English Edition

हँसाउँछन् केजरीवाल पनि ! : लक्ष्मण गाम्नागे


अलि अस्तिको कुरा हो । अरविन्द केजरीवाल भन्ने नेताले दिल्लीलाई मात्र होइन, काठमाडौँलाई पनि हँसाए । चुनावमा नयाँ दिल्लीलाई पूर्ण रूपमा कब्जा गर्दा पनि उनी रामलीला मैदानमा विपक्षीविरुद्ध डुक्रिएनन्, बुरुक बुरुक उफ्रिएनन् । धोती खोलेर नाचेनन् । मैले यत्रो ठूलो सफलता हात पारेँ, म अब प्रधानमन्त्री हुन्छु भनेर कुर्लिएनन् । अर्को चुनावमा कांग्रेस र भाजपालाई बढारेर हिन्द महासागरमा डुबाइदिन्छु भन्ने घोषणा गरेनन् ।
केजरीवालले मजैले हँसाएछन् । उनले दक्षिण एसियाकै नेताका रूपमा सुनामीजस्तो अघि बढेका प्रधानमन्त्री मोदीको पार्टीलाई दिल्लीमा धूलो चटाउँदा पनि आफूलाई एकदमै सानो मान्छे भनेर भाषण गरे अरे ! अर्को चुनावमा मोदीले मुलुकभरिबाट चार सिट पनि ल्याउँदैन भनेर मञ्चबाट मुट्ठी बटार्दै उफ्रिएको भए आपका कार्यकर्ताले कति मिनेटसम्म लगातार ताली बजाउँथे होलान् । कति चर्को सिटी फुक्थे होलान् । उल्टै उनले त आउँदो चुनावमा दिल्लीबाहेक अन्त गएर चुनाव उठ्छु भनेर हतारको अभिव्यक्ति दिने आफ्ना पार्टीका नेताहरूलाई हप्काएछन् पो ! पाँच वर्षलाई जनताले दिल्लीमा मात्र काम गर्न खटाएका हुन्, भारत नै जिम्मा दिएका होइनन् भनेर लुते कुरा गरेछन् ।
केजरीवाल हँसाइरहँदा रहेछन् । उनी दिल्लीका सडकमा निस्कँदा कालो सिसावाला गाडीमा चढेर घन्टौँसम्म सडक अवरुद्ध गर्दै नदौडिने रे ! 'भीआईपी' संस्कृतिका विरोधी रे उनी ।
मन्त्रिमण्डल गठन गर्दा दुई-चारवटा मन्त्रालय आफूसँग राखेर पछि काका, मामा, जेठान, ससुरा, हारेका कार्यकर्ता, चुनावमा चन्दा दिने व्यापारी, विदेश घुमाउने र हेलिकप्टर सयर गराउने तस्कर आदिलाई मन्त्री बनाउनुपर्नेमा एउटा पनि मन्त्रालय आफूसँग नराखेर पनि उस्तै हँसाएछन् ।
९६ प्रतिशत सिट जितेपछि नियमानुसार त विपक्षी दलका नेतालाई हरुवा छेरुवा भनेर सत्तोसराप गर्नुपर्ने हो । तर, उनले त विपक्षी दलकी किरण वेदीलाई ठूलो सम्मान गर्ने र उनको मार्गदर्शन लिने पो बताएछन् । आफ्ना नेता-कार्यकर्तालाई अहंकार नगर्नू पनि भनेछन् । उसो भए मानिसमा अहंकार, उन्माद, घमन्ड भन्ने भाव भगवान्ले कहिलेका लागि उब्जाइदिएका हुन् त भन्ने प्रश्न नेपाली नेताका तर्फबाट उनलाई सोध्न पाए उनी क्या नाजवाफ हुन्थे होलान् ! अहंकार गर्योल भने अर्कोपल्ट ध्वस्त होइन्छ भनेर यिनले मोदीलाई सिकाएका हुन् कि हाम्रा नेतालाई ?
यिनले मेरो शक्ति, सामथ्र्य, परिश्रम र चमत्कारले यति ठूलो विजय प्राप्त गरेँ भन्नुपर्नेमा त्यो पनि भनेनछन् । 'मैले गरेँ', 'मैले भनेँ', 'मैले गर्दा', 'म' भनेर ढुस्स फुल्नुपर्नेमा यो सफलता हाम्रो मिहिनेतले मात्र होइन, भगवान्ले पनि साथ दिएर भएको हो भनिदिएछन् । सायद चुनाव जिताउन भगवान्ले पनि साथ दिएकाले पापकर्मबाट जोगिनुपर्छ भनेका हुन् कि ! एक्काइसौँ शताब्दीमा केको भगवान्, केको पाप ! हँसाए केजरीवालले !
हामीकहाँ भएको भए शून्य सिट ल्याउने थियो, त्यो कुनै वाद साद नभएको आपले । न माक्र्सवाद, न माओवाद, न प्रजातान्त्रिक समाजवाद, न बहुदलीय जनवाद, न हिन्दुवाद, न जातीयतावाद । त्यो केजरीवाल न राजनीति गरेर कहिल्यै जेल बसेको न कहिल्यै भूमिगत भएको, न एक जना मान्छेको टाउको फुटाएको, न कसैलाई सहिद बनाएको । के हेरेर भोट हाले दिल्लीका जनताले केजरीवाललाई ? केजरीवालले मात्रै होइन, दिल्लीका जनताले पनि हँसाए यसपालि हामी छिमेकीलाई ।

source - fitkauli,com

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment