त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी राष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ। बिहिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले क्षेत्र नम्बर ५ नेपालगन्जलाई ६० रनले पराजित गर्यो।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालगन्जले आर्मीलाई ४३ औँ ओभरमा अलआउट गरे पनि १ सय ७२ रनको लक्ष्य भेट्टाउन सकेन। आर्मीको कसिलो बलिङसामू नेपालगन्ज ३१ औँ ओभरमा १ सय ११ रन जोड्दै आउट भयो। नेपालगन्जलाई थोरैमा समेट्ने क्रममा आर्मीका सुमन गौतमले चार तथा राहुल विश्वकर्माले तीन विकेट लिए । महत्त्वपूर्ण २२ रनसमेत बनाएका विश्वकर्मा म्यान अफ द म्याच भए।
बिहिबारै भएको अर्को खेलमा वीरगन्जले विराटनगरलाई तीन विकेटले हरायो। पुल्चोक इन्जिनियरिङ कलेज मैदानमा भएको खेलमा विराटनगरले प्रस्तुत गरेको १ सय ७१ रनको लक्ष्य वीरगन्जले ७ विकेटको क्षतिमा पूरा गरेको थियो।
विराटनगरका मेहबुब आलमले अर्धशतक प्रहार गरे पनि खेल जिताउन सकेनन् । विराटनगरको पूरै टोली ३२ ओभरमै अलआउट भयो। आलमबाहेक सिद्धान्त लोहनीले ३४ तथा सन्नी पुनले २७ रन बनाएका थिए। वीरगन्जका लागि अमित श्रेष्ठले ३१, अनिल साहले ३० र सुरजप्रसाद कुर्मीले २९ रन जोडेका थिए।
आजको खेलपछि समूह ए मा त्रिभुवन आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ भने ४ अंकसहित वीरगन्ज तेस्रो स्थानमा उक्लिएको छ। समान चार अंकभएको नेपालगन्ज दोस्रो स्थानमा छ।
0 comments :
Post a Comment