर्ता बने जर्मनीका मिरोस्लाभ क्लोज

 विश्वकपको मंगलबार राति भएको सेमिफाइनलमा जर्मनीले धेरै पायो, ब्राजिलले भने धेरै गुमायो। जर्मनी ठूलो अन्तरको जितसँगै फाइनलमा त पुग्यो नै, सँगसँगै जर्मनीका भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोसले पनि छुट्टै कीर्तिमान बनाए। उनी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने। ३६ वर्षीय क्लोसले ब्राजिलकै पूर्वखेलाडी रोनाल्डोका नाममा रहेको कीर्तिमानलाई आफ्नो नाममा पारेका हुन्।

ब्राजिलविरुद्ध मंगलबार भएको सेमिफाइनलमा एक गोल गर्दै क्लोसले विश्वकपमा आफ्नो गोलसंख्या १६ पु:याए। ब्राजिल विश्वकप सुरु हुनुअघि क्लोसले विश्वकपमा १४ गोल गरेका थिए। समूहगत चरणको घानाविरुद्धको खेलमा गोल गर्दै उनले रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका थिए। आफ्नो कीर्तिमानको बराबरी गर्नासाथ रोनाल्डोले क्लोसलाई बधाई दिएका थिए।

अन्तर्राष्ट्रिय खेलजीवनको अन्त्यतिर रहेका क्लोसलाई रोनाल्डोको कीर्तिमान तोड्ने यो विश्वकप अन्तिम अवसरका रूपमा थियो। क्वार्टरफाइनलमा फ्रान्ससँग सुरुआती टोलीमा परे पनि उनले गोल गर्न सकेनन्। तर ब्राजिलविरुद्ध उनले २३ औं मिनेटमा गोल गरेपछि रोनाल्डोको कीर्तिमान भंग भयो। टोनी क्रुजको कर्नर पासमा उनले गोल गरेका थिए। क्लोसले आफ्नो उपलब्धि जर्मन टोलीकै सफलताको एक अंश भएको बताए।

संयोग नै मान्नुपर्छ, रोनाल्डोकै कीर्तिमान भंग भएको उक्त खेलमा ब्राजिल ७-१ गोलको लज्जास्पद हार बेहोर्न बाध्य बन्यो। क्लोसले चारवटा विश्वकप संस्करण खेलेका छन्। उनले हरेक विश्वकपमा गोल गर्दै यो सफलता हातपारेका हुन्। यसअघि ब्राजिलका पेले र तत्कालीन पश्चिमजर्मनीका उवे सिलरले मात्र चारवटा विश्वकप खेल्दै हरेकमा गोल गरेका थिए। क्लोसले सन् २००२ र सन् २००६ को विश्वकपमा पाँच/पाँच तथा सन् २०१० को विश्वकपमा चार गोल गरेका थिए। सर्वाधिक गोलकर्ताका रूपमा उनले सन् २००६ को विश्वकपमा गोल्डेन बुट प्राप्त गरेका थिए। क्लोसले विश्वकपमा २३ खेल खेलेका छन्।

विश्वकपमा क्लोजले गोल गरेको खेलमा जर्मनीले पराजय बेहोरेको छैन। क्लोज जर्मनीका सर्वाधिक गोलकर्तासमेत हुन्। उनले राष्ट्रिय टोलीका लागि एक सय ३६ खेलमा ७१ गोल गरेका छन्। जारी विश्वकपअघि खेलिएको अभ्यास खेलमा गोल गर्दै क्लोसले जर्मनीबाट सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडेका थिए। क्लोस अहिले इटालीको सिरि ए क्लब लाजियोमा आबद्ध छन्।

विश्वकपमा क्लोसले बनाएको कीर्तिमान तोड्नसक्ने खेलाडीको सूचीमा सबैभन्दा नजिक जर्मनीकै थोमस मुलर छन्। २४ वर्षीय मुलरले दुईवटा विश्वकपमा ११ गोल गरिसकेका छन्। 'क्लोस अद्भुत खेलाडी हुन्। ब्राजिलसँगै खेलेर कीर्तिमान बनाउनु ठूलो सफलता हो', जर्मनीका प्रशिक्षक जोचिम लोयले भने। -एजेन्सी

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment