English Edition

भारतले के भन्यो कमल थापालाई ?

काठमाडौं । भारतले मधेस आन्दोलनलाई सम्बोधन गरे नाकाबन्दी र आपूर्तिमा भइरहेको अवरोध तत्काल हट्ने आश्वासन दिएको छ।

भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराजले यस्तो आश्वासन दिएकी हुन्।

भेटमा स्वराजले भारतबाट आपूर्तिमा कुनै पनि अवरोध नहुनेमा आश्वस्त पार्दै तर त्यसका लागि नेपालले जतिसक्दो चाँडो नाकाको अवस्था आन्दोलनलाई सामान्य बनाउनुपर्ने बताएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटरमार्फत जानकारी दिएका छन्।

प्रवक्ता स्वरुपका अनुसार भेटमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा भइरहेको राजनीतिक समस्यामा तत्काल समाधान आवश्यक रहेकोमा जोड दिएकी छन्।प्रवक्ता स्वरुपले थापा र सुष्माबीच भएको भेटवार्ताबारे तीनवटा तस्बिरसहित ट्वीटरमार्फत जानकारी दिएका छन्।

मधेसी मोर्चासँग सरकारले निर्णायक वार्ताका लागि तयारी गरिरहेका बेला थापाको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

नयाँ दिल्लिस्थित नेहरु भवनमा भएको भेटवार्तामा आपूर्तिको असहज अवस्था, मधेस आन्दोलन, मधेसी मोर्चसँग भइरहेको वार्ता र संविधान संशोधनलगायतका विषयमा छलफल भएको थापाको सचिवालयले जनाएको छ।

थापाले मधेस समस्यालाई राजनीतिक तहबाट सम्बोधन गर्न सकारात्मक पहल भइरहेको जानकारी दिदै आपूर्तिमा भइरहेको अवरोध हटाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए। उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षीसँगको भेटवार्ता फलदायी र हार्दिक भएको ट्वीटरमार्फत बताएका छन्।

नाकाबन्दीसँगै नेपाल भारतबीच उत्पन्न असमझदारी हटाउनका लागि पहल गर्न थापा भारतको अनौपचारिक भ्रमणमा गएका हुन्। थापा र सुष्माबीचको यो राजनीतिक भेटले मधेसी मोर्चासँगको वार्ताका लागि सकारात्मक सन्देश दिएको बिश्वास गरिएको छ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment