English Edition

कोसी बुबाले तारिदिनुभयो,सागर मैले आफैँ तरेँः राई

अब श्रीमती नै हो, आवश्यक
कसोरी आँखा जुधे, कसोरी माया बस्यो
सकिन्न भन्न सबै, कसोरी आँसु खस्यो।
०४७ सालमा कृष्णहरि बरालको यो गीत, नातिकाजीको संगीतमा बजारमा आयो। बजार अर्थात् रेडियो नेपाल।
एउटा फुच्चेले गाएको थियो गीत। गीत हिट भएन। तर, फुच्चे हिट भयो। त्यो फुच्चेले २५ वर्षको गायनयात्रापछि अहिले आफूलाई ‘किङ’ बनाएको छ। पछिल्लोपटक ‘राई इज किङ’ एल्बम ल्याउने तिनै फुच्चे राजेशपायल राई।
कमलपोखरीको एक रेस्टुरेन्टमा ट्याक्सी चढेर आइपुगेका उनीसँग केहीबेरमै सुरु भयो कफी गफ।
राजेशको बारेमा धेरैलाई थाहा भए पनि त्यो फुच्चेबारे कमैलाई थाहा होला। सकेला, स्कुलका साथीहरूका अगाडि, काकाकाकी, बाजे-बजुको सामुन्ने गीत गाउँथ्यो। ९ कक्षामा पढ्ने फुच्चे बाबुले लेखिदिएको एउटा चिर्कटो बोकेर ०४७ सालमा काठमाडौँ छिर्‍यो।
त्यतिबेला रेडियो नेपालले प्रमाणपत्र नदिई गायक भइन्नथ्यो। बाबुले चिर्कटो दिनेबेला भनेका थिए- पाण्डव सुनुवारलाई भेट्नू ।
खोटाङका जिल्ला विकास समिति सभापति रत्न राईको दोस्ती सुनुवारसँग रहेछ। असल छोराले झैँ उनले त्यो चिर्कटो सुनुवारको हातमा थमाए। लगत्तै उनी रेडियो नेपालमा गीत गाउनका लागि ‘क्वालिफाइड’ भए। त्यतिबेला सुनुवार लोकगीत शाखामा थिए, नातिकाजी संगीत शाखामा ।
‘सुरुमा को हो फुच्चे भन्ने भयो, रेडियो नेपालमा। गीत पनि हिट भएन,’ राजेशले आफ्नो यात्राको सुरुवाती दिन सम्झे, ‘तर, सिंहदरबार छिर्ने मौका दियो। त्यो गीत नै सिंहदरबार छिर्ने लाइसेन्स बन्यो।’
त्यतिबेला रेडियो नेपालमा चौतारी कार्यक्रम थियो। उनी त्यहाँ नियमित गीत गाउन जान थालें।
०४९ सालमा उनले ‘फैलियो माया दुवोसरी...’ गीत गाए। त्यसैले उनलाई गायन यात्राको राजमार्गमा ल्याइदियो। सफलताको यात्रा सुरु भयो। उनी भन्छन् - यही गीतले राजेशपायल राई भन्ने नाम स्थापित भयो।
त्यसपछि उनले फर्केर हेर्नु परेको छैन। ‘कोसी बुबाले तारिदिनुभयो,’ उनी भन्छन्, ‘सागर मैले आफैँ तरेँ।’
नेपाली गीतलाई अन्तर्राष्ट्रियकरण गरेको बताउने उनी कहिले क्यानाडा, कहिले अमेरिका त कहिले बहराइन पुगेका हुन्छन् । केही देश अझै उनी पुग्न पाएका छैनन्। ‘साउथ एसियन, गल्फ, युरोपियन सबै देश पुगिसकें। साउथ अफ्रिका जान बाँकी छ। साउथ अमेरिका जान बाँकी छ,’ उनको धोको छ।
भोजपुरी, हिन्दी, जापानिज, मैथिली, नेवार, लिम्बु राई, अंग्रेजी भाषामा गीत गाएका राजेश ती भाग्यमानी गायक हुन्, जो उदितनारायण झापछि बहुभाषामा गीत गाएर चर्चामा छन्। काठमाडौं छिरेपछि जन्मथलो खोटाङ जम्माजम्मी तीनपटक पुगेको सम्झिने राजेश हङकङ भने २० पटक पुगिसके। अन्य मुलुक पनि त्यसरी नै घुमेका छन्। उनी पैसा कमाउनमात्र होइन, नेपाली गीतको अन्तर्राष्ट्रिय बजारीकरण पनि हो । उनका मेक्सिकन, स्पेनिस्, भारतीय, जापानीज, कोरियन फ्यानहरू यसका प्रमाण हुन् ।
उनी अहिलेका सर्वाधिक व्यस्त गायक हुन्। उनको स्वरका लागि संगीतप्रेमीहरू पर्खेर बस्छन्। यसका लागि उनी आफूलाई भाग्यमानी ठान्छन्, ‘२५/३० गीत स्टेजमा एकैचोटि गाउँछु। मान्छेहरू मलाई पर्खन्छन्। यस्तो अवसर र भाग्य जो कोहीलाई मिल्दैन।’
उनलाई पत्याउने हो भने- राजेशपायल राई जानकार गायक होइन। उसलाई स्टुडियो, स्टेजमा छिरेपछि एकप्रकारको फरक शक्ति प्राप्त हुन्छ र गाउँछ। अनि, सबैको तालीको भागीदार बन्दछ। ‘हामीलाई शक्ति दिने माथि कोही छ, जस्तो लाग्छ,’ उनी थप्छन्।
जब मृत्युबाट फर्किए
राजेशपायल राई र मोजमस्ती पर्याय थिए। उनी पनि त्यस्तै ठान्थे। रक्सी र चुरोट राजेशले जति सायदै कसैले खान्थ्यो। ‘रक्सी र चुरोट मैले जति कसैले खाएन। डिस्को डुल्ने पनि त्यस्तै । मेरै लागि बनेजस्तै लाग्यो,’ उनले कुरा लुकाएनन्।
एक समय उनी प्यारालाइसिसनजिक, मृत्युनजिक पुगे। ‘मृत्युको मुखमा पुगेपछि भ्रममा भएको थाहा पाएँ। निद्रा, रक्सी र चुरोटको नियम रहेछ भन्ने थाहा भयो,’ उनले सुनाए, ‘समयभन्दा अघि केही पाइन्न। गर्ने कोही न कोही छन्। संसारमा कोही मालिक छन् भन्ने लाग्छ। म अहिले टाढा छु। सबै कुराबाट टाढा।’
ती दिनहरू सम्झिएर अहिले पनि अत्यास लाग्ने उनी सुनाउँछन् । तर कर्ममा जुन सफलता पाइरहेका छन्, त्यसले दु:खहरू थिचिरहेकै छ। खुसी हुने आधारहरू दिएका छन्। ‘जब अमेरिकाजस्तो सहरमा एक्लै ४४ पटकसम्म सहरहरूको भ्रमण फ्लाइटमा मात्रै गर्छु, ममा केही छ भन्ने पनि लाग्छ,’ उनी आफैँभित्र हराउँछन्।
कतिपय गायक/कलाकार व्यक्तिगत जीवनबारे आउने ‘गसिप’ले चिन्तित हुन्छन्। तर राजेश चिन्तित हुने कारण बेग्लै छ- म अरु कसैका लागि गीत गाउन गइरहेको छु भने सक्तिनँ, पटक्कै गीत गाउन सक्तिनँ। गीत आफ्ना लागि गाउँछु। मेरो जीवन सार्वजनिक भएकाले ती सबै स्रोता र दर्शकका लागि हुन्।
प्रेमिका छैनबिहे गर्छु
केही दिनयता राजेशले बिहे गर्ने चर्चा चलिरहेको छ। उनले पनि त्यसलाई नकारेका छैनन्।
उनी अभिनेत्री केकी अधिकारीलाई मन पराउँछन्। तर, त्यसको अर्थ बिह नै हो भन्ने उनलाई लाग्दैन। भन्छन्- मन पराउनु राम्रो कुरा हो। उनी राम्री नायिका हुन्। राम्रो अभिनय गर्छिन्। तर बिहे नै गर्छु भन्ने निर्णय त पक्कै होइन।
आफ्नो प्रेमिका नभएको दाबी गरे पनि अब बिहे गर्ने बेला भइसकेको अनुभव उनको छ । ‘यो वर्ष घर किनेँ। गाडी किनेँ। अब मलाई केही चाहिएन। मात्र एउटी श्रीमतीको खाँचो छ। म जीवनलाई अझ व्यवस्थित बनाउन चाहन्छु। बिहे गर्ने मुडमा छु,’ उनले समस्या सुनाए, ‘मान्छे यही हो भन्ने फाइनल गर्न सकेको छैन।’
वैवाहिक जीवनका लागि उनले तयारी पूरा गरेका छन्। के-के हुन् त ती तयारी?
‘घर किनेँ। लालपूर्जा हातमा पर्‍यो। विश्वास लागेन। काठमाडौंमा घर किनेको विश्वास नलागेर निद्रा पनि लागेन। बैंक ब्यालेन्स पनि गरेकै छु। अब श्रीमती नै हो, आवश्यक।’
मिठो पाराले हाँस्ने राजेश थप्छन्- केही गसिप आउँछन्। केही राम्रा कुरा आउँछन् तर केही भन्नसक्ने स्थिति छैन। मैले नकारेको छैन तर त्यही सत्य हो भन्ने पनि ठम्याइ होइन।
गायन संघर्षको २५ वर्ष बितिसक्दा पनि राजेशमा उही उन्माद छ। उही उमंग र जोश छ। गीत र संगीतको कुनै आकार हुँदैन भन्ने उनको बुझाइ छ। उनको ठम्याइ छ- अब गायकमात्र होइन, यसको सीमा पार भएको छ। अब कलाकार हो। यो कलाकारिता हो। कलाकार बन्ने मौका हो।

प्रकाशित मिति: मंगलबार, फाल्गुण १९, २०७१ ०९:४२:१५

source : setopati
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment