English Edition

मञ्जु पौडेल लुकेकाे कला

मञ्जु पौडेल स्टेज कार्यक्रम सञ्चालनका लागि चर्चित छिन्। विशेषगरी उपत्यकाबाहिर हुने मेला–महोत्सवका कार्यक्रममा उनको व्यस्तता रहने गरेको छ। नेपालबाहिर अस्ट्रेलिया, हङकङलगायत दर्जन जति देशमा पुगेर पनि उनले उद्घोषण कला देखाइसकेकी छिन्। यसैगरी २०६२ सालदेखि नै उनी तीजे गायिकाका रूपमा पनि लोकप्रिय छिन्। केही समयअघि रिलिज लोकगीत 'धुवाँसरी'बाट उनको गायन करिअरले थप उचाइ हासिल गरेको छ। मञ्जुसँग डिबी खड्काले गरेको अन्तरंग कुराकानीः
कति दिनका लागि काठमाडौँको पाहुना हो तपाईं?
सायद यो हप्ता रहन्छु। यो बीचमा धेरै दौडधुप भयो, अलि–अलि रेस्ट पनि त गर्नुपर्योस।

कहाँ–कहाँ पुगियो सिजनमा?
दुई महिनाअघि पोखराबाट यात्रा सुरु भएको हो। त्यहाँबाट पश्चिम लाग्दै अछाम र दार्चुलासम्म पुगियो।

दुई महिनामा एकैचोटि काठमाडौँ आउनुभएको हो र?
त्यस्तो त होइन। तर, काठमाडौँ पनि लुगा चेन्ज गर्न आएजस्तो मात्रै हुन्थ्यो। एकदिन, दुई दिन बसेर हप्तादिनका लागि हराउँथेँ। निस्किनुअघि तीनटा लगेज रेडी गर्छु। कुन कहाँको कार्यक्रमका लागि लैजाने भन्ने पहिल्यै सोचेर तयार पारेकी हुन्छु।

स्टेजमा मात्रै बोलेर पनि जिन्दगी चलाउन सकिँदो रहेछ!
सुरुका दिनमा मैले पनि कल्पना गरेकी थिइनँ। तर, राम्रो गर्ने कोसिस गर्योज भने सकिँदो रहेछ भन्ने महसुस बल्ल भएको छ। मेरा लागि पनि अपत्यारिलो सफलता हो यो।

पूर्ण रूपमा स्टेज कार्यक्रम सञ्चालकको करिअर बनाएको कति वर्ष भयो?
स्टेज कार्यक्रम गर्न थालेको त धेरै नै भयो। बढी व्यस्तचाहिँ २०६७ सालदेखि हुन थालेकी हुँ।

गायिका बन्ने रहरमा कार्यक्रम सञ्चालिकाका रूपमा स्थापित हुनुभएको हो कि?
होइन, सुरुवात त कार्यक्रम सञ्चालिकाका रूपमा गरेकी हुँ। बरु पछि गायनतिर पनि तानिएँ।

कार्यक्रम सञ्चालनतिर कसरी जोडिन पुग्नुभयो?
अरूका अघि बोल्ने रहर स्कुल पढ्दादेखि नै थियो। त्यसैले स्कुलमा हुँदा कार्यक्रम सञ्चालनमा अग्रसर भइयो। बुटवलमा रहँदाबस्दा आरजेका लागि ट्रेनिङ खुलेको जानकारी पाएँ। त्यो विज्ञापनमा उत्कृष्ट हुनेलाई बुटवल एफएममा कार्यक्रम चलाउन दिने पनि उल्लेख गरिएको थियो। आरजे सिकारुको त्यो समूहमा उत्कृष्ट मै भएँ। त्यसपछि रेडियोमा लोकदोहोरी गीतको कार्यक्रम मलाई चलाउन भनियो। पहिलोपल्ट बोल्दाको क्षण याद छ। स्त्रि्कप्ट हेरेर बोल्दा पनि हात कामेर स्टेसन म्यानेजरको हात समातेकी थिएँ।

लोकदोहोरी गीत त कार्यक्रम चलाउनुअघि अघि पनि सुन्नुभएको थियो होला?
त्यति सिरियसली सुनेकी रहिनछु। बरु आधुनिक र फिल्मका गीत बढी सुनेकी थिएँ। कार्यक्रम चलाउन थालेपछि नै गम्भीर भएर सुनेँ। जब त्यसभित्रका सवालजवाफ गम्भीर भएर सुनेँ, अनि बुझेँ। असाध्यै मन पर्न थाल्यो। कार्यक्रम चलाउँदै जाँदा आफैँलाई पनि गीतका टुक्का बुनेर भन्न मन लागिसकेको थियो। त्यसैले गीत बनाउने प्रयास गर्थें। एकदिन एकजना गायक दाइलाई दोहोरीको टुक्कामार्फत नै अभिवादन गर्दा उनले गीत गाउन हौसला दिए। त्यसको १५ दिनमा बुटवल महोत्सव हुँदै थियो। त्यहाँ दोहोरी गीत प्रतियोगिता पनि थियो। केटीका तर्फबाट मलाई नेतृत्व गर्न सुर्याबइयो। हामीले केही दिन प्य्राक्टिस गर्यौँत। मलाई थाहा छ, मैले ठाडो गाएँ, तर उत्कृष्ट गायिका मलाई नै बनाइयो। त्यसपछि हौसला बढ्दै गयो।

दोहोरी गीत प्रतियोगितामा कत्तिको सहभागी भइयो?
त्यतिबेला अग्रज गायक (जो निर्णायक हुन्थे) को चित्त बुझाउनसके मात्रै फर्स्ट भइन्छ भन्ने हल्ला सुनिन्थ्यो। त्यसैेले केही ठाउँमा मात्रै सहभागी भइयो। म हकी स्वभावकी थिएँ। केही ठाउँमा आयोजक र निर्णायकसँग झगडा पनि गरियो। त्यसकारण धेरै प्रतियोगितामा सहभागी भइएन।

कलाकारिता क्षेत्रमा नवआगन्तुक युवतीलाई चल्तीका कलाकारले आफू अनुकूल खूब प्रयोग गर्न खोज्छन् है!
अघिल्लो चरणमा अझ बढी थियो। लोकदोहोरी गाउन आउने युवती गाउँका र सोझा हुने भएकाले अझ धेरै त्यस्तो शोषणमा पर्थे। मलाई पनि 'ठूली गायिका बन्न'का लागि त्यतिबेला चलेका कुनै गायकसँग सरसंगत गर्न सुझाइएको थियो। म मिडिया (रेडियो)बाट आएकी भन्ने सुनेर पनि सीधै प्रस्ताव गर्न भने हच्किन्थे। हकी पनि थिएँ । एकपल्ट मैले दोहोरी साँझमै प्रहरी इन्स्पेक्टरलाई थर्काएपछि दाइहरू निकै डराउनुहुन्थ्यो र सायद त्यो कुरा हल्ला बनेर परसम्म पनि फैलियो। कुरा के भएको थियो भने हामी बुटवलमै दोहोरी साँझ पनि चलाउँथ्यौँ। म काउन्टरमा कसिरहेका बेला एक प्रहरी इन्स्पेक्टर (जो पोशाकमा थिएनन्) आएर भने, 'गीत गाउन छाडेर तिमी किन काउन्टरमा बसेको?' साथी भइनसकेको वा नजिकको नाता पर्नेले बाहेक तिमी भनेपछि हेपेको महसुस हुन्छ मलाई। त्यसैले मैले तुरुन्तै जवाफ फर्काएँ, 'मैले गाएको तिमीले कहिले सुन्या'थ्यौ ?' दाइले कानमा आएर 'एसपी साब् हुन्, मिलाएर बोल' भन्नुभयो। मैले 'एसपी हुन् कि अरू नचिनेर तिमी किन भनेको?' भनेँ। इन्स्पेक्टर समझदार रहेछन्। गल्ती स्विकारे।

एकदिन कति घण्टासम्म लगातार बोल्नुपरेको छ?
सात घण्टासम्म कार्यक्रम चलाएकी छु। तर, बीचमा अरू प्रस्तुति पनि हुन्छन्। कम कलाकार बोलाइएका ठाउँमा दुई घण्टासम्म लगातार आफैँले बोलेर वा गाएर दर्शकलाई 'होल्ड' गर्ने पनि गरेकी छु।

तपाईंका गीत पनि हिट हुन थालेपछि अहिले तपाईंको माग अझै बढेको होला?
धेरैले 'मञ्जु त पूर्ण प्याकेज' हो भन्छन्। किनभने, म कार्यक्रम चलाउँछु, जोक्स, सायरी भनेर रमाइलो गर्दै लामो समय दर्शक अड्याउँछु। पुरुष कलाकारसँग लाइभ दोहोरी पनि गाउँछु। र, आफ्ना गीत पनि सुनाउँछु।

तपाईं स्टेजमा पुगेपपछि पुरुषमाथि सायरी वा जोकबाट खूब छेडखानी गर्नुहुन्छ। यसका लागि पहिल्यै तयारी गरेर जानुहुन्छ वा मञ्चमै पुगेपछि फुर्छन्?
बोलेर चित्त बुझाउन सजिलो छैन। तयारी गर्नुपर्छ नि। दर्शक कस्ता खालका छन्? कस्तो ठाउँ हो र त्यहाँको वेशभूषा के हो? कस्तो लवजमा बोल्छन्? भन्ने पूरै जानकारी हासिल गर्छु। त्यही ठाउँको पहिरन खोजेर लगाउने प्रयास गर्छु र दुईचार शब्दमात्रै भए पनि स्थानीय भाषा प्रयोग गर्न खोज्छु। म महिला भएकाले पुरुषसँग जिस्किँदा दर्शकले इन्जोय गर्छन्। त्यसैले गुगलमा त्यस्ता छेडखानी वा जोक्सहरू खोजेर तिनमा आफ्नोपन मिसाउँछु। एकै ठाउँमा दोहोरिनुपर्छ। त्यसैले अघिल्लोपल्ट त्यो ठाउँका दर्शकलाई सुनाएको जोक्स वा सायरी फेरि दोहोर्याकउनु भएन। त्यसको हेक्का पनि राख्छु।

दर्शक आफूतिर आकर्षित गर्नका लागि तपाईंले धेरै प्रयोग गर्ने एउटा थिम छ, 'यो ठाउँ र यहाँका केटा खूब मन परे, कोही छ मसँग बिहे गर्न चाहने भन्ने' खालको। यसले अप्ठ्यारो पारेको छ कि छैन?
धेरैपल्ट पारेको छ। म स्टेजमा कलाकार भएर प्रस्तुत भएकी हुन्छु। मैले यति ख्याल गर्छु, मेरा प्रत्येक गतिविधिमा दर्शक रमाउन सकून्। मैले स्टेजमा गरेका यी नाटकलाई दर्शकले सिरियसली लिँदा सम्झाउन हम्मे भएका धेरै क्षण छन्। तीमध्ये डडेलधुरामा केही समयअघि ठूलै लफडा भयो। म स्टेजबाट झरेपछि आफू बिहेका लागि राजी भएको भन्दै एक युवा पछि लाग्न थाले। 'म पाल्न सक्छु, यति सम्पत्ति छ, दाइ जापानमा छ' भन्दै एकोहोरो नै भए। पछि 'म विवाहित मात्रै होइन, मेरी जवान छोरी पनि छ' भनेर सम्झाउनुपर्योक। हङकङमा स्टेजबाट भनेकी थिएँ, 'मसँग बिहे गर्न चाहने तन्नेरी हात उठाउनुहोस्।' एकजनाले हात उठाएका रहेछन्। त्यत्रो क्राउडमा मलाई कसले हात उठायो के थाहा? कार्यक्रम सकिएपछि त गेटमा एक युवा 'अघि हात उठाउने मै हुँ, बिहे गर्ने हो?' भनेर भन्न थाले। मैले दर्शकको रमाइलोका लागि उटपट्याङ कुरा गरेको भनेपछि 'के थाहा त?' भनेर बाटो लागे।

जवान छोरी भएर पनि ज्यानले त्यस्तो देखाउँदैन। खूब मेन्टेन गर्नुभएको छ है?
केको मेन्टेन हुनु? मेरा साथीहरू बल्ल बिहे गर्दैछन्। १७ वर्षको उमेरमा छोरी पाएकी थिएँ। छोरीको उमेर पनि १७ वर्ष भएपछि मेरो उमेर नै कति भयो र?

केही समयअघि तपाईंले गाउनुभएको 'तिमी लाइटर म भा'को चुरोट' भन्ने गीतमा छोरी मोडल भएर देखिएपछि धेरै छक्क परे होलान्!
भन्ने मौका नमिलीकन विवाहिता हुँ, छोरी पनि छ भन्नुभएन। त्यसैले धेरैले मलाई अविवाहित नै ठान्दा रहेछन्। त्यो गीतकी मोडल स्नेहा पौडेल मेरी छोरी भन्ने कुरा सार्वजनिक भयो। त्यसपछि पनि कतिले त 'दिदीको छोरी होला' भने।

बजार निस्कँदा पनि छोरीसँग 'दोस्ती' गरेर हिँड्नुहुन्छ। त्यसैले पत्याउँदैनन् होला?
म आमाको स्नेह दिन्छु र ऊ छोरीले दिने 'रेस्पेक्ट' मलाई दिन्छे। बाँकी समय साथीका रूपमा पनि हुन्छौँ। किनमेल गर्न जाँदा उसले मलाई र मैले उसलाई किनमेल गरिदिन्छाँै।

छोरीसँग दोस्ती गरेपछि तपाईंलाई बल्ल जवान भएको महसुस हुँदै छ कि क्या हो?
जवान नै छु नि। बरु सानैमा बिहे भएकाले छोरीको उमेरको बैँस कतिबेला आयो र गयो, पत्तै पाइएन।

कलेज पढ्दा विवाह गरिसक्नुभएको थियो?
भर्खरै भएको थियो। त्यतिबेला पनि केटाहरू पछि लागेर हैरान गर्थे। मसँग बोल्न सक्दैनथे। मेरा साथीसँग कुरा गर्न खोजेर हैरान गर्दा रहेछन्। साथी रिसाएर भन्थी, 'सिन्दूर लगाएर आइज, मलाई तनाव दिए।' कलेज नभएको समयमा म पुस्तकपसलमा बस्थेँ। मलाई लाइन मार्न केटाहरू केही न केही किन्ने बहाना बनाउँथे।

धेरै केटाहरूको चित्त दुखाउनुभएको रहेछ!
मैले चित्त दुखाएको होइन, उनीहरू नै भ्रममा परे।
- See more at: http://nagariknews.com/friday/story/33802.html#sthash.JKDyf7ki.dpuf
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment