English Edition

काठमाडौंमा कोठा खोज्दाको समस्या

कोपिला ंअंगाई 
“ खाने मुखलाई जुँगाले छेक्दैन ”, “ खुट्टा भए जुत्ताको के को हर्जा ?”, “ जहाँ इच्छा त्यहाँ उपाय” यस्ता जति पनि नेपाली उखान टुक्का बोलिचालीको हिसाबमा प्रयोगमा आए पनि आखिर समस्या त ज्यूँका त्यूँ नै हुँदोरहेछ । बाबाको काँधमा हलो र जुवाको भार अनि आमाको थाप्लोमा नाम्लाको डाम एकातिर र अर्कातिर आफूले जतिसुकै दुःख कष्ट झेल्नुपरेतापनि र आफ्ना सन्तानप्रति जतिसुकै मुकाबिला गर्नु परेपनि हाँसी हाँसी वरण गर्नका खातिर मेरा परिवारले मलाई उच्च शिक्षाको निमित्त शहर पठाउने निर्णय गर्नुभयो । म पनि गहभरी आँशु र मुटु भारी बनाएर भएतापनि वहाँहरुको कुरालाई स्वीकारें । वल्लो घर पल्लो घरका छोराछोरी आफ्नै बाबुआमाको साथमा बस्न हुने म चाहि शहर नै जानुपर्ने ? अरुले चाहि यहीं पढेर उच्च शिक्षा हासिल गर्न  सक्ने मैले चाहि नसक्ने ? कति निष्ठुरी मेरा बाबाआमा ? यि र यस्तै कयौं प्रश्नहरु मेरो मनमा त्यतिबेला नउब्जेका होइनन् । मलाई अझै याद छ मेरा बाबुआमाले खाना खाईसकेपछि म आफ्नो कोठामा गएपछी भलाकुसारी गर्नु हुन्थो । त्यो पनि मेरै बारेमा । हाम्री छोरी, हाम्री मात्र छोरी नभएर एउटा सिङ्गो  राष्ट्रको छोरी  बनोस्, दुःखीलाई सेवा गरोस्, के पाउन सक्छु भन्दा नि के दिन सक्छुमा उसको ध्यान जाओस्, धेरै पढेर डक्टर बनेर दीन दुःखीको सेवामा सर्मपित होस्, सेवा नै धर्म हो भन्ने कुरा राम्ररी बुभ्mन सकोस्, पैसाको लागि भन्दा नि असल काम गरेर असली नामको पहिचान दिन सकोस्,........................... यस्तै यस्तै कुरामा छलफल भइरहन्थ्यो । तर म त्यतिबेला केही पनि बुझ्न सक्दिन थिएँ । म मेरो परिवारको आशाको केन्द्रबिन्दु थिएँ । अनि सहाराको निमित्त समाउने लठ्ठी थिएँ , जीउनको निमित्त एउटा बलियो आधार थिएँ । त्यसैले मलाई जसरी  भएपनि शहर आएर आफ्नो उच्च शिक्षा अध्ययन गर्नु नै थियो । त्यतिबेला वहाँहरुको कुरा नबुझेपनि आँखामा आँशु भने देख्न सक्ने थिइन । म बाध्य भएँ । आमाको ममता र बाबुको संस्कार बाट टाढिन अनि म जन्मेको , हिड्न सिकेको जहाँ मेरो शैशवकाल वित्यो, अनि मेरा संगी साथीहरु सबैलाई मैले त्यही  छाडेर म मेरा बाबुआमाको सपना साकार बनाउनको निमित्त शहर लागें । मसंग रहृयो त सम्झना मात्रै ।
सुरुमा त म कलेजकै होस्टेलमा बसें । मैले सोचें म त्यति धेरै उच्च खानदान र उच्च वर्गकी छोरी पनि त होइन ? मेरा बाबुआमाको रातदिनका पसिनाका धाराको कमाइबाट मलाई सपनाको राजकुमारी बनाउने लक्ष्य तथा सपना छ त्यो पनि त पुरा गर्नु थियो । त्यसैले मैले होस्टेलमा बसेर अध्ययन पुरा गर्नु भन्दा एउटा कोठा लिनुमा उत्तम ठानें । होस्टेलमा बस्नु भनेको म र मजस्ता निम्न आर्थिक स्थिति भएकाहरुलाई पैसाको बर्बादी मात्र हुने लाग्यो र मेरा बाबुआमाले बडो मुस्किलले कमाएको धनको सम्मान गर्नु मेरो परम् कर्तव्य ठानेर एउटा कोठा लिइ बस्न उचित ठानें । काठमाडौं भर्खर आएको  र आएदेखी नै होस्टेलमा बसेकाले म त एउटा पिंजडा भित्रको चरी जस्तै पो भएछु । बाहिरको वातावरण त मेरा लागी बिल्कुल नयाँ पो लाग्न थाल्यो । कोठा त खोज्ने ? तर कहाँ ? कसरी ? मैले आफुले चिने जाने र मन मिल्ने साथीभाई सबैलाई आफ्नो लागि कोठा खोजिदिन आग्रह गरें । सबैले गुलियो वचन त दिए नै तर काम भने भएन । कसैले भन्छन् ः एउटा मात्र कोठा त पाउनै गाहृो ः कोही भन्छन् पानी छैनः कोही भन्छन् त घरबेटी खराब । बस्नुपर्ने म एउटा, फ्ल्याट लिएर मैले के गरुँ, रङ्गशाला बनाउँ ? कि त रोधी घर नै बनाउँ ? के गरुँ म ? कसैबाट पनि कोठा पाउने आशा पाइन मैले ।  मलाई निराश नै लाग्यो यो शहरिया जीवन प्रति । त्यति मात्र हो र ? एक्लै महिलालाई झन् कोठा दिन गाहृो मान्दा रहेछन् । २÷४ जना खराब मान्छेले गर्दा बाँकी सबै मान्छे पनि खराब ठान्नु बिडम्वना नै हो । अनि नठान्नको निमित्त पनि यहाँ कसको विश्वास गर्ने, कसको नगर्ने ? विश्वास गर्न कोही लायकका नै छैनन् । यति नै बेला मलाई एउटा नेपाली उखानको याद आयो “बिजुली देखी तर्सेको कुकुर ,अगुल्टो देखी क्वाइँ” । मान्छेलाई एकफेर ठक्कर खाएपछि अर्थात धोका भएपछी कसैको विश्वास हुँदो रहेनछ । यसको प्रत्यक्ष असर हामीजस्ता सोझा र निमुखाप्रति सोझै पर्न गयो । अर्काको मुख ताकेर बस्नुभन्दा आफै मेहेनत गर्नुपर्छ, आफै संघर्ष गर्नुपर्छ भनेर म कोठा खोज्ने धन्दामा लाग्ने अठोट गरे किनकि जसरी भए पनि कोठा पाउनुपर्छ मलाई ।
कुरा एक दिनको हो । झ्यालबाट आएको चिसो र ताजा हावाको स्पर्शसंगै बिहान सबेरै मेरो आँखा खुल्यो । बिहान उठेर आफ्नो नित्यकर्म सकाएर कोठा खोज्न हिडें । सुनेकी थिएँ नयाँबजार साइडमा एउटा मात्र कोठा पाउन सजिलो हुने र गाउँका मान्छेहरुको बसाइँ पनि त्यतै हुँदा अलिक सजिलो हुने भन्ठानेर आजको गन्तव्य नयाँबजारलाई नै मानें । पर्दा नलगाएको र झ्याल खुल्ला देख्नेबित्तिकै ए ! घरबेटी आन्टी हजुरकोमा कोठा खाली हो ? भनेर सोध्दै गएँ । सबैजसोले एउटा कोठा त छैन बस्छौ भने पुरै फ्ल्याट खाली छ, पानीको व्यवस्था आफै गर्नुपर्छ, आउदो महिनाको भाडा अगाडीकै महिनामा बुझाउनुपर्छ, धेरै जना बस्न पाइदैन आदि कुराहरु गर्दै थिइन् मेरा लागि फ्ल्याट आवश्यक नपर्ने भएकाले उनको कुरा धेरै सुन्न चाहिन । म त्यहाँबाट हिडें । वरपरका किराना पसलेका साहुजीहरुलाई पनि यता कोठा पाइन्छ भनेर सोध्दै गएँ । ती साहुजीहरुले पनि खै अहिले सम्म त थाहा पा’को छैन । भेट्टाइयो भने खबर गर्छु नम्बर छोडी जानुन न भन्ने जवाफ दिए । यतिको सहानुभुति पाए पछी मलाई पनि केही राहत मिले जस्तो भयो । थोरै आशाका किरण पलायो ममा । धेरै घुमें र पनि कोठा पाउने छाँटकाँट देखिन मैले । मैले मनमनै सोचें यसरी दिनभरि घरैपिच्छे कोठा सोध्दै हिडेर त के को पार लाग्ला र ? थकाई, भोक अनि निराशाले आजित भएँ । साँझ पर्न थालिसक्यो, त्यसैले फर्कनुपर्छ भन्ने पनि लाग्यो । नम्बर छाडेको ठाउँबाट फोन आउला कि भन्ने आशैआशमा होस्टेलतर्फ फर्कें ।
यसैगरी अर्को दिन आफ्नो गन्तव्य मंगलबजार, ग्वार्काेतिर बनाएँ । सुनेकी थिएँ यहाँ पनि पुराना घरहरु भएकाले कोठा पाइने सम्भावना हुन्छ रे । हिजोको जस्तै गरी बाटामा भेटेका देखी लिएर पसलमा, गफ गरेर बसिरहेका महिलापुरुष सबैलाई सोधें । छाबहाल, गावहाल, महापाल सबैतिर गएँ । बल्ल ग्वार्काेमा एउटा नेवार अंकलको घरमा एउटा कोठा पाइयो । कोठामा दिउसो नै लाइटको जरुरी पर्ने, अँध्यारो, साँघुरो, धाराहरु सोका निमित्त मात्रै जडान गरिएजस्तो, थोपोछिटो पानी आउने होइन । मन त पटक्कै परको’ होइन, घुम्दाघुम्दै थाकिसकेकाले यसैलाई हुन्छ भनौं जस्तो लाग्यो किनभने मसंग अरु विकल्प पनि त थिएन । घरबेटी आन्टीलाई सोधें, आन्टी यसको भाडा कति नि ? आन्टीले अब त्यहाँको नियमहरु बताउन लाग्नुभयो । कोठाभाडा रु. ३५००। ,बिजुली, केबल, फोहोर जतिपनि अरु सुविधाको छुट्टै पैसा लाग्ने, महिना पुगेकै दिनमा भाडा दिनुपर्ने, बेलुका आठ बजे सम्म आइपुग्नुपर्ने नत्र गेट बन्द हुने, पाहुना ल्याउन नपाउने, कोठामा हल्ला गर्न नपाउने, कोही पनि केटामान्छे यो घरको गेट सम्म पनि आउन नपाउने आदि अन्यथा कोठा छाड्नुपर्ने जस्ता नियमहरु सुनाए । मैले पनि आफ्नो भएभरका गुण भनें सकेसम्म विश्वास दिलाउन खोजें । नत्र यही कोठा नि नपाइने डर  ?
यसरी आँफू र आफ्नो परिवारको कत्रो सपना बोकेर गाउँबाट आएका हुन्छन् । उनीहरुलाई यहाँको हरेक कुरामा चर्को संघर्ष गर्नुपर्ने बाध्यता हुन्छ । एकातिर आफ्नो अध्ययन अर्कातिर आफ्नो गाँसबाँसको समस्या । त्यति मात्र हो र ? बस्दा, कलेज पढ्दा, बाटोमा हिड्दा, सपिङ्ग गर्दा उनीहरुलाई सुरक्षाको प्रत्याभुति छैन । आफ्नै ठाउँ, आफ्नै रगत पसिनाले आर्जेको मुलुक, लगानी परेको राष्ट्रमा त बाँच्नको निमित्त यत्रो संघर्ष गर्नुपरेको छ भने विभिन्न अभिलाषा बोकेर अर्काको मुलुक गएका दिदीबहिनीहरुको हालत के यो नेपाल सरकारले अन्दाज सम्म लगाउन सक्ला ?

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment