English Edition

आज नेपाली क्रिकेट टिमले महत्वपूर्ण खेल्ने,आज केन्यालाई हराउन सके डिभिजन एकमा उक्लने

 
नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला ऐतिहासिक सफलताको सँघारमा छ। नामिबियामा जारी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा शुक्रबार केन्यालाई पराजित गरे नेपाल डिभिजन एकमा पुग्ने छ। केन्यासँग हारे पनि नेपाल अगाडि बढ्ने सम्भावना छ, तर त्यसमा ढुक्क हुने अवस्था भने छैन। 
 
शुक्रबार हुने अन्य खेलमा युगान्डाले नेदरल्यान्ड्सलाई र नामिबियाले क्यानडालाई पराजित गर्न सके केन्यासँग हारे पनि नेपाल अगाडि बढ्ने छ। 
 
तर नेपाल केन्यासँग पराजित भए तथा नेदरल्यान्ड्स र क्यानडाले आ-आफ्ना खेल जिते शीर्ष चार टोलीको समान अंक हुनेछ। यस्तो स्थितिमा डिभिजन एकमा उक्लने टोलीको टुंगो नेट रनरेटका आधारमा लगाइने छ। 
 
एक खेल खेल्न बाँकी रहँदा नेट रनरेटमा नामिबिया पहिलो, नेपाल दोस्रो, क्यानडा तेस्रो र नेदरल्यान्ड्स चौथो स्थानमा छन्। राउन्ड रोबिन लिग चरणको समाप्तिपछि शीर्ष दुई स्थानमा आउने टोली डिभिजन एकमा उक्लने प्रावधान छ। 
 
डिभिजन एकमा उक्लने टोलीले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र चार दिवसीय स्वरूपको इन्टर कन्टिनेन्टल कप खेल्न पाउने छन्। एकदिवसीय विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको बाटो पनि यही हो। 
 
नेपाल हालसम्म डिभिजन एकमा पुग्न सकेको छैन। नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले केन्यासँगको खेल महत्त्वपूर्ण रहेको बताए। 'अन्तिम खेलको नतिजापछि मात्र अगाडि बढ्ने/नबढ्ने निश्चित हुने भएकाले केन्यासँग पनि हामी जितका लागि प्रयास गर्नेछौं', अनलाइन सम्पर्कमा दासानायकेले अन्नपूर्णसँग भने। 
 
 
नेपाल पहिलो खेलमा युगान्डासँग पराजित भए पनि त्यसपछि लगातार तीन खेलमा बलिया प्रतिद्वन्द्वीलाई हराउँदै अगाडि बढ्ने दौडमा फर्किएको हो। नेपाली टोलीले विश्वकप खेलिसकेका नेदरल्यान्ड्स, क्यानडा र नामिबियामाथि ऐतिहासिक जित हात पारेको थियो। 
 
नेपालले जारी प्रतियोगितामा खेलेका सबै चार खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो। त्यसैले राउन्ड रोबिन लिगको अन्तिम खेलमा केन्याविरुद्ध पनि नेपालको बलियो हतियार बलिङ नै बन्ने सम्भावना छ। 
 
बलिङमा नेपालका सोमपाल कामी र करन केसीको प्रारम्भिक जोडीले टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका छन्। तीव्रगतिका बलरद्वय सोमपाल र करन दुवैले आठआठ विकेट लिइसकेका छन्।
 
स्पिनरद्वय वसन्त रेग्मी र शक्ति गौचनसहित मिडियम पेस बलर पारस खड्काले पनि कसिलो बलिङ गरिरहेका छन्। यी तीनैजना खेलाडीले जारी प्रतियोगितामा ६/६ विकेट लिएका छन्। 
 
नेपालको ब्याटिङ भने सन्तोषजनक देखिएको छैन। नेपालले सुरुआत राम्रो गर्न सकिरहेको छैन। कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल भने लयमा देखिएका छन्। पारस जारी प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। 
 
नेपालभन्दा ठिक विपरीत केन्या भने रेलिगेसनबाट जोडिगन संघर्षरत देखिएको छ। केन्याले पछिल्ला तीन संस्करणसहित चारपटक विश्वकपमा सहभागिता जनाएको छ। केन्या हालसम्म डिभिजन तीनमा झरेको छैन।
 
जारी प्रतियोगितामा केन्याको बलिङ त्यति प्रभावी देखिएको छैन। हुनत केन्याका नेल्सन ओडियाम्बो १० विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। उनको बलिङ इकोनोमी ५.१७ रहेको छ। 
 
केन्याका अन्य बलर भने जम्न सकेका छैनन्। केन्याको ब्याटिङ पनि कमजोर देखिएको छ। सुरुका दुई खेलमा पराजित भएको केन्याले युगान्डालाई भने हराएको थियो। 
 
एकदिवसीय क्रिकेटमा केन्या र नेपालबीच प्रतिस्पर्धा नभए पनि यी दुई टोलीबीचको सम्बन्ध भने स्मरणीय छ। 
 
सन् २०१३ मा भएको टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोटमा केन्यालाई नै हराएर नेपालले विश्वकप खेल्ने सम्भावनाको आधार तयार गरेको थियो। त्यतिबेला अन्तिम ओभरका जितका लागि १६ रन आवश्यक हुँदा शरद भेषावकरले नेपाललाई सफलता दिलाएका थिए। 
 
शुक्रबार नै नेदरल्यान्ड्स र युगान्डा तथा नामिबिया र क्यानडाबीच पनि खेल हुनेछ। पहिलो खेलमा नेपाललाई पराजित गरे पनि त्यसपछि लगातार तीन खेलमा पराजित भएको युगान्डा रेलिगेसनमा पर्नबाट जोगिने प्रयासमा छ। 
 
नेदरल्यान्ड्स भने युगान्डामाथि सानदार जित हात पारेर डिभिजन एकमा उक्लने दाउमा हुनेछ। यसैगरी क्यानडाको प्रयास पनि नामिबियालाई हराउँदै अगाडि बढ्ने सम्भावना कायम राख्नु नै हुनेछ। 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment