English Edition

करिस्माको घर चर्कियो, हरिवंश डेरा सरे

स्मृति-ढुंगानाकाठमाडौं  लाजिम्पाटस्थित एलपी अपार्टमेन्ट चर्किएपछि कलाकार हरिवंश आचार्य परिवार सहित बाल्कोटस्थित रोज भिलामा सरेका छन्। भूकम्पपीडितलाई राहत वितरणमा व्यस्त उनी बस्दै आएको अपार्टमेन्टलाई शहरी विकास तथा भवन निर्माण विभागले पहेंलो स्टिकर लगाइदिएपछि बाल्कोट सरेका हुन्। 'अपार्टमेन्टका भित्ताहरु चर्किएपछि बाल्कोटस्थित मेरो पहिलेको घरमा सरेका छौं। तत्काल अपार्टमेन्ट फर्किने अवस्था छैन,' हरिवंशका छोरा मोहित आचार्यले भने, 'हाल बसिरहेको अपार्टमेन्ट बढी सुरक्षित छ।' मोहितले कुपण्डोलमा सञ्चालन गरिरहेको ब्रिक्स क्याफेको छानो र पर्खाल पनि ढलेको छ। छुट्टीको दिन परिवारसँग कुपन्डोलस्थित घरमा बसिरहेका संगीतकार सुरेश अधिकारी भने भूकम्पको बेला एक तल्लामाथिबाट झरेको गमलाले लागेर घाइते भएका छन्। उनको देब्रे हल्केलामा टाँका लगाइएको छ। भूकम्पले काभ्रेको कुसादेवीस्थित उनका दुई घर भत्काइदिएको छ। 'भूकम्पले घाइते त बनाएको थियो नै घर पनि भत्किएपछि थप तनाव भएको छ। काभ्रे र राजधानीको यात्रा गर्दागर्दै आराम गर्ने समय समेत मिलाउन पाएको छैन,' उनले भने।
अभिनेता आयुष रिजालको धादिङको कसरपुरस्थित घर भत्किएको छ। 'हिफाजत', 'गुरु दक्षिणा', 'मेरो मनको साथी' लगायत फिल्मका नायक रिजालको पुर्ख्यौली घर भत्किएको हो। तर परिवारका सदस्य सकुसल भएकोमा सन्तोष मानेका छन्।
'दुइटा घर थिए, दुवै भत्किए। घर भत्किए पनि परिवारका सदस्यहरुलाई केही भएको छैन भनेर चित्त बुझाएको छु। भूकम्प गएका धेरै ठाउँमा राहत वितरण भइरहे पनि हाम्रातिर कोही आएका छैनन्। घर भत्किएपछि झरीले थप दुःख दिइरहेको छ। त्यसैले राहत जुटाउन राजधानी आएको हुँ,' उनले भने।
अभिनेत्री निता ढुंगाना बस्दै आएको बालकुमारीस्थित वेस्टर अपार्टमेन्ट वैशाख १२ मा आएको भूकम्पले चर्किएको छ। त्यस्तै अभिनेत्री करिश्मा मानन्धरको गोदावरीको घर पनि केही चर्किएको छ। राहत वितरणमा व्यस्त करिश्मा तत्काल चर्किएकै घरमा बसिरहेकी छिन्।
नेपाली फिल्ममा काम गरिरहेका एक सय १० जना प्राविधिक घरबहारविहीन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन्। 'मेलम्ची, धादिङ, सिन्धुपाल्चोक र नुवाकोटमा घर भएका अधिकांश प्राविधिकहरुका घर बस्नै नहुने गरी क्षतिग्रस्त भएका छन्। उनीहरुका लागि तत्कालै केही न केही गर्नुपर्ने आवश्यकता छ। प्राविधिकहरुको राहतका लागि विभिन्न संस्थासँग सहयोग मागिरहेका छौं,' अध्यक्ष मनोज केसीले भने।
मण्डला थियटरका कलाकारहरु बुद्धि तामाङको काभ्रे, उमेश तामाङको भक्तपुर र सुलक्षण भारतीको सिनामंगलस्थित घरहरु भत्किएको कलाकार राजन खतिवडाले बताएका छन्। त्यस्तै अर्का रंगकर्मी रामबाबु रेग्मीको पनि गोरखामा रहेको घर भत्किएको छ। गाउँमा राहत सामग्रीको अभाव रहेको रेग्मीले बताए।
'हामीसँग आवद्ध र अरु केही कलाकारहरुका घर भत्किएको जानकारी पाएका छौं। तत्काल छलफल गरेर कलाकारहरुलाई राहतको व्यवस्था गर्न हामी लागि परेका छौं,' मण्डला थियटरका क्रियटिभ डाइरेक्टर राजन खतिवडाले भने। त्यस्तै निर्देशक मदन घिमिरेको भक्तपुर र सिनेमाटोग्राफर रामशरण उप्रेतीको पनि काभ्रेस्थित घर भत्किएको छ।    स्रोत: नागरिक 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment