English Edition

बिश्वकप फाईनलका हिरो गोट्जे र उनले प्राप्त गरेको कठिन अवस्थाको सफलता


          जर्मनीका मारियो गोट्जेले विश्वकप   फाइनलमा विजयी गोल गर्नुलाई बायर्न म्युनिख सरुवापछिको कठिन पहिलो सिजन बिर्साउने मीठो स्मरणमा बयान गरेका छन्। कलिलो अनुहारका २२ वर्षे फरवार्डले १ सय १३औं मिनेटमा आन्द्रे सुरलको क्रस छातीले नियन्त्रणमा लिएर बायाँ खुट्टाले भलीमार्फत उत्कृष्ट पारामा गोल गरेका थिए। 

'अहिले आफैलाई अपत्यारिलो अनुभव भइरहेको छ,' माराकाना रंगशालामा विजयी गोल ठोकेका गोट्जेले भने, 'के भन्ने मलाई नै थाहा छैन। गोल गरेँ, त्यसपछि के भयो, के भयो। विश्वकप जित्ने पूरा देशको सपना थियो। अझ ब्राजिलमा जित्नुको खास अर्थ रहन्छ।'


अतिरिक्त समय सुरु हुन दुई मिनेट बाँकीमा कीर्तिमानी भेट्रान स्ट्राइकर मिरोक्लाभ क्लोजलाई स्थानान्तरण गर्दै गोट्जे मैदान छिरेका थिए। जर्मनीका लागि ३५औं खेलमा उनको त्यो ११औं गोल हो। अमेरिकी भूमिमा आठौं पटकको प्रयासमा जर्मनीलाई उपाधि जित्ने पहिलो युरोपेली टोली बनाउँदाका नायक फाइनलको म्यान अफ द म्याच भए। 
बायर्नका खेलाडीमा देशलाई उपाधि जिताउनेमा उनी ग्रेड मुलरको समकक्षमा पुगेका छन्। मुलरले १९७४ को विश्वकप फाइनलमा पश्चिम जर्मनीका लागि विजयी गोल गरेका थिए। तर गोट्जे भने पेप ग्वार्डिओलाको स्टार खेलाडीले भरिपूर्ण बायर्नको टोलीमा पहिलो रोजाइका लागि पूरा सिजन संघर्ष गरेर ब्राजिल आएका हुन्।
आठ वर्षको उमेरदेखि आबद्ध बोरुसिया डर्टमन्डबाट दुईपटक जर्मन बुन्डेसलिगा जितेका गोट्जे २०१३ को अप्रिलमा ३ करोड ७० लाख युरोमा बायर्नतिर लागेपछि बोरुसिया समर्थकमाझ निकै अलोकप्रिय छन्। 
बायर्नमा पनि पहिलो सिजनमा नियमित पहिलो रोजाइ नपाएका कारण उनको करिअरले गति लिन सकेको छैन। तथापि उनले टोलीका लागि बितेको सिजनमा १५ गोल गर्नुका साथै १४ गोललाई अवसर मिलाएका थिए। 'बितेको सिजन र यो प्रतियोगिता मेरा लागि सहज थिएन। तर म अहिले आफ्नो परिवार र प्रेमिका (मोडल एन क्याथरिन ब्रोमेल) लाई सफलताको जस दिन चाहन्छु। उनीहरूले ममाथि सधैं विश्वास गरे,' गोट्जेले भने, 'कठिन अवस्थामा आएको सफलताको स्वाद झन विशेष हुँदोरहेछ। अहिले हामी विश्व च्याम्पियन बनेका छौं। अब अझै मिहिनेत गर्न यसले प्रेरणा पनि दिएको छ।'


जर्मनीको जर्सीमा उनी पहिलोपल्ट २०११ अगस्टमा ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमार्फत चम्किएका थिए। जर्मनीले ३–२ को विजय पाएको खेलमा ब्राजिली स्टार नेइमारलाई छायाँमा पार्दै गोट्जेले ६७औं मिनेटमा गोल गरेका थिए। सोमबार फाइनलमा गोल गरेपछि ब्राजिलमा उनको औसत प्रदर्शन छायाँमा पर्योम। सेमिफाइनलमा ब्राजिललाई ७–१ ले हराउँदा उनी बेन्चमा थिए। पोर्चुगलमाथि ४–० को जित पाउँदा उनको प्रदर्शन सामान्य थियो। घानासँग २–२ को बराबरी नतिजा निकाल्दाको अर्को समूह चरण खेलमा जर्मनीलाई पहिलो गोल गरेर अग्रता दिलाएका उनी ६९औं मिनेटमा चोटका कारण मैदान बाहिर निकालिए। अमेरिकालाई १–० ले हराएको समूह चरणको अन्तिम खेलमा पनि प्रशिक्षक जोचिम लोउले अन्तिम १४ मिनेटमात्र उनलाई वैकल्पिक खेलाडीको जर्सीमा मैदान छिराए। अन्तिम १६ मा अतिरिक्त समयसम्म मिहिनेत गर्दै अल्जेरियामाथि २–१ को विजय पाउँदा पहिलो हाफमात्र खेलेका उनी क्वार्टरफाइनलमा फ्रान्सलाई हराउँदा पनि अन्तिम ७ मिनेटमात्र मैदानमा थिए।


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment