काठमाडौं, चैत १६ – सुन्दरी प्रतियोगिता मिस मंगोलले पुरस्कार वृद्धि गरेको छ । यसपालि उपाधि जित्नेले एक लाख रुपैयाँ, स्कुटर र छात्रवृत्तिसमेत पाउने छिन् । त्यस्तै फस्ट रनरअपलाई ५० हजार र सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसपालि हुन लागेको प्रतियोगिताको सातौं संस्करणका लागि अहिले सहभागीहरु छनोट गर्ने क्रममा छ आयोजक एक्सन इन्टरटेनमेन्ट । प्रतियोगितामा एसएलसी उत्तीर्ण १६ देखी २४ वर्ष उमेरका र पाँच फिटभन्दा बढी उचाई भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने मापदण्ड छ ।
मिस मंगोलमा विजेता छनोट प्रक्रियालाई वैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सोलाई आधार बनाइँदै आएको छ ।
यसपालि सर्टकट इन्ट्रीमार्फत् मिस ट्यालेन्ट विजेता र एसएमएस भोटिङमा सबभन्दा धेरै भोट पाउनेलाई उत्कृष्ट १५ मा सिधै प्रवेश दिइनेछ ।
अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले एक महिना प्रशिक्षण दिने छन् ।
विभिन्न जातीय सौन्दर्य प्रतियोगिताका विजेतालाई बिना अडिसन सहभागी गराइने आयोजक चन्दा घिसिङले जानकारी दिएकी छन् । अन्तिम प्रतिस्पर्धा आगामी वैशाख २६ का दिन काठमाडौंमा हुनेछ ।
0 comments :
Post a Comment