English Edition

नेपथ्यको कन्सर्टले तात्यो कोरिया

‘तीन वर्षअघि हामी दक्षिण कोरिया आउँदा यहाँ ६ हजार नेपाली बसोबास गर्थे । आज म सुन्दैछु, यो संख्या २५ हजार पुगिसकेको छ । हाम्रो देशले रोजगारी दिन नसकेकै कारण तपाईहरु यहाँ आइपुग्नुभएको हो । जेजस्तो भए पनि स्वदेशका निम्ति केही योगदान पुर्याउनु हामी सबैको कर्तब्य हो । तन्नेरीवयमै आफ्नो माटो र घरपरिवार छाडेर विदेशिनुपरेका संसारभरका आप्रवासी कामदारहरुलाई म अभिवादन गर्छु । त्यसैले सर्बप्रथम म नै तपाईहरुका निम्ति ताली बजाउँछु ।’
नेपथ्यका अग्र गायक अमृत गुरुङले यति भनेर दर्शकहरुका निम्ति ताली बजाउन थालेपछि सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा जम्मा भएका हजारौं दर्शकले पनि प्रत्युत्तरमा ताली बजाएर स्वागत गरेका थिए । दर्शक घेरामा रहेका कतिपय स्तब्ध थिए भने कतिपयको आँखा टिल्पिल देखिन्थ्यो ।

नेपथ्यले यसअघि पनि दक्षिण कोरियामा सन् २००५ र २०१० मा आफूलाई प्रस्तुत गरिसकेको थियो । तर, यसपटकको प्रस्तुती भने प्राविधिक विशेषतादेखि दर्शकको विशाल उपस्थितीसम्मले गर्दा सर्वाधिक भब्य बन्न पुग्यो ।
‘कार्यक्रममा तीन हजारभन्दा बढी दर्शक आएका थिए,’ आयोजक कमिटिका सदस्य झक थापा भन्छन्, ‘कोरियामा आजसम्मै आयोजित नेपाली कार्यक्रममा यति धेरै दर्शक जम्मा भएको यो पहिलोपटक हो ।’
नेपाली तन्नेरीका निम्ति श्रम गर्न कोरिया धेरै वर्षदेखि महत्वपूर्ण गन्तब्य रहँदै आएको छ । सरकारी तवरबाटै पछिल्लो समय ‘इम्प्लोयमेन्ट पर्मिट सिस्टम’ (इपीएस)को बन्दोबस्त भएपछि त यो संख्या अचानक अकाशिएको छ । गायक अमृतले भनेजस्तै केवल चार वर्षमै यो नेपाली श्रमिकको संख्या यहाँ छ हजारबाट २५ हजार पुगिसकेको छ ।

‘कोरिया आउनु र यहाँको कामको चापमा आफूलाई शारिरिक र मानशिक रुपले अभ्यस्त बनाउनु नेपालीका निम्ति निकै कठिन भए पनि पारिश्रमिक भने आकर्षक हुनेगरेको छ,’ अर्का श्रमिक नविन कला भन्छन्, ‘यहाँ आउने जोसुकैले महिनाको एक लाख रुपैयाँ सजिलै बचाउन सक्छन् जुन नेपालमा बसेको बेला सपना देखेजत्तिकै हो ।’
दुई घन्टा लामो प्रस्तुतीका बेला अमृतले दर्शकलाई उनीहरु जन्मे हुर्केको पहाड पखेरा र बस्तीहरुको रमाइलो यात्रा गराएका थिए । कार्यक्रममा नेपथ्यले संकलन गरेका लोकलयसँगै भिडियो पनि देखाइएको थियो जसमा छाडेर आएका उनीहरुकै बस्ती र समाज अटाएको थियो । पूर्वी नेपालको सम्झना गराउने ‘रेशम’, लाङटाङ भेगमा संकलित ‘भेँडाको ऊनजस्तो’, गण्डकीका सुसेली बोकेको ‘तालको पानी’ र ‘लामपाते सुरती’ देखि पश्चिमी नेपालको ‘सा कर्णाली’सम्म हलमा गुञ्जिँदा दर्शक तालसँगै नाचेका थिए । मुलुकको कुना काप्चामा गीत संकलन गर्दै घुमिहिँड्दा अमृतले ती भेगका सुन्दर दृश्यलाई पनि सँधै आफुसँगै बोकेर ल्याउने गरेका छन् जसलाई उनले रैथाने भाकासँगै मिलाएर प्रस्तुत गर्छन् ।

‘त्यो ‘सालै जो’ भाका मेरै गाउँबाट संकलन गरेको भन्ने सुन्दा जति घत परेको थियो, गीतसँगै गाउँका दृश्य पनि देख्दा झनै आनन्द लाग्यो, ’ पूर्ण राना भनिरहेका थिए, ‘देशको कुना काप्चामा पुगेर त्यहाँको रस ठम्याउने काम सबैले गर्न सक्दैनन् । अमृतदाईको यो गुणले नै नेपथ्यको कन्सर्ट सबैभन्दा विशेष बन्ने गर्छ ।’
कार्यक्रममा ‘रेशम’ र ‘भेँडाको ऊनजस्तो’ले दर्शकलाई सँधैजस्तो यसको मिठासमा बाँधेको थियो भने ‘यो जिन्दगानी’ र ‘यौटा चिठ्ठी’ले भावुक बनाएको थियो । त्यसैगरि ‘गाउँ गाउँ बाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ जस्ता गीतहरुले राष्ट्रप्रेमको भावना पैदागरेको थियो । यसरी यो प्रस्तुती पनि विभिन्न रसका गीतहरुको स्वादलाग्दो मिश्रण बन्नपुगेको थियो ।
‘तपाईहरुका निम्ति छुसोकको एउटा उपहार पनि मैले ल्याएको छु,’ कोरियामा सुरुभएको राष्ट्रिय पर्वलाई उदृत गर्दै अमृतले बीचैमा भने, ‘आजसम्म रेकर्ड नभएको यो एकदम नयाँ गीत पहिलोपटक तपाईहरुका निम्ति गाउँदैछु ।’
त्यसपछि सुरुभए–
‘हो रामा रामा…हो रामा रामा…
है माया हाँसी दिँदा
देब्रे गाला डिम्पल …’
यो अप्रत्याशित उपहार पाएपछि सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा भरिएका तीन हजार दर्शकमध्ये कोहि पनि सिटमा बसिरहन सकेनन् । एक त त्यसै पनि सिंगो कोरिया पर्वको माहोलमा डुबेको बेला यो कुनाले अझ रोमाञ्चकता बढाइदिएको थियो । छुसोकलाई कोरियालीहरु अमेरिकामा ‘थ्यांक्स गिभिङ’ पर्वजस्तै मनाउने गर्छन्, जसमा परिवारका सबै सदस्य जम्मा भएर एकअर्कालाई शुभकामना एवं धन्यवाद आदान प्रदान गर्ने गरिन्छ । यति पर आइपुगेपछि त्यही मौकालाई छोपेर अमृत र उनको नेपथ्य टोलीले समेत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने कोरियावासी नेपालीहरुप्रति धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुबिन, गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए । कोरियास्थित नेपाल मगर संघको आयोजना रहेको यस कार्यक्रमलाई नेपालयले संयोजन गरेको थियो ।नेपथ्यको प्रस्तुति अगाडी डीआइडीका लिटिल कुईन तेरिया फौजा मगरले दर्शकलाई खुब नचाएका थिए I 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment