विदेशमन्त्री जन केरी आइतबार जिनिभाको बाहिरी भागमा साइकल दुर्घटनामा पर्नुभएको छ भने उहाँलाई खुट्टामा चोट लागेकाले उपचारका लागि स्विजरल्यान्डको एक अस्पतालतर्फ हेलिकप्टरमा लगिएको जानकारी अमेरिकी एक अधिकारीले दिएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जन कर्बीले उहाँ आफ्नो साइकलबाट लडेको तर उहाँको होस नगुमेको बताउनुभयो । उहाँले विदेशमन्त्री केरीको अवस्था स्थिर रहेको बताउनुभयो ।
एपीले दिएको अर्को एक समाचारमा अमेरिकी विदेशमन्त्री केरीको खुट्टा भाँचिएको र उहाँ उपचारका लागि बोस्टन फर्कने तयारीमा रहनुभएको उल्लेख गरिएको छ ।
केरीको दुर्घटना स्विजरल्यान्डको सीमाबाट ४० किलोमिटर पर फ्रान्सको सिन्जयरमा भएको बताइएको छ । दुर्घटनाको एक दिन अगाडि उहाँले जिनिभामा इरानका विदेशमन्त्रीसँग पारमाणविक विषयमा वार्ता गर्नुभएको थियो ।
अमेरिकी विदेशमन्त्री केरीलाई उपचारका लागि जिनिभाको प्रमुख अस्पताल एचयुजीमा लगिएको थियो । उहाँ चढ्नु भएको साइकल फुटपाथमा ठक्कर खाएपछि उहाँ लड्नु भएको र उहाँको गाडीसँगै यात्रा गरिरहेका एक स्वास्थ्यकर्मीले उहाँको तत्कालै परीक्षण गरेको कर्बीले बताए । विदेशमन्त्री केरीको दाहिने खुट्टाको एक्स–रे लिइएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री केरी आफ्नो कूटनीतिक यात्रामा प्रायः साइकल चलाउनुहुन्छ । मार्च तथा मे महिनामा पनि विश्वका शक्ति राष्ट्र तथा इरानबीच स्विजरल्यान्डको लजानमा वार्ता हुँदा विश्रामको समयमा उहाँले निकैपटक साइकल चलाउनुभएको बताइएको छ ।
उहाँले शनिबार जिनिभा होटेलमा इरानी विदेशमन्त्री मोहमद जावेद जरिफसँग छ घण्टासम्म वार्ता गर्नुभएको थियो । उहाँहरु जुन ३० सम्म एक एकीकृत सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा हुनहुन्छ ।
रासस

0 comments :
Post a Comment