English Edition

दुुबई उडेकी युवती सिरियामा बेचिइन्

Yuwatiकाठमाडौ, चैत्र २३ - संखुवासभाकी २५ वर्षीया रमिला (नाम गोप्य) तीन वर्षअघि संखुवासभामा ब्युटिपार्लर चलाएर बसेकी थिइन् । बिहे गरेको दुई वर्षदेखि नै पतिले यातना दिन थालेपछि माइतीको सहारामा पार्लर खोलेकी उनलाई छिमेकको एउटा दाइले विदेश जाँदा राम्रो हुने सुझाए । आफूले मेनपावरको मान्छे चिनेको बताउने ती छिमेकीले उनलाई ०६९ मा काठमाडौं लिएर आए । राहदानी बनाइदिए । त्यसका लागि उनले ५ हजार रुपैयाँ दिइन् ।
काठमाडौंमा संखुवासभा घर भएका आशिष भनिने केदारबहादुर खड्काले एउटै जिल्लाको भन्दै उनीसँग नजिक भए । आफूले दुबईमा मान्छे पठाइरहेको बताए । माइतीको आडमा बसेकी उनलाई पीडा बुझेझैं गरेर खड्काले पैसा नलिई पठाइदिने बताए । 'लाग्न त ८० हजार लाग्छ, तर तपाईंसँग पैसा छैन भने आएर आवेदन दिनुहोस्, आफ्नै गाउँको चेली हुनुहुँदोरहेछ,' खड्काको भनाइ उद्धृत गर्दै उनले भनिन्, 'दयालु रहेछन् भनेर औधी खुसी लाग्यो ।'
०६९ असार पहिलो साता परराष्ट्रबाट राहदानी आएपछि उनीहरूले नै लगे । उनी संखुवासभा फर्किइन् । त्यसको १८औं दिनमा भिसा आएको भन्दै फोन गयो । ५ वर्षे काखे छोरो माइतीको जिम्मा लगाइन् । अनि विदेश गएर पैसा कमाएर छोरालाई राम्रोसँग हुर्काउने सपना देखेर काठमाडौं आइन् । केही दिनमै दुबईका लागि उडिन् । उनलाई पर्यटक भिसामा पठाइएको थियो । पठाउने बेलामा
खड्काले विमानस्थलबाहिर भेटेर 'भित्र माइती नेपालको मान्छे हुन्छ भन्दै ढाँट्न सिकाए,' उनले भनिन्, 'सायद त्यहाँ सत्य कुरो बताइदिएको भए म नबेचिने रहिछु ।'
उनीसहित अरू तीन युवती जाँदै थिए । उनीहरूले एयरपोर्ट पुगेर दुबईमा रहेका आफन्तले डाकेकाले घुम्न जान लागेको बताए । उनीहरूलाई विमानस्थल छिर्नु केही समयअघि ढोकामा भेटेर खड्काले दुईवटा भिसा दिए । एउटा काठमाडौंबाट दुबईको भिजिट भिसा थियो । अर्को दुबईबाट सिरिया जाने भिसा थियो । उनीहरूलाई दुबईमा 'वर्क पर्मिट' का लागि पहिला दुबई हँुदै सिरिया जानुपर्ने र १० दिनभित्रमा त्यहाँ रहेको एजेन्टले दुबईको वर्क पर्मिट दिलाएर पठाउने बताइएको थियो । उनीहरू पनि ढुक्कै भए । दुबई हँुदै सिरिया पुगे ।
एयरपोर्टमा एक सिरियन युवक उनीहरूलाई लिन आएको थियो । त्यहाँबाट मेनपावर पुर्‍याइयो । १० दिनसम्म बन्धक बनाएर राखियो । '१० दिनमा दुबई पठाउने भनेको त हामीलाई अलगअलग गरी अर्काको घरमा काम गर्न पठाइयो,' उनले भनिन्, 'बधुवाझैं भएर सबै काम गर्नुपथ्र्यो ।' अरू दुई युवतीलाई दलालले कहाँ पुर्‍याए, उनलाई पत्तो छैन । उनलाई घरका साहुले बन्धकझैं बनाएर राखे । सुरुमै पासपोर्ट जफत गरेका साहुले घरबाहिर निस्कन दिँदैनथिए । बजारबाट धेरै सामान ल्याउनुपर्ने दिन साथै लिएर जान्थे । आफू बाहिर जाँदा घरमा बाहिरबाट ताला लगाएर जाने गर्थे । सुत्ने ठाउँ भर्‍याङमुनि बनाइदिएको थियो । काम गरेको डेढ महिनामा पनि तलब दिने कुरा नगरेपछि उनले सोधिन् । साहुले आश्चार्य माने । 'उल्टो कस्तो तलब किन तलब भन्दै पो सोधे,' उनले भनिन्, 'अनि मैले म पार्लरको कामका लागि दुबई पठाइएकी हुँ यहाँ यस्तो काम गर्न आएको होइन भन्दा पो थाहा पाएँ, आफू बेचिएको ।' उनलाई घर साहुले दलाललाई ७ हजार अमेरिकी डलर दिएर किनेका रहेछन् ।
'आफू बेचिएको थाहा पाउँदा जमिन नै भास्सिएको जस्तो भयो, चक्कर लाग्यो,' उनले भनिन् 'काखे छोरो सम्भिmएँ, के सोचेर आएको के भयो भनेर रातभरि रोएँ ।' त्यसपछि त उनलाई घरमा झन् धेरै काम लगाउन थाले । एकछिन पनि फुर्सद दिँदैन थिए । 'हाम्रोमा त कुकुरलाई पनि त्यति धेरै हेपिँदैन थियो,' उनले भनिन्, 'बिरामी भएर काम गर्न नसक्दा उल्टो कुट्थे ।' त्यहाँ बसिन्जेल उनले कुटाइ त कति खाइन् कति । उनको दिमागमा एउटै मात्र कुरा खेलिरह्यो, त्यहाँबाट भाग्ने कसरी ?
उनी हरेक दिन भाग्ने, बाहिर कसैलाई खबर गर्ने मौका खोज्थिन् । फोन गर्न पाइँदैन थियो । 'एक दिन घर सफा गरिरहेका बेला एउटा फोन फेला पर्‍यो, घरकै कोही सदस्यले मोबाइल बिर्सिएर बाहिर गएजस्तो लाग्यो,' उनले भनिन्, 'हतार-हतारमा संखुवासभामा रहेका बुबालाई फोन गरें ।' विदेश उडेको चार महिनासम्म केही खबर नपाएका बाबु छोरी बेचिएको खबरले पिरोलिए । अनि काठमाडौं आए । परराष्ट्र मन्त्रालय, प्रहरीतिर धाएर उनले छोरीलाई फिर्ता ल्याउन पहल सुरु गरे । नारकीय जीवनबाट निस्कने आस मारिसकेकी उनले बाबुसँगको कुरापछि अलि आस जगाउन थालिन् । तर, महिनौंसम्म पनि केही पत्तो भएन । 'बेलाबेला त मरौं जस्तो लाग्थ्यो, तर छोराको मायाले आँट आउँदैन थियो,' उनले भनिन्, 'बाँच्ने र नेपाल फर्किने आशाभन्दा निराशा धेरै थियो ।'
बाबुसँग कुरा भएको झन्डै ५ महिनापछि उनलाई लिएर साहु प्रहरी चौकीमा गए । उनलाई बाँचिन्छ भन्ने त्यतिबेला लाग्यो, जुन बेला इजिप्टको कायरोस्थित नेपाली दूतावासका कर्मचारीले उनलाई फोन गरे । साथै सिरियन प्रहरीले त्यहाँको प्रक्रिया पूरा गरेर नेपाल पठाइदिने बतायो । 'तर तुरुन्तै फर्किन नमिल्ने रहेछ, फेरि त्यही साहुको घरमा जानुपर्‍यो,' उनले भनिन्, 'जसको घरबाट निस्किन खोज्यो, त्यही व्यक्तिको घरमा फेरि जाँदा झन् यातना पाइएला भन्ने पिर थियो ।' दिनहुँ यातना कुटपिट र शोषण चलिरह्यो । त्यसको झन्डै १३ महिना अर्थात् नेपाल छाडेको २३औं महिनामा उनी नेपाल ओर्लिइन् । उनलाई दुबई भनेर सिरिया पुर्‍याएर बेच्ने केदारबहादुर खड्काविरुद्ध गौशाला प्रहरीमा उजुरी दिइन् । प्रहरीले खड्का फरार भएकाले पक्राउ गर्न नसकेको आनाकानी गरिरह्यो । काठमाडौंमा बसेर खड्कालाई पक्राउन नसकेपछि उनी संखुवासभा फर्किइन् । छोरालाई लिएर धरान आइन् । अहिले ऋण काढेर नयाँ ब्युटिपार्लर खोलेर बसेकी छन् । गएको फागुन २८ गते केन्द्रीय अनुसन्धान ब्युरोले महिला तस्करी गर्ने गिरोहका नाइके खड्कालाई पक्राउ गरेको खबर थाहा पाएपछि राजधानी आएर उनले ब्युरोमा उजुरी दिएकी हुन् ।

इ-कान्तिपुर बाट














Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment