English Edition

पालमुनि बास त्रासैत्रास !


पालमुनि बास त्रासैत्रास!
वैशाख १२ को ठूलो भूकम्पपछि असंख्य नेपालीको बास पालमुनि छ। पालमुनि असुविधामात्रै छैन, असुरक्षा पनि छ। बालिका र किशोरीहरू बढी जोखिममा छन्। चेलीबेटी बेचबिखनमा संलग्न गिरोह र दलाल विपद्मा चौका हान्ने मौका खोजिरहेका छन्। पालभित्र बालिका र युवती यौन दुर्व्यवहारको शिकारदेखि बलात्कृतसम्म भएका खबरहरू आइरहेका छन्। अम्मर जिसीले छोरीचेली र उनीहरूका अभिभावकले महसुस गरिरहेको असुरक्षामा केन्द्रित भएर तयार पारेको सामग्री।
वैशाख १२ गते गएको ठूलो भूकम्पका कारण प्रमिला विक (२१) को गोरखास्थित आफ्नो घर भत्क्यो। काठमाडौँ, सोह्रखुट्टेस्थित भाडाको कोठा पनि बस्न नमिल्ने भयो। अहिले उनी र उनको परिवार टुँडिखेलमा पालमुनि ओत लागिरहेको छ। पालमुनिको बास। समस्या कति हुन् कति! उनलाई लाग्छ, अहिलेको ठूलो समस्या त 'खत्तम मान्छे'को डर हो। 'साँझसाँझ भुइँचालोको भन्दा धेरै डर खत्तम मान्छेको लाग्छ,' उनी गलत नियत बोकेका मान्छेदेखि त्रसित छिन्।

'एकजना 'झपटे'ले पछ्याएको साँझदेखि मलाई असाध्यै डर लाग्न थाल्यो,' प्रमिलाले भनिन्। त्यो साँझ एकजना खाइलाग्दो ज्यान भएको तन्नेरी 'राहत वितरणका लागि डाटा संकलन गरिरहेको' भन्दै उनको पालमा आयो। घर कहाँ? कति क्षति? कति जना? आवश्यकता के? धेरै प्रश्न सोध्यो उसले। सबै खुरुखुरु बताइन् उनले। भूकम्प जाँदा कहाँ हुनुहुन्थ्यो? के गर्दै हुनुहुन्थ्यो? कस्तो अनुभव भयो? यस्ता झिँजो लाग्ने प्रश्न पनि गर्न भ्यायो। आधा घण्टाजति 'गनगन' गरेर बाहिरिएको ऊ एक घण्टापछि फेरि आयो। केही प्रश्न सोध्न भुलेछु भन्दै उसले थप केही सोधेर बाहिरियो।
भोलिपल्ट फेरि उही मान्छे पालको छेउमा टुप्लुक्क देखापर्यो। प्रमिलालाई घोरिएर हेरिरहन्थ्यो। 'साँझ ८ बजेतिर एक्लै ट्वाइलेट जाँदै थिएँ। फेरि मेरो पछिपछि उही मान्छे आयो,' प्रमिलालाई शंका लाग्यो, 'उसको लरबरिएको स्वर सुन्दा नशाको तालमा छ भन्ने लाग्यो। डराएर कुद्दै पालमा पुगेँ। दाइलाई सबै कुरा भनिदिएँ।' उनका दाइ त्यो 'झपटे'को प्रश्नको जवाफ फर्काउन गए। उसले उल्टै दाजु रामेश्वरलाई 'तँ को होस् कबाबमा हड्डी?' भन्दै थर्काउन पो थाल्यो। उनका दाइले आवेगमै बजाइदिए बंगारामा। त्यसपछि उसले कुलेलम ठोक्यो। 'त्यस्ता खराब नियतका मान्छे यहाँ कति छन्, कति,' रामेश्वर भन्छन्, 'साँझमा छोरीबेटीलाई बाहिर एक्लै पठाउन डराउनुपर्छ। अँध्यारोमा जे पनि हुनसक्ने डर छ।'

प्रमिलाको जस्तो दाइ सबैका हुँदैनन्। उनले जस्तो सबैले आफ्नो समस्या अभिभावकसम्म पुर्याउने आँट पनि गर्दैनन्। त्यसैले त टुँडिखेलको अस्थायी शिविरमा 'सेल्फ डिफेन्स' अर्थात् आत्मरक्षाका लागि प्रतिवाद गर्न सिकाइँदै छ। महिलाहरूलाई जोखिमबाट बच्ने उपाय सिकाउँदै आएकी ओरेक नेपालकी विष्णुकला भण्डारी भन्छिन्, 'महिला र बालबालिका अत्यधिक जोखिममा रहेको यो अवस्थामा उनीहरूको मनोबल बढाउन र प्रतिवाद गर्न सिकाइरहेका छौँ।' राजधानीको केन्द्र, सेना तथा प्रहरीको घेराका बीच टुँडिखेलमा त यस्तो जोखिम छ भने अन्यत्र जोखिम नहुने त कुरै छैन। 'यहाँ रातको समयमा जँड्याहा र आवाराहरूको डर हुन्छ,' विष्णुकला भन्छिन्, 'रातको ८ बजेदेखि मुख्य गेटबाट भित्र छिर्न नदिए पनि पर्खाल नाघेर आइरहेकै हुन्छन्। यौन दुर्व्यवहारसँगै ललाई–फकाई गरेर ओसारपसारको पनि सम्भावना रहेकाले महिला, बालबालिकाहरूलाई 'सेल्फ कन्पिकडेन्स' र 'सेल्फ डिफेन्स'का लागि तयार पार्दै छौँ।'

टुँडिखेलमै बसिरहेका रमिला लामा, अनीता लामा र निरु लामालाई साँझका बेला पछ्याएर सताउन खोज्ने जँड्याहाहरूदेखि डर लाग्छ। उनीहरू साँझमा बाहिर निस्कनपरे सँगै निस्कने गर्दा रहेछन्। रमिला भन्छिन्, 'भरिभराउ पालका बीच दिउँसै त ठोक्किएर हिँड्न खोज्छन्। रातमा त कुरै छोड्नुस्। बच्चाबच्चीको के कुरा गर्नु? म आफैँ बाहिर जान डराउँछु।'

सिन्धुलीकी सरिता राना पनि टुँडिखेलकै पालमा छिन्। उनलाई साँझमा ट्वाइलेट नलागिदेओस् भन्ने हुन्छ। 'कोही साथी खोजेर ट्वाइलेट जानुपर्छ,' उनी भन्छिन्, 'राती सुत्दा श्रीमान् र दाइभाइलाई वरिपरि सुताएर आफू बीचमा सुत्छु।' पालवरपर बिजुली बत्ती राखिदिए आफूहरूको सुरक्षा हुने थियो भन्छिन् उनी।

०००
victim sheltering at tundikhel-14
बालिकामाथि बलात्कार
भूकम्पपछि पीडितहरूको बास पालमा छ। यिनै पालमुनि भएका बलात्कारका घटना सार्वजनिक भइरहेका छन्। सबै घटना नियाल्दा बालिका बलात्कृत भएका देखिन्छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी विश्वराज पोखरेलले सबै घटनाका अभियुक्तहरूलाई पक्रेर मुद्दा चलाइसकेको बताए। उनका अनुसार जेठ ३ गते दिउँसो ४ बजे टुँडिखेलमा पालमुनि बसिरहेकी एक बालिका बलात्कृत भइन्। यस्तै, नागार्जुनमा गत वैशाख १७ गते बिहान ९ बजे १३ वर्षीया बालिकामाथि बलात्कार भयो। काठमाडौँकै खुसिबुमा जेठ ४ गते पाँच वर्षीया बालिका बलात्कारको आरोपमा ४२ वर्षे व्यक्ति पक्राउ परेका छन्। काठमाडौँ–४ को मालश्रीमार्गमा बालिका बलात्कारकै आरोपमा २० वर्षे अभियुक्त समातिए।

'अस्थायी शिविरहरूमा बालबालिका र महिला असुरक्षित रहेको ठानेर नै हामी विशेष सक्रियताका साथ लागिपरेका छौँ,' एसपी पोखरेलले भने, 'गलत मानसिकता भएका व्यक्तिहरू यस्तो आपत्को बेला सलबलाउने सम्भावना धेरै हुन्छ। तनावका बेला अल्कोहल पिउने व्यक्तिले गलत काम नगर्ला भन्न सकिन्न। त्यसैले सबै सजग रहनुपर्छ।'

सिविन नेपालका कार्यक्रम संयोजक सागर भण्डारीले बालबालिका र महिलाको सुरक्षा अवस्था डरलाग्दो रहेको बताए। घटना विवरण सामान्य देखिए पनि भुसको आगो जसरी बालबालिका र महिला बेचबिखनको नियतले ओसारपसार गर्ने दलालहरूको गिरोह नै देशव्यापी सक्रिय बनिरहेको उनी बताउँछन्। भूकम्पपीडित क्षेत्रमा महिला, बालबालिकाहरू यौन दुर्व्यवहारको शिकार समेत बनिरहेको उनले बताए।

उनका अनुसार सिविनले खुसिबुको बलात्कार मुद्दालाई सहजीकरण गरिरहेको छ। 'महाराजगञ्जमा पनि भूकम्पपीडितकै चार वर्षीया छोरीलाई अपरिचित तीनजना किशोरले बलात्कार गरेका छन्,' उनले भने, 'बालबालिका र महिलामाथि यौन दुर्व्यवहारदेखि बेचबिखनसम्मको जोखिम कायमै छ।'

उनका अनुसार काभ्रेको चौकोटमा सुस्त मनस्थिति भएकी १३ वर्षीया बालिका बलात्कृत भइन्। यस्तै, पनौतीकी १९ वर्षीया किशोरीमाथि सँगैको टेन्टमा बस्ने २५ देखि ३० वर्ष उमेर समूहका चार जनाले सामूहिक बलात्कार गरे। भक्तपुरको गट्ठाघरमा पनि एक बालिका बलात्कृत भएको उनले जानकारी दिए।

यही जोखिम कम गर्न प्रहरीको महिला तथा बालबालिका सेल शिविर वरपर खटेको छ। महानगरीय प्रहरी कार्यालयको महिला सेलकी डीएसपी तारादेवी थापा भन्छिन्, 'हामी यही जोखिमलाई कम गर्न जुटेका छौँ। घटना विवरण हेर्दा यौन दुर्व्यवहार, ओसारपसार बढेको त होइन। यद्यपि, जोखिम छ भन्नु जायज छ।'

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले हरेक उपाय लाएर महिला, बालबालिकामाथि आँखा लाउनेहरूको निगरानी गरिरहेको बताए। 'शिविर वरपर रहने हरेक व्यक्तिलाई निगरानी गर्ने हाम्रो प्रयास हो,' उनले भने, 'राहत वितरण गर्नेहरूलाई समेत निगरानी गर्न छोडेका छैनौँ। हामीले जे जति गरे पनि व्यक्ति स्वयं सजग भइदिएन भने जोखिम कायमै रहन्छ।' हरेक व्यक्ति हरेक क्षण सजग भएर गलत मान्छेलाई गलहत्याउनसके सुरक्षित रहन सकिने उनको भनाइ छ।

०००

काठमाडौँ उपत्यकाको सबभन्दा ठूलो अस्थायी शिविर चुच्चेपाटीमा करिब नौ सय पालमा भूकम्पपीडित आश्रय लिइरहेका छन्। यहाँका महिला, बालबालिका पनि असुरक्षित रहेको बताउँछन् अभिभावक। ओखलढुंगाकी ज्ञानेन्द्रकुमारी गुरुङको परिवार वैशाख १२ गतेदेखि नै यहीँको पालमुनि छ। साँझ पर्योत कि छोरीको चिन्ताले सताउँछ भन्छिन् उनी। 'साँझमा जँड्याहाहरू मातेका हुन्छन्। यस्तो खुल्ला चौरमा सुत्नुपर्छ। हामीलाई त डरैडरले निन्द्रै पर्दैन,' उनी भन्छिन्। छोरीको चिन्ता सम्झना भुजेललाई पनि हुन्छ।

पालमै रहेकी १० कक्षामा पढ्ने अजिता परियार र उनका साथिहरू पनि साँझमा आफूहरूलाई बाहिर निस्कन डर लाग्ने गरेको बताउँछन्। तारा राई ढुक्कले रात बिताउन सकिने अवस्था नरहेको बताउँछिन्। यहाँ सुरक्षाकर्मी कम हुने र धेरै मान्छेको ओहोरदोहोर भइरहने भएकाले त्रास बढी रहेको उनीहरूले बताए। सुशीला ठटालका अनुसार यहाँ प्रायः साँझ जाँडरक्सी खाएर आउनेहरू होहल्ला र झगडा गरिरहन्छन्। 'पुलिसले कतिलाई समाएर लैजान्छ। तै पनि होहल्ला कम हुने होइन,' उनले भनिन्, 'छोराछोरीलाई जोगाउन एकदम मुश्किल छ। अझ बेचबिखनको समाचार सुनेर त झन् मुटुले ठाउँ छोड्छ।'

शिविरमै बस्ने पद्मकुमारी शाहीले यहाँ बालिका र एकल महिला असुरक्षित रहेको बताइन्। 'लोफर केटाहरूले सताइराख्छन्,' उनले भनिन्, 'धेरै एकल महिला मसँग आफ्नो साँझको त्रास सुनाउँदै रुन्छन्।'

चुच्चेपाटीमा शिविर व्यवस्थापन समिति पनि गठन भएको छ। आफूलाई समितिको संयोजक बताउने सन्देश राईले भने यहाँ सुनिएजस्तो असुरक्षा नरहेको बताए। 'पहिला पालमै जाँडरक्सी बेचबिखन हुने बेला अलिअलि होहल्ला हुन्थ्यो,' उनले भने, 'तर, अहिले यस्तो कामलाई रोक लाएपछि केही त्यस्तो सुनिएको छैन।'

बालबालिका तस्करी
दोलखाको लिपिङबाट १९ जना बालबालिकालाई भारत लैजाँदै गर्दा काठमाडौँबाट उद्धार गरियो। सरकारी निकायलाई जानकारी नदिई बालबालिकालाई भारतको देहरादुन लैजाँदै गरेका सातजनाविरुद्ध मानव बेचबिखनको मुद्दा चलिरहेको छ। पाँचदेखि नौ वर्ष उमेर समूहका ११ बालक र आठ बालिकालाई पढाइसँगै लालनपालनको प्रलोभन देखाई भारत लैजाँदै गरेको पाइएको प्रहरीले जनाएको छ।
tripal muni 02
धादिङको भूकम्पप्रभावित क्षेत्रबाट लालनपालन र पठनपाठनकै प्रलोभनमा राजधानी ल्याइएका ४६ जना र रुकुमबाट ल्याइएका २२ जना बालबालिकालाई उद्धार गरिएको प्रहरी मुख्यालयका प्रवक्ता कमलसिंह बमले बताए। 'सरकारी निकायलाई जानकारी नदिई गलत नियतले नै बालबालिका ओसारपसार भएको आशंकामा अनुसन्धान भइरहेको छ,' उनले भने, 'यस्तो बेला मानव बेचबिखनको जोखिम रहने भएकाले सबै चनाखो भएर बस्नुपर्छ। प्रहरी पनि विशेष निगरानीसाथ खटेको छ।'

देशभित्रै एक जिल्लाबाट अर्को जिल्लामा बालबालिका ओसारपसार बढेको छ। देशबाहिर लाने प्रयास पनि नभएका होइनन्। माइती नेपालका कार्यक्रम संयोजक अच्युत नेपालले नेपाल–भारत सीमामा पनि अस्वाभाविक चहलपहल बढेको बताए। 'यतिबेला सीमा क्षेत्रमा धेरै मान्छेको आवतजावत देख्न सकिन्छ। परिवार नै भारतलगायत देश पलायन भइरहेका छन्,' उनले भने, 'यस्तो बेला बालबालिका र महिलालाई बेचबिखनको उद्देश्यले ओसारपसार गरिएको हुन सक्ने सम्भावना धेरै हुने भएकाले हामीले सीमामा निगरानी बढाएका छौँ।' उनका अनुसार भूकम्पपछि उद्धार भएका बालबालिका र महिलाको संख्या अन्य बेलाको भन्दा दोब्बर छ। भूकम्पपछि झापाको बिर्तामोड नाकाबाट २३ जना, नेपालगञ्जबाट २२ जना, नवलपरासीको महेशपुरबाट ८ जना, भैरहवाबाट ५५ जना, इलामको पशुपतिनगरबाट १० जना, कैलालीबाट १० र महेन्द्रनगरबाट तीन जनालाई बेचबिखनको आशंकामा उद्धार गरिएको उनले बताए। 'सपरिवार देश छाड्नेहरूमा बालबालिका बेचिन लागेको आशंका गर्न मुश्किल हुन्छ,' उनी भन्छन्, 'परिवारसँगै सीमा पार गर्दै छ भने कसरी शंका गर्ने? धेरैजसो आफन्तबाटै बेचिने गरेको यथार्थ हो।' केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल भने परिवारलाई पनि निगरानीमा राख्नुपर्छ भन्छन्। 'आशंका नगरे पनि किन? कसरी? कहाँ? जस्ता प्रश्नले निगरानी राख्न सकिन्छ,' उनी भन्छन्, 'त्यो निगरानीले अहिले काम नगरे पनि भविष्यमा अवस्था बुझ्न काम लाग्छ।' भूकम्पपछि १ सय ३३ परिवारले देश छाडिसकेको माइती नेपालको तथ्यांक छ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले महिला, बालबालिकाको सुरक्षा उच्च जोखिममा रहेको परिप्रेक्ष्यमा आफूहरूले अभियान चलाइरहेको बताइन्। 'सबैको ध्यान राहत, उद्धारतिर खिचिइरहेका बेला खराब मानसिकता भएकाहरूले फाइदा उठाउन सक्छन्,' उनले भनिन्, 'सबै अभिभावकले सचेत रहनुपर्छ।'

जागिरको प्रलोभन
यस्तो आपत्का बेला कसैले जागिरको प्रस्ताव गरे कसले नाइँ भन्ला? टुँडिखेलमा पालमुनि बसिरहेकी काठमाडौँ, झोँछेमा डेरा गरी बस्ने पवन मल्ललाई जागिर मात्र होइन, नयाँ घर समेत बनाइदिन्छु भन्ने प्रस्ताव आयो। सिन्धुपाल्चोकमा भएको उनको घर भत्क्यो। डेरा भएको घर पनि भत्क्यो। पसल पनि रहेन। अब के खाने? कहाँ बस्ने? कसरी बाँच्ने? यस्तै तनावमा रहेकै बेला राहतका पोका धेरै आउँथे। एक दिन एकजनाले पवनका बुबालाई लोभलाग्दो प्रस्ताव ल्याए– 'हामी तपाईंलाई घर बनाइदिन्छौँ। तपाईंकी छोरीलाई जागिर पनि लगाइदिन्छौँ।'

त्यो प्रस्ताव ल्याउनेहरू धाइराख्न लागे। के गर्ने गर्ने? दोधारमै थियो परिवार। छिमेकीले थाहा पाए यसबारे। 'तिम्री छोरीमाथि आँखा गाडेको छ। त्यो त एक नम्बरको दलाल हो,' एक छिमेकीले पुनमका बुबाको आँखा खोलिदिए। 'आफ्नो बारेमा सुइँको पाएको थाहा पाएर होला, त्यो मान्छे त्यसपछि आएन,' पवनका बाबुले भने।

अहिले पवनका बुबा त्यो समूह भेट्यो भने गालामा चप्पल लाउने दाउमा छन्। 'त्यो त दलाल पो रहेछ,' उनी अहिले आँखा खुलेको भन्छन्, 'मेरा छिमेकी नभए छोरीलाई कहाँ पुर्या उँथ्यो?' उनले त्यो समूहको बारेमा त्यति जानकारी नभएको बताए। प्रहरीमा उजुरी केका आधारमा दिनु भन्दै उनी आफूलाई अब राहत दिनेमाथि शंका लाग्न थालेको बताउँछन्।

महिला र बालबालिकाको सुरक्षाका लागि सक्रिय संस्थाहरूका अनुसार यो विपद्लाई मौकाकै रुपमा दलालहरूले उपयोग गर्न चाहिरहेका छन्। कसैले रोजगारीको आश देखाइरहेका छन्, कसैले राहत र पुनःस्थापनाको प्रस्ताव पेश गरिरहेका छन्।

एक पैसा नलिएर महिलाहरूलाई विदेश पठाइदिन्छु भन्दै राहुल नाम गरेका एक दलाल त्रिपाल चहार्दै हिँडिरहेका थिए। काठमाडौँ, शान्तिनगरस्थित बाग्मती किनारमा त्रिपालमुनि बसिरहेका श्याम पहारीले उसको वास्तविकता बुझ्ने प्रयास गरे। 'उसको सबै कागजपत्र हेर्दा त ऊ नेपाली नागरिक नै रहेनछ,' श्यामले सुनाए, 'भारत, दार्जिलिङको रासन कार्ड भेटेपछि ऊ केही बोल्न सकेन। उसले त खै के नियतले त्यसरी ढाँटेर हिँड्यो, पत्तो पाइएन। तपाईंको खुट्टामा ढोग गर्छु भन्न थालेपछि हामीले छाडिदियौँ।'

उनीहरूले प्रहरीलाई यसबारे जानकारी नदिएर गल्ती गरे। त्यसैले त प्रहरी भन्छ, 'नागरिकबाट सूचना दिनेलगायत सहयोग नभए प्रहरी एक्लैले चाहेर केही हुँदैन।' नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बम भन्छन्, 'हामीलाई सूचना दिएर सहयोग गरे कारबाहीमा उत्रन सजिलो हुन्छ। सबै सचेत रहेर शंका लागेका बेला तत्कालै प्रहरीलाई खबर गरे आपराधिक मानसिकता बोकेको व्यक्ति सलबलाउन सक्दैन।'

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल महिला र बालबालिकाको सुरक्षा अवस्था सामान्य नै रहेको बताउँछन्। 'जोखिम नभएको होइन,' उनी भन्छन्, 'जोखिम छ भनेर नै हामीले सक्रिय रूपमा निगरानी बढाएका छौँ। तर, ओसारपसार र यौन दुर्व्यवहारका घटना बढेको भनेर त्रसित हुनु आवश्यक छैन। सबैले सजग भने हुनैपर्छ।'

'दलाल सक्रिय छन्'

चरीमाया तामाङ, मानव बेचबिखनविरुद्ध सक्रिय अभियन्ता
अहिलेसम्मको अवस्था हेर्दा के भन्न सकिन्छ भने चेलीबेटी किनबेच गर्ने होस् वा बलात्कारसम्मका दुर्व्यवहार गर्ने गिरोह नै किन नहोस्, झन् सक्रिय हुने मौका पाइरहेका छन्। हामी सजग भएनौँ भने स्थिति भयावह हुन सक्छ। संख्यामा भन्न नसकिए पनि गिरोह सक्रिय रहेको यथार्थ हो।

एउटा जोखिमले अर्को जोखिम निम्त्याउँछ। यसअघिको अवस्थामा त त्यस्तो मालामाल भइरहेको दलाल गिरोह अबको समस्याग्रस्त समयमा झन् सक्रिय रहन्छ। यस्तो कुरा एकैचोटि देखिने होइन। पछि देखापर्छ। अहिले त गिरोहहरूले जालो फिँजाइरहेका छन्। अवस्था हेर्दा जटिल छ। छोरीचेली मात्र नभएर अन्य व्यक्ति पनि किनबेच हुन सक्छन्। यौनसँगै श्रम शोषण गराउन भनेर मान्छेको मोलमोलाइ हुने गरेको छ। आन्तरिक रूपमा किनबेच गर्न झन् सजिलो मान्छन् दलालहरू। परिवार पनि केही सोच्न सकिरहेका हुँदैन। यस्तै बेला दलालले राख्ने प्रलोभनसहितको प्रस्ताव पीडितले स्वीकार गर्न सक्ने सम्भावना धेरै हुन्छ।

सिन्धुपाल्चोकमा डरलाग्दो अवस्था छ। त्यहाँ जेल भत्किएर कैदीबन्दी बाहिर निस्केका छन्। गाउँघरसम्म पुगेर पीडितलाई धम्की दिने काम भएको सुनेका छौँ। उनीहरू फेरि पुरानै दलालीमा लाग्ने हुन्छन्। यसै बेला मानव बेचबिखन गर्नेहरू ठाडो शिर उचालेर हिँडिरहेको हामीले पाएका छौँ। सबैजना राहत, उद्धार, पुनर्निर्माणलगायत काममा व्यस्त रहेका बेला उनीहरू आफ्नो काम फत्ते गर्न सक्छन्। त्यसैले सबैजना सजग भएर यस्ता गतिविधिविरुद्ध जुट्नुपर्ने बेला भएको छ।

'खराब नियतका मान्छे सलबलाइरहेका हुन्छन्'
कमलसिंह बम
प्रवक्ता, नेपाल प्रहरी

भूकम्पको विनाशपछि अस्थायी शिविरमा आश्रय लिइरहेका महिला, बालबालिका जोखिममा रहेको कुरा सत्य हो। उनीहरूकै असुरक्षालाई मध्यनजर गरी विशेष सक्रियता साथ प्रहरी जुटेको छ। सतर्कताका लागि मुख्यालयबाटै देशभर निर्देशन गरिएको छ।

ललाई–फकाई बालबच्चालाई ओसारपसार गर्ने र पछि उनीहरूलाई बेचबिखन गर्ने अपराध हुन सक्छन्। महिला र बालिकाहरू यौन दुर्व्यवहारको शिकार हुन सक्छन्। बेचबिखन होस् वा दुर्व्यवहार, सामान्य अवस्थामा महिला र बालबालिका धेरैजसो आफन्तबाटै जोखिममा रहेका देखिन्छन्। यतिबेला त अपरिचितको सम्पर्कमा धेरै रहनुपर्ने भएकाले नचिनेकाहरूले पनि आँखा गाडिरहेकै हुन्छन्। खराब नियतका व्यक्तिहरू सलबलाइरहेका हुन्छन्। पीडितले तत्काल खबर गरिदिए हामीलाई कारबाहीमा उत्रन पनि सजिलो हुन्छ। यतिबेला हरेक व्यक्ति सचेत रहनुपर्छ।

'दलालका निम्ति विपद् मौका हो'
सुनीता दनुवार
अध्यक्ष, शक्ति समूह

उसै त मानव बेचबिखनका दृष्टिले उच्च जोखिमपूर्ण जिल्लाहरू अहिले भूकम्पबाट अति प्रभावित छन्। दलालहरू प्राकृतिक विपद्लाई मौकाका रूपमा प्रयोग गर्न खोजिरहेका छन्। परिवार विच्छेद भएको अवस्थामा ललाई–फकाई गर्न सजिलो ठान्छन् उनीहरू। विखण्डन नभएकै परिवारमा पनि प्रलोभन देखाएर आफ्नो स्वार्थ अनुकूल काम गर्न उनीहरूलाई सजिलो हुन्छ। यतिबेला जे पनि गर्ने आँट गर्छन् उनीहरू।

हामीले यसविरुद्ध सचेतना जगाइरहेका छौँ। तर, उनीहरू समूह नै बाँधेर लोभलालच देखाउन लागिपरेका हुन्छन्। कतिपय दलाल राहत लिएर गाउँ पसेका हुन सक्छन्। सबैजना राहत देखेर मख्ख पर्छन्। आफ्नो के गुम्दै छ? उनीहरूलाई मतलब हुँदैन। राहतसँगै उसले आफ्नो स्वार्थ पनि पूरा गरेको हुन सक्छ।

'प्रलोभनमा पारेर स्वार्थ पूरा गर्ने खतरा'
तारक धिताल
कार्यकारी निर्देशक, केन्द्रीय बालकल्याण समिति

महिला र बालबालिकालाई यौन दुर्व्यवहार र बेचबिखनको जोखिमबाट जोगाउन सबै सचेत रहनुपर्ने बेला आएको छ। नयाँ मान्छेलाई तत्काल विश्वास गरिहाल्नु हुँदैन। आफन्तभित्रै पनि कलुषित मानसिकता भएका गलत मान्छे हुन सक्छन्। अहिले सामूहिक रूपमा बसोबास गर्नुपर्ने बाध्यता छ। यस्तो बेला छोराछोरी कहाँ कोसँग छन्? याद गरिराख्नुपर्छ।

हामीले पछिल्लोपटक एउटा जिल्लाबाट अर्को जिल्लामा बालबालिका लैजान कडाइ गरेका छौँ। परिवार बाहेकलाई जिल्ला प्रशासन कार्यालय र बालकल्याण समितिको सिफारिस अनिवार्य गरेका छौँ। गलत ढंगले ओसारपसार हुन सक्ने खतरा रहेकाले निगरानी बढाउन निर्देशन दिएका छौँ। परिवारको पूर्ण लेखाजोखा गर्नुपर्ने हुन्छ। अन्तरदेशीय धर्मपुत्र लैजान पाउने व्यवस्था पनि तीन महिनाका लागि बन्द गरिएको छ।

अहिले सहयोगका नाममा बालबालिकालाई परिवारबाट विच्छेद गर्ने प्रयास धेरै भएका देखिन्छन्। कसैले सहयोग गर्न चाहन्छ नै भने पनि परिवारसँगै राखेर पनि त्यो सम्भव हुन सक्छ। आफन्तको निगरानीमा पनि राख्न सकिन्छ। प्रलोभनमा पारेर आफ्नो स्वार्थ पूरा गर्ने खतरा बढी छ।
नागरिक दैनिकबाट 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment