English Edition

समकालीन कवि प्रवृत्ति : सङ्गीत स्रोता


समालोचना जगतले सबैभन्दा धेरै अक्षर कृति–समीक्षामा खर्चेको हुनुपर्छ । कृतिको जरा गाडिएको समाजतिर धेरै समीक्षक बेमतलबी भएको मैले पाएको छु । ‘फलानो कविताको लयविधान’ वा ‘ढिस्कानो कथामा चरित्रचित्रण’ शीर्षकमा लेखिएका समीक्षाले मेरा सामुन्ने धेरै खेल देखाइसके । कृतिभित्रको प्रवृत्ति निर्धारण गर्ने चलनलाई पनि समीक्षकहरूले लर्को लागेर पछ्याएका छन् । जस्तो– ‘समकालीन कविताका प्रवृत्तिहरू’ वा ‘आधुनिक उपन्यासको प्रवृत्तिगत अध्ययन’ अथवा ‘फलानो कविका काव्यप्रवृत्ति’ यस्तै वा यस्तै–यस्तै ।
यस पङ्क्तिको लेखकलाई लागिरहेको खसखस हो– धेरै समीक्षकहरू किन रचनाकारको जीवन–प्रवृत्ति लेख्दैनन् ? कविताका सन्दर्भमा भन्ने हो भने कवितामा के लेखिएको छ भन्ने आधारमा ‘कविको प्रवृत्ति’ निर्धारण गरिन्छ । यो तरिकामा समीक्षाको सम्पूर्णता हुँदैन । किनभने कविले आफ्नो साँझ–बिहान बाँचेको जिन्दगीको ‘शैलीविज्ञान’ अध्ययन नगरी कवि–प्रवृत्ति तोकिनु वा पाठभित्रको शैली देखाउनु वस्तुगत निष्कर्ष होइन । प्रगतिशील लेखक सङ्घ, पर्वत शाखाले आफ्नो मुखपत्रमा छाप्नका लागि अहिलेका कविताको प्रवृत्तिबारे समीक्षा लेखिदिन अनुरोध ग¥यो । मेरो पालो समीक्षाका सट्टा पाठक–टिप्पणी ठेलिदिएको छु । र, यो टिप्पणीमा केही त्यस्ता फुटकर प्रश्न घानमा हालेको छु, जसमा समकालीन कविहरूको विशेषताबारे मेरो दृष्टि वा आग्रहले निकास खोज्नेछ । मेरो बुझाइमा समकालीन कविताको प्रवृत्ति बुझ्न कवितेहरूको यस्तो प्रवृत्ति बुझ्नैपर्छ ।
विषय वा सन्दर्भले अन्त पनि छिटा हान्यो भने त्यो संयोग मात्रै हुनेछ । खासमा यी प्रश्न प्रगतिशील फाँटकै खड्कुलामा राखेर पकाउन खोजिएको छ । बहसको आगोले काँचाकचिला प्रश्नबाट सैद्धान्तिक खुराक निर्माण ग¥यो भने टिप्पणीकारभित्रको भोको पाठक खुशी हुनेछ ।
पहिलो प्रश्न– पदधारी कविलाई
पद भनेपछि पुच्छर ठड्याएर दगुर्ने र पदमा पुगेपछि फूँफूँ र फाँफाँ गर्ने कवि मित्रहरू प्रगतिशील जगतमा अत्यन्तै व्यस्त हुनुहुन्छ । जो पदमा पुगिसक्नुभएको छ, उहाँहरू पदका पखेटा फिंजाएर पदहीनहरूलाई नृत्य देखाई रहनुभएको छ । पदको मर्यादा पालना गर्दै उहाँहरू पुराना कविता सङ्ग्र्रहबाटै सिलोक सापटी लिएर कवि गोष्ठीमा पुग्नुहुन्छ । पदको प्रतिष्ठा जोगाउन उहाँहरू एउटै सभामा सुरुमा उद्घाटन मन्तव्य दिनुहुन्छ, बीचमा मध्यान्तर मन्तव्य दिनुहुन्छ र अन्त्यमा समापन तथा निष्कर्ष मन्तव्य दिनुहुन्छ । सडकमा नारा लगाउनुपर्ने पदमा पनि दाबी पेश गर्न छाड्नुहुन्न, प्राज्ञिक लाभका पदमा त आफ्नो नाम आफ्नै हातले सिफारिस गर्नुहुन्छ । ‘मान्छे जोगी, सर्वभोगी !’ अर्थात् जोगी वा त्यागीको सम्मान पनि पाउनुपर्ने, सबै स्वाद पनि चाख्नुपर्ने ।
जो पदमा पुगिसक्नुभएको छैन, उहाँहरूका कलिला पखेटाले पनि कुर्चीयात्राको तयारी गरिरहेको देखिन्छ । कसरी केन्द्रीय सदस्यको कार्ड फेला पार्ने ? कुन उपाय गरेर सचिवालयमा उक्लने ? कस्तो विधि पार गरेर पदाधिकारीमा पलेंटी मार्ने ? कुन नीति कार्यान्वयन गरेर प्रमुख अतिथिको कुर्चीमा आसन गर्ने ? कसरी गोष्ठीमा मुख्य वक्ता भएर माइकअगाडि ल्याङल्याङ गर्ने ? बिहान बिसपटक र बेलुका बाइसपटक यिनै बुँदाका दाम्लामा घाँटी घुसार्दै हिंड्ने साथीहरूको मुख्य विधा पनि कवितै हो ।
यसप्रकारका कविमा कसरी राम्रा कविता लेख्ने भन्ने चिन्ता पादटिप्पणीमा पनि पर्दैन । तपाईंहरूलाई ‘पद कवि’ भन्न मिल्छ कि मिल्दैन ?
दोस्रो प्रश्न– गणेश कविलाई
शिव र पार्वतीको पहिचान गरेर आफ्नो पौराणिक कालदेखिको परम्परालाई निरन्तरता दिने कवि मित्रहरूको नै कविताको दुनियाँमा ‘पहिलो पूजा’ हुने गरेको छ ।
तपाईंहरू सम्पादकलाई बेलाबेलामा भेट्नुहुन्छ र उसको प्रशंसा गर्नुहुन्छ । उसको सम्पादकीय वा कुनै पुरानो लेखरचनाको उद्धरण कण्ठस्थ सुनाएर ‘म तपाईंको फ्यान हुँ’ भन्नुहुन्छ । कहिलेकाहीं राति फोन गरेर आधा घण्टा मोबाइल इन्गेज बनाइदिनुहुन्छ । समीक्षकलाई आफ्नो आउँदो किताबका शक्तिबारे चियापसलहरूमा सुनाई रहनुहुन्छ र पुस्तक आउनुअघि नै पत्रकार–समीक्षकलाई एक डोज दारु–पार्टी दिनुहुन्छ । प्रकाशकको फेसबुक स्टाटसमा पहिलो लाइक हान्न अनलाइन बस्नुहुन्छ वा उसको ट्वीटलाई तुरुन्तै रिट्वीट गर्नुहुन्छ । सेलिब्रिटीका पुस्तकबारे पहिलो कमेन्ट ठोक्न प्रतिस्पर्धा गर्नुहुन्छ । आफ्नो आलोचना गर्न सक्ने व्यक्तिलाई चाहिं अनफ्रेन्ड ठोकिदिनुहुन्छ । पुस्तक मेलामा ख्यातिप्राप्त लेखकसँग कुम जोडेर खिचाएको फोटो प्रेमी वा प्रेमिकालाई देखाई हाल्नुहुन्छ ।
नेताजीसँग सके दिनमा एकपटक, नसके सातामा एकपटक भेट्नुहुन्छ । आफ्ना नेताको क्रान्तिकारी शुद्धताबारे ‘अराजक’ लेखकहरूलाई केही थान प्रवचन दिनुहुन्छ । पार्टी अध्यक्ष वा उपाध्यक्षलाई कविता सङ्ग्र्रहको सारगर्भित भूमिका लेखाउनुहुन्छ । विमोचनका लागि पनि ‘श्रद्धेय अध्यक्ष’ नै डाक्नुहुन्छ । महासचिव वा सचिवलाई हस्ताक्षर गरेर पुस्तक उपहार दिनुहुन्छ । पार्टी वा नेताले पत्याएको कवि भइसकेपछि आफ्नो ‘पहिलो पूजा’को स्वयंसिद्ध मान्यतामा टेकेर तपाईं अगुवा वा वरिष्ठ कवि कहलिई हाल्नुहुन्छ ।
यसप्रकारका आदरणीय कविले कवितामा चुम्बकीय झन्झनाहट कसरी पैदा हुन्छ भन्ने प्राविधिक अध्ययनतिर ३० दिने महिनामा एक दिन पनि पूरै दिनुहुन्न । तपाईंहरूलाई ‘श्रीगणेश कवि’ नामले पुकार्दा हुँदैन ?
तेस्रो प्रश्न– जातिवादी कविलाई
ठूलो जात, सत्ताको जात वा शक्तिशाली जातको मुङ्ग्र्रो समातेर दलन–छलनमा पारिएका जातिलाई दमन गरिरहने वा हेलाहोचो गर्नेहरू नै कविताको चौकोमा बसेर जातभातको हिसाबकिताब गरिरहेका छन् । जोसँग घर छ, उसले नयाँ साथीलाई सोध्छ– तपाईंको घर कहाँ हो ? कलेज पढिरहेको युवा, नयाँ भेटिएको युवालाई सोध्छ– तपाईं चाहिं कुन कलेज पढ्नुहुन्छ ? घरबार भएको व्यक्तिले नै दोस्रो व्यक्तिसँग घरबारको सोधखोज गरेझैं आफ्नो जातको चिन्ता गर्नेले नै अरुलाई जातको चिन्ता गरेको आरोप लगाइरहेको छ । यो नेपाली राजनीतिकै समकालीन विशेषता हो । खाइपाई आएका उच्च जातका कविहरू मुक्तिको खाँचो देख्ने कविहरूलाई ‘जातिवादी’ भन्दै गाली गरिरहेका छन् । खासमा सत्ताधारी जातको विशेषाधिकार खोसिएला भनेर तर्सनेहरू नै जातिवादी हुन् । प्रगतिशील फाँटमा पनि उत्पीडित (दलित, मधेसी, जनजाति) परिवारमा जन्मेका अथवा उनीहरूका पक्षमा लेख्ने कविलाई दोयम दर्जाको वा तुच्छ देख्ने दृष्टिकोण बलियै छ, बाँकी नै छ ।

आफ्नै जातमा जन्मेका कविसँग सङ्गत गर्ने, आफ्नै जातका कविको मात्रै प्रशंसा गर्ने । सङ्गठन, कार्यक्रम, प्रकाशनमा आफ्नै जातका कवि समेट्ने । ब्राह्मण वा ठकुरी कविलाई ‘स्यो स्यो’ वा ‘ज्यू ज्यू’ प्रयोग गर्ने, दलित वा जनजातिलाई ‘तँ तिमी’ दिइहाल्ने । खसीको मासु खानुलाई ‘पवित्र’ कार्य ठान्ने, सुँगुर वा गाई खानुलाई ‘पाप’ सम्झिने । ओलन वा अर्ग पिउनेलाई अनुशासित देख्ने, ऐला वा छ्याङ खानेलाई अपराधी सम्झिने । दलित, मधेसी वा जनजातिको छटपटीलाई ‘जातिवाद’ वा ‘विखण्डनवाद’ देख्ने, ब्राह्मण एकतालाई ‘सर्वहारावर्गीय’ चिन्तन भनेर ढाँट्ने । कमरेड किरणलाई दशचोटि पुकार्ने, सुरेश किरणलाई बाल मतलब ! देवकोटालाई देउतै देख्ने, विद्यापतिलाई बाल मतलब !
यसप्रकारका नयाँ कविको जात वा गोत्र सोध्दै हिंड्ने संस्कृतनिष्ठ वरिष्ठतम् कविगणलाई अंशुवर्माकै पालाको ‘परम भट्टारक’ उपाधिसहित जातिवादी कवि भनेर बोलाउँदा कसो होला ?
चौंथो प्रश्न– कुवापन्थी कविलाई
एकबारको जुनीमा जब लाउनखानको दुःख होलो हुन्छ, अनि मनुवाका काँधमाथि नाम कमाउने रहरको घोडाले हट्हट् गर्न थाल्दोरहेछ । समकालीन कविताको स्वाँरामा ‘क्याबात् फलानो कवि’ भन्ने नामको टुसा उमार्ने धोको बोकेर आउनेहरूको चुरीफुरी निकै लयात्मक छ ।
उहिल्यै भानुभक्तले ‘कुवा खनाएर’ नाम कमाएको घाँसीबाट प्रेरणा लिएथे भन्ने किंवदन्ती नेपाली साहित्यमा खुब प्रचलित छ । एकथरी कविहरू आज पनि ‘नाम कमाउने’ धोको बोकेर अनेक धन्दाको ‘घाँस’ काटिरहेका छन् । नामको चिन्ता गर्ने व्यक्ति÷कवि नामकै खातिर अन्तिम युद्धमा जान पनि तयार हुन सक्छ । मिहिनेत, सङ्घर्ष र साधनाबाट मात्रै यो दुनियाँमा नाम नकमिने छाँट देखियो भने ऊ चाकडी, चोरी, षडयन्त्र र खुराफात सबैसबै गर्न सक्छ । परिआए लुटपाट, चोरीचकारी र हत्यासम्म । यपलेले कवि मित्रहरू नामको प्रेतबाट लखेटिएर ज्यानमारा नै बन्ने त होइनन् भन्ने सख काटिरहेको छ ।

जसरी एकथरी कविहरू नामकै लागि ‘फ्यान क्लब’मा लगानी गरिरहेछन्, जसरी एकथरी कविहरू नामकै लागि मर्नुअघि नै ‘स्मृति ग्रन्थ’ लेखाइरहेछन्, जसरी एकथरी कविहरू पुरानो वा वरिष्ठ देखिन जन्ममिति ढाँटिरहेछन्, ‘कुवा खन्ने’ सायद त्यसरी नै हो । दुईजना पत्रकार, दुईजना राजनीतिकर्मी, दुईजना प्रशासक र दुई जना समीक्षकहरूलाई आफ्नो पकडमा राख्नु चर्चित कविमा नाम लेखाउनु हो भन्ने ठान्नेहरू यतिखेर त्यस्तै केही गरिरहेका छन् । एकथरी कविहरू नामका खातिर खुट्टाले हिँडेर सयौं किलोमिटर पर पुगिरहेछन् तर उनीहरूका कविताले पाँच सय मिटर पल्तिरका मान्छेको आँत पनि छुँदैनन् ।
प्रगतिशील कविहरू किचकन्नीमा विश्वास त गर्दैनन् तर केही कवि यस्ता छन्, जो नामकै तिर्सनाले मरेपछि किचकन्नी रूपमा जिउँदा मान्छेलाई तर्साउन आइरहेजस्ता लाग्छन् । नाम कमाउने ‘अतृप्त’ प्यास बोकेर दौडिरहेका यस प्रकारका कविहरूलाई घाँसी किंवदन्तीअनुसार नै कुवापन्थी कवि किन नभन्ने ?
एउटा पुरक प्रश्न–
नेपाली समीक्षा कहिले प्रशंसा–पत्र जस्तो र कहिले भत्र्सना–पत्र जस्तो अनुभूत हुन्छ । साहित्यलाई इतिहास, समाज, राजनीति र अर्थतन्त्रसँग निरपेक्ष रूपमा अलग गरेर पढ्ने परम्पराले यस्ता पूर्वाग्रहहरूलाई जीवित राख्छ । कवितालाई कविले बाँचेको जीवनशैली वा उसले भोगेको समाज–व्यवस्थासँग नजोडी समीक्षा गर्दा त्यसको निष्कर्षले कविताको प्रवृत्तिलाई एकपाखे बनाइदिन्छ वा अर्थले सार्थकता पाउँदैन । तसर्थ कविका सङ्गत र शैलीलाई ख्याल गरेपछि मात्रै समकालीन कविताको प्रवृत्तिको सम्पूर्णतातिर पस्न सकिनेछ ।
प्रश्नहरू ग्याल्ग्याल्ती छन् । यी केही फुटकर प्रश्न मात्रै हुन् । माथि उल्लेखित वैशिष्ट्यको विलोम–प्रवृत्तिबारे यहाँ मुख उक्काइएन । राजधानी सहरभित्र देखिएका कवि–प्रवृत्ति मात्रै सबथोक पनि होइनन् । पर्वत शाखा वा अन्य ठाउँठेगानामा साथीहरूले अर्कै आनीबानी झेलिरहुनभएको होला । यसपलिका लागि अहिले त्यता पस्ने फुर्सद भएन, ऐनमौकामा फेरि छलफल गरौंला । विषय वा सन्दर्भले अन्त पनि छिटा हान्यो भने त्यो संयोग मात्रै हुनेछ । तर, प्रस्तुत लेखमा उठाइएका प्रवृत्तिहरू सत्य घटनामा आधारित हुन् र त्यसभित्रको कतिपय भोक्ता र कर्ता पनि हो । त्यस अर्थमा यस लेखलाई आत्मकथाका आंशिक बाछिटाहरू भन्दा पनि फरक पर्दैन । 
यसमा तपाईंहरूको मतो के छ ?
source - fitkauli,com
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment