सुकृत नेपाल
केही दिनपहिले फिल्म ‘मिसन पैसा टु रिलोडेड’ हेर्दा केही दर्शकसँग नेपाली फिल्मको बारेमा कुरा भयो । नेपाली फिल्मका कथा किन एउटै किसिमका मात्र हुन्छन्, भन्ने अधिकांश दर्शकको टिप्पणी थियो । पछिल्लो एक दशकमा नेपाली फिल्म क्षेत्रमा धेरै नयाँ अनुहारहरु भित्रिए, नयाँ प्रविधिको प्रयोग नेपाली फिल्ममा नभएको पनि होइन तर नेपाली फिल्मले आशाजनक कमाइ भने गर्न सकिरहेको छैन । फिल्मकर्मीहरु नयाँनयाँ कलाकारहरु भित्र्याएर आधुनिक प्रविधिको प्रयोग गरिरहेको दाबी गरिरहेका छन् तर जुन जोगी आए पनि कानै चिरेको भनेझैं भएका छन् नेपाली फिल्महरु ।
निर्माता निर्देशक भन्ने गर्छन्, अन्य फिल्मको दाँजोमा नेपाली फिल्मले फरक शैली र धारलाई आत्मसाथ गरेको छ । तर त्यो फरकपन के हो भन्नेबारे नेपाली दर्शकले महसुुस गर्न पाएका छैनन् । फिल्म मिसन पैसा टु रिलोडेड हेरेका दर्शक अपर्ण कोइरालाले यो पंक्तिकारसँग भनेका थिए, यस्तो फिल्म पनि बनाउने ? यो हामीले हेर्ने फिल्म हो कि बच्चाहरुले खेल्ने भिडियो गेम ?
अर्पणमात्र होइन नेपाली फिल्म हेर्न हलसम्म पुग्ने अधिकांश दर्शकको मुखबाट आउने यस्ता प्रश्न र गुनासाहरु पर्याप्त सुनिँदै आएको छ । तर खोइ, यी प्रश्नको जवाफ दिन किन तयार छैन फिल्मका निर्माता निर्देशकहरु ?
हप्तामा तीन चारवटा फिल्म एकसाथ हलमा लाग्नुले पनि नेपाली फिल्म नचल्नुको अर्को कारण हुन सक्छ । यसो हुँदा फिल्म जुध्ने समस्या एकातिर छ भने अर्कातिर हलमा पर्याप्त दर्शक आइपुग्दैनन् । फिल्म चलोस् नचोलोस् यहाँका निर्देशक निमार्ताहरुलाई आफ्नो फिल्म चलाउन पाए पुग्छ । निमार्ताहरु आफ्नो लगानी कसरी उठाउने भन्ने ध्याउन्नतिर लाग्नाले दर्शको भित्री चाहनासम्म पुग्न सक्दैनन् । दर्शकको रुचिअनुसार नेपाली फिल्म बनाउनुपर्छ भन्ने चेत नआएसम्म यो हबिगत कायमै हुनेछ ।
कुन फिल्मले कति आम्दानी गर्यो, हलमा कुन फिल्मलाई कहिले प्रदर्शन गर्नेजस्ता पारदर्शी सिस्टम बक्स अफिस प्रणालीको नहुँदा पनि हाम्रोजस्तो सानो देशमा पनि फिल्म उद्योग अस्तव्यस्त हुन पुगेको छ । यदि बक्स अफिस प्रणालीलाई कडाइका साथ लागू गर्ने हो भने फड्को मार्न कत्ति समय पनि लाग्दैन । अहिले त आफ्ना नातागोता भित्र्याउने तथा आफै लगानी गरेर नायक नायिका बन्ने क्रमले तीव्रता पाइरहेको छ । यो विकृति जबसम्म हट्दैन दर्शकले फिल्ममाथि अपनत्वको अनुभूति गर्न सक्नेछैनन् ।
देशमा आएको राजनीतिक परिवर्तन र महँगीका असर यहाँको फिल्म उद्योगमा पनि परेको छ । युवाहरु कामको खोजीमा वैदेशिक रोजगारीमा बाहिरिइरहेका छन् । यहाँ कैयौं नेपाली यस्ता पनि छन्, जसले बिहान खाएपछि बेलुका के खाने भनेर चिन्ता गर्नुपर्छ । दैनिक परिश्रम गरेर मात्रै हातमुख जोर्नुपर्छ । तिनलाई कस्तो फिल्म आयो गयो चासो हुँदैन । जब मानिस सबै कुराले सन्तुष्ट हुन्छ, र फुर्सदको समय निकाल्छ तब उसले मनोरन्जनको खोजी गर्छ । ठूला मलहरुमा विस्तार भइरहेका मल्टिप्लेक्स हलहरुमा पुग्ने दर्शक पर्याप्त मनोरन्जको अपेक्षामा हुन्छन् तर फिल्मको कथाकहानी र प्रविधिमा नयाँपन पाउँदैनन् ।
नेपाली फिल्मको इतिहास हेर्ने हो भने अब यो क्षेत्र पाको भइसकेको छ । पचास वर्षको इतिहास बोकिसकको नेपाल फिल्म उद्योगले नेपाली दर्शकमा भने प्रभाव जमाउन सकेको छैन । फिल्म निर्माणका लागि जुन रुपमा कथाको पक्षलाई सशक्त बनाउनुपर्ने हो, त्यसमै चुकेका छन् निर्देशकहरु । हतारमा कथा बनाउने, छिटो फिल्मको छायाँकन सक्ने, तीन वटा गीत, एक दुईवटा द्वन्द्वका दृश्य राखेपछि फिल्म तयार हुन्छ भन्ने थोत्रो चलन अहिले पनि हाबी छ । यस्ता फिल्मले उपत्यका बाहिरका हलमा कामचलाउ व्यापार गरिरहेकै हुन्छन् ।
एकाथरी निर्माता निर्देशकहरु यस्ता छन्, जो हिरो भनेको ठूलो खाइलाग्दो ज्यान भएकै हुनुपर्छ नत्र फिल्म चल्दैन भन्ठान्छन् । रुपमा आकर्षक, मिलेको जिउडाल र बलिष्ठ शरीर भएका हिरोको नेपालमा कमी छैन तर तिनले खेलेको फिल्मको हालत पनि उस्ते छ ।
अनुभवभन्दा फिल्म एकेडेमिक कोर्स गरेर आउनेहरुले पनि पछिल्लो समय आफ्नो कलाकौशल त देखाउने कोसिस गरे तर यहाँको गन्जागोल अवस्थाले उनीहरुलाई पनि ओझेलमा पारिदियो । निश्चल बस्नेत, यादव भट्टराई, हेमराज वीसीले नयाँ प्रयोग गर्न खोजे तर उनीहरुका फिल्म पनि उम्दा देखिन सकेनन् । फिल्म निर्माण कार्यलाई अत्यन्तै सजिलो रुपमा बुझ्नु नै सबैभन्दा ठूलो समस्या हो । विदेशी फिल्म हेर्ने हो भने कथा र स्क्रिप्ट लेखनलाई सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ र दक्ष स्क्रिप्ट लेख्न सक्नेले मात्र कथा लेखनको काम गर्छन् । यहाँ भने दुई अक्षर पढ्न सक्नेले पनि फिल्मको कथा लेख्छन् अनि कहाँबाट आओस् राम्रो प्रतिफल ?
फिल्म क्षेत्रमा यस्ता व्यक्ति पनि छन्, जो आफैं फिलम निर्माण गर्ने र प्रचार गर्ने ध्याउन्नमा हुन्छन् । बलिउडको फिल्मलाई अनुवाद गरेर फिल्म चलाउन माहिर छन् कति यहाँ । फिल्मको नाम उही, भाषा फरक, कलाकार फरक, अभिनय चाहिनेभन्दा बढी नाटकीय । एक समय यस्तो आयो, नेपालमा कोरियन फिल्मका कथा छ्याप्छ्याप्ती भए । नेपाली दर्शकलाई विदेशी भाषाका फिल्म हेर्नु नै नपर्ने भो । विदेशी फिल्मको प्रभावले नेपालीपन हराउँदो छ, पर्दामा । दर्शकको माग पनि यहाँ नेपाली फिल्मको भन्दा विदेशी फिल्मकै बढी हुन्छ । नारी संवेदनालाई उठाएर रोनाधोनाको प्रयोगमार्फत दर्शकलाई आँसु चुहाउन बाध्य पार्ने पुरानो फिल्मी सूत्र अझै हाबी छ, त्यसको सुधार जरुरी भइसक्यो । केही निर्देशक छन् जो बालमनोविज्ञानमा फिल्म बनाउँदा फिल्म चल्ने विश्वास गर्छन् । कुनै पनि फिल्म चल्न त्यसको कथाले दर्शकलाई तानेको हुनुपर्छ तबमात्र दर्शक आफैं हलसम्म तानिन्छन् ।
फिल्म क्षेत्रमा बौद्धिक जमातको अभाव छ । पढेर आएकाले नयाँ प्रयोग त खोज्छन्् तर तिनीहरुमा यहाँको रोगले छुन धेरै समय लाग्दैन । हतारमा काम सकाउने र फुर्सदमा पछुताउने धेरै छन् ।
नेपालीको आर्थिक अवस्थामा पछिल्लो समय सुधार आएको छ । यसबाट उनीहरु थोरै समय निकालेर मनोरन्जका लागि छुट्याउन लालायित छन् । उनीहरुलाई स्वस्थ मनोरन्जनका साथै नेपाली माटोको स्वाद आउने फिल्म निर्माणपटि निर्माताको चासो बढ्नुपर्छ ।
0 comments :
Post a Comment