English Edition

८ प्रदेश सहितको संविधान निर्माण र राष्ट्रिय पुनर्निर्माणको प्रस्थानबिन्दु -अर्जुननरसिंह के.सी.

Arjun_Narsingh_KC_-_NC

सहमति किन सकारात्मक ? 
चार राजनीतिक पक्षबीच आठ प्रदेशको संघीयतासहितको संविधान निर्माणलगायत विषयमा १६ बुँदे सहमति समष्टिगत रूपमा स्वागतयोग्य उपलब्धि हो । तर, यो सहमति नै पूर्ण हो र योभन्दा अर्को उत्कृष्ट सहमति सम्भव थिएन भन्नेचाहिँ पक्कै होइन । कहिलेकाहीँ ‘सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डित:’ (सर्वनाश नै हुने परिस्थिति आएको खण्डमा आधा त्यागेरै भए पनि अघि बढ्नु बुद्धिमानी हो) भन्ने नीतिश्लोकको मर्मअनुरूप निर्णय लिनुपर्ने अवस्था पनि आउँछ । वर्तमान परिस्थितिले यस्तो प्रयत्नलाई स्वाभाविक बनाएको छ । विनाश र विपत्तिका साथ विद्यमान अन्योललाई चिर्दै २५ जेठ को रातमा भएको १६ बुँदे सहमतिलाई एउटा उत्साहको आधार मान्न सकिन्छ ।
भूकम्पपछि जुन संवेदनशीलता र गतिमा हामी अघि बढेका छौँ, त्यसले संविधान बन्छ भन्ने विश्वास जगाएको छ । मैले लेख्दै र बोल्दै आएको थिएँ– हामीबीचको सहमतिलाई व्यापक बनाएर शान्ति प्रक्रियामा संलग्न पक्ष र मधेसलाई समेत समेटेर लक्ष्यमा पुग्नुको विकल्प छैन, अन्यथा त्यसबाट जुन परिवेश पैदा हुन सक्छ, त्यो नै अस्थिरता र द्वन्द्वको कारक तत्त्व बन्न सक्छ, त्यसैले दलबीच उच्चतम सहमति नै खोज्नुपर्छ । एकांगी रूपमा दुईतिहाइ बहुमतमा मात्र केन्द्रित भएर सोच्नु हुँदैन भन्ने आवाजलाई मैले आफ्नो पार्टीभित्र र बाहिर पनि उठाउँदै आएँ । आफ्नो अन्त:स्करणको इजलासबाट आएको यो न्यायोचित फैसलालाई मुखरित गर्दा म एक्लै बोलिरहेको छु वा समर्थन कति छ भनेर कहिल्यै हेरिनँ । सार्वजनिक फोरममा पनि मैले त्यसैलाई ध्रुवसत्य मानेर यही अभिमत अभिव्यक्त गर्दै आएको हो ।
संविधान निर्माणको ग्यारेन्टी
२५ जेठमा सम्पन्न १६ बुँदे सहमति निकट भविष्यमै संविधान बन्ने प्रत्याभूति हो । संविधान भनेकै राष्ट्रिय सहमतिको सर्वमान्य दस्ताबेज भएकाले संविधान निर्माणको चरणमा ऐतिहासिक उपलब्धि हासिल गर्न सबैले केही न केही छाडेकै हुनुपर्छ, नत्र सहमतिको बिन्दुमा कहिल्यै पुग्न सकिन्न । सहमतिमा व्यक्त भावनालाई निष्कर्षमा पुर्‍याउँदै संविधान घोषणाको मितिलाई सकेसम्म नजिक ल्याएर संविधानसभा र राजनीतिक दलले चाँडोभन्दा चाँडो जिम्मेवारीको बेडा पार लगाउनु जरुरी छ ।
नेपालको स्रोत, साधन, सम्भाव्यता र सामथ्र्यलाई हेर्दा आठ प्रदेश धेरै हुन्छ भन्ने मान्यताका आधारमा साविकमा नेपाली कांग्रेसले ६ प्रदेशका पक्षमा निर्णय गरेको भए पनि एमाले, राप्रपालगायत दलसितको सहमतिमा सात प्रदेश स्विकारियो । तर, यदि दलबीच सहमतिका लागि यही नै संख्या बाधक बन्छ र आठ प्रदेश मान्दा सहमति हुनसक्छ भने ठूलो फरक आइलाग्दैन भन्ने लचिलो विचार मैले यसै पत्रिकामार्फत् सार्वजनिक पनि गरेको थिएँ ।
त्यसैले अहिलेका लागि आठ प्रदेशको सहमतिलाई सकारात्मक अर्थमा लिनु नै व्यावहारिक हुनेछ । किनकि, यसले संविधान निर्माण प्रक्रियामा ठूलो फड्को मार्ने र संविधान बनाउने बाटोतिर सबैलाई उन्मुख गराउने काम गरेको छ र अब निकट भविष्यमै संविधान बन्छ भन्ने आशा जगाएको छ । संविधान छिटै बनेर मुलुकले पुनर्निर्माण तथा विकासको दिशा र गति लिनुपर्छ, विवादको गोलचक्करमा फसिरहनु हुँदैन भन्ने जनताको उच्च चाहनालाई मूर्त रूप दिन संविधान निर्माण र राष्ट्रिय पुनर्निर्माणको प्रस्थानबिन्दुका रूपमा यो सहमति आएको 
छ ।
निराधार आशंका
अहिलेको सहमति पनि कतै कार्यान्वयन नै नहुने त होइन भन्ने आशंका विगतका नजिरको धङधङीका रूपमा उत्पन्न भएको छ । विगतमा अनेकौँ आशालाग्दा सहमति भएका थिए । तर, विभिन्न कारणले ती कार्यान्वयनमा आउन सकेनन्, जसले गर्दा सहमतिबाट उत्साहित भएका आमजनता निराश हुन पुगेका थिए । तर, यसपटक त्यस्तो अवस्था पक्कै आउनेछैन ।
यो सहमति जिम्मेवार चार दलबीच भएको हुनाले पनि उनीहरू संविधान निर्माणमा हरसम्भव प्रयत्न गर्न तत्पर छन् । यो सहमतिमा कमी कमजोरी नै छैन भन्ने होइन । ०६९ जेठ २ मा दलबीच भएको सहमतिसित अहिलेको सहमतिलाई जोडेर आशंका गर्नुको अर्थ छैन । उतिखेर संविधानसभाको म्याद सकिइसकेको थियो । संविधान निर्माणका लागि सहमति जुटाउन हामीसित खासै समय बाँकी पनि थिएन । तर, आज त्यस्तो परिस्थिति छैन । संविधानत: वर्तमान संविधानसभाको समयावधि अझै करिब साढे दुई वर्ष बाँकी नै छ । त्यसैले यो सहमतिका आधारमा संविधान निर्माण गरेरै छाड्ने यथेष्ट अवधि हामीसँग सुरक्षित छ ।
-नयाँ पत्रिकाबाट
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment