English Edition

रुपाताल किनारबाट सुरु भयो रोयल हाइक

रुपाताल। फाइल तस्बिररुपाताल। फाइल तस्बिर
रुपाकोट (कास्की)- रुपातालको छेउबाट चिसापानी डाँडा पुग्ने गरी कास्कीको रुपाकोट गाउँमा हाइकिङ रुट पहिचान गरिएको छ। कुनै समय बेलायती राजकुमार चार्ल्सले समेट भ्रमण गरेको पदयात्रामार्गकै खण्डमा पर्ने गरी सुरु हाइकिङ रुटलाई रोयल हाइक नाम दिइएको छ। घुमफिर गर्ने उद्देश्यसहितको एक दिने पैदल यात्रालाई पर्यटनको भाषामा हाइकिङ भन्ने चलन छ।
'पोखरा आएका पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यबाट हाइकिङ रुट सुरु गरेका हौं,' रुपाकोट टुर्स एन्ड ट्राभल्सका सञ्चालक पुष्प अधिकारीले भने, 'यसले रुपाकोट गाउँ र पोखराको पूर्वी भागको पर्यटकीय प्रबर्द्धन गर्नेछ।' गैरआवासीय नेपाली अधिकारीले रुपाकोटमा हालैमात्र ३० करोड रुपैयाँ लगानी गरी रुपाकोट रिसोर्ट सञ्चालनमा ल्याएका छन्। हाइकिङमा जानेलाई उक्त रिसोर्टमा दिउसोको खाना (लन्च) खुवाउने गरी ट्राभल्सले प्याकेज तयार पारेको छ।

काठमाडौंपछि नेपालमै सबैभन्दा धेरै पर्यटक पोखरा आउँछन्। तर, सातवटा ताल भएको सुन्दर नगर लेखनाथसहित कास्को पूर्वी भागमा खासै पर्यटक जाँदैनन्। पोखरा घुमिसकेका पर्यटकलाई अर्को तालनगरीको सौन्दर्य चखाउने उद्देश्यबाट हाइकिङ सुरु गरिएको अधिकारीले बताए। उनका अनुसार पोखराबाट रुपाताल किनारसम्म ल्याउने र फर्कने बेला पोखरै पुर्याङउने गरी हाइकिङको प्याकेज तयार गरिएको छ। पोखराकै सबैभन्दो महँगो रुमरेट रहेको रुपाकोर्ट रिसोर्टको रेस्टुरेन्ट मेनु भने सस्तो गरेर नेपाली पर्यटकलाई पनि रुपाकोट घुम्न आकर्षित पार्ने प्रयास गरिएको छ। विदेशीलाई ६० डलर पर्ने हाइकिङ प्याकेज नेपालीका लागि भने ४ हजार रुपैयाँमा उपलब्ध हुने अधिकारीले जानकारी दिए।

७ किलोमिटरको हाइकिङ रुटमा हिँड्न ५ घन्टा लाग्ने अनुमान गरिएको छ। 'विस्तारैविस्तारै हिँड्ने, यताउता हेर्ने र विश्राम गर्दामात्रै त्यति समय लाग्ला,' शुक्रबार उक्त रुटमा पदयात्रा गरेको मोहन गुरुङले भने, 'म त २ घन्टामै हिँडिसकें।' यो रुटबाट हिमाली र गाउँघरको दृश्य देखिन्छ भने जंगली बाटो यात्राको अनुभव पनि गर्न पाइन्छ। 'ताल र हिमालमात्रै होइन, चराचुरुङ्गी पनि हेर्न पाइन्छ,' अधिकारीले भने। रुटमा भीमसेन डाँडा, किराकोखोर, फालभन्ज्याङ, कोटभैरव मन्दिर र चिसापानी डाँडा पर्छन्। सबैभन्दा अन्तिम टुंगो चिसापानी डाँडा १३ सय मिटर अग्लो छ। सुन्दर र शान्त ठाउँ भएकाले रुपाकोटमा पर्यटकहरु लोभिइरहेको रिसोर्टका महाप्रबन्धक उत्तम चालिसेले बताए।

२०३९ सालमा नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार चार्ल्सले कास्कीको कालिकादेखि माझठाना, बेगनाश, हंसपुर हुँदै रुपाकोटसम्मको पैदल यात्रा गरेका थिए। उक्त मार्गलाई रोयल ट्रेक भनिन्थ्यो। अचेल ती गाउँहरुमा मोटरबाटो पुगेपछि पर्यटकहरु जान छाडेका छन्। वैकल्पिकरुपमा रुपाकोटमा रोयल हाइकिङ सुरु भएपछि अब फेरि पर्यटक कास्कीको पूर्वीगाउँतिर आउने विश्वास पर्यटन व्यवसायीले गरेका छन्। 'रोयल हाइकले रोयल ट्रेकलाई पुनर्जीवन दिन मद्दत गर्छ भन्ने आशा छ,' रुपातालकै दृश्य देखिने ठाउँ पचभैया गाउँमा होटल चलाइरहेका दामोदर थापाले भने।

वार्षिक ३ लाखको संख्यामा पोखरा आउने पर्यटकको सरदर बसाइ साढे २ दिनको छ। यो उपत्यका आउने अधिकांश विदेशी पर्यटकहरु अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने गरेका छन्।
नागरिक न्युजबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment