हिजोआज सञ्चारमाध्यममा दिनहुँजसो आउन थालेका आप्रवासी नेपालीको दैनिकी र उनीहरूको समस्याका विषयले सबैको ध्यान आकर्षित गरिरहेको छ। यस्ता समाचारले नेपालमा बसिरहेका नेपालीलाई रोजगारी, अध्ययन वा स्थायीरूपमा बसोबास गर्न कै लागि बिदेसिएकाहरूको जीवनबारे गहिरिएर सोच्न बाध्य बनाएको छ।
केही अघिसम्म पनि मानिसमा विदेश भनेको सपनाको सहर हो, जहाँ पैसा सजिलै कमाइन्छ, ऐसोआराम र मोजमस्तीको जिन्दगी बिताइन्छ भन्ने धारणा थियो। तर, नेपाली समाजले वैदेशिक जीवनसँगै जेलिएका यस्ता विविध समस्याहरूको जानकारी राखेको थिएन।
जबदेखि नेपालमा वैदेशिक रोजगारी र स्थायी बसोबासको प्रवृत्तिको विकास हुन थाल्यो। त्यो बेलादेखि नै उनीहरूमा मनोवैज्ञानिक समस्याहरूको पनि सुरुवात भयो। विशेषतः निराशा एउटा महत्त्वपूर्ण मानसिक रोग हो। मानसिक स्वास्थ्यसँग सम्बन्धित विद्यार्थीको नाताले केही उल्लेख गर्न चाहन्छु।
‘डिप्रेसन’ के हो, कसरी हुन्छ र कति खतरापूर्ण हुन्छ, सबैभन्दा पहिला त्यो बुझ्नु आवश्यक छ। यो मान्छेमा हुने एउटा व्यवहारसँग सम्बन्धित समस्या त्यसैले यसलाई रोगभन्दा पनि समस्या (मानसिक) भनेर बुझ्दा हुन्छ।
डिप्रेसन जो कसैमा पनि हुन सक्छ। यो नौलो समस्या होइन। धेरै पहिलेका पुस्ताहरूमा पनि यो समस्या थियो। फरक यत्ति हो कि त्यतिबेला यो विषय त्यति महत्त्वपूर्ण मानिएको थिएन, रोगको पहिचान हुन सकेको थिएन। सुरुमै उपचार खोजियो भने डिप्रेसन ठूलो रोग होइन। तर, लामो समयसम्म यो हुन गएमा सामान्यदेखि विभिन्न जटिल समस्याहरू जस्तै झर्किने, चाँडै रिसाउने, आत्तिने, बहुलाउने र आत्महत्यासम्म गर्ने जस्ता प्रवृत्ति मानिसमा देखा पर्छन्।
यो एउटा व्यावहारिक समस्या भएकाले यसको निश्चित उपचार पद्धति छैन। उपचार वा समाधानका तरिकाहरू व्यक्ति, रङ र स्थान अनुसार फरक हुन्छन्। उमेर अनुसार यसको खतरा र उपचार पद्धति पनि फरक हुन्छ । पहिलो अवस्थामै उचित वा परामर्श दिन सकियो भने यसबाट सजिलै मुक्त हुन सकिन्छ।
अमेरिकामा बसोबास गरिरहेका नेपालीहरूको सन्दर्भमा कुरा गर्दा बढी महत्त्वाकांक्षा र अमेरिकाप्रतिको सतप्रतिशत सकारात्मक सोच नै डिप्रेसनको कारण रहेको अनुसन्धानहरूले देखाएका छन्। अमेरिका भन्नेबित्तिकै मानिसहरू कल्पनाको देश, जहाँ कुनै दु:ख, कष्ट वा चिन्ता नै हुँदैन भन्ने मानसिकता पालेका हुन्छन्। तर, जब यहाँ आइपुग्छन् र यहाँको रहनसहन, सामाजिक परिवेश, भाषा र काम गराइको प्रवृत्ति देख्छन्, त्यसपछि आफू त्यसमा घुलमिल हुन सक्दैनन् र विस्तारै निराशाको सिकार हुन पुग्छन्। स्वाथ्य विज्ञानको भाषामा आशा र वास्तविकताबीचको दरार भन्ने बुझिन्छ। अग्रिम उपचार खोजिएमा चाँडै नै निराशा हराएर जान सक्छ ।
यस्तो सेवा मानसिक विज्ञहरूसँग प्राप्त गर्न सकिन्छ। अमेरिकामा सामान्य इन्सुरेन्सले पनि धान्न सक्छ यसको खर्चलाई।
युवावर्गहरू जो विद्यार्थी भिसामा अमेरिका आएका हुन्छन्, उनीहरू यो समस्याबाट छिट्टै मुक्त हुन्छन् किनकि उनीहरूको सञ्जाल, उमेर, सूचना आदान-प्रदान गर्ने प्रवृत्ति, समस्या समाधानको खोजी गर्ने प्रवृत्तस, विश्वविद्यालयले प्रदान गर्ने सेवाहरूले विद्यार्थी मानसिक समस्याबाट बाहिर सजिलै निस्कन सक्छन्।
सामाजिक कार्यक्रमहरूमा सहभागिता बढाउने गर्दा डिप्रेसन केही हदसम्म कम हुनसक्छ । दसैँ, तिहार, नयाँ वर्ष जस्ता सांस्कृतिक कार्यक्रमहरूमा नेपालीको बाक्लो उपस्थिति हुन्छ। अरुको अनुभवहरू सुन्ने र आफ्ना समस्या वा अनुभवहरू अरुसँग बाँड्ने र समस्या समाधानको उपायहरू खोज्ने गर्नुपर्छ।
आफ्नै व्यक्तिगत प्रयासले पनि डिप्रेसन कम गर्न सकिन्छ। जस्तै- सोचाइमा परिवर्तन गरी सकारात्मक सोचको विकास गर्ने, कम महत्त्वाकांक्षी हुने, यथार्थलाई स्वीकार गर्ने, आफूले क्षमता र ज्ञान अनुसार पाएको काममा खुसी हुने र अरुसँग तुलना नगरी आफैँमा सन्तुष्ट हुन सक्नुपर्छ । सधैँ व्यस्त रहने प्रयास गर्ने, स्वस्थ र नियमित खानपान, शारीरिक व्यायाम, गीतसंगीत आदिबाट पनि आफ्नो सोचाइमा परिवर्तन ल्याई निराशाबाट मुक्त हुन सकिन्छ।
यहाँ भनाइको तात्पर्य के हो भने हामीले जहिले पनि समस्या कुरा गरेर बस्नु वा समस्याहरू खोजेर बस्नुभन्दा समस्या समाधानतर्फ उन्मुख हुन अति आवश्यक छ।
सेतोपाटीबाट
0 comments :
Post a Comment