English Edition

आफन्तबाटै महिला बेचिएका छन् -सुनिता दनुवार

 भूकम्पपछि सिन्धुपाल्चोकका दलाल जेलबाट भागे । नुवाकोटका तीन बालिका म्यानमार पुर्‍याइए । यी र यस्तै विषयमा शक्ति समूहका अध्यक्ष सुनिता दनुवारसँग पत्रकार अरुणा रायमाझीले गरेको  कुराकानी ।
20150610_105308
भूकम्पपछि प्रभावित जिल्ला पुग्नुभो । राहत वितरण गर्न कि अरु कुनै उद्देश्य थियो ?
विपतमा परेकालाई सानो भए पनि सहयोग गरौं भन्ने बाहिरी योजना थियो । भित्र उद्देश्य विपतको बेला हुनसक्ने मानब बेचबिखनविरुद्धको जनचेतना जगाउनु थियो । पीडितलाई राहतदिने वाहनामा छद्मभेषी भएर आउने दलालबाट होसियार रहन सचेत बनाउने लक्ष्य थियो ।
यसमा तपाईहरू मात्र लागेर सम्भव होला त ?
मानव बेचबिखनविरुद्धको राष्ट्रिय समितिको बैठकमा मैले राहत लिएर जिल्ला जाँदा मानव बेचबिखनविरुद्ध जनचेतना जगाउन अत्यन्तै जरुरी हुन्छ, भनेर उठाएँ । त्यही अनुसार सरकारले भूकम्प प्रभावित जिल्लामा परिपत्र जारी ग-यो । राहतसंगै मानब बेचबिखन विरुद्धको जनचेतना जगाउने काम सबैबाट भएको छ । सरकारले यसमा हाते पर्चा तयार पनि गर्दैछ ।  परिवार गुमाएका महिला, किशोरी र बालबालिको बारेमा बुझ्न दलालहरू गाउँगाउँमा आफ्नो बनेर पसेका छन्, यसमा सबै सचेत हुनुपर्छ ।
अहिले शक्ति समूह के गर्दैछ ?
हाम्रो टोली गाउँ र पालमा पुगेर, डाटा संकलन गर्दैछ । भूकम्पबाट क्षति पुगेका जिल्लामा पनि कुन ठाउँ बेचबिखनको उच्च जोखिमा छ भन्ने खोजी र अनुसन्धानमा लागेका छौं । ता कि दलालको हातमा नपुग्दै मानिसलाई सचेत बनाउन सकियोेस् ।
भूकम्प प्रभावित १४ जिल्लामा सबैको ध्यान परेको बेला दलालहरू अन्य जिल्लामा सक्रिय भएका हुन सक्छन् । त्यसैले भारतमा मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्था र हामी मिलेर छलफल गर्दैछौं । जसको मुख्य उद्देश्य सीमा क्षेत्र हुनसक्ने मानव तस्करी रोक्नु हो ।
कुनै ठाउँका महिला बेचबिखनको उच्च जोखिममा छन् भन्ने कसरी थाहा पाउने ?
अभिभावक गुमाएका, आर्थिक अबस्था कमजोर भएका र एक्लै रहेका महिला बढी जोखिममा हुन्छन् । त्यसलाई आधार मानेर बढी र कम छुट्टयाउने गरेका छौं ।
भूकम्पपछि मानव बेचबिखन बढेको हो ? 
यो बिचमा कति मान्छेलाई प्रलोभनमा पारेर सीमा पार गराईयो भन्ने अभिलेख नै छैन । तथ्याङ्क आउन केही समय लाग्छ । हामी यसमा लागि रहेका छौं । पत्रपत्रिकामा समाचार आए अनुसार मानब बेचबिखन बढेको छ ।
भूकम्पपछि तपाई कहाँ बेचबिखनमा परेका कत्ति घटना आएका छन् ?
नुवाकोटमा भूकम्पपछि तीन जना बालिका हराएका थिए । ती हराएका बालिका म्यानमार पुर्‍याएको  सूचना आएको छ ।
यो बेला दलालको निसानामा कस्ता मानिस होलान ? 
बुबा आमा गुमाएका किशोर, किशोरी, बहुविवाह, घरेलु हिंसामा परेका र भूकम्पबाट सम्पूर्ण घर सम्पत्ति गुमाएका पीडित उनीहरुको निसानामा हुन्छन् । दलालले विदेशमा गएर धेरै पैसा कमाउने सजिलै घर बनाउन सकिने, जागीर लगाई दिने र छोरीछोरी पढाईदिने भन्दै परिवारको हातमा पैसा राखदिने र प्रलोभनमा पारी फसाउन सक्ने सम्भावना बढी हुन्छ । परिवारविहिन भएकाहरू सहाराको खोजीमा हुन्छन् । यसको फाईदा दलालले लिन्छन् ।
तपाईको अभियानमा प्रहरी प्रशासनबाट कत्तिको सहयोग भएको छ ?
20150610_105319विपत्तिपछि प्रहरी पुननिर्माणमा लागेका छन् । यसैको फाईदा उठाउँदै सिन्धुपाल्चोकका चार जना दलाल भागे । अहिलेसम्म उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छैन् । ती दलाल जुन पीडितले दिएको मुद्दामा जेल गएका थिए, अर्को दिन ती पीडितकै घर अगाडी पुगे । त्यसमा पीडितको सुरक्षा कस्ले गर्ने ? अर्को कुरा उनीहरू नेपालमा बस्दैनन् । उनीहरू भारत पस्ने र अरुलाई परिचालन गरी महिलालाई विदेशी पुुर्‍याउन सक्ने ठूलो सम्भावना छ ।
यसमा राज्यले अलिबढी ध्यान दिएको भए नियन्त्रणमा आउँथे होला । अपराधीलाई सजाय दिन पाएको भए राम्रो हुने थियो । भूकम्पको बेला भागेका अन्य कैदीहरुलाई हेटैडाबाट गिरफ्तार गरियो तर, महिला बेच्नेहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।
राहतको खोल ओढेर आउँने दलालदेखि कसरी बच्ने ? 
जुनसुकै नियत भएको मानिस राहत दिने नाममा आउन सक्छ । यस्तो बेला आर्थिक प्रलोभन देखाउने, जागिर दिन्छु भन्ने र पढाई दिन्छु भन्नेदेखि टाढै बस्नुपर्छ । यसमा महिलाले मात्र होइन, सम्पूर्ण अभिभावकले बुझ्नु पर्छ । त्यसको साथै आफ्ना छोराछोरी कस्तो मान्छेसँग बढी घुलमिल भएका छन्, त्यसमा ध्यान दिनुपर्छ । आफ्नो सन्तानको सुरक्षा गर्ने पहिलो जिम्मेवारी अभिभावक कै हुन्छ । अभिभावकलाई कुनै शंका लाग्यो भने संस्थाको सदस्य वा प्रहरीलाई खबर गर्ने, आफू पनि जोगिने र अरुलाई जोगाउने ।
महिलासँग गाउँमा छलफल गर्नभयो उहाँहरूको भनाइ कस्तो छ ?
महिलामात्र होइन सम्पूर्ण अभिभावकको चिन्ता एउटै छ । सबैभन्दा सुरक्षित घर हो । घर छैन । पाल मूनिको बास छ । बालबच्चाहरूलाई कसरी बचाउने ?
पराई त चिन्न सकिएला तर आफन्त कसरी चिन्ने ?
म त आफन्तको पूर्ण विश्वास नर्गन भन्छु । मेरो आफन्त हो भनेर आँखा चिम्लेर हामफाल्नु हुँदैन । शंका गर्नुपर्छ । आफन्तबाटै थुप्रै महिला बेचिएका उदाहरण हामीसँग छन् । आर्थिक प्रलोभनमा आफन्तले फकाएको छ भने यो बेला किन यस्तो भन्यो भनेर खोज्नु जरुरी छ ।
महिलामात्र जोखिममा छन् कि पुरुष पनि ?
महिला पुरुष दुवै छन् । महिलालाई यौनसँग जोडिन्छ र धैरै भन्ने आउँछ । तर, थुप्रै पुरुष बेचिएका छन् । त्यो कुरा बेचिएका पुरुष र हाम्रो समाजले स्वीकार गर्दैन । पुरुष बेचिएको कुरा बाहिर आउँदैन । आयो भने विदेश लैजाने नाममा ठगी गरेको भनेर आउँछ । भूकम्पपछि महिला पुरुष दुबै उच्च जोखिममा छन् । भूकम्पले सबै खोसेको छ ।
सामाजिक सञ्जालबाट पनि महिलालाई दलालले फसाउँने गरेको सुनिन्छ । यो सत्य हो ? 
सत्य हो । सामाजिक सञ्जालबाट दलालको हातमा पुगेका धेरै घट्ना छन् । त्यसैले नचिनेकालाई साथी नबनाउने । उनीहरूले पठाएको साथीको निम्तोलाई अस्वीकार गर्ने र कुरा गर्दा चनाखो हुनुपर्छ । कुनै नयाँ कुरा गरको छ भने छिटै विश्वास नगर्ने, फोनमा गरेको कुरालाई विश्वास गर्दै नगर्ने ।
त्यसो भए सामाजिक सञ्जाल पनि मानब बेचबिखनको माध्यम बनेको छ ?
एकदमै हो ।
  (पत्रकार अरुणा रायमाझी नेपालकी चर्चित महिला पत्रकार हुन् |  उनले यो अन्तरबार्ता महिला खबर डटकमका लागि लिएकी 
हुन् |)

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment