English Edition

जारी बिश्वकपको प्रिक्वाटर फाईनल खेलहरु

  ब्राजिल विश्वकपको समूह चरण सकिएसँगै प्रिक्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्दैछ । पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह ‘ए’ को विजेता हो ।

त्यसैगरी अहिलेसम्म उपाधिको स्वाद लिन नपाएको चिली समूह ‘बी’
को उपविजेता हो । युवा खेलाडी नेमारको चमत्कारले टिकेको ब्राजिलले घरेलु मैदानको फाइदा उठाउने छ । खेल शनिबार राति पौने १० बजे हुनेछ ।

त्यसैगरी आइतबार बिहान पौने २ बजे कोलम्बिया र उरुग्वे भिड्दै छन् । कोलम्बिया समूह ‘सी’ को विजेता हो भने उरुग्वे समूह डी को उपविजेता हो । अहिलेसम्म विश्वकपमा त्यस्तो चमत्कार देखाउन नसकेको कोलम्बिया यसपटक सत्प्रतिशत नतिजा निकाल्दै अगाडि बढेको छ । दुई पटकको विश्वकप विजेता उरुग्वेले गु्रप अफ डेथ पार गर्दै नक आउट चरणमा ठाउँ बनाएको हो ।

आइतबार राति पौने १० बजे समूह ‘बी’ को विजेता नेदरल्याण्ड्सको भिडन्त समूह ‘ए’ को उपविजेता मेक्सिकोसँग हुनेछ । साविक विश्वकप विजेता स्पेन समूह चरणबाटै बाहिरिएपछि उपविजेता नेदरल्याण्ड्स प्रमुख दावेदारमा उभिएको छ । मेक्सिकोले अर्को उपाधि दावेदार आयोजक ब्राजिलसँग सशक्त खेलेसंगै अझै अगाडि बढ्न सक्ने आशालाई जिवित पारेको छ ।

सोमबार बिहान पौने २ बजे कोष्टारिका र ग्रीस भिड्दै छन् । समूह डी बाट अपराजित रहेर शीर्ष स्थानमा रहँदै कोष्टारिकाले नक आउट चरणमा ठाउँ बनाएको हो । अप्रत्याशित परिणाम ल्याएको कोष्टारिकाले पूर्व विजेताहरु ईटाली र उरुग्वेलाई हराउँदा इङ्गल्याण्डसँग बराबरी गरेको थियो ।

इतिहासको हिसाबले जारी विश्वकपकै सर्वाधिक सफल टिम मानिएको कोष्टारिका ग्रीसमाथिसमेत हावी हुने अनुमान फुटबल पण्डितहरुको छ । समूह ‘सी’ को उपविजेता ग्रीसले खासै उल्लेखनीय खेल प्रस्तुत गर्न नसके पनि एक जित, एक बराबरी र एक पराजय भोगेको थियो ।

सोमबार राति पौने १० बजे फ्रान्स र नाइजेरिया भिड्दै छन् । फ्रान्स समूह ईको विजेता हो भने नाइजेरिया समूह एफ्को उपविजेता हो । फ्रान्सको समूहमा उल्लेखनीय प्रदर्शन गर्ने टिम नहुँदा दुई जित र एक बराबरीका साथ समूह विजेता बनेको हो ।

नाइजेरियाले संयमित खेल खेलिरहँदा स्टार खेलाडीहरुले भरिएको फ्रान्सलाई टाउको दुखाई हुनसक्छ । तर विश्वकपको इतिहास हेर्ने हो भने पूर्व विजेता फ्रान्स बलियो मानिन्छ । मंगलबार बिहान पौने २ बजे जर्मनी र अल्जेरिया भिड्ने छ ।

तीन पटकको विश्वकप विजेता जर्मनी समूह जीको विजेता हो भने विश्वकपमा खासै प्रभाव जमाउन नसकेको अल्जेरिया समूह एच्को उपविजेता हो । स्टारहरुले भरिएको उपाधि दावेदार जर्मनी यो खेलमा हावी हुनसक्ने अनुमान गरिएको छ । जर्मनीका लागि कीर्तिमान रच्न आतुर दुई खेलाडी मूख्य निशानामा छन् ।

मिरोस्लाभ क्लोजले एक गोलमात्र गर्न सके सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा आफूलाई पार्नेछन् । त्यसैगरी जारी विश्वकपको पहिलो ह्याट्रिक गर्न सफल थोमस मुलर पनि धेरै गोल गर्ने खेलाडीको दावेदारी दिन चाहन्छन् ।

मंगलबार राति पौने १० बजे अर्जेन्टिनाले स्वीट्जरल्याण्डको सामना गर्दैछ । समूह एफ्को विजेता बन्ने क्रममा अर्जेन्टिनाले सत्प्रतिशत नतिजा निकालेको छ । समूहमा खासै कडा टक्कर दिने टिम नहुँदासमेत खुलेर खेल्न नसकेको अर्जेन्टिनाका लागि लिओनल मेसीमात्र त्यस्ता खेलाडी बनेका छन् जसले हरेक खेलमा गोल गरेका छन् ।

समूहका तीन खेलमा चार गोल गरिसकेका मेसीकै भरोसामा टिकेको पूर्व विजेता अर्जेन्टिना समूह ई को उपविजेता स्वीट्जरल्याण्ड सामु हावी हुने देखिएको छ । तर समूहका इक्वेडर र होन्डुरसमाथि उत्कृष्ट प्रदर्शन गरेको स्वीट्जरल्याण्ड पनि सहजै अर्जेन्टिनालाई खेल सुम्पने पक्षमा देखिएको छैन ।

बुधबार बिहान पौने २ बजेको अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता बेल्जियम र समूह ‘जी’ को उपविजेता अमेरिका भिड्ने छन् । समूह चरणमा सत्प्रतिशत नतिजा निकालेको बेल्जियमले उत्कृष्ट खेल पस्किन सकेको छैन ।

तीन खेलमा चार गोल गरेको बेल्जियमले एक गोलमात्र खाएकाले पनि समूह चरणमा गोल गर र रोक भन्ने रणनीति बनाएको हुनसक्छ । अमेरिका पनि अनुभवी घानालाई हराउँदा पोर्चुगलसंग बराबरी गरेको टिम भएकाले प्रिक्वार्टरफाइनल भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment