English Edition

​विपत्तिका बेला गतिछाडा राजनीत

 किशोर नेपाल-केही विश्वासहरु थिए ती टुटे। ती राजनीतिक विश्वास वैशाख १२ को भुईंचालोपछिको भग्नावशेषमा पुरिए। भुईंचालोपछि बसेको संसद बैठकबाट बाहिर निस्किदै गरेका सभासदहरुको हातमा पालको प्याकेट देखेपछि लाग्यो – यी त साँच्चै हरिप रहेछन्। भुईंचालोले घरवार भत्किएका गरीव नेपाली र उनका नांगा–भुतुंगा केटाकेटी झरी र घाम झेलेर भोकभोकै बाँचिरहेका बेला जन–प्रतिनिधि भनिने सुटेड–बुटेड पात्रहरु पीडितका लागि राहतमा आएका पालको प्याकेट बोकेर  संसद भवन बाहिर निस्किएको घिनलाग्दो दृश्य गतिछाडा राजनीतिको चरमोत्कर्ष थियो। सभासदहरुलाई, निश्चय पनि, भुईंचालोले नहल्लाएको थिएन। तर, कतिपय सभासदको आर्थिक हैसियत राहतमा आएको पाल बोकेर हिँड्नुपर्ने थिएन। विश्वास टुटाउने एकजना सभासद थिए – सुरेन्द्र पाण्डे। देशी–विदेशी प्रतिनिधि र पर्यवेक्षकहरुसँग धाराप्रवाह बहस गर्न सक्ने वाक्पटु, तार्किक, देशका अर्थमन्त्री भै सकेका, हुनेखाने वर्गका कम्युनिष्ट, सम्पन्न व्यक्तित्व––जब मैले उनको हातमा पालको प्याकेट देखें, त्यसपछि मलाई गहिरो पीडाको अनुभूति भयो। मैले सिन्धुपाल्चोक जिल्लाको भीमटारका ती पीडितहरुलाई सम्झिएँ जो रातभर या त आकासका तारा गनेर या झरीले निथ्रुक्क भिजेर बस्न वाध्य थिए। ती दनुवार जातिका सीमान्तकृत जनताको घरदैलोसम्म राहतको “र” सम्म पनि पुगेको थिएन। उनीहरुका भगवान थिए भीमसेन। विश्वास थियो, ती भगवानले सदाकाल रक्षा गर्नेछन्। तर उनको अग्लो मन्दिर भाँचिएको थियो। गजूरको टुक्रो अलिपर अलपत्र परेको थियो। बिहान सूर्योदयसँगै केटाकेटीहरु पर मेलम्ची सडकतिर एकटकले हेरेका भेटिन्थे। मोटर देख्ने बित्तिकै उनीहरु चिच्याउँथे, “राहत आयो राहत आयो।” राहतमा आएको एउटा पालमा पनि र्‍याल चुहाउनेहरुबाट शासित छौं हामी। के ठूला कुरा गर्नु अब तिनीहरुले? के देश विकासको सपना बाँड्नु तिनीहरुले? के सरकार चलाउनु? किन बढी गफ गर्नु? भुईंचालोले सबैको अनुहार स्पष्ट देखाइ दियो। उनीहरुलाई भोट दिनेहरुले पनि देखे। भोलि कुनै विदेशी प्रतिनिधिले पालको प्याकेट बोकेको दृश्य मोबाइल खोलेर देखाइदियो भनेपनि तिनले ङिच्च हाँसेर पचाइ दिनेछन्। गतिछाडा राजनीति भनेको यही हो। सुरेन्द्र पाण्डे त प्रतीक मात्रै हुन। यहाँका शासनका सबै प्रतिनिधि पात्रहरु उनी भन्दा कोही कम छैनन्। राजनीतिमा एउटा सिंगो पुस्ताको प्रतिनिधि पात्रहरु नै यति गतिछाडा छन भने तिनले देशका लागि केही गर्छन् भन्नेमा किन विश्वास गर्ने? जनताले खिस्याउनु खिस्याएपछि उनीहरुले पाल त फिर्ता गरे। तर जनताको विश्वास जोगाउन सकेनन्। जनताले भन्दै आएको थियो– यी जनताका प्रतिनिधि चुनिएकाहरु सेवक होइनन्। हिजो राणा शासनमा जंगबहादुरका सत्र भाइले आपसमा बाँडिचुँडी खाने गरेका थिए। शाह शासनकालमा उनका सन्तान र अर्हौटे–भरौटेहरुले बाँडिचुँडी खाएका थिए। अहिले संसदीय प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म हुने खाने वर्गका प्रतिनिधि पात्रहरुले जनताका नाममा बाँडिचुँडी खाएका छन्। भुईंचालो पीडितको नाममा राहतमा आएको पाल काखी च्यापेर संसदबाट बाहिर निस्किनेमा कांग्रेस, एमाले, माओवादी, मधेसी, जनजाति सबैथरी थिए।

सुरेन्द्र पाण्डे राहतको पाल लिनेमा एक्ला थिएनन। सरकारमा रहेको दोस्रो ठूलो दल एमालेको प्रभावशाली नेताका रुपमा उनले समाज व्यवस्थामा परिवर्तन ल्याउन केही त गर्लान् भन्ने उम्मेद धेरैले राखेका थिए। तर, राहतको पालमा समेत लोभ संवरण गर्न नसक्ने नेताले देशका लागि केही गर्ने त कुरै आएन। उनीमाथिको विश्वास खेर गएकोमा किन्चित दुःख लागेको छैन। भन्न यति मात्रै खोजेको हो, यस्ता प्रवृत्तिका नेताहरुले के गर्लान भुईंचालोपछिको नव–निर्माण !

एउटा वृद्ध अशक्त र अस्वस्थ्य प्रधानमन्त्री छन् देशमा, जो संसदलाई राम्रोसंग सम्वोधन गर्नसम्म सक्दैनन्। सत्ताको लोभ यति धेरै छ आफनो रुग्ण शरीरले थेग्न नसकेपनि सत्ता छाड्न तयार छैनन्। उनको सरकारको सहयोगी दलका अर्का नेता उत्तिकै रोगी छन् जो आफनो बाहेक अरु कसैको स्वार्थ हेर्न सक्दैनन्। एउटा अर्थमन्त्री छन् देशमा जो सहायता जुटाउने कुरा गर्दछन् तर जुटेको सहायताको व्यवस्थापन गर्न सक्दैनन्। एउटा प्रतिपक्षका नेता पनि छन्, जसमा सत्ताको चर्को मोह छ र जसको राजनीतिक हैसियत समाप्त पार्न उनका आफनै पार्टीका नेता जुटेका छन्। प्रतिपक्षका अर्का उपनेता पनि छन् जसलाई लागेको छ उनी जस्तो भिजनरी प्रधानमन्त्री नभएसम्म देशमा केही हुनै सक्दैन। नेतृत्वको यो साँघुरो स्वार्थको घेरामा को छैन? तर, दुःखको कुरा यी कुनैमा पनि विवेक देखिएन। मानिसमा जवसम्म विवेक हुँदैन तवसम्म देश अथवा जनताको विकासको कुरै आउँदैन।

२०७२ सालको भुईंचालोले सत्ताको आकर्षक विन्दूका रुपमा रहेको दरबार स्क्वायर र परिसरमा रहेका ऐतिहासिक मन्दिर र इमारतहरु भत्कायो। केन्द्रीय सत्ताले विगुल फुकेर उर्दी जारीगर्न बनाएको धरहराको मूलोच्छेदन गर्‍यो। तर, लोभ र लालचमा फँसेको नेपालको अविवेकी सत्ता राजनीतिलाई भत्काउन सकेन। ठूलो विपत्तिले घरबार मात्र होइन, मन भाँच्चिएका नेपाली जनताप्रति ओठे सहानुभूतिमात्र व्यक्त गरिएको छ। कुनै नेताले आफनो निर्वाचन क्षेत्रमा भइरहेको खोजी र राहत कार्यको जानकारी लिने र अनुगमनगर्ने चासो देखाएको छैन। डर त सबैलाई लाग्छ तर समाज र जनताको अगुवा हौं भन्नेहरुले सबभन्दा पहिले डर र लोभलाई जित्न सक्नुपर्दछ। जनताको सुरक्षाका लागि सुरक्षाकर्मी अहोरात्र खटिएका छन्। राष्ट्रिय विपत्तिका बेला खटिनु उनीहरुको कर्तव्य नै हो। तर, उनीहरुसँगै देश बनाउँछौ भनेर गुड्डी हाँक्ने नेताहरु पनि खटिन सक्नुपर्दछ। अहिलेसम्म देशको राजनीति जनताको साथमा छ भनेर कोही अघि सर्न सकेको छैन। यो हो विपत्तिका बेला हामीले भोगी रहेको विडम्वना।

सबै नेताज्यूहरु आ–आफना किल्लामा सुरक्षित हुनुहुन्छ। उहाँहरु जति सुरक्षित हुनुहुन्छ त्यति नै असुरक्षित छौ हामी जनता। वर्षातको मौसमले आफनो आगमनको संकेत दिइसकेको छ। पीडितहरु किसान पनि हुन्। यो मौसममा खेती नगरे अर्को वर्ष मुखमा माड लाग्दैन। सरकारले पक्कै पनि भुईंचालो रोक्न सक्दैन। अव्यवस्था रोक्न सक्दछ। जनताको मनमा आशा जगाउन सक्दछ। जनताको जीवन सुरक्षित बनाउनका लागि सहयोग गर्न सक्दछ। केही गर्न नसके राहतमा आएको पाल आफैलाई बाँड्ने गतिछाडा काम नगर्न त सक्छ नि!  

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment