English Edition

सरकारले एकीकृत बस्तीको योजना ल्याउनुपर्छ

dipendra bdr chettri (1)दीपेन्द्रबहादुर क्षेत्री, पूर्वगभर्नर


मान्छेको अपेक्षा वास्तविकतामा आधारित हुनुपर्छ । हाम्रो क्षमता के हो ? हाम्रा सम्पूर्ण स्रोत–साधनलाई हामी आफैँ परिचालन गरी यो ध्वंशको पुनर्निर्माण गर्न सक्छौँ कि सक्दैनौँ ? यसकै जवाफमै हाम्रा आशा वा निराशा छन् ।
भूकम्पले देशमा ठूलो जनधनको क्षति गर्यो । बारम्बार भूकम्पका धक्का आइरहेकाले मानिसहरु त्रासमा छन् । आफ्नो काम, पेसाप्रति निराश छन् ।
भूकम्प गएलगत्तै पनि थुप्रै देशले उद्धार र राहतमा सघाउ पुर्याए । अबको पुनर्निर्माणमा विदेशी दाताहरुले नेपाललाई सहयोग गर्ने कुरा आइरहेको छ । तर, यसमा केही चिसोपना पनि देखिएको छ ।
सबै सहयोग सरकारले प्रधानमन्त्रीको राहत कोषबाट चलाउन भनेको छ । सरकारले सबै सहयोग रकम वास्तविक पीडितका लागि खर्च गर्छु पनि भनिरहेको छ । तर, दाताहरुले सरकारलाई पत्याइरहेको अवस्था छैन ।
देशमै पनि कति विदेशी दाता संस्था छन् । तर, ती संस्थाले आफैँ पीडितसम्म पुगेर प्रत्यक्ष सहयोग गर्न चाहेका छन् । सरकारका उच्च निकायसँग छलफल गर्दा पनि उनीहरुले यो चाहना व्यक्त गरेका छन् । यसले के देखाउँछ भने, हामी विदेशी दातृ निकायले पत्याउने भइसकेका छैनौँ ।
एक महिनाभन्दा बढी भयो भूकम्पले क्षति पुर्याएको । तर, सरकारी कोषमा चार अर्ब जम्मा भएको भनिन्छ । जब कि एउटै मुलुक बेलायतमा नेपालको सहयोगका लागि पाँच अर्बभन्दा बढी रुपैयाँ उठेको हामीले सुनिरहेका छौँ । त्यसैले सरकारले सर्वप्रथम त सम्पूर्ण जनता र दातृ निकायलाई विश्वास दिलाउन सक्नुपर्छ ।
फेरि यता स्वतस्फूर्त ढंगले रकम संकलन गरी राहत बाँड्न हिँड्दा पनि लुट्न खोजेको कुरा आइरहेका छन् । राहत बाँड्ने लक्ष्य केही दुर्गम बस्तीसम्म हुने, तर बीचैमा पनि लुटिएका वा जबर्जस्ती गर्न खोजेका घटना पनि बाहिर आएका छन् । कतिपय स्थानमा राहत टोलीले सेना–प्रहरीको सहयोग लिएर लक्षित क्षेत्रमा पुगेको अवस्था पनि छ । यसले देशको गुन्डागर्दी र शान्तिसुरक्षाको अवस्थालाई देखाउँछ ।
dipendra bdr chettri (3)
यो विपतको अवस्थामा सबै क्षेत्रलाई मिलाएर लैजान सरकारले थुप्रै मेहनत गर्नुपर्ने पनि देखिन्छ ।
अहिले सुरक्षा निकायको काम प्रशंसनीय रहेको चौतर्फीबाट सुनिएका छन् । सेना–प्रहरी सरकार मातहतकै हुन् । सँगसँगै सरकारको अर्को संयन्त्र निजामती कर्मचारीतन्त्र जो छ, उसको काम–कारबाही टड्कारो हुनुपर्छ ।
तर, सरकारी संयन्त्रभित्र त्यति राम्रो समन्वय देखिएन । उद्धारमा सेनाले आफ्नै महत्वपूर्ण भूमिका रहेको बताउँछ भने प्रहरीको पनि उस्तै दाबी छ । यता, गृह मन्त्रालयले सम्पूर्ण निर्देशन हाम्रो हो भन्छ । अरु निजामती कर्मचारीले कुनै भूमिका नदेखेर पन्छिन खोजेको पनि अवस्था रह्यो । त्यसैले अबको पुनर्निर्माणमा कुनै पनि खोट, अभाव नभएको सरकारी संयन्त्र आवश्यक छ ।
मलाई मुस्ताङका सभासद्ले भन्दै थिए, ‘म राहत बाँड्न गएको थिएँ । ७० वटा घरका लागि राहत लगिएको थियो । तर, उहाँ पुगेपछि ८७ वटा घर राहत लिन आए । हाम्रो रेकर्डमा ७० वटा थियो, फिल्डमा पुगेपछि ८७ घर प्रभावित देखिए ।’
यसको मतलब हाम्रा सरकारी संयन्त्रले राम्रोसँग विवरण राखेका छैनन् । अर्को कुरा, सबै संयन्त्रको समन्वयमा तत्काल निर्णय लिनुपर्ने पनि हुन्छ । जस्तो, सेना उद्धारमा जान्छ । उद्धारसँगै उपचार, राहत पनि आवश्यक पर्छन् । यस्तो बेला सबै संयन्त्रको समन्वय चाहिन्छ । तर, हाम्रोमा त्यो देखिएन ।
यसमा सरकारले सुरुमा दुई बन्डल जस्तापाता उपलब्ध बनाउने भनेको थियो । तर, दोलखाको मान्छेलाई काठमाडौंमा एक बन्डल जस्तापाता उपलब्ध बनाउँछु भनेर भएन । पीडितसम्मै पुगेर दिनुपर्ने हुन्छ । त्यसैले पछि सरकारले के भन्यो भने, हामी पैसा दिन्छौँ तिमीहरु नै आवश्यक जस्तापाता किन । यसमा बजारमा मूल्यको अनिश्चिता रह्यो भने पनि जनता मारमा पर्छन् ।
तत्कालका लागि राहतको कुरा आयो । त्यसपछि जहाँ जति ध्वंश भएका छन्, त्यहाँ पुनर्निर्माण गर्नुपर्नेछ । यसको सुरुवाती अवस्था टहरा बनाएर बर्खा काट्ने नै हो । घरबास गुमाएकाले ओत पाए भने धेरै राहत हुन्छ ।
यसमा सरकारले सुरुमा दुई बन्डल जस्तापाता उपलब्ध बनाउने भनेको थियो । तर, दोलखाको मान्छेलाई काठमाडौंमा एक बन्डल जस्तापाता उपलब्ध बनाउँछु भनेर भएन । पीडितसम्मै पुगेर दिनुपर्ने हुन्छ । त्यसैले पछि सरकारले के भन्यो भने, हामी पैसा दिन्छौँ तिमीहरु नै आवश्यक जस्तापाता किन । यसमा बजारमा मूल्यको अनिश्चिता रह्यो भने पनि जनता मारमा पर्छन् ।
यस्ता अप्ठेराबीच फेरि पनि जनतालाई आशा जगाएर सामान्य अवस्थामा फर्काउनु छ ।
यो भूकम्पले पाँच लाखभन्दा बढी घर ध्वस्त भएका छन् । यो निर्माणका लागि सरकारले पहाडतिर १५ लाख र सहरतिर २५ लाख रुपैयाँ दुई प्रतिशत ब्याजदरमा ऋण दिने पनि भनेको छ । यो पैसा बैंकहरुमार्फत नै दिने हो । यसमा बैंकहरुले एक–डेढ खर्बभन्दा धेरै रकम ऋण दिन सक्दैनौँ भनेर आफ्ना अप्ठेरा बताइसकेका छन् । बैंकले दिन सक्ने यो ऋण रकमले यत्रा ध्वस्त घर निर्माणमा एक छेउ पनि पुग्दैन ।
जेहोस्, ऋण प्रदान गरेर घरहरु निर्माण हुन थाल्यो भने स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुन्छ । स्थानीय स्तरमा रोजगारी बढेपछि जनताहरु सामान्य अवस्थामा फर्कन्छन् । आर्थिक क्रियाकलाप बढ्छ । हाम्रोमा दुःखको कुरा के छ भने, स्थानीय स्तरको पैसा पनि बजारमार्फत फेरि बिदेसिन्छ । हाम्रोमा विलासिताका मात्रै नभएर कतिपय आधारभूत आवश्यकता सामान पनि विदेशबाटै आउँछन् । यतिसम्म कि दाल, चामल पनि हाम्रोमा भारत–चीनबाट आउँछ । हाम्रो उत्पादनले थेग्न सकेको अवस्था छैन । त्यसैले हामीले आन्तरिक रुपमा उत्पादन र खपत बढाउनुपर्छ । खपत बढ्यो भने स्थानीय उत्पादकलाई उत्साह मिल्छ र उसले बढी उत्पादन गर्नतिर लाग्छ ।
आज बिहान मात्रै म स्वयम्भूतिर तरकारी किन्न गएको थिएँ । एउटा पालुंगोको मुठो बनाएर १० वटाको एउटा मुठा बनाइरहेको छ । जसको मूल्य ३५ रुपैयाँ थियो । अब १० वटा पालुंगोको मूल्य ३५ रुपैयाँ छ भने, स्थानीय उत्पादनको पनि बजार त रैछ ।
यस्ता पैसा अन्ततः बैंकमा पुग्लान् । र, बैंकले स्थानीय जनताको उत्थान हुने गरी लगानी गर्छ, उद्योग–कलकारखानामा लगानी गर्छ भने देश बन्छ । तर, यी सबै गतिविधिमा सरकारकै भरोसा महत्वपूर्ण हुन्छ । त्यसैले सर्वप्रथम त सरकारले यसप्रकारको वातावरण बनाउनुपर्छ ।
यो विनाशमा सबैभन्दा पहिले त सरकारले भरपर्दो तथ्यांक लिनुपर्छ । योसँगै कहाँ–कहाँ बस्नयोग्य जमिन छ, कहाँ छैन भनेर पनि भौगर्भिक अनुसन्धान गर्नुपर्छ । हुन त हाम्रो भूउपयोग भनेर नीति त आको छ, तर कानुन बन्न सकेको छैन । अबको पुनर्निर्माण बलियो र भरपर्दो हुनुपर्छ । अहिले बस्ती बसायो, अर्को साल बाढी, पहिरोमा पर्नु भएन ।
अहिले तत्कालै पुनर्वासको कुरा छ । सरकारले त उद्धार सकियो भनेको छ, तर यो पूर्ण रुपमा सकिएको छैन । मानिसलाई भत्केको घरबाट निकाल्नु अथवा घर भत्केकाहरुलाई पालमुनि लगेर राख्नुमात्रै उद्धार होइन, घर भत्केपछि अस्थायी पुनस्र्थापनासम्मको कार्य उद्धार हो । किनभने बास गुमाएका हुनाले उनीहरुलाई उद्धार गरेर पुनस्र्थापना गर्नुपर्यो । अब छिटै बर्खा लाग्दै छ, यो बर्खाबाट पनि उनीहरुलाई उद्धार गर्नुछ ।
अब सरकारले एकीकृत बस्तीको योजना ल्याउनुपर्छ । यो दीर्घकालीन योजना भयो । जहाँ भत्केको छ, त्यहीँ बस्दा बाढी–पहिरो वा अन्य भौगर्भिक समस्या हुने अनुसन्धानले देखियो भने बस्ती सार्नुपर्ने पनि हुन सक्छ । सबै कुराको सुविधा हुने गरी बस्ती सार्नुपर्छ । बिजुली, सडक, टेलिफोन, पानी, स्कुल, स्वास्थ्यचौकी राख्नुपर्ने हुन्छ । त्यसकारण, छरिएकोभन्दा एकीकृत बस्तीमा नै यी सुविधा सम्भव हुन्छ ।
यस्तो किसिमको बस्ती बसाउँदा सरकारले दिने सुविधा पनि कम खर्चमा हुन्छ । यस्तो बस्तीमा स्थानीय उत्पादनको बजार पनि राम्रो हुन सक्छ । कसैले तरकारी, अन्न उब्जाउ गरेर, पशुपालन गरेर बाहिरको बजार खोज्नुपर्दैन ।
हामीले परम्परागत शैलीको खेतीलाई पनि आधुनिक प्रणालीमा विकास गर्नुपर्छ । अहिले हामीलाई छिमेकी देशले राहतमा चामल पठाएको छ । त्यसकारण अबको पुनर्निर्माण चौतर्फी सोचेर गरिनुपर्छ ।
कृषि उत्पादन बढाउने गरी सरकारअघि बढ्यो र उत्पादन पनि बढ्यो भने त्यसलाई प्रशोधन गर्नुपर्ने हुन्छ । आन्तरिक उत्पादनले देशलाई पुगेर बाहिर निर्यात गर्नुपर्ने हुन्छ । यसरी नै राष्ट्र बन्ने हो ।
dipendra bdr chettri (2)
अहिले त हामीलाई विदेशीले दिन्छु भनेका छन् । देश रेमिट्यान्सले चलेको छ । विदेशबाटै दाल–चामल आइरहेका छन्, भोलि कथंकदाचित यो बाटो रोकियो भने गर्ने के ? तसर्थ, अर्थतन्त्रको समग्र अन्तरसम्बन्धलाई हेरेर हामी अघि बढ्नुपर्छ ।

अहिले हामी ठ्याक्कै विनाशपछिको विकासको चरणमा जानुपर्नेछ । सरकारको आसय सरकारी संयन्त्रले मात्रै यो काम गर्न सक्छ भन्ने जस्तो देखिएको छ । सरकारले मात्रै गर्न सक्छ जस्तो मलाई लाग्दैन । सरकारले अबको पुनर्निर्माणमा एउटा यस्तो बेग्लै संयन्त्र बनाएर अघि बढ्नुपर्छ, जसमा काम गर्न, सहयोग गर्न सबै जनता र क्षेत्र उत्साही बनून् । स्वतन्त्र युवा, राजनीतिक दलका प्रतिनिधि, उद्यमी, विज्ञ, बैंकर, अन्य निजी क्षेत्र अटाउने खालको संयन्त्र बन्नुपर्छ । यस्तो संयन्त्रमा सरकारको निगरानी होस्, अर्ती–उपदेश पनि दिओस् । सँगसँगै बाधा–अड्काउ आयो भने सरकारले फुकाउने काम गरोस् । जस्तो, अनुसन्धान गर्दा एउटा वन क्षेत्र भू–बनोटका दृष्टिले बस्तीयोग्य देखियो । यहाँ वन मन्त्रालयले रोक्ने अवस्था आउन पनि सक्छ । कतै वनबाट काठ लिनुपर्ने हुन्छ । यस्तो बेला सरकारी संयन्त्रले बाटो खोलिदिनुपर्छ । कतै बाटो पुर्याउनुपर्यो, बम पड्काएर पहाडका चट्टान फोर्नुपर्ने भयो भने, नेपाली सेनाले सघाउने व्यवस्था हुनुपर्छ ।
यो संयन्त्र स्वायत्त हुनुपर्छ । नत्रभने निर्णय प्रक्रिया रोकिन सक्छ । तर, यसले सरकारका विचार त लिन्छ नै । सँगसँगै यसले आफैँ निर्णय गर्न पाउनुपर्छ । किनभने, हामी युद्धकालीन परिस्थितिमा छौँ । हामीले प्रकृतिसँग एक ढंगले युद्ध नै गरिराखेका छाँ। त्यसकारण, यस्तो परिस्थितिमा तत्काल निर्णय लिएर अघि बढ्नुपर्ने हुन्छ ।
यो भूकम्प आउनुअघि हामीले जाजरकोटको महामारीको चर्चा गथ्र्यौं । भूकम्पपछि हामी भूकम्पसँगै मुकाबिला गर्दैछौँ । अब बर्खा लाग्दै छ । भूकम्पले धाँजा फाटेका स्थानमा पहिरो नजाला भन्ने अवस्था छैन । केही समय हामी तत्काल निर्णय गरेर अघि बढ्नुपर्ने अवस्थामा छौँ । त्यसैले यो विनाशपछिको पुनर्निर्माणमा सरकारले एउटा छुट्टै निकाय बनाएर अघि बढ्नैपर्छ ।
अहिले व्यक्ति, समूह, राजनीतिक दलले घर–टहरा बनाउन लागेका छन् । यसमा सरकारी संयन्त्रको निगरानी हुनुपर्छ । कसले कति समयमा कति घर–टहरा बनाउँछ भनेर सरकारी संयन्त्रले हेर्नुपर्छ । समन्वय गर्नुपर्छ । राज्यका सम्पूर्ण स्रोत–साधनको प्रयोग गरेर देश निर्माणमा लाग्नुपर्छ ।
यो संयन्त्रले देशैभरिका जनतालाई प्राकृतिक विपत्तिबाट जोगाउने गरी पुनर्निर्माण थाल्नुपर्छ । अब भूकम्प प्रतिरोधात्मक घर बनाउनुको विकल्प छैन । यो राज्यलाई केही महँगो त पर्छ नै । महँगो पर्छ भनेर यत्तिकै बस्ने कुरा आउँदैन । अब राज्यले देशको समग्र विकासतर्फ ध्यान दिनैपर्छ ।
देशैभरि जनताका घर कमजोर छन् । तराईतिर बाढी, आगलागीका कुरा आउँछन् । शीतलहरका कुरा आउँछन् । यस्ता प्राकृतिक विपत्तिबाट जनतालाई जोगाउन अब सरकारले दीर्घकालीन योजना ल्याउनुपर्छ । स्वास्थ्य, शिक्षा, यातायातको विकास हुनुपर्यो । कतै महामारीले जनताले अकालमा ज्यान गुमाउने स्थिति आउनुभएन ।
यो भूकम्पले हामीलाई के पाठ सिकाएको छ भने, अब कमजोर संरचना अर्थात् नेपाल काम छैन । त्यसकारण विपत्तिको विनाश, क्षति दुःखदायी छ । यसलाई अवसरका रुपमा लिएर सरकार नयाँ नेपाल निर्माणमा अघि बढ्नैपर्छ ।
(कुराकानीमा आधारित । तस्बिर : गोकर्ण लामिछाने ।)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment