English Edition

बाबुरामको भारत भ्रमण : एक टिप्पणी

विष्णु रिजाल
बाबुराम भट्टराईलाई भारत पुग्दा धेरै दिनपछि माइती फर्केकी चेलीलाई जस्तो अनुभूति हुने गर्दोरहेछ भन्ने उनको हाउभाउ र व्यवहारले देखाउँछ । सामाजिक सञ्जालमा उनी स्वयमले सार्वजनिक गरेका तस्वीरहरुले उनी दिल्ली पुग्दा कति प्रफुल्लित हुँदारहेछन् भन्ने देखाएको छ ।
विष्णु रिजाल
विष्णु रिजाल
वास्तवमा अरु कुनै नेपाली नेताभन्दा डा. भट्टराईको जीवनकथा दिल्लीसँग अन्योन्याश्रित रुपमा जोडिएको छ । उनले उच्च शिक्षा भारतमै हासिल गरे, पीएचडी जवाहरलाल नेहरु विश्वविद्यालयबाट हासिल गरे । उनको राजनीतिक जीवनको सुरुआत पनि भारतीय भूमिबाटै भयो, विद्यार्थी संगठनमार्फत । त्यति मात्र होइन, व्यक्तिगत जीवनमा हालकी पत्नी हिसिला यमीलाई पनि उनले जेएनयुकै परिसरमा भेटाए ।
कुनै संयोग होइन, दिल्लीप्रति उनको मोह कति छ भन्ने कुरा उनले आफ्नी छोरी मानुषीलाई पीएचडी गर्नका लागि दूताबासमार्फत जेएनयुमै छात्रवृत्ति दिलाउनुले पनि देखाउँछ ।
पुरानो छात्राबास, पुरानो चिया पसल, पुरानो ढावा पसल र पुराना गुरुहरुलाई सम्झेर नोस्टाल्जिक हुँदै डा. बाबुराम भट्टराईले भारतीय मित्रहरुलाई एउटा आत्मीय सन्देश दिन खोजेका छन्- ‘म अरुभन्दा फरक छु, म अरुभन्दा निकट छु ।’
सँगै गएका आफ्नै पार्टीका महासचिव कृष्णबहादुर महरालाई फिर्ता पठाएर डा. भट्टराईले दिल्लीमा गरेका भेटहरुबाट उनले भारतीय पक्षको विश्वास जित्न कुनै कसर बाँकी राखेका छैनन् । कोसिसका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसके पनि त्यसबाहेक भट्टराईले भारतीय राजनीति र जनमत निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई भेटेका छन् ।
खासगरी, भारतसँगको उनको लामो मित्रता, उठबस र विश्वासका कारण पदमा नभएका कुनै नेताले दिल्लीमा पाउनेभन्दा न्यानो आतिथ्य डा. भट्टराईले पाएका छन् ।
विदेशका राष्ट्रपति वा प्रधानमन्त्री आउँदा विरलै देखिने जमघट इन्डियन इन्टरनेसनल सेन्टर (आइआइसी) मा देखिएको छ भने त्यसभन्दा बढी नेपाली प्रधानमन्त्रीको भ्रमणलाई समेत निकै कम महत्व दिने भारतीय मूलधारका समाचारपत्रहरुमा उनको कभरेज देखिएको छ । हिन्दुस्तान टाइम्स, द हिन्दु, फाइनान्सियल टाइम्स जस्ता नाम चलेका पत्रिकाहरुले डा. भट्टराईका विचारलाई प्राथमिकताका साथ स्थान दिएर नेपालको राजनीतिमा भारतीय रोजाइको सार्वजनिक सूचना सम्प्रेषण गरेका छन् ।
Pranab-Mukharji-and-Baburam
  • भारतीय राष्ट्रपति प्रणव मुखर्जीका साथ डा. बाबुराम भट्टराई । तस्वीर : भट्टराईको फेसबुक
बाबुराम भट्टराई अपवाद होइनन्, उनले अतिरिक्त मिहेनत मात्र गरेका हुन् । नेपालको राजनीतिमा पकड कायम गर्नका लागि भारतीय पक्षसँग न्यानो सम्बन्ध राख्ने प्रयत्नबाट नेपालका कुनै पनि नेता मुक्त छैनन् । फरक यति हो- कसैले त्यसलाई अलि राजनीतिक तहमा विकास गरेका छन् । नत्र भने भारतीय कर्मचारीतन्त्रदेखि खुफिया एजेन्सीसम्म याचनाको हात बढाउने उपक्रम चल्न थालेको अहिले होइन ।
कुनैबेला नेपालको मन्त्रिपरिषद् बैठकमै आफ्नो राजदूतलाई राख्ने भारतले आज त्यसका लागि आफ्नै देशको नागरिकताधारी मानिस राख्न आवश्यक पर्दैन । उसलाई चाहिएको सूचना टक्र्याउन हाम्रो कर्मचारीतन्त्रदेखि राजनीतिक वृत्तसम्म प्रतिस्पर्धामा छ ।
यस्तो बेलामा डा. बाबुराम भट्टराईले भारतले गएर केके नै गरे भनिरहनु पर्दैन । विगतदेखि नै भारतसँगको सम्बन्धलाई लिएर पार्टीभित्र समेत आलोचित र आरोपित भट्टराईका भारतमा थुप्रै मित्र छन् । भारतीय खुफियातन्त्रमा विशेष अर्थ राख्ने प्राध्यापक एसडी मुनिदेखि १२ बुँदेका आर्किटेक्ट मानिने श्यामशरण र गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ) का पूर्व प्रमुख पीके हर्मिज जस्ता व्यक्तिगत मित्र बनाउन अरु नेपाली नेताले सकेका छैनन् ।
‘भारतका खास इच्छाहरुका विरुद्ध काम गर्ने छैनौँ’ भनेर यिनी मित्रहरुको सहयोगमा एमाओवादीले सन् २००४ मै आन्तरिक गुप्तचर संस्था (आइबी) मार्फत अटलविहारी बाजपेयी प्रधानमन्त्री हुँदा कबुलियतनामा गरेको खुलासा त उनै मुनीले ‘नेपाल इन ट्रान्जिसन’ पुस्तकमा राम्रैसँग गरिसकेका छन् ।
माओवादी आन्दोलनको उद्भव र विकाससँग जोडिएका तथ्यहरु यति खुल्ला हुँदाहुँदै डा. बाबुराम भट्टराईलाई मात्र दोष दिनु न्यायोचित नहोला ।
नेपालमा दलहरुका बीचमा मतभेद छन् । यही कारणले यिनीहरु एकअर्काको आलोचना पनि गर्छन् । स्वयम् भारतमा मात्र होइन, अरु विकसित देशहरुमा पनि एक दलले अर्को दलको आलोचना, खण्डन र प्रतिवाद गर्ने कुरा स्वाभाविक हुन्छ । नेपालमा पनि त्यो भइरहेको छ । दलका नेताहरुले एउटाका विरुद्ध अर्काले चर्को आलोचना र टिप्पणीहरु गरिरहेका छन् । कतिपय अराजनीतिक हर्कत पनि उनीहरुबाट भइरहेका छन् । त्यस पंक्तिमा भट्टराई अझ अगाडि छन् । यसलाई कसैले अन्यथा पनि मानेको छैन ।
तर, दिल्ली पुगेर दायाँ एसडी मुनी र बायाँ श्यामशरणलाई राखेर डा. भट्टराईले जसरी नेपालका राजनीतिक दलहरुको सत्तोसराप गरेका छन्, त्यो विल्कुल अशोभनीय मात्र होइन, आपत्तिजनक पनि छ । अझ कांग्रेस र एमालेका नेताहरुको नामै किटेर उनले गरेको वक्तव्यवाजी भारतीय पक्षलाई खुसी पार्ने र आफू मात्रै उनीहरुको सच्चा हितचिन्तक हुँ भनेर पुष्टि गर्ने कोशिस बाहेक केही होइन ।
देशको आन्तरिक मामिलामा भारतीय पक्षलाई जबर्जस्त ल्याउने र थप विवादित बनाउने कोशिस देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले गरेका छन्, जुन एउटा स्वतन्त्र र सार्वभौम मुलुकका लागि लाजमर्दो कुरा होे ।
डा. भट्टराईले आफ्ना वक्तव्यहरुमा भारतलाई त्यसरी खुल्ला रुपमा आमन्त्रण गर्नुका पछाडि ऊ शान्ति प्रक्रियाको ‘मुख्य हिस्सेदार’ भएको दलील पेस गरेका छन् । यदि सत्य त्यही हो भने समग्र माओवादी आन्दोलन, त्यसको उद्देश्य, सञ्चालन र योजनाकै बारेमा पुनःव्याख्या हुन जरुरी छ । १२ बुँदे सम्झौता सात दल र माओवादीबीच भएको थियो । आन्दोलन नेपालमा भएको थियो । संविधानसभाको निर्वाचन नेपालमा भएको थियो । अनि भारत त्यसको मुख्य हिस्सेदार कसरी हुन सक्छ ? होला, भारतले सद्भाव राखेको छ, १२ बुँदे सहमति गर्नका लागि सहज वातावरण बनाइदिएको छ । यही आधारमा उसलाई मुख्य हिस्सेदारी दिने हो भने यहाँका राजनीतिक नेताहरुको स्थान के हुन्छ ?
बाबुराम एक्ला होइनन्
भारतको विश्वास जित्नका लागि कोसिस गर्ने र उसलाई खुसी पार्न न्वारानदेखिको बल लगाउने बाबुराम भट्टराई एक्ला नेता होइनन् । अरु नेताहरु पनि यस्तो मौका आयो भने छुटाउँदैनन् । भारतबाट कोही एउटा मध्यम तहको नेता त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा र्झन पाएको हुँदैन, दर्शनाभिलासीबीच उछिनापाछिन सुरु भइहाल्छ । पशुपतिनाथको दर्शन गर्न आएको कुनै भारतीय अधिकारीलाई नेपाली नेता भेटेर फुर्सत हुँदैन ।
नेताहरुको व्यवस्थापनदेखि उपचारसम्मको जोहो मिलाउँदा भारत पनि सम्भवतः हैरान होला । यस्तो बेलामा कुनै मुुलुकलाई दोष दिनुभन्दा हाम्रा नेताहरुतिरै औंला ठड्याउनुपर्छः आफ्नो संकट टार्न दिल्ली दौडेर देशलाई थप संकटमा नपार्नुहोस् ।
त्यसबाट तपाईंलाई त फाइदा होला, देशलाई फाइदा हुँदैन र स्वयम् दिल्लीलाई पनि सानातिना नेताका स्वार्थमा सहयोग बन्दा दीर्घकालमा फाइदा हुँदैन ।
एमाओवादीले बेलाबेलामा भिर्ने गरेको राष्टवादको मखुण्डो डा. बाबुराम भट्टराईको यसपटकको दिल्ली भ्रमणले नराम्ररी ध्वस्त बनाएको छ । खासगरी, नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपका लागि उनले गरेको खुल्ला र गोप्य आमन्त्रणले प्रत्येक देशभक्त नागरिकलाई झस्काएको हुनुपर्छ । यसबाट भावी दिनमा अझ चर्को स्वरमा भारतको दलाली गर्ने र उसको विश्वास जित्नका लागि अझ बढी चाकरी  गर्ने प्रवृत्ति देखा पर्न सक्छ ।
Source: Online Khabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment