English Edition

बिश्वकप फाईनलका हिरो मारिओ गोट्ज़ेको नेपालमा सहयोग

 हालै सम्पन्न विश्वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक 'हिरो' बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालिकाका लागि गरिरहेको लगानीबारे भने धेरैलाई थाहा छैन।

मारियोले तीन महिनायता पश्चिम नेपालका मुक्त कमलरी बालिकालाई पढ्न सहयोग गरिरहेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीलाई पढाउने र सीप सिकाउने प्लान नेपालको परियोजनामा उनले सघाइरहेका छन्।

कमलरीका बारेमा सुनेपछि मारियोले आफू सहयोगका लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए। 'कमलरीको समस्या सुनेपछि उहाँ प्लानमार्फत नेपालमा बालबालिकाका लागि सहयोग गर्न तयार हुनुभएको हो', प्लान नेपालका सञ्चार संयोजक श्रीराम केसीले भने।

प्लान नेपालले सञ्चालन गर्ने परियोजनालाई धेरै जर्मन नागरिकले सहयोग गरिरहेका छन्। जर्मनीमा आयोजित छलफलमा प्लानका अधिकारीले मारियोसहित धेरै सहयोगीसमक्ष कमलरीका समस्या सुनाएका थिए। त्यसैबेला मारियोले सहयोग गर्न इच्छा देखाएका हुन्।

मारियोसहित अन्य जर्मन दाताको सहयोगमा मुक्त कमलरी बालिकालाई स्कुल पठाउने, बढी उमेरकालाई सीप सिकाउने तथा टुहुराका लागि होस्टेलमै राखेर पढाउने कार्यक्रम सञ्चालन गरिएको छ। पाँचवर्षे यो परियोजनामा कमलरीलाई शिक्षा र सीप सिकाउँदै आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

मारियोले भियतनाम, कम्बोडिया र सेनेगलका तीन बालिकालाई आफ्नै खर्चमा पढाउँदै आएका छन्। प्लान इन्टरनेसनल जर्मनीका अनुसार फिलिपिन्स, ब्राजिल र बुक्रिनाफासोका बालिकालाई उनको सहयोग छ। ब्राजिलमा भने बालिकाको फुटबल सीपमा उनले सहयोग पुर्याइरहेका छन्। नेपालबाट सुरु भएको 'चिल्ड्रेन निड फ्रेन्ड' (बालबालिका साथी चाहन्छन्) अभियान संसारका ८२ देशमा छ।

केसीका अनुसार प्लान इन्टरनेसनल जर्मनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँदा बालिकामाथि विभेद देखेपछि यस्तो अभियान संसारभर थालिएको हो। प्लानले त्यही नारालाई आफ्नो आधिकारिक नाराका रूपमा प्रयोग गर्दै आएको छ।

प्लान नेपालका अधिकारीले मारियोले आफ्नो सहयोगका कार्यक्रम हेर्ने इच्छा देखाए तत्काल नेपाल आउने व्यवस्था मिलाउन सकिने बताए। पहिलोपटक विश्वकपमा खेलेका २२ वर्षीय मारियो बायर्न म्युनिख क्लबबाट फुटबल खेल्छन्।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment