English Edition

मगर्नी हुनु मेरो दोष हो ? -रुपनी जीएम

मगर्नी हुनु मेरो दोष हो ? (मैले भोगेका विभेद)‘छोरी, के थरी ?’

म घर्ति मगर 

‘ए… मगर पो ?’
‘किन र मामु ?’
‘मैले त अरु नै जात सोचेकी थिएँ । मगर भएनि राम्री रहिछ्यौ ।’
साँझको खाना खाने समय भयो । असजिलो हुँदै मामुले भन्नुभयो– ‘छोरी अँगेना र भित्र-बाहिर गर्दा भर्‍याङबाट ओर्लिएर जाने बाटो एकै पर्योभ, त्यसो हुनाले अप्ठेरो नमानी अल्लि यता बस ल !’ मलाई भर्‍याङ छेउको चकटी देखाउनुभयो ।
केही नबोली बसें । बसेको ठाउँ पछाडिबाट छिप्पेका बोकाहरु गन्ध छोडिरहेका थिए ।
हामी पाहुनाहरुलाई भनि निकै मेहनतका साथ मरमसला हाली पकाइएको मासुको बास्नाभन्दा पनि बोकाको गन्ध बढी । खाने समयमा बोकाहरु बड्किम्ला (बोकाको दिशा) झार्थे बररर । थालमा पर्ला कि भन्ने डर ।
ठाउँ साटेर बसौं कि झैं लाग्यो । आफू सँगै आएकी साथीलाई चुल्होको छेउमा बसालियो ।
सोचें- अगेना छेउ ठाउँ हुँदाहुँदै किन मलाई यी बोकाहरुसँग राखेको होला ?
मनमनै सम्झें- ‘यिनका घरका यिनै राजा । मलाई केको कस्कस् ? म त आज्ञाको पालना गर्ने पाहुना न परें ।’
सँगैको साथी र मलाई गरिएको व्यवहारले सोचमग्न भएँ ।
सुर्खेतदेखि भक्तपुरसम्मको यात्राको थकानले छोड्यो बरु तर त्यो विभेदले चिन्ताले छाडेन । मस्तिष्कभरि किन यस्तो विभेद गरिएको भन्ने सोचें ।
के म मगर र साथी कँडेल (बाहुन) भएकोले नै यस्तो भेदभाव गरिएको होला ?
यो अनुभव झण्डै ६ वर्ष पहिलको हो । साथीले काठमाडौं जाँदा ‘मेरो घरमा बसे हुन्छ’ भनेको थियो ।
२०६५ साल भदौ महिनामा रेडियोको तालिम परेर ५ दिनका लागि एक जना साथी र म काठमाडौं गएको समयमा उसको घर गयौं । त्यतिबेला ऊ अमेरिका थियो ।
चार दिनको बसाइमा संयोगले कृष्णजन्माष्टमी पनि त्यही मनाउनु पर्‍यो । पूजा गर्न चाँगुनारायण मन्दिर गयौं । पूजाको थाली र सामग्री मैले समात्दा छोइन्छ भनेर मामुले साथी र भाउजूलाई सामग्री समात्न लगाई मलाई आफूसँगै हिंडाउनुभएको थियो ।
बुझ्दै जाँदा साथीको मामुले मात्र होइन रहेछ, भक्तपुरको पिखेल गाविसका प्रायःले जातीय छुवाछूतलाई परम्परा नै मान्दा रहेछन् ।
परम्पराको विपरीत गए घरलाई, घरलाई नभए आफन्तलाई अनि इष्टमित्रलाई र तिनलाई पनि नभए छिमेकीलाई “छेद” लाग्छ भन्ने मान्यता रहेछ ।
दुर्भाग्यवश, म पनि त्यही मान्यताले गाडेको जरामुनि गाडिन पुगेछु ।
२०७० साल श्रावण महिनामा एक जना साथीको घर इलाम गएकी थिएँ । छिट्टै घुलमिल हुने, व्यवहारिक र बोल्ने स्वभावको कारण बिरानो ठाउँमा पनि चिनेजानेझैं गरी सबैसँग घनिष्ठता कायम गर्न सक्ने बानी भएकाले त्यति अप्ठेरो भोग्नु पर्दैन मलाई । त्यहाँ पनि सबैको मन जितें । घरको रुद्री पूजामा आउने-जाने सबैको माया पाएँ ।
हामी पश्चिमेलीहरुमा पूर्वेलीहरुप्रति अनेक सोच र भ्रमहरु हुन्छन् । सायद हामीप्रति पूर्वेलीहरुका पनि हुँदा हुन् । तर मैले सोचेभन्दा सहज र सरल पाएँ त्यो परिवार र समाज । खुसी भएँ मनमनै ।
नेपालगञ्ज फर्कंदै गर्दा साथीले उसको परिवारको मप्रतिको धारणा यसरी सुनायो– “तिम्लाई थाहा छ रुपी ? तिम्रो सबैसँग मिजासिलो भएर बोल्ने बानी र सहयोगी व्यवहार देखेर आमाले मलाई माथि कोठामा बोलाई केटी चाहिँ हामीलाई मन पर्‍यो । यत्तिको गुण र खुबी भएकी केटीले परिवारलाई खुशी राख्न सक्छे । बरु के थरी हो ? भनी सोध्नुभाको थियो । मैले ‘मगर’ भनेपछि ‘लु भयो नि त कुरै सकियो नि’ भनी उहाँहरु त उठेर हिंडिदिनुभो ।”
उसको कुराले २०६५ को भक्तपुरको घटना सम्झें । मलाई ती आमाले बुहारी बनाए हुन्थ्यो भन्ने चाहना एक रत्ति पनि थिएन । न त म त्यो समाजको बुहारी बन्नेवाली थिएँ ।
मेरो चाहना भनूँ या अपेक्षा केवल यत्तिमात्र थियो कि, म पूर्व जस्तो विकसित ठाउँमा जाँदा आफ्नो पहिचान गर्वका साथ ‘मगर’ भनेर चिनाउँदा कुनै पनि किसिमको छुवाछूत व्यहोर्नु पर्दैन या नपरोस् ।
बुबा वरिष्ठ अधिवक्ता, आमा सरकारी शिक्षिका । त्यस्तो परिवारमा त म जस्तो व्यक्तिलाई जातीय विभेदको कारण यत्रो अपमान हुन्छ भने अरुलाई झन् कुन रुपमा हुन्छ होला ?
आखिर कहिलेसम्म मान्छेले मान्छेलाई जात, धर्म, रीतिरिवाज, संस्कृति, वंश, समुदाय र पेशाका नाममा सार्वजनिक र निजी स्थानहरुमा यस्ता जातीय छुवाछूतको आडमा विभेद गरिरहने ? कहिलेसम्म मान्छे मान्छेको बसाइलाई घर र गोठको जस्तो बनाएर बीचमा जातीय छुवाछूतको पर्खाल लगाइरहने हो ?
पत्रकारिताको दौरानमा क्षमता विकास, रिपोर्टिङ या व्यक्तिगत घुमघामको सिलसिलामा नेपालको धेरै ठाउँ पुग्ने अवसर मिल्यो । जातीय छुवाछूतका कारण विभेदीकरणको शिकार बन्न बाध्य भएर शारीरीक तथा मानसिक रुपमा पीडित भएका घटनाहरु देखें र सुनें पनि । तर आफू नै छुवाछुतको शिकार बन्नु पर्योक भने मात्र वास्तविक अनुभूति हुँदो रहेछ । अनि मात्र थाहा हुन्छ, पीडाको गहिराइ ।
नेपाली समाजमा झट्ट हेर्दा दलित र गैरदलितको बीचमा मात्र जातीय भेदभाव देखिन्छ । समाजलाई केलाएर हेर्ने हो भने हरेक जातिभित्र भेदभाव छ ।
बाहुनमा पनि विभिन्न तहहरु छन् । क्षेत्रीमा पनि को असली क्षेत्री (काजी) हो भन्ने विवादहरु भइरहेका हुन्छन् ।
जनजातिहरुमा पनि सानो र ठुलो जात छ । सबैभन्दा बढी त दलित समुदायभित्रै जातहरुको तह छ ।
यसले के देखाउँछ भने हाम्रो समाजमा जातीय रुपमा विभिन्न पर्खालहरु छन् । जसलाई संस्कार, दम्भ, घमण्ड र संकोचले जोगाइराखेको छ ।
परम्पराले जोगाइराखेको जातीय दूरी क्रमशः घटिरहेको छ । सरकारी र गैरसरकारी पहलहरु भइरहेका पनि छन् । तर सम्पन्न, ठुला जात र शिक्षित भनाउँदाहरुको सोचमा परिवर्तन नभएसम्म हामी जस्ताले पीडा भोगिरहनुपर्छ ।
झन् पानी नचल्ने भनिएका समुदायका व्यक्तिहरुको के हालत होला ?
जहाँ निरक्षरहरु छन्, जहाँ गरिबी छ, जहाँ सभ्यताको चेतना छैन, तिनीहरुलाई जातीय विभेदको सवाल फिक्का हुनसक्छ । हाम्रो छुवाछूतविरुद्धको अभियान गाउँघरहरुमा अनि हिमाल-पहाडका पाखापखेरा र कुनाकन्दराहरुमा छुवाछूत भनेको विभेद हो भनिरहेको छ । र, उनीहरुलाई नै सम्झाउँदै हिंडिरहेका छौं, जो परम्पराको नाममा जातीय विभेद कायम राख्नुपर्छ भन्ने तहको चेतनामा छन् ।
शहरका ठूलाठूला महलहरुमा बस्ने, सम्पन्नशाली र विलासी जीवन बिताउने, शिक्षित र नीतिनिर्माणको तहमा रहेकाहरुको घैंटोमा घाम लाउने खालको अभियान त सुरु गरिएकै छैन । सरकारले जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय ऐन, २०६८) पनि ल्याएको छ । तर, यसको कार्यान्वयन पक्ष निकै फितलो छ ।
पीडितहरुलाई लाग्छ, सबैभन्दा पीडित म छु । तर आफूले अरु जातिहरुलाई पीडा दिने काममा सहयोग गरिरहेको छु कि छैन भन्नेतर्फ पनि सोच्न जरुरी छ । जसलाई पीडाको अनुभूति छ, वास्तवमा ती व्यक्ति र समुदाय जाग्ने बेला हो यो ।
छुवाछूतलाई अन्त्य गर्ने अभियान सबै ठाउँमा आवश्यक होला तर त्यहाँ अझ जरुरी छ जहाँ निरक्षर हैन साक्षरहरुको बाहुल्यता छ, जहाँ गरिबका झुपडी हैन सम्पन्न र विलासी जीवन बिताउनेहरुको संख्या धेरै छ, छुवाछूतको विषयमा भाषण सुन्नेहरुको जमात होइन गर्नेहरुको होडबाजी छ । जसले चिन्तन र व्यवहारमा परिवर्तन ल्याओस् ।
rupanigm8521.blogspot.com बाट  
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment