English Edition

‘प्रेम प्रतिशोधमा बदलिएपछि एसिड आक्रमण’

बसन्तपुर एसिड काण्डका अभियुक्त सार्वजनिक
बसन्तपुर एसिड काण्डका अभियुक्त सार्वजनिक गर्दै प्रहरीले प्रेममा असफलता र आमाबुबामाथि भएको अपमानको बदला लिने उद्देश्यले सो घटना भएको जनाएको छ। प्रहरीले एसिड आक्रमणकारी भन्दै शुक्रबार पत्रकार सम्मेलन गरी रामेछापको फुलासी ८ का जीवन बिकलाई सार्वजनिक गरेको हो।
फागुन १० गते राजधानीको बसन्तपुरमा तीन छात्रामाथि एसिड आक्रमण भएको थियो। सो घटनामा सीमा बस्नेत र हिमु मुखर्जी सामान्य घाइते भए पनि संगीता पुलामीमगर गम्भीर घाइते छिन्। उनको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार राजधानीमा टोखामा बस्दै आएका २० वर्षीय बिकले संगीतासँगको प्रेमसम्बध टुटेको र आफ्ना आमाबाबुमाथि गरिएको अपमानको बदला लिन एसिड आक्रमण गरेको बताएका छन् । सीमा र हिमुलाई नराम्रो गर्ने उनको कुनै योजना नभएको प्रहरीको भनाइ छ।
अनुसन्धानको नेतृत्त्व गरिरहेका महानगरीय अपराध महाशाखाकी एसपी मीरा चौधरीका अनुसार प्रेम प्रतिशोधमा बदलिनु नै एसिड आक्रमणको मुख्य कारण हो।
एसपी चौधरीका अनुसार जीवन र संगीताको परिवार झोछेँको ओडान चोकमा २०६९ सालदेखि एउटै घरमा भाडामा बस्थे। दुवै परिवारले एक-एक कोठा भाडा लिएको थियो। माथिल्लो तलामा संगीताको परिवार बस्थ्यो, तल्लो तलामा जीवनको परिवार।
जीवनका बुबाआमा न्युरोडमा चिया बनाएर बेच्छन्। संगीताका बुबाआमाचाहिँ क्याटरिङमा काम गर्छन्।
जीवनको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएअनुसार अहिले बिबिएस प्रथम वर्षमा पढिरहेका जीवनले कुनै समय संगीतालाई ट्युसन पढाउँथे। त्यसै क्रममा उनीहरू नजिकिए। उनीहरूबीच प्रेमसम्बन्ध बन्यो। जीवनले गरेको दाबीलाई प्रहरीले संगीताबाट भने पुष्टि गराइसकेको छैन। उनको एसएलसी र स्वास्थ्यका कारण प्रेसर दिएर सोध्न नसकिएको एसपी चौधरीले बताइन्। 
प्रहरीका अनुसार संगीताका भाइ सन्तोष गाँजा र चुरोटको कुलतमा थिए। उनी पुनर्स्थापना केन्द्रमा बसेर फर्किएका हुन्। जीवन र संगीताको सम्बन्धबारे सन्तोषले सुइँको पाए। यही विषयलाई लिएर सन्तोषले ब्ल्याकमेल गर्न थाले।  
उनले जीवनसँग गाँजा-चुरोटका लागि पैसा माग्न थाले। सुरु-सुरुमा जीवनले पैसा दिए पनि पछि उनीहरूको मनमुटाव भयो। सन्तोषले जीवनबारे बाबुआमालाई भनिदिए। यी दुईबीचको सम्बन्ध पारिवारिक कलहको कारण बन्यो। २०६९ सालमा दुवै परिवारबीच झगडा भयो।
प्रहरीका अनुसार झगडामा संगीताले जीवनको बुबालाई हात हालिन्। झगडा प्रहरी कार्यालयसम्म पुग्यो। जनसेवाको प्रहरी प्रभागले टोलको झगडा भनेर मिलापत्र गराएर पठाइदियो।
त्यही घटनाको बदला लिन जसरी भए पनि संगीताको सुन्दरता नष्ट गर्ने लक्ष्य बनाएको जीवनले प्रहरीलाई दिएको बयानमा भनेका छन्। आफूलाई हेप्ने संगीताको परिवारसँग सम्बन्धित अन्य दुईलाई पनि क्षति पुर्‍याउने उनको योजना थियो।
उनको दिमागमा बदलाको भावना गहिरो गरी बस्नुमा उनको महत्त्वाकांक्षा कारण हुन सक्ने प्रहरीको विश्लेषण छ। चिया पसल गर्ने बुबाआमाले कमाएको पैसा उनकै नाममा बैंकमा राख्दै आएका थिए। उनी परिवारमै सबैभन्दा बढी पढे-लेखेको थिए। तर, आमाबुबालाई नै संगीताले हात हालेको देखेर उनलाई बढी छोयो र प्रतिशोध लिने योजनामा पुगे।
उनले धेरैपटक संगीतालाई निशाना बनाएर आक्रमण गर्ने योजना बनाए। योजनाअनुसार केही समय रड बोकेरसमेत हिँडे।
यसैबीच भारतीय सेनामा भर्ना हुन उनी २०७१ वैशाखमा सिक्किम गए। तर छानिएनन्। दलालले उनलाई ठगे। एक महिनापछि उनी नेपाल फर्किए।
तर उनले बुबाआमालाई सिक्किममै छु, सेनामा भर्तीको काम भइरहेको छ भनेर ढाँटे। टोखामा छुट्टै डेरा गरेर बस्न थाले। एक्लै बस्दा उनमा मानसिक समस्या बढ्दै गयो।
एसपी चौधरीका अनुसार गत माघमा उनी महाराजगञ्जको टिचिङ अस्पतालमा डाक्टरलाई देखाउनसमेत गएका थिए। प्रेममा असफलता, परिवारको अपमान,आफू ठगिएको आदि कारणले डिप्रेसनको सिकार भएको उनले बताएका छन्। प्रहरीले उनलाई चेक गर्ने डाक्टरसँग पनि अनुसन्धानका क्रममा कुरा गर्‍यो। डाक्टरसँग पनि उनले ‘मैले बदला लिनु छ’ भनेका रहेछन्। डाक्टरको काउन्सिलिङ राम्रो नलागेर डाक्टरकहाँ जान छोडेको उनले प्रहरीलाई बताएका छन्।

एसिड हान्न टिभीले सिकायो
सुन्दरता नष्ट गर्न एसिड हान्नुपर्छ भन्ने कुरा भारतीय च्यानलमा आउने सिरियलबाट सिकेको जीवनले प्रहरीलाई बताएका छन्। पहिले रडले हान्ने वा कुट्ने योजना त्यागेका उनले पछिल्लोपटक २०७१ असोजमा न्युरोडको एक ब्याट्री पसलबाट एसिड किनेका थिए। १ सय २५ रुपैयाँमा किनेर बियरको बोतलमा ल्याएको एसिड उनले प्लास्टिकको बोतलमा हाले। त्यो एसिड काम लागेन।
फेरि फागुन पहिलो साता त्यही ठाउँबाट एसिड किने। घटनाको दिन बिहान ५ बजे उनी झोलामा एसिड बोकेर टोखाबाट माइक्रो चढेर रत्नपार्क आइपुगे। पैदलै संगीतालाई खोज्दै घरसम्म पुगे। तर त्यहाँ कोही थिएन। त्यसपछि उनी फर्के। एसिड उनले हर्लिक्सको बोतलमा बोकेका थिए।
उनलाई संगीता कहाँ ट्युसन पढ्छिन् भन्ने थाहा थिएन। उनी फर्कँदै थिए। बसन्तपुरमा एक कोठामा बत्ती बलिरहेको देखे। हेर्दा त्यहाँ संगीता र उनका साथीहरू थिए। त्यही मौकामा उनले आफूले बोकेको ५ सय मिलिलिटर एसिड संगीतालाई प्रहार गरे।
बोतल त्यहीँ छोडेर उनी माइक्रोबस चढी कोठामा पुगे। नुवाइधुवाई गरी सुते। ‘त्यो दिन आनन्द महसुस भयो,’ उनले प्रहरीलाई भनेका छन्, ‘अर्को दिनदेखि औडाहा भयो।’ भोलिपल्टबाट पत्रपत्रिकामा एसिड आक्रमणका ठुल्ठूला समाचार आउन थाले। उनले एसिड आक्रमणका समाचार भएका सबै पत्रिका किनेर राखेको प्रहरीले जनाएको छ।  
फागुन २० गते उनी फेरि दलालले बोलाएपछि काकडभिट्टा हुँदै सिक्किम गए। तर उनको काम भएन। उनी काठमाडौं फर्के।
प्रहरीले पक्रन्छ भन्ने उनलाई थाहा थियो र तर अरु दुई जनालाई पनि क्षति पुर्‍याएर मात्रै प्रहरीमा आत्मसमर्पण गर्ने योजनामा उनी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको निशानामा संगीताका भाइ र टोलमै बस्ने एक जना थिए।
यसरी परे पक्राउ
फागुन १० गते बिहान सवा ६ बजेतिर भएको एसिड आक्रमणको अनुसन्धान गर्न प्रहरीले महानगरीय अपराध महाशाखाकी एसपी मीरा चौधरीको संयोजकत्वमा समितिमा बनाएको थियो।
प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धानमा साथ दिइरहेको थियो। पीडितले स्पष्ट बयान नदिए पनि पहिलेका घटना र मोबाइल कल डिटेलमार्फत प्रहरीले विशेष अनुसन्धान सुरु गर्‍यो। हनुमानढोकाका डिएसपी रमेश थापाले मोबाइल एटिएम कार्ड,  इमेल, फेसबुक आदि टेक्निकल कुराको विश्लेषण गर्न थाले। त्यसै क्रममा जीवन विक बिहिबार राति टोखाको विनायकमार्गमा किरण महर्जनको घरको माथिल्लो तलामा बसेको पत्ता लाग्यो।
बिहिबार राति सवा ९ बजे थापाले अपराध महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्कीलाई फोन गरे। प्रहरी टोली जीवनको डेरा भएको टोखा गयो। मासिक १६ सय भाडा तिर्ने गरी लिएको उनको कोठामा घटनापछि छापिएका पत्रिकाहरू जम्मा गरेर राखिएको थियो। घरबेटीलाई उनले पढ्न बसेको भनेका रहेछन्।
प्रहरीले कोठामै भेटिएका उनलाई सोध्न थालेपछि एसिड प्रहार गरेको स्वीकारे। दोष सकारेपछि प्रहरीले उनलाई राति ११ बजेर  ४५ मिनेटमा हत्कडी लगाएर हनुमान ढोका ल्याएको थियो।
एसिड आक्रमणका अभियुक्तलाई कारबाही चलाउने छुट्टै कुनै कानुन नभएकाले उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ।
हेर्नुहोस् कसरी ढले तस्विरमा
source: setopati 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment