English Edition

जनजाति मुद्दाले मन दुखाएका विजय किन फर्के एमालेमै?

विजय सुब्बालाई विरक्त पार्ने बुँदाहरू
२०७१ साउन २१ गते । विजय सुब्बा बिहान आफ्नो घरमा अखबार पढ्दै थिए। एउटा समाचार पढ्न सुरु गरेपछि उनले मन थाम्न सकेनन्।
 
समय टक्क रोकियो। उनी विगततिर फर्किए।
 
समाचार एमाले महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीको कमजोर स्वास्थ्य अवस्थाबारे लेखिएको थियो। उनी अगाडि पढ्दै गए– ओलीले वक्तव्य पनि पूरा पढ्न सकेनन्। त्यसलाई एमालेका अर्का केन्द्रीय नेता प्रदीप ज्ञवालीले पढिदिएका थिए। आँखाबाट आँसु चुहिरहेको थियो। आदि/इत्यादि। हेर्नुहोस् समाचारमा-

'कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि भन्ने सुविधा छैन'

समाचार अद्योपान्त पढिसक्दा नसक्दै कवि हृदयका विजय सुब्बाका मनमा आफूले वर्षौं सँगै काम गरेका नेताप्रति करुणाभाव जागृत हुन थाल्यो। नियतिले उनलाई अर्कै पार्टीको वरिष्ठ नेता बनाएको भए पनि मन एमालेमै थियो।
 
‘मैले मन थाम्नै सकिनँ,’ एमाले केन्द्रीय सदस्यको सपथ ग्रहण गरेर फर्केपछि आइतबार सुब्बाले त्यो क्षणको सम्झना गर्दै भने, ‘म अर्कै पार्टीमा भए पनि उहाँलाई भेट्नु पर्छ भन्ने लाग्यो।’
 
पूर्वेली साइनो छँदै थियो, त्यसमा पनि ओली, आरके मैनालीलगायत नेतासँग यिनको निकटता वर्षौं पुरानो हो। एमाले नेताहरूसँग पहिचानको राजनीतिका विषयमा असहमति भएपछि दलका पुराना नेताहरू अशोक राई, रकम चेम्जोङलगायत सँगै यिनले पनि दल त्यागेका थिए।
 
संघीय समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष सुब्बाको एउटा मनले प्रश्न गर्‍यो– के मैले एमालेका नवनिर्वाचित अध्यक्ष ओलीलाई भेट्न हुन्छ? त्यो द्विविधा उनको मनमा धेरै लामो समय रहन सकेन।
 
ओलीप्रतिका उनका भावना र सँगै काम गरेका क्षणले उनका पाइला बालकोटस्थित ओली निवासतर्फ डोहोर्‍यायो। ‘यस्तो बिरामी अवस्थामा त मैले गएर उनलाई भेट्नै पर्छ,’ उनले आफैंलाई आदेश दिए।
 
सुब्बा आफूलाई भेट्न आएको देखेर ओली असाध्यै खुसी भए। उनको स्वास्थ्यबारे कुराकानी टुंगिएपछि विषय प्रवेश गर्‍यो राजनीतितिर। पार्टी छोडेर जाँदाको असजिलो भत्किसकेको थियो। यसै पनि ओली अन्तरंग कुराकानीमा सिपालु छन्।
 
‘तपाईंको कारण मेरो भोट कम भयो,’ ओलीले आफ्नै सुपरिचित शैलीमा भने। नहोस् पनि किन? दोस्रो संविधानसभा निर्वाचनमा सुब्बाकै कारण एमालेको मत निकै घटेको थियो। कांग्रेसका स्थानीय नेता कार्यकर्तासमेत उनीहरूप्रति आकर्षित भएका थिए।
 
पहिलो संसदीय निर्वाचनमा सुब्बाका दाजु अभय सुब्बाले ओलीलाई साइकलमा हालेर निर्वाचन क्षेत्र घुमाएका थिए। त्यो बेला अभय जिल्ला कमिटी सदस्य थिए।
 
ओलीलाई पहिलेका चुनावमा सघाउने विजयको परिवार र नाताका मानिस टाढिएका थिए। विजयले आफ्ना जेठान रामचन्द्र लिम्बूलाई संघीय समाजवादीमै लगेका थिए। विजय फर्केर एमालेमा आए। तर, आफैंले लगेका उनीहरूलाई फर्केर आउन उनले भन्न सकेका छैनन्।
 
उनी फर्केर आएपछि केन्द्रीय सदस्यमा मनोनित भइसकेका छन्। उनलाई पोलिटब्युरोमा पनि पार्टीले लैजाला। तर, उनीसँग गएकाहरूले फेरि फर्केर त्यही पद पाउने स्थिति नरहन सक्छ।
 
किन दुख्यो चित्त?
अब एमालेमा बस्न सकिने अवस्था रहेन भन्नेमा उनी त्यतिबेला पुगे, जतिबेला दलका नेताहरूले पहिचानसम्बन्धी विषयमा पहिलेका निर्णयलाई सच्याए। त्यो बेला उनीलगायत जनजाति समुदायबाट आएका नेताहरूको चित्त साह्रै दुखेको थियो। त्यसमा पनि यी सोझा सुब्बालाई त्यसले नछुने कुरै भएन्।
 
२०६२/०६३ को जनआन्दोलनपछि समावेशी लोकतन्त्रको हावा चलेको थियो। त्यसलाई एमालेले महाधिवेशनबाटै अनुमोदन गर्‍यो। तर, एमालेले राष्ट्रिय परिषद् बैठकबाट यसलाई सच्यायो।
 
‘त्यो बेला हाम्रो चित्त नराम्ररी दुखेको थियो,’ सुब्बाले भने, ‘तर, संविधान जारी गर्ने समय १४ जेठ २०६९ को हाराहारीमा आइपुग्दा निर्णयहरू परिवर्तन भइसकेका थिए।’
 
त्यो बेलासम्ममा एमालेले जातीय पहिचानको सट्टामा बहुपहिचानको पक्षमा आफूलाई उभ्याइसकेको थियो। अघिल्लो संविधानसभामा लिम्बुवान्, ताम्सालिङ, किराँतलगायत पहिचानसहितका १५ प्रदेशमा एमालेले पनि सहमति गरेको थियो। एमाले पार्टी सचिवका रुपमा गंगालाल तुलाधरले यसलाई संविधानसभामा दर्तासमेत गराएका थिए।
 
एमाओवादी र एमाले सभासदहरूको बहुमतका आधारमा संघीयताका १४ प्रदेशसमेत समितिबाट अनुमोदित भइसकेको थियो। एमालेभित्रका जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरूको चित्त त्यतिबेला नराम्ररी दुख्यो, जतिबेला नेताहरूले त्यो निर्णय आधिकारिक होइन भने।
 
‘म त सोझो मान्छे, नेताहरूलाई गएर यसो नगरौं भनेँ,’ सुब्बा अहिले सम्झन्छन्, ‘जेएन (झलनाथ खनाल) कमरेडले ‘बाँसका पट्यास’ भन्नुभयो भने ओली कमरेडले ‘भकुन्डो एकछिन उफ्रिन्छ’ भन्नुभयो। हामीले पनि त्यो बेला मुख छोड्यौं।’
 
‘पहिलाको निर्णय उल्ट्याएपछि हामीले पार्टी छाड्यौं,’ उनले भने।
 
यो निर्णयले आफैंले वर्षौं लगाएर बनाएको पार्टीलाई नोक्सान हुन्छ भन्ने हामीलाई लागिरहेको थियो। जनजाति समुदायबाट आएका नेताहरूले आपसमा छलफल पनि गरे। त्यो बेला साह्रै चित्त दुखेको हुनाले विजय पार्टी छोड्ने स्थितिमै थिए। तर, रामचन्द्र झा, पृथ्वी सुब्बा गुरूड, किरण गुरुङ, दलबहादुर रानाजस्ता नेताहरू भने त्यसका निम्ति तयार भएनन्।
 
त्यतिबेलासम्म अग्रगामी विचार समूह बनाएर पार्टीभित्रै संघर्ष गरौं भन्नेमा उनीहरू थिए। तर, तिक्तता बढ्दै गएपछि उनीहरूले पार्टी छाड्नुको विकल्प देखेनन्।
 
सबैले पार्टी निर्माणका लागि आ-आफ्नो ठाउँ तोकेर काम थाले। विजय मेची अञ्चलका सबै जिल्लामा पुगे। पहिला एमाले र माले हुनेहरू पनि बिस्तारै यसमा आकर्षित हुन थाले। अशोक राईलाई राम्रो मान्नेहरू पनि आउन थाले।
 
किन टिकेन संघीय समाजवादी?
समानताका निम्ति सुनुवाइ नभएको ठानेर सुरु भएको पार्टी संघीय समाजवादीप्रति सुरुमा राम्रै आकर्षण थियो। विस्तारै यो दल जातीय राजनीतिका निम्ति आएको हो भन्ने भएपछि भने यसप्रति विकर्षण बढ्दै गयो।
 
‘सुरुमा राम्रै उभार आएको थियो,’ विजयले भने, ‘हाम्रो दिमाग यो पार्टीलाई जातीय बनाउने भन्ने थिएन। क्षेत्री-बाहुन समुदायबाट पनि यसमा सदस्य बनेका थिए।’
 
राधा तिमल्सिना, प्रेमकृष्ण पाठकजस्ता क्षेत्री-बाहुन समुदायका व्यक्तिहरू यसको केन्द्रीय नेतृत्वमा थिए।
 
‘मिडियाले यो जातीय पार्टी नै हो भन्ने स्थापित गराइदियो,’ विजयले भने, ‘यसलाई जातीय रंग दिने भन्ने भित्री सोच थिएन।’
 
पार्टी विस्तारको क्रममा जनजाति समुदायमा पुगेर कुरा गर्दा क्षेत्री-बाहुनले ‘पेलैकै हुन्’ भन्नेमा सहमति भए पनि पार्टी छाडेर आउनु भन्ने आग्रह गर्दा जनजातिकै मानिस पनि ‘आफ्नो पार्टी नै त कसरी पो छोड्नु र?’ भनेर प्रश्न गर्थे।
 
कांग्रेस र एमालेमा रहेका स्थानीय जनजाति नेता तथा कार्यकर्ता यसका निम्ति तयार देखिएनन्। पार्टीबाट फुटेका वा नयाँ बन्ने दलहरूमाथि हत्पत्ति विश्वास गरिनहाल्ने प्रवृत्ति समर्थक तथा शुभेच्छुकमा देखिन्छ।
 
किन विरक्तिए विजय?
विजयले विद्यावारिधि गर्दा आदिवासी जनजाति विषयमा अनुसन्धान गरे। यस विषयमा जानकारी भएपछि बोल्दा अरुले भन्दा बढी नै विजयले प्रष्ट पनि पार्न सक्थे।
 
समाजशास्त्री डोरबहादुर विष्टले भन्ने गरेकोजस्तै ‘बाहुनवाद’ले देशमा शोषण गरेको छ भनेरै अगाडि बढौं भन्नेमा विजय थिए। तर, यसमा उनकै दलका साथीहरू तयार थिएनन्।
 
‘ब्राह्मणवादविरुद्ध भनेर स्पष्ट नलाग्ने बरु उत्पीडित, पिछडिएका जाति र जनजातिको उत्थान मात्र भन्नमै सीमित भयो। मैले ठूलो लिम्बूले सानो लिम्बूलाई हेपेको, ठूलो दलितले सानो दलितलाई बेइमानी गरेको मुद्दालाई पनि स्पष्ट रूपमा अघि बढाऔं भनेको थिएँ।’
 
त्यस्तै अन्य ठूलो पार्टीहरूले जस्तै आफ्नो पार्टीको युवा दस्तालाई पनि लडाकु बनाउने उनको इच्छा थियो। तर, त्यसमा पनि उनले पार्टी नेतृत्वलाई तयार पार्न सकेनन्।
 
सबैभन्दा समस्या उनलाई त्यतिबेला भयो जतिबेला उनले दलभित्र नयाँ मानिस भित्र्याउन खोज्थे। ‘अरु साथीहरूले ल्याएको कलिलो र गैरसरकारी संस्थाका मानिसलाई पनि मैले नाइँनास्ती गरिनँ, तर मैले ल्याउनासाथ त्यसलाई नमान्ने स्थिति पार्टीभित्र भयो।’
 
विजय बलियो होला भन्ने डर हो भने आगामी महाधिवेशनमा आफूले भाग नलिने आश्वासनसमेत दिएका उनले थिए। अशोक राईलाई दुई कार्यकाल अध्यक्ष रहिरहने प्रावधान पहिल्यै राखिएको थियो ।
 
एमाले पार्टी विभाजन भएपछि बनेका एमाले र मालेको रेखा पनि यो दलमा प्रष्टै थियो। धेरैजसो माले पृष्ठभूमिबाट आएका नेताहरू भएका हुँदा विजयको एमाले छविले पनि सधैं अप्ठ्यारो पारेको थियो।
 
अशोक राई, राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङको आपसी गठबन्धनले विजयलाई दलभित्र रहनै नसक्ने बनायो। उनी चुनाव नहुँदै पार्टी छाड्न तयार थिए। तर, त्यसले राम्रो सन्देश जाँदैन भनेर मात्र प्रतिक्षा गरेका थिए।
 
चुनाव भएपछि विवाद झनै चर्कियो। केही समय शीर्ष नेताहरू संविधानसभामा नगएर पार्टी निर्माण गरौं भन्ने थियो। जाने हो भने यसअघि संविधानसभामा भएकाहरूलाई लगेर योगदान गराऔं भन्ने उनको विचार थियो। अशोक राई गएनन् भने त्यो पालो विजयले पाउनु पर्ने पनि उनको दाबी थियो।
 
अशोक संविधानसभामा जाने हुँदा पनि उनी आफैं जान्छु भन्नेमा थिएनन्। अझ लोभी नेताका रूपमा प्रचार गराएपछि उनले आफूलाई रोक्नै सकेनन्।
 
उनले पार्टी छाड्ने निश्चय गरेपछि पार्टीभित्र युवा संगठन बनाउने र विजयले भनेअनुसार गर्ने भनेर सम्झौता भयो। एउटा विपक्षी पार्टीको नेताजस्तो गरी ती निर्णय भए पनि त्यसको कार्यान्वयन भएनन्। उनले सोचे अब यसैमा रहेर कुनै उपलब्धि छैन।
 
के आग्रह गरे ओलीले?
२०२७ सालमा पाँच कक्षामा पढ्दै गर्दादेखि उनी तत्कालीन पूर्व कोसी कोअर्डिनेशन कमिटीबाट कम्युनिस्ट पार्टीको सदस्य बनेका हुन्। एमालेमा आफूजस्ता लाखौं कार्यकर्ता भएकाले त्यहीँबाट जातीयलगायत मुद्दामा न्याय हुन्छ भन्नेमा उनी पुगे।
 
‘मेरा सबै मित्र त त्यहीँ छन् भने यस्तो जालसाझी गर्ने ठाउँमा म कसरी बस्न सक्छु भन्ने मलाई लागिरह्यो,’ विजयले भने, ‘मेरो भावना पनि यतै थियो, सबैजना यतै थिए। मेरो मन पनि यतै थियो।’
 
ओलीले सुब्बालाई पहिल्यै आउन भनेका थिए। तर, उनी केही समय प्रतिक्षा गरे।
 
‘मलाई आउनोस् भन्नुभयो,’ उनले भने, ‘मैले के गर्नु त? भनेर सोधेँ।’
 
त्यसपछि हामीले एमाले आउने प्रक्रिया सुरु गर्‍यौं। हामी एकैदिन ३५ जना एमालेमा प्रवेश गरेका थियौं।
 
त्यो बेला एमालेसँग चित्त दुखाएर हिँडेको तपाईं कसरी अहिले त्यो मुद्दामा संम्बोधन होला भन्ने ठान्नु हुन्छ? उनले भने, ‘एमालेले पनि जातीय समस्या समाधान नगरी सुखै छैन। हामी अन्तर्वस्तुका निम्ति निरन्तर भित्रैबाट संघर्ष गरिरहने छौं।’
 
र अन्त्यमा,
जनजातिका निम्ति हित गर्ने दलमा लाग्दाको अनुभवलाई भने उनले यसरी कवितामा लेखेका छन्-
जनजाति भन्नेहरूका, ह्याउ पनि देखियो
अवसरका अघिपछि, म्याउँ पनि देखियो
 
एक्लै हुँदा राजै राजा, मुसो थुप्रै हुँदाका
दुस्मन अघि यिनको ख्याउँ,ख्याउँ पनि देखियो
 
के पो गर्नु सिद्धान्तका, माहिर मान्छेहरू हो
एक्ला एक्लै अघाएका, ढ्याउ पनि देखियो
 
एकताका विशेष अर्ती, उपदेशहरू थे
नसक्नुका आदर्शका, च्याउ पनि देखियो।

प्रकाशित मिति: मंगलबार, फाल्गुण १९, २०७१ १५:४८:४०

Source: Setopati


Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment