English Edition

होइन, कति छ हँ प्रचण्डको स्मरणशक्ति ?



Aarughat_Prachanda_ (8)
आरपी सापकाेटा
आरुघाट (गोरखा), एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको आरुघाट पुग्दा उनलाई लिन स्थानीयहरु बजारको वल्लो छेउसम्मै आएका थिए ।
खादा लगाएर स्थानीयले स्वागत गरेदेखि पैदलै हिँडे प्रचण्ड । उनलाई लिन पार्टीका नेताहरुभन्दा पनि स्थानीयहरु आएका थिए । ०३३ सालतिरका प्रचण्डका डेरावाल, पुराना घरबेटी थिए– बेलाबेलामा अँगालो मार्थे । सँगै उनका उतिबेलाका सहकर्मीहरु पनि भेटिन थाले ।
तल चउरमा वृद्धाश्रम थियो । उनी एकैछिन पसे र भूकम्पले पुर्याएको क्षतिबारे जानकारी मागे । सेनाको एउटा टुकडी पाल टाँगेर बसेको रहेछ, हालखबर सोधे; अप्ठ्यारा–साघुँरा बुझे ।
काठेपुल तरेर पारिको पुरानो बजार उक्लेपछि भटाभट सोध्न थाले प्रचण्डले– ‘यो फलानोको घर होइन ?’ उत्तर दिए उनै पुराना घरबेटी भुवन श्र्रेष्ठले। लगत्तै उनी नाम लिएरै तिनको हालचाल बुझ्थे, भुवन उत्तर दिन्थे ।
कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्र्रेष्ठको घरअगाडि पुगेपछि प्रचण्डले नै देखाए– ‘यो चिनकाजीजीको घर होइन ?’ सचेतक श्र्रेष्ठको पहेंलो रंगको घर बाहिरबाट हेर्दा जस्ताको तस्तै थियो । ‘हो’ भने स्थानीयहरुले । लगत्तै, चिनकाजीका भाइको खबर बुझे । उनी यतै कतै भएको बताए स्थानीयहरुले । एकछिन खोजे प्रचण्डले चिनकाजीका भाइलाई, भेटिएनन् उनी ।
अलि अघि पुगेपछि पत्रकारतिर इंगित गर्दै ०३३ सालमा आफूले डेरा लिएर बसेको घर देखाए । ‘यही घरमा डेरा लिएर बसेको थिएँ ।’ फोटो खिँचे पत्रकारहरुले । अघिल्लो घरका एक स्थानीयलाई बोलाए । प्रचण्डले बोलाएपछि भित्र कतै भएका उनी निस्किए । र, एकैचोटि अँगालो मार्न पुगे, आफ्ना पुराना मास्टर प्रचण्डलाई देखेपछि ।
बजारभर प्रचण्डको यो क्रम चलिरह्यो । पाका उमेरका स्थानीयहरु आफ्ना पुराना कृषि मास्टर प्रचण्डलाई भेट्न पाउँदा खुशीसाथ सँगसँगै कुदिरहेका थिए ।
उतिबेला चिनेका र संगत गरेकाहरुसँग प्रचण्ड उस्तै व्यवहार गरिरहेका थिए, जब गाउँको एउटा छोरो एकाध वर्षपछि लाहुरबाट फर्किन्छ । केही बच्चाहरु उनका पछि कुदिरहेका थिए, प्रचण्डलाइ हेर्न र उनको बोली सुन्न । उही भीडमा पाकाहरु पनि थिए, आफ्ना पुराना मास्टर पाएको खुशीमा ।
आरुघाट बजार सग्लो थिएन । अधिकांश घरहरु लडेका थिए । ढलान घरहरु फुटेर छियाछिया भएका, बम ब्लास्टपछिका घरजस्ता । कति घरका गाह्रो लथालिङ्ग थिए त कति घरका पिलरै लर्केका ।
लगातार हिँडिरहे प्रचण्ड । भीमोदय माविको प्रांगणमा पुगेपछि एकछिन टोलाए उनी । ‘यही हो मैले पढाएको स्कुल’– पत्रकारहरुलाई भने । पसिनाले चुरचुर भएका प्रचण्ड एकछिन पनि नरोकिई थाले स्कुलको निरीक्षण गर्न । प्रांगणमा उनीसँग हात मिलाउन आइपुगे एक पाका मानिस । यसो हेरे र भने– ‘तपाईं कृष्णप्रसाद खनालजी होइन ?’ उनले ‘हो’ भन्नेबित्तिकै प्रचण्डले अरुलाई चिनाए– ‘उहाँ स्कुलको पियन हुनुहुन्थ्यो, उतिबेला ।’ ती पाकासँग प्रचण्डले सोधे, उनका बालबच्चाबारे ।
‘सँगै पढा’का हामीले…’ एक पाका मास्टर भेटिएपछि प्रचण्डले भने । सोधे– ‘पढाइरहनुभएको छ ?’ साँच्चै नै अझै पो पढाइरहेकै रहेछन् उनी ।
उनले उतिबेला चिनेका जति सबैको नाम लिए कार्यक्रममा । उनीहरुसँगको दोस्ती बताए । लाग्थ्यो, प्रचण्ड त्यही गाउँका हुन् र केही वर्षपछि नायक भएर सोही गाउँ फर्किएका छन् ।
स्थानीयहरु बेलाबेला पुग्थे र अंकमाल गर्थे प्रचण्डसँग । आफूसँग भेट्न आउनेलाई नरोक्न उनले सुरक्षाकर्मीलाई भन्थे ।
प्रचण्डले खाना खाए । त्यसपछि स्कुल बनाउँदै गरेका आफ्ना नेताहरु जनार्दन शर्मा र हितराज पाण्डेलगायतलाई सघाए एकैछिन ।
फेरि उकालो लाग्यो प्रचण्डको टोली । अलि माथि, उनैले देउसी खेलेर बनाएको अर्को स्कुलमा पुगे । उसैगरी गाउँलेहरुसँग सौहाद्र्रता देखाए । उनलाई चिन्नु कुनै नौलो कुरा थिएन । तर, हामी पनि अचम्म मानिरहेका थियौं– झन्डै ३६ वर्षपछि भेटेका गाउँलेहरुलाई प्रचण्डले भटाभट चिनिरहेका थिए ।
उनले देउसी खेलेर बनाएको स्कुलको भग्नावशेष मात्रै बाँकी थियो । अलि तल झरेर ५१ बन्डल जस्तापाता स्कुललाई हस्तान्तरण गरे । उतिबेला प्रचण्डलाई औधि माया गर्ने एक घरमा छिरे उनी । काठमाडौंमा भूकम्पमा परेर उनकी एक छोरी र नातिको मृत्यु भएको रहेछ । प्रचण्डलाई देख्नासाथ छाँद हालेर रुन थालिन् त्यस घरकी दिदी । प्रचण्डले सम्झाए । उनकी छोरीलाई सम्झिए । कुनै बखत तिनै छोरीले पकाएको खाना काठमाडौंमा खाएका रहेछन् प्रचण्डले ।
प्रचण्डका पुराना गोरखाली घरबेटी भुवन श्र्रेष्ठ घरछेउमा निस्केर थालीमा लिची बोकेर उभिएका । सबैलाई लिची बाँडे उनले, प्रचण्डले पनि समाते आफ्ना पुराना घरबेटीले बाँडिरहेको लिची ।
ठीक यसैबेला गए चुनावताका घाइते भएका एक कार्यकर्ताबारे शायद उनको दिमागले ‘क्लिक’ गर्र्यो । उनीबारे प्रचण्डले सँगै हिँडेका एमाओवादी सभासद छमबहादुर गुरुङसँग सोधे । ‘यहीं अलिक तल…’ सुनेपछि झरे उनलाई भेट्न प्रचण्ड । भेटे । परिवारका सदस्यहरुसँग फोटो खिँचाएपछि काठमाडौं फर्कियो उनको टोली ।   
खबर डबली  
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment