पोखरा, १४ चैत ।
कलेज पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा जिल्ला स्तरिय ‘कलेज आईडल’ हुने भएको छ । स्टार टिम वर्क नेपालको आयोजनामा हुने ईभेन्टमा गायन र नृत्य गरि दुई विधामा प्रतिस्पर्धा हुनेछ । आयोजकले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि ‘कास्की कलेज आईडल’को बारेमा जानकारी दिएको हो ।
‘कलेज पढ्ने विद्यार्थीहरुको प्रतिभालाई उत्कृष्ट मञ्चको अवसर प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’ पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष कमल जिटिले भने–‘विद्यार्थीहरुलाई ईभेन्टसम्म ल्याउनका लागि हामी कास्कीका हरेक कलेजमा अभियान चलाउने तयारी गरिरहेका छौँ ।’ कास्कीका सम्पूर्ण कलेजहरुबाट करिब ५ सयको संख्यामा प्रतिस्पर्धामा विद्यार्थीहरुलाई सहभागी गराउने आयोजकले लक्ष्य राखेको छ ।
प्रतियोगिताका संयोजक प्रकाश दिपले प्रतियोगिताको लागि फाराम खुलेको जानकारी गराए । करिब एक महिनासम्म फाराम वितरण गरिसकेपछि प्रतियोगिताको अडिसन राउण्डमा जाने उनले बताए । आयोजक स्टार टिम वर्क नेपालले जेठको अन्तिम सम्ममा प्रतियोगिताको फाईनल सकाईसक्ने लक्ष्य लिएको छ । यद्यपी बीचमा कलेज र विद्यार्थीहरुको पठनपाठनसँगै जाँच परेको खण्डमा समय फेरबदल गर्न सकिने आयोजकले बताएको छ ।
प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ प्रथमलाई ५० हजार पाँच सय ५५ रुपैयाँसँगै आकर्षक गिफ्ट ह्याम्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यस्तै दुवै विधातर्फ दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैँया प्रदान गरिने उसले बताएको छ ।
स्टार टिम वर्क नेपालले यसअघि मिस डाईनामिक नामक ईभेन्ट सकाईसकेको छ भने अहिले डाईनामिक स्टार नामक ईभेन्ट संचालन गरिरहेको छ । ईभेन्टमार्फत दायरा फराकिलो बनाउनकै लागि उसले पछिल्लो पटक कास्की कलेज आईडलको आयोजना गर्न लागेको हो ।
0 comments :
Post a Comment