सुरेन्द्र पाण्डे राहतको पाल लिनेमा एक्ला थिएनन। सरकारमा रहेको दोस्रो ठूलो दल एमालेको प्रभावशाली नेताका रुपमा उनले समाज व्यवस्थामा परिवर्तन ल्याउन केही त गर्लान् भन्ने उम्मेद धेरैले राखेका थिए। तर, राहतको पालमा समेत लोभ संवरण गर्न नसक्ने नेताले देशका लागि केही गर्ने त कुरै आएन। उनीमाथिको विश्वास खेर गएकोमा किन्चित दुःख लागेको छैन। भन्न यति मात्रै खोजेको हो, यस्ता प्रवृत्तिका नेताहरुले के गर्लान भुईंचालोपछिको नव–निर्माण !
एउटा वृद्ध अशक्त र अस्वस्थ्य प्रधानमन्त्री छन् देशमा, जो संसदलाई राम्रोसंग सम्वोधन गर्नसम्म सक्दैनन्। सत्ताको लोभ यति धेरै छ आफनो रुग्ण शरीरले थेग्न नसकेपनि सत्ता छाड्न तयार छैनन्। उनको सरकारको सहयोगी दलका अर्का नेता उत्तिकै रोगी छन् जो आफनो बाहेक अरु कसैको स्वार्थ हेर्न सक्दैनन्। एउटा अर्थमन्त्री छन् देशमा जो सहायता जुटाउने कुरा गर्दछन् तर जुटेको सहायताको व्यवस्थापन गर्न सक्दैनन्। एउटा प्रतिपक्षका नेता पनि छन्, जसमा सत्ताको चर्को मोह छ र जसको राजनीतिक हैसियत समाप्त पार्न उनका आफनै पार्टीका नेता जुटेका छन्। प्रतिपक्षका अर्का उपनेता पनि छन् जसलाई लागेको छ उनी जस्तो भिजनरी प्रधानमन्त्री नभएसम्म देशमा केही हुनै सक्दैन। नेतृत्वको यो साँघुरो स्वार्थको घेरामा को छैन? तर, दुःखको कुरा यी कुनैमा पनि विवेक देखिएन। मानिसमा जवसम्म विवेक हुँदैन तवसम्म देश अथवा जनताको विकासको कुरै आउँदैन।
२०७२ सालको भुईंचालोले सत्ताको आकर्षक विन्दूका रुपमा रहेको दरबार स्क्वायर र परिसरमा रहेका ऐतिहासिक मन्दिर र इमारतहरु भत्कायो। केन्द्रीय सत्ताले विगुल फुकेर उर्दी जारीगर्न बनाएको धरहराको मूलोच्छेदन गर्यो। तर, लोभ र लालचमा फँसेको नेपालको अविवेकी सत्ता राजनीतिलाई भत्काउन सकेन। ठूलो विपत्तिले घरबार मात्र होइन, मन भाँच्चिएका नेपाली जनताप्रति ओठे सहानुभूतिमात्र व्यक्त गरिएको छ। कुनै नेताले आफनो निर्वाचन क्षेत्रमा भइरहेको खोजी र राहत कार्यको जानकारी लिने र अनुगमनगर्ने चासो देखाएको छैन। डर त सबैलाई लाग्छ तर समाज र जनताको अगुवा हौं भन्नेहरुले सबभन्दा पहिले डर र लोभलाई जित्न सक्नुपर्दछ। जनताको सुरक्षाका लागि सुरक्षाकर्मी अहोरात्र खटिएका छन्। राष्ट्रिय विपत्तिका बेला खटिनु उनीहरुको कर्तव्य नै हो। तर, उनीहरुसँगै देश बनाउँछौ भनेर गुड्डी हाँक्ने नेताहरु पनि खटिन सक्नुपर्दछ। अहिलेसम्म देशको राजनीति जनताको साथमा छ भनेर कोही अघि सर्न सकेको छैन। यो हो विपत्तिका बेला हामीले भोगी रहेको विडम्वना।
सबै नेताज्यूहरु आ–आफना किल्लामा सुरक्षित हुनुहुन्छ। उहाँहरु जति सुरक्षित हुनुहुन्छ त्यति नै असुरक्षित छौ हामी जनता। वर्षातको मौसमले आफनो आगमनको संकेत दिइसकेको छ। पीडितहरु किसान पनि हुन्। यो मौसममा खेती नगरे अर्को वर्ष मुखमा माड लाग्दैन। सरकारले पक्कै पनि भुईंचालो रोक्न सक्दैन। अव्यवस्था रोक्न सक्दछ। जनताको मनमा आशा जगाउन सक्दछ। जनताको जीवन सुरक्षित बनाउनका लागि सहयोग गर्न सक्दछ। केही गर्न नसके राहतमा आएको पाल आफैलाई बाँड्ने गतिछाडा काम नगर्न त सक्छ नि!
0 comments :
Post a Comment