English Edition

कामदारको एमआरपी बेलैमा बन्न मुस्किल

कामदारको एमआरपी बेलैमा बन्न मुस्किल
काठमाडौं २ चैत ।   विदेशी रोजगारदाता कम्पनीले पासपोर्ट राखिदिएकाले झन्डै डेढ लाख नेपाली कामदारले तोकिएको समयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन नसक्ने अवस्था उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का अनुसार आउँदो २०७२ मंसिर ८ भित्र सबै हस्तलिखित राहदानी विस्थापित गरी एमआरपी बनाइसक्नुपर्ने छ । त्यो समयभित्र एमआरपी नबनाए कामदार कार्यरत मुलुकमै अवैध भई समस्यामा पर्न सक्छन् ।
मलेसियामा करिब एक लाख र साउदी अरबमा ३५ हजारभन्दा बढी कामदार यस्तो समस्यामा पर्न सक्ने सम्बद्ध अधिकारीहरूको आकलन छ । कतार र युनाइटेड अरब इमिरेट्स -यूएई) मा पनि धेरै नेपाली कामदारको पासपोर्ट कम्पनीले नै राखेका छन् । रोजगारदाता कम्पनीले पासपोर्ट राखिदिने र नयाँ बनाउन माग्दासमेत नदिने गरेकाले यस्तो अवस्था आएको हो । अन्यमा काम गर्न जालान् वा भाग्लान् भनेर सबैजसो कम्पनीले कामदारको पासपोर्ट आफैंसँग राख्छन् ।
मलेसिया, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन र यूएईमा रोजगारदाता कम्पनीले नै कामदारको पासपोर्ट राख्दै आएका छन् । तोकिएको समयमा एमआरपी बनाउने नसक्ने अवस्थाबारे सम्बन्धित मुलुकका दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका छन् । कतिपय कम्पनीले एकैपटक सबैको पासपोर्ट बनाइदिने भन्दै आलटाल गर्दै आएको सम्बद्ध मुलुकका दूतावासहरूले जनाएका छन् । कतिपय स्थानमा नेपालीलाई जानकारी नै छैन । कतिपयले चाहेर पनि समयमै पासपोर्ट बनाउन नसकेको दूतावासहरूले मन्त्रालयलाई जानकारी गराएका छन् ।
कतिपय कामदारलाई एमआरपी नबनाउँदा मंसिर ८ पछि समस्यामा पर्छु भन्ने जानकारीसमेत नभएकाले पनि यो अवस्था आएको राहदानी विभागले जनाएको छ । दूतावासलाई सम्बन्धित मुलुकमा व्यापक प्रचारप्रसार गर्ने र कम्पनीहरूमा फोन नै गरेर त्यहाँ रहेका नेपाली कामदारको पासपोर्ट बनाइदिन आग्रह गर्ने विभागले जनाएको छ ।
दूतावासले करारमा राखेका कर्मचारीको पारिश्रमिक आठ महिनादेखि निकासा नभएपछि त्यसबारे जानकारी लिन काठमाडौं आएका साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरसँग भने, ‘एमआरपी बनाउन दूतावासको तर्फबाट विभिन्न प्रयास भइरहेको छ । कम्पनीहरूमा सम्पर्क गरेर पनि आग्रह गरेका छौं । तर पनि कम्पनी र नेपाली स्वयंलाई पनि पासपोर्ट तत्काल बनाउन पर्छ भन्ने नलागेकै कारण सहज हुन सकेको छैन ।’
साउदीस्थित नेपाली दूतावासबाट करिब ८० हजार एमआरपी वितरण गरिसकेको र अबको आठ महिनामा यो कार्य थप तीव्र बनाउनुपर्ने उनले बताए । कम्पनीले पासपोर्ट निन्त्रणमा राखिदिने भएकाले कामदारले चाहेर पनि एमआरपी बनाउन नसकेको उनले बताए । मलेसियास्थित नेपाली दूतावासले पनि बिदाको दिन कार्यस्थलमा पुग्ने र कम्पनीमा फोन गरेर पासपोर्ट बनाइदिन आग्रह गर्दै आएको राजदूत निरन्जनमान सिंह बस्न्यातले बताए । जोहोरबारुको सम्पर्क कार्यालय र पेनाङमा रहेको अवैतनिक दूतावासमा पनि संकलन कार्य भइरहेको उनले जानकारी दिए ।
नेपालीहरू कार्यरत कम्पनीमा नै पुगेर पासपोर्ट आवेदन भरिदिन फागुन २१ मा एक टोली कतार गएको छ । उक्त टोलीले आधा दर्जन कम्पनीहरूमा गएर राहदानीको फारम भराएका छन् । नेपाली कामदारका लागि यस्तो टोली पहिलो पटक गएको हो । एक शाखा अधिकृत र नायब सुब्बाको टोली दूतावासभन्दा टाढा-टाढा क्षेत्रमा गएर आवेदन संकलन गर्ने र नेपाल पठाउने काममा लागेको विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।
‘मलेसिया, यूएई र साउदी पनि छिट्टै पठाउने तयारीमा छौं,’ उनले भने । दूतावासले पनि आफ्नो तबरबाट बिदाको दिन पारेर विभिन्न कम्पनीमा पुगेर आवेदन फारम संकलन गर्दै आएको छ ।
राहदानी विभागले आगामी ८ महिनाभित्र सबै हस्तलिखित राहदानी विस्थापित गरिसक्ने बताएको छ । चार वर्षमा ३२ लाख एमआरपी जारी गरिसकेको विभागले आगामी ८ महिनामा १० लाखभन्दा बढी एमआरपी जारी गर्दा हस्तलिखित विस्थापित भइसक्ने हुनाले आवेदन आए विस्थापित गर्न समस्या नहुने थापाले बताए । पछिल्लो समय दैनिक प्ााँच हजारभन्दा बढी एमआरपी तयार हुने गरेको जानकारी दिँदै उनले विदेशबाट नेपाल बिदामा आउने धेरैले एमआरपी बनाइसकेको जनाए ।
२०७२ मंसिर ८ भित्र हस्तलिखित राहदानी विस्थापित गर्नुपर्ने भएकाले त्यहीअनुरूपका कामहरू अघि बढेको उनले बताए । कान्तिपुरबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment