दमौली, ९ चैत - सयौं हातहरुले व्यास– ८ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रमका वृद्धवृद्धाहरुलाई सोमबार सहयोग हस्तान्तरण गरेको छ । संस्था स्थापना भए लगत्तै संस्थाले पहिलो पटक आश्रमका बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको हो । सो अवसरमा संस्थाका सल्लाहकार माधवबहादुर पन्त र संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले ४ हजार ५ सय ७० रुपैयाँ बराबरको खाद्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए । उक्त अवसरमा बोल्दै प्रमुख अतिथी समिति रहेका सल्लाहकार पन्तले आश्रममा राज्यको ध्यान पुग्न नसकि रहेको अवस्थामा सयौं हातहरुले सहयोग गरेर उदाहरणीय कार्य गरेको बताएका थिए । साथै पन्तले आगामी दिनमा समेत सामाजिक क्षेत्रमा सहयोग पुरयाउन सयौं हातहरुलाई आग्रह गरेका थिए । सोही अवसरमा संस्थाका अध्यक्ष अधिकारीले जेष्ठ नागरकि आश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएका थिए ।साथै अध्यक्ष अधिकारीले आगामी दिनमा समेत राज्यको पहुँच नपुगेको ठाउँमा शिक्षा, स्वास्थ्य र विकास निर्माणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यस्तै कार्यक्रममा केही दिन अगाडि मात्र स्थापना भएको संस्थाले आश्रममा सहयोग गरेकोमा आश्रमकी अध्यक्ष श्रेष्ठले संस्थाका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।त्यसैगरी सयौं हातहरुमा सहभागी भएर सामाजिक क्षेत्रमा सहयोग गर्न आफूहरु समेत तयार रहेको अध्यक्ष श्रेष्ठको भनाई रहेको थियो ।
सयौं हातहरुका अध्यक्ष डम्बरबहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाशचन्द्र हड्खले र संस्थाका महासचिव पुष्पराज आचार्य समेत बोलेका थिए । हड्खले र आचार्यले समेत सयौं हातहरु अभियान मार्फत जिल्लाका विभिन्न स्थानमा सहयोग अभियान अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
पन्तद्धारा १० हजार १ सय हस्तान्तरण
यसैबीच सोही अवसरमा सयौ हातहरुका सल्लाहकार पन्तले वेद व्यास जेष्ठ नागरिक आश्रमलाई रु १० हजार १ सय हस्तान्तरण गरेका छन् ।
सल्लाहकार पन्त उक्त रकम आश्रमकी अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।आश्रममा रहेका बृद्धबृद्धालाई रकम सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको पन्तको भनाई रहेको छ ।
यसैबीच सयौ हातहरु अभियानलाई भानु ३ निवासी विष्णु कुमारी श्रेष्ठले समेत सहयोग गरेकी छन् । श्रेष्ठले संस्थाका अध्यक्ष अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । संस्थाको उदेश्यबाट आफू प्रभावित भएर सहयोग गरेको श्रेष्ठले बताइन ।
के हो सयौं हातहरु ?
सयौं हातहरु विशुद्ध सामाजिक संस्था हो । सामाजिक उत्तरदायित्वको क्षेत्रमा देश तथा विदेशमा छरिएर रहेका युवाहरुलाई संगठित बनाउने उदेश्यले यो संस्था स्थापना गरिएको हो । यो संस्थामा आवद्ध हुने प्रत्येक सदस्यले वार्षिक रुपमा एक हजार रुपैयाँ र आजिव सदस्यले ५ हजार एक रुपैयाँ बुझाउनु पर्दछ ।इच्छुक सो भन्दा बढी रकम सहयोग प्रदान गर्न सक्नेछन् । जुन रकम रकम राज्यको पहुँच नपुगेको स्थानको शिक्षा , स्वास्थ्य र विकास निर्माणको क्षेत्रमा खर्च गरिने छ ।यसका अलावा सयौं हातहरुले सुशासन ,पारदर्शी र भ्रष्टचार मुक्त राष्ट्र निर्माणको अभियानमा समेत विशेष भूमिका निर्वाह गर्ने उदेश्य राखेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको यो सामाजिक संस्थाले निकट भविष्यमा देशका ७५ जिल्लामा नै आफ्नो अभियान अगाडि बढाउने योजना बनाएको छ ।सयौं हातहरुको नेपालमा डम्बरबहादुर अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति रहेको छ भने कतारमा सन्तोष पौडेल ,अमेरिकामा शिव मल्ल , बेलायत देवेन्द्र बजगाई , न्यूजिल्याण्डमा बुद्धिसागर घिमिरे संयोजक रहेका छन् ।यदि सयौं हातहरुलाई कसैले सहयोग गर्न चाहनुहुन्छ भने सिटी डेभलपमेन्ट बैंक दमौली शाखामा सयौं हातहरुको (Hundreds Hands) नाममा रहेको ००८०१५०००५३६६३०००००१ नम्बरको खाता मार्फत सिधै सहयोग गर्न सक्नुहुनेछ ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment