English Edition

बाबुबाजेको सम्पत्ति नै सम्हाल्न सकेको छैन, जस्तापाता किन बेच्नुपर्यो ? अर्थमन्त्रीका पिए रमेश महत

1503895_675022519185948_959023313_nम रमेश महत । भूकम्प पीडितहरुको राहतका लागि म केही दिनदेखि नुवाकोटमै छु । जनताका दुःखमा आफ्नो ठाउँबाट केही गर्न सकिन्छ कि भनेर निरन्तर लागिरहेको छु । कतिले यो कुरा लुकाउँछन्, तर मान्छेलाई आफ्नो जन्मथलो निकै प्यारो लाग्छ, प्रिय लाग्छ । आफ्नो जन्मभूमि पीडा र दर्दको आहालमा डुब्दा को पो चुप लागेर बस्न सक्छ र ? जन्मभूमिको यही दुःख र पीडा सहन नसकेर म उनीहरुको घाउमा मल्हम लगाउन भूकम्पपछिका दिनहरुमा नुवाकोटमै उद्दार र राहतका कार्यक्रमहरुका साथ पीडितको सहयोगका लागि जुटिरहेको छु ।
यस्तोमा आजै मात्र मेरो चरित्र हत्या हुने गरी एउटा खबर सार्वजनिक भएको रहेछ, यो कुरा मैले केही समयपछि थाहा पाए । यो सुनेर म निकै दुःखी र स्तब्ध भएको छु । एउटा देश र जनताको लागि भनेर जीवन समर्पण गरेको व्यक्तिलाई किन यसरी निराधार आरोप लगाएर पाखा लगाउन खोजिन्छ भनेर दिक्दारी लागेको छ । तर, कसैले मेरो देश र जनताको सेवा गर्ने सोचलाई कमजोर पार्न फैलाएका यस्ता हौवाले म कत्ति पनि बिचलित हुने वाला छैन, यसले मलाई बरु थप उर्जाका साथ अघि बढ्न प्रेरणा मिल्नेछ । म आफ्नो कर्ममा अघि बढिरहनेछु ।
भनिन्छ नि – नबिराउनु नडराउनु । अब मैले गल्ती नै गरेको छैन भने म किन डराउने ? कसैलाई केही आरोप लागेको छ भने त्यसको छानविन गर्ने राज्यको निकाय छ । उसले नै यसको छानबिन गर्छ । यो सरकारको काम हो । तर, मलाई बद्नाम गर्न आरोप पुष्टि हुने आधार नै नभए पनि केही दोषी नै भए जसरी मलाई प्रस्तुत गरिरहेका छन् । कसैलाई व्यक्ति र मिडियाले यसरी प्रस्तुत गर्न मिल्छ ? के आधारमा उनीहरु मेरो संलग्नताको कुरा गरिरहेका छन् ? ममाथि अनेक आरोप लगाउनेहरुलाई मेरो चुनौती छ – मैले जस्तापाता बेचेको भनेर लगाइएको आरोप पुष्टि गरेर देखाऊ । होइन भने अनावश्यक बकबक बन्द गर । म राहतमा आएको जस्तापाता बिक्री गरेर पैसा कमाउनु पर्ने मान्छे होइन । नुवाकोटमा मेरो पैतृक सम्पत्ति नै मनग्ये छ, त्यसैलाई मैले सम्हाल्न सकेको छैन । पैतृक सम्पत्ति नै सम्हाल्न नसकेको मलाई किन चाहियो सम्पत्ति ? किन बेच्नुपर्यो मैले जस्तापाता ? यी सब अर्थमन्त्री रामशरण महत र मलाई बद्नाम पार्न रचिएको प्रपञ्च हो । यस्ता षड्यन्त्रले केही हुनेवाला छैन । खासमा यी जस्तापाताहरु अर्थमन्त्री रामशरण महत र मेरो आग्रहमा नुवाकोटमा भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि भनेर लगिएका थिए । पठनपाठन नै हुन नसक्दा भोलीको भविष्य अन्धकारमा परिणत हुने देखेर हामीले पहल गरेर जस्तापाता पठाएका थियौं । तर, हामीले गरेको यो पवित्र काम केहीलाई सैह्य भएन । उनीहरु अहिले यसैलाई तोडमतोड गरेर हौवा फैलाउन खोज्दैछन् । हामीलाई बद्नाम गराउन खोज्दैछन् ।
 जसरी अहिले जस्तापाता बेच्न खोजिएको थियो भनेर प्रचारबाजी भइरहेको छ, यो सरासर झुट हो । त्यो जस्तापाता बेच्न होइन, वितरणका लागि भनेर लैजान लागिएको थियो । यी बिक्री गर्न लागिएको भनेर आएका हल्ला त सबै बनावटी मात्रै हुन । केहीका स्वार्थ पूरा नभएपछि रचिएका कथा हुन् । मैले खेपिरहेको आरोप निराधार हो भन्ने केही आधारहरु छन् । जस्तो कि ती जस्तामा बैंकको लोगो टाँस गरिएको थियो । लोगो टाँस भएको सामान दुनियाँमा कतै पनि बिक्री हुन सक्दैन । अब एउटा बैंकको बकाइदा लोगो भएको जस्तापाता कुन व्यापारीले किन्छ र बिक्री गर्न खोजे होला मैले ? यसबाट पनि थाहा हुन्छ कि यो कति निराधार कुरा हो भनेर । मेरो चरित्र हत्या गरिएको छ, ममाथि अन्याय भएको छ । म यसको स्वतन्त्र छानविन होस् र सत्यतथ्य बाहिर आओस् भन्ने चाहन्छु । (अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव महतसँगको कुराकानीमा आधारित )
स्रोत रातोपाटी 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment