उपेन्द्रराज पाण्डेय
आज मार्च २२ विश्व पानी दिवस । नेपालमा पनि ‘दिगो विकासका लागि पानी’ नाराका साथ विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ, तर पानीको सही उपयोग र स्रोतको संरक्षणतिर कसैको पनि ध्यान पुगेको देखिदैन । पानी मानव जीवनका लागि मात्र हैन, सम्पुर्ण प्राकृतिक सन्तुलनका लागि नै आवश्यक छ । पानी मानव जीवनका विभिन्न पक्षहरुसंग प्रत्यक्ष सम्बन्ध राख्दछ ।
विश्वमा एकातिर तिव्र जनसंख्या वृद्धि भइरहेको छ भने अर्कोतिर पानीको स्रोतहरु क्रमश सुक्दै गइरहेका छन् । यूएन वाटरका अनुसार अहिले जनसंख्या वृद्धिका कारण पानीको माग तिव्रगतिमा वृद्धि भइरहेको छ । अहिले विश्वमा करिब आठ करोड तिस लाख मानिस सफा खानेपानीबाट वञ्चीत भएको अवस्था छ । जसले गर्दा विभिन्न रोगहरुको सिकार भएर अकालमा करोडौं मानिसले ज्यान गुमाउनु परेको छ । प्रत्येक आठ सेकेण्डमा विश्वको कुनै न कुनै कुनामा एक जना बालकको मृत्यु दुषीत पानीका कारण हुने यूएन वाटरले जनाएको छ ।
पानीको समस्या कुनै एक भौगालिक क्षेत्रको समस्या नभई विश्वका सबै मुलुकमा उस्तै छ । अझ नेपालजस्ता विकासोन्मुख देशहरुमा पानी मुख्य समस्याका रुपमा रहेको छ । अहिले पनि ग्रामिण भेगमा जाने हो भने मानिसहरु आफ्नो प्रमुख समस्या भनेको खानेपानी बताउछन् । गाउँमा त पानीका सहज आपुर्ती हुन नसेकोमा बढ्दो सहरीकरण संगै अगाडी बढेका प्रमुख सहरहरुमा खानेपानी मात्र होइन लुगा धुने र नुहाउने पानी पाउन हप्तौं कुर्नुपर्ने अवस्था छ । राजधानी काठमाडौं लगायत ठूला शहरहरुमा त पानीका लागि ठूलै समस्या भोग्नुपर्ने अवस्था छ । खानेपानी आपुर्तीका लागि सञ्चालनमा रहेको एकमात्र सरकारी संयन्त्र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले हप्तामा एकपटक पानी दिने गरेको छ राजधानीबासीका लागि तर त्यो पनि भरपर्दो छैन ।
नेपाल पानीको स्रोतका हिसाबले धनी भएता पनि विभिन्न अध्ययन अनुसन्धान प्रतिवेदनले जनाएअनुसार क्षेत्रफलको हिसाबले पृथ्वीको ०.०३ प्रतिशत भु—भाग ओगटेको नेपालमा स्वच्छ पानी भने ०.४५ प्रतिशत मात्रै छ । हालसम्म नेपालको कुल जनसंख्याको ६६ प्रतिशतले मात्र पाइपबाट नदीनालाको पानी प्रयोग गर्ने गरेका छन् । राजधानीको सन्दर्भमा हेर्ने हो भने खानेपानी विकराल समस्याका रुपमा रहेको छ । १ ग्यालेन पानीको लागि पनि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । नीजि क्षेत्रले पानी आपुर्तिका लागि केही भुमीका खेलेको भएता पनि गुणस्तरतर्फ भने ध्यान दिएको पाइदैन । उपत्यकाका विभिन्न ठाउँहरुबाट पानी भरेर ट्याकंरहरुमार्फत पानी आपुर्ती गरिने गरिएको छ । तर पानीमा आर्सेनिकको मात्रा रहेको नरहेको कसैले पनि चाँसो दिएको पाइदैन । नेपालमा पानीको गुणस्तर जाँच गर्ने कुनै आधिकारिक सरकारी निकाय छैन । उपभोक्तालाई हेर्दा सफा देखिने पानी पाउनु नै ठूलो कुरा भएको छ भने व्यवसायीहरुलाई नाफा प्रमुख उद्देश्य रहेको छ ।
वर्तमान परिप्रेक्ष्यमा पानी विश्वकै प्रमुख समस्याका रुपमा रहेको छ । यदि यहीं अनुपातमा जनसंख्या वृद्धि भइरहने हो भने पानीको लागि विश्वमा युद्ध हुनेछ । भएको पानीको स्रोतको सही प्रयोग र उपभोग गर्न नसकेमा पानी विश्व समुदायका लागि चुनौति बन्न पुग्नेछ । अहिले पनि पानीको स्रोत र उपयोग बारे विभिन्न देशहरुबीच विवाद भैरहेको स्पष्टै छ । ब्रह्मपुत्रको बारेमा चीन, भारत र बंगलादेशबीच, नाइल नदीबारे इजिप्ट र इथियोपिया, कोशीबारे नेपाल र भारतबीच रहेका विवाद विश्वका चर्चित पानी विवाद हुन् । त्यसैले सम्भावित संकटलाई सम्बोधन गर्न विश्व समुदाय एक हुनुपर्ने आवश्यकता रहेको छ । सुक्दै गएका पानीको स्रोतहरुको संरक्षण र सम्वद्र्धन गर्न नसके मंगललगायतका ग्रहहरुमा होइन पृथ्वीमै पानी कहाँ छ भनेर खोज्ने दिन नआउलान् भन्न सकिन्न ।
0 comments :
Post a Comment