English Edition

कीर्तिमानी आरोही आप्पाले भने- धन्यवाद गुगल


‘एक होइन, दुई-तीन-चार पनि होइन, २१ पटक कसरी तपाई कसरी सगरमाथा चढ्नुभयो?’
‘...अब  २२ पुर्‍याउने कि?’
सनफ्रान्सिस्कोस्थित टिवटर भवनको चौथो तलामा शुक्रबार साँझ कीर्तिमानी आरोही आप्पा शेर्पाले यस्तै प्रश्नहरूको सामना  गरे, जसका उनीसँग सरल जवाफहरू थिए।
‘म बच्चामा डाक्टर बन्न चाहन्थेँ,’ उनले आफ्ना जीवनका सुरुका दिन सम्झे, ‘तर जब म १२ वर्षको थिएँ, मेरो बुवाको मृत्यु भयो। त्यसपछि मेरासामू अर्को कुनै च्वाइस थिएन। म भरिया बनेँ।’
त्यो ‘बाध्यताको भरिया’ बिस्तारै आरोहीमा र त्यसपछि कीर्तिमानी आरोहीमा बदलिँदै गयो।
बुवा चाँडै नबित्नुभएको भए अथवा डाक्टर बनेको भए के हुन्थ्यो?
‘म पनि पश्चिमीहरूजस्तै शोखका लागि एक दुईपटक सगरमाथा चढ्न जान्थे होला।’
ठिकै भयो, उनी डाक्टर बन्नेतिर लागेनन। लागेको भए, हिमाल चढ्न सुरु गरेको २२ वर्षमा एक्काइसपटक सगरमाथाको चुचरोमा पाइला टेक्ने कीर्तिमानी आरोही हामीले भेटने थिएनौँ।
अब फेरि सगरमाथा चढ्ने कुरा?
‘भो अब पुग्यो।’
श्रीमतीले ‘भो पुग्यो’ भनेको त १२ औँ पटक सगरमाथा चढ्दादेखि नै हो। तर खुसुक्क खुसुक्क उनले अरु ९ पटक सगरमाथा चढे। सन् २०११ बाट भने चटक्कै छोडेका छन्। सगरमाथा चढ्दाताकाको जस्तो कालो अनुहार अब छैन। गोरो हुँदै गएको छ।
आफ्ना छोराछोरीको शिक्षासँगै अब उनको ध्यान  सगरमाथा क्षेत्रको शैक्षिक विकासतिर तानिएको छ।
हाल परिवारसहित अमेरिकाको सल्ट लेक सिटीमा बस्दै आइरहेका आप्पा शेर्पाले आफ्नै नामको एउटा फाउन्डेसन चलाइरहेका छन्। जसको उद्देश्य  छ- सगरमाथा क्षेत्रको शिक्षाको विकासमा सकेजति सहयोग गर्ने।
अहिले उनी यही अभियानमा सक्रिय छन्।
यही अभियानको क्रममा एउटा महत्त्वपूर्ण घटना भएको छ, उनको जीवनमा। गुगल, जोडिन आइपुगेको छ उनीसँग। नेपालको स्टोरी साइकलका सौरभ ढकाल र शेर्पाको सक्रियतामा गुगल अर्थले सगरमाथा क्षेत्रको ‘स्ट्रिट भ्यु’ तयार पारेको छ। जसमा त्यस क्षेत्रको भौगोलिक चित्र मात्र होइन, संस्कृति र जीवन पनि उतारिएको छ।
सही तस्बिरले सही कथा बोल्छ र  सही कथाले सही प्रभाव पार्छ।
गुगल अर्थकी प्रोग्राम म्यानेजर रालेग सिम्सटर भन्छिन्, ‘कुनै पनि क्षेत्रको भूगोल, जीवन र संस्कृति बुझ्न, नक्सा वा तस्बिर एउटा शक्तिशाली माध्यम हो।’
यही माध्यम रोजेका छन् आप्पा शेर्पाले। उनको विश्वास छ, ‘गुगल म्यापको यो सहयोगले खुम्बु क्षेत्रको शिक्षाको विकासलाई सहज बनाइदिनेछ।’
ग्लोबल नेपाली प्रोफेसनल नेटवर्कले शुक्रबार साँझ सनफ्रान्सिस्कोस्थित टिवटर भवनमा आयोजना गरेको कुराकानीमा ढकाल, आप्पा शेर्पा र गुगल अर्थकी रालेग सिम्सस्टरले गुगलका लागि सगरमाथा क्षेत्रका तस्बिरहरू उतार्दाका अनुभव सुनाइरहेका थिए।
नाफारहित संस्थाका अभियानहरूलाई सहयोग गर्ने नीतिअन्तर्गत सगरमाथा क्षेत्रका कथाहरूलाई ३ सय ६० डिग्री तस्बिरमा उतार्न गुगलले सहयोग गरेको बताउँदै सिम्सस्टर भनिरहेकी थिइन्, ‘त्यस क्षेत्रमा यातायातको कुनै अरु साधन छैन, भरिया र याकबाहेक।’
जब एकै ठाउँमा धेरै याक बसिरहेको तस्बिर स्क्रिनमा आयो, उनले हाँसेर भनिन् - याक पार्किङ लट।
थामेस्थित आप्पा शेर्पाको घरमा उनका परिवारसँग बिताएको समय सिम्सस्टरका लागि कहिल्यै नबिर्सने क्षण बनेको छ ।
गुगल अर्थले तयार पारेको सगरमाथा ‘स्ट्रिट भ्यु’ले त्यस क्षेत्रको भूगोल, जनजीवन र संस्कृति बुझ्न मद्धत पुग्ने र यसबाट आप्पा शेर्पाको शिक्षा अभियानमा पनि थप सहयोग मिल्ने आशा उनको छ।
आप्पाको आफ्नो सरलता त छँदैछ- अहिलेसम्म सगरमाथा २१ पटक चढ्ने भनेर आप्पा शेर्पालाई मात्र चिन्थे। अब गुगलले आप्पा शेर्पाको गाउँ थामेलाई पनि चिन्ने बनाइदिएको छ। धन्यवाद गुगल।

Setopati

प्रकाशित मिति: आइतबार, चैत्र ८, २०७१ १५:२०:४३

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment