English Edition

‘संविधान बनाऊँ, १५ दिनमै छाडिदिन्छु' - कोइराला


‘संविधान बनाऊँ, १५ दिनमै छाडिदिन्छु'
काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले संविधान बने आफू एकछिन पनि कुर्सीमा नबस्ने बताएका छन्। सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी एकीकृत माओवादी नेतृत्वसँग शुक्रबारको छलफलबारे शनिबार बालुवाटारमा पार्टी पदाधिकारी र मन्त्रीहरू सम्मिलित बैठकमा जानकारी दिँदै कांग्रेस सभापतिसमेत रहेका कोइरालाले आफू प्रधानमन्त्री पद त्याग्न आतुर रहेको जनाउ दिएका हुन्। संविधान नबनी पद नछाड्ने पनि उनले प्रस्ट पारेका छन्। ‘असारसम्म किन कुर्ने?,' कोइरालाले दुई दलका प्रमुखलाई स्पष्ट पार्दै भनेको बैठकमा सुनाएका थिए, ‘१५ दिनभित्रै संविधान बनाऊँ, त्यसपछि म प्रधानमन्त्री पदमा रहन्नँ।'
शुक्रबारको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोइरालालाई असारभित्र संविधान बनाउने प्रस्ताव गर्दै त्यसपछि राष्ट्रिय सहमति सरकार गठनका लागि बाटो छाडिदिन आग्रह गरेका थिए।
दलीय सहमतिमा छोटो बाटोबाट, छिटो संविधान निर्माण गर्नुपर्ने आफूले सुझाएको कोइरालाले पदाधिकारीसमक्ष राखे। उनले समयमै संविधान निर्माण गर्ने साझा संकल्पलाई पूर्णता दिन एमाले र एमाओवादी नेतृत्वसँग आग्रह गरेको पनि बैठकमा सुनाए।
शुक्रबारको बैठकमा ओली र दाहालले असारभित्र संविधान जारी गर्ने मिति तोक्न कोइरालालाई दबाब दिएका थिए।
‘असारभित्र संविधान जारी गर्ने गरी मिति तोक्न उहाँहरू (एमाले र माओवादी अध्यक्ष) ले आग्रह गर्नुभएको थियो,' प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले नागरिकसँग भने, ‘संविधान निर्माण गरेपछि सरकार छाड्ने बताउँदै आएको छु, १५ दिनभित्रै संविधान बनाऊँ, असार किन कुर्ने भनँे, उहाँहरू संविधान निर्माणमा सकारात्मक हुनुहन्छ।'
प्रमुख दलबीच माघ ८ भित्रै संविधान जारी गर्ने सहमति यसअघि पालना नभएको स्मरण गराउँदै कोइरालाले दुई नेतालाई पुनः संविधान जारी गर्ने मिति तोकेर दोष आफू लिन तयार नरहेको जनाउ दिएका थिए।
संविधान निर्माण र पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउन एमाले र एमाओवादी पनि सकारात्मक रहेको कोइरालाको भनाइ थियो। संविधान निर्माणपछि मात्र राष्ट्रिय सरकार र पुनर्निर्माणको काम अघि बढाउने विषयमा ओली र दाहालसँगको छलफल सकारात्मक रहेको पनि प्रधानमन्त्री कोइरालाले सुनाए।
विपत सामना गर्न सबै दललाई सँगसँगै लिएर अघि बढ्न कांग्रेस बाधक नहुने बताउँदै प्रधानमन्त्री कोइरालाले संविधानका विवादित विषयमा दलीय सहमति जुटेका विषयलाई मस्यौदा समितिमा पठाउन र बाँकी विषयमा सहमति खोज्न आग्रह गरेको पनि पार्टी पदाधिकारी र मन्त्रीलाई सुनाएका थिए।
संविधान जारी हुँदासम्म कांग्रेस नेतृत्वमा सरकार रहने एमालेसँग प्रारम्भिक रूपमै सहमति भएको जनाउँदै निधिले भने, ‘संविधान जारी भइसकेपछि नेतृत्व छाड्न तयार रहेको प्रधानमन्त्रीले बताउँदै आउनुभएको छ।'
समयमै संविधान निर्माण गर्नु राष्ट्रिय साझा संकल्प भएको भन्दै पार्टी पदाधिकारी र मन्त्रीहरूको शनिबारको बैठकले त्यसका लागि सम्पूर्ण प्रयत्न गर्ने निष्कर्षसमेत निकालेको छ। 

तत्काल संविधान निर्माणलाई निष्कर्षमा पुर्यानउन संविधानसभाभित्र र बाहिर पनि अग्रसरता लिने बैठकको मत छ। कांग्रेसले छोटो बाटोबाट छिटो संविधान निर्माणका लागि अग्रसरता लिने निचोडसमेत निकालेको छ।
‘संविधान निर्माणका लागि सहमतिसाथ जानुपर्छ, यसका निम्ति आवश्यक पर्छ भने सहमतीय सरकार गठन गर्ने हाम्रो पार्टीले पहिलेदेखि नै भनेको हो,' कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘तर संविधान निर्माण आधारभूत र प्राथमिक कुरा हो।'
संविधान निर्माण गरेर जारी संक्रमणकाल छोट्याउँदै सम्पूर्ण शक्ति पुनर्निर्माण र पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै बडूले भने, ‘फास्ट ट्र्याकबाट संविधान निर्माण गर्न सम्पूर्ण प्रयत्न गर्नेछांै।'

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहितका दलहरूसँग संविधान निर्माणको विषयलाई नै केन्द्रमा राखेर छलफल अघि बढाउने जानकारी दिँदै बडूले भने, ‘सम्पूर्ण प्रयत्न संविधान निर्माणमा केन्द्रित गर्नेतर्फ सबै पार्टी एक ठाउँमा पुग्नेमा हामी आशावादी छौं।'
प्रमुख दलहरूबीच नयाँ संविधानमा शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणाली कस्तो हुने भन्नेमा मोटामोटी सहमति जुटे पनि संघीयताको विषयमा सहमति भइसकेको छैन। प्रदेश संख्या, सीमांकन र नामांकनमा प्रमुख दल आ–आफ्नै अडानमा छन्।

प्रमुख दल बैठक स्थगित संविधानका विवादित र संविधानसभा बैठक सञ्चालनका विषयमा छलफल गर्न शनिबार साँझ डाकिएको बैठक आइतबारसम्म स्थगित भएको छ। आइतबार बस्ने प्रमुख दलको बैठकले संविधानका अन्तर्वस्तुमा दलीय सहमति जुट्न बाँकी विषय र संविधानसभा बैठक सञ्चालनबारे सहमति प्रयास गर्ने जनाइएको छ। नागरिकबाट 

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment