English Edition

अब त्रिपालमुनि बसेका सुत्केरीहरुलाई भिटामिन लिएर जान्छु -डा. भोला रिजाल,स्त्री रोग विशेषज्ञ

bhola rijal (1)


सिन्धुकोटको क्याम्प सकेर भर्खर घरमा छिरेको मात्र के थिएँ, यो शहरमा बेस्मारी हुरी चल्यो । एक महिनादेखि पाल टाँगेर रात काट्नेहरुको त्यही एकसरो त्रिपाल पनि निर्दयी हुरीले संसाँझै उडाईदियो । भएको त्यही त्रिपाल पनि उडाउँदा सुत्केरी,वृद्ध र बालवालिकाको हालत के भयो होला ? अनाहकमा तीन जनाले ज्यान गुमाए । लाग्यो, दैवले किन यस्तरी ठग्दैछ हामीलाई, हामीले के पाप गरेका थियौं र ?
मलाई दुःख यस मानेमा लाग्यो कि,हुरी आउँदै छ भनेर हाम्रा कुनै मौसमविद्हरुले कतै–केही पुर्व संकेत गरिदिएनन् । पूर्वसंकेत पाएको भए हाम्रा दाजुभाई दिदी बहिनीहरुलाई सचेत गराउन सकिन्थ्यो ।
हामीले अर्काको मुख ताक्यौं वा बुद्धि पुगेन, यसमा अरुलाई के दोष दिनु ? हाम्रो आफ्नै कारण प्रलयले झापड हानेको महिना दिन बित्दा पनि अस्थायी सेल्टरको बन्दोबस्त गर्न सकेका छैनौं ।
प्रलयले पढाएको पाठ सिकेर योजना बनाउन बस्ने हो भने तीन घन्टामा अस्थायी सेल्टरबारे योजना बनाउन सकिन्छ । तर, यसमा पनि राजनीति हुन थाल्यो भने ६ वर्षमा संविधान नबनेको जस्तै अर्को ६ महिनामा पनि अस्थायी सेल्टरको कल्पना नगरे हुन्छ ।
हामी यतिबेला कसरी जनतालाई तुरुन्तै अस्थायी सेल्टरमा राख्ने भन्न निर्णय गर्न सक्नुपर्छ । नत्र भने जनताको टाउकोमा शितका थोपा खस्दा झिक्न नमिल्ने देशको ढुकुटी के का लागि ? कसका लागि ?
अब अस्थायी आवास निर्माणमा जुट्न ढिला भैसक्यो । आज जत्ति सर्वसाधारण घरबाहिर छन्,उनिहरु डरले होइन, करले बस्दै छन् । कसैको घर ढलेको छ, कसैको सग्लो भएपनि भित्र पस्नै नमिल्ने गरि चर्केको छ, त्यस्तो अवस्था भएकाहरुका लागी हामीले कस्तो विकल्प खोज्दै छौ ? चर्केका र भत्केकाहरुका लागि अस्थायी आवास अहिलेको ठूलो चुनौती भएको छ ।
भूकम्पले सारा नेपालीको जीवनमा नयाँ मोड ल्याइदिएको छ । प्रश्न उठ्न सक्छ, कस्तो मोड ? दशौं हजारले ज्यान गुमायता पनि घाइते र अपांगहरुको बाँच्ने आशा र अभिलाषाका साथ नयाँ मोड आएको छ । भोलि कहिल्यै अँध्यारो हुँदैन, भोलि जहिल्यै उज्यालै छ । त्यो उज्यालो भेट्न हामी बाँचेकाहरुले आफ्नो कर्तब्यबारे सोच्नुपर्छ ।
bhola rijal (2)
मृतकका परिवारमा आघात परेको छ, उनीहरुको शोकलाई शक्तिमा बदल्नुपर्छ । शरीरमा चोट लिएर बस्नेहरुलाई हामीले यसरी मल्हम लगाउनुपर्छ, जसका कारण भोलिका पुस्ताले हामीलाई स्यावासी दिऊन् ।
भूकम्पकै कारण एकलाख जनता गुमाएको जापानले आज काँचुली फेरेको छ । इन्डोनेशियाको बाटो पनि हाम्रो लागि अनुकरणीय उदाहरण हो ।
महाभूकम्पले धेरै मानिस घरवारविहीन भए, कत्तिका बाउ छैनन,कत्तिका आमा । श्रीमान् श्रीमती र छोराछोरी गुमाउनको संख्या पनि उत्तिकै छ । बिहे गरेको तेस्रो दिनमा बिछोडको बज्रपात पर्नेहरु पनि छन् । यी सवैको दर्दलाई आत्मसाथ गर्दै हामीले भोलिका लागि नयाँ कुराको परिकल्पना र निर्माण गर्नुपर्छ ।
आज मृतकका परिवारलाई सान्त्वना चाहिएको छ, घाईते अपांगहरुको चहराइरहेको घाउ शितल पार्ने मल्हम पट्टि लाउनुपर्ने छ ।
ठीक यही बेला मुलुकको नीति निर्माणको जिम्मा लिएका राजनैतिक दलहरु सत्ताको लुछाचुँडीमा लागेका छन् । यतिवेला बासी भैसकेको राष्ट्रिय सरकार र सहमतिको रटान लगाउने बेला हुँदै होइन । यतिबेला एक जनालाई पूरा अधिकार दिएर राष्ट्र निर्माणमा तन मनले सघाउने बेला हो । विपद्बाट मुलुकलाई पार लगाउन भिजन भएको ब्यक्ति चाहिन्छ, चन्दा आतंक मच्चाउनेहरुबाट पुनर्निमाण हुन सक्तैन ।
राष्ट्रिय विपद्को यो घडीमा युवाहरुको टिमलाई राष्ट्र निर्माणको जिम्मेवारी दिनुपर्छ । त्यो टिमलाई हामी सबैले सघाऔं, तर सत्ताको लुछाचुँडीमा नलागौं ।
यत्तिवेला सामान्य समयमा जस्तो सरकारको आलोचना मात्रै गरिरहने परम्परा दोहोर्याउनु गलत हो । आज जत्ति पनि संघ–संस्था र व्यक्तिहरुले काम गरिराखेका छन्, त्यो सरकारी आह्वान र सहकार्यबाटै संभव भएको हो ।
bhola rijal (3)
कमाएर राखेकाहरुले खर्च गर्न पाएका छन् । सरकारको खोइरो खनेर, बिरोध गरेर कसैले केही जित्न सक्दैन ।
उल्लेख गरिराख्नु नपर्ने कुरा भएपनि एउटा कुरा उल्लेखनीय छ ‘नेतृत्वको भिजन छैन ।’ भिजन छैन त यसमा उनीहरुको के दोष छ ? हिजो हामीले त्यस्तै मान्छेहरुलाई चुनेर पठायौँ ।
यो विपद्को घडीमा राष्ट्रिय सरकार वा सहमतिको सरकारको कुरा गर्न थाल्दा संविधानको कुरालाई बाईपास गर्न मिल्दैन । यदि राष्ट्रिय सरकारमा सहमति बन्यो भने संविधानका कुन बुँदा छोड्ने, कुन बुँदा नछाड्ने भन्ने कुरा उठ्ने निश्चित छ । यतिवेला यस्ता कुरामा बहस गरेर समय खेर फाल्नु नेपाली जनताको रगत पसिना माथिको खेलवाड हो, अहिले त्यसो गर्नुहुँदैन ।
संयोगले हामी बसेका घरहरु भत्केनन,सिलीङहरु खसेनन् र त हामी बाँच्यौ । सचेतता अपनायौं,हातखुट्टा भाँचिएन । तर जसले ज्यान गुमाए, जो हातखुट्टा गुमाएर बसेका छन् उनिहरुलाई हामीले रेस्पेक्ट गर्ने तरिका यहि हो ?
हेल्थ क्याम्प र राहत सामग्री बोकेर हामी विभिन्न एघार स्थानमा पुग्यौं । म जहाँ–जहाँ गएँ, आँशु मात्रै खसाएर आउनुपरेको छ । तैपनि, अहिले मैले जति क्रियाकलाप गरेको छु,त्यो सरकारका लागि सहयोगी भूमिका मात्र खेलेको हो ।
भोलि सरकारले एउटा कमिटी गठन गरेर तपाईंहरु पुनः निर्माणमा लाग्नुस,सरकार तपार्इंहरुको साथमा छ भन्यो भने हामी रेडी हुनुपर्छ । किनकि यो दायित्व सरकारको मात्रै नभएर हाम्रो पनि हो ।
मेरो यो र मैले यस्तो मात्र गर्नुपर्छ भनेर बस्नु हुँदैन । जसले हजारौंलाई रोजगारी दिएको छ, भोलीको नेपालको उन्नती कसरी गर्ने भनेर चिन्तन लिएको छ,त्यस्ता मान्छेलाई अगाडि सारेर काम गर्ने बेला हो यो ।
प्रलयको मेघले त्रसित भएका मनहरुलाई हामीले आशाको संचार गराउन ढिला भैसक्यो ।
भूकम्प आएपछि त्रिपालमुनि बसेका सुत्केरी वृद्ध र नवजात शिशुहरु पानीमा भिजेर बसेको दृश्यले मलाई निकै छोयो । लाग्यो ‘सुत्केरी र शिशुहरु रोगले छटपटाईरहेको दृश्य कति दिन टुलुटुलु हरेर बस्ने ?’ मनले यस्तो प्रश्न सोधेपछी मनमनै उत्तर दिएँ –‘यस्तो दृश्य हेरेर मात्रै बस्ने हो भने हाम्रो जीवन केही छैन, मरे बराबर हुन्छ ।’
एउटा टेलिभिजन अन्तर्वार्तामा मैले ती सुत्केरी, वृद्ध र नवजातहरुलाई नआत्तिन आग्रह गरेँ, खुल्ला ठाउँमा पनि कसरी सुरक्षित रहन सकिन्छ भनेर केही तरीका बताएँ । त्यतिवेला मैले भनेको थिएँ –‘अहिले सुत्केरी भएर तपाईंहरु जुन ठाउँमा बस्नुभएको छ, त्यो ठाउँमा सेवा पु¥याउन हामीहरु आउँछौं ।’
मैले सेवाको अभियान थाल्ने कुरा गरे सँगै धेरै सुत्केरी र वृद्धहरुमा आत्मविश्वास बढेछ । हामीले अभियान शुरु गरेसँगै अहिले ती सुत्केरीहरुलाई दुई छाक खाना दिन थालिएको छ । बच्चालाई दूध खुवाउनुपर्ने आमाहरुले अब दुई छाक मात्रै खाएर पुग्दैन । अब म भिटामिन पनि लिएर जान्छु, नवजात शिशु र सुत्केरीहरुलाई संक्रमणवाट उतार्छु । त्यो भन्दा ठूलो धर्म यो संसारमा के हुन्छ ?
आजभोली हामीजस्ता पेसा ब्यवसाय गर्नेहरु टुँडीखेलदेखि सिन्धुकोटसम्म सक्रिय छन् । बिस्कुटदेखि कम्बलसम्म लिएर जाँदै छन् । म ६०० झुल बोकेर सिन्धुकोट पुग्दा १७८ वटा पुगेन । अब फेरि पठाउँदै छु ।
यसरी अभिभारा लिएर काम गर्ने हो भने के हुँदैन । तर,पुनःनिर्माणका बेला विसंगतीलाई ब्यवस्थित गरेर अगाडि बढ्ने संकल्प आजै गरेनौं भने हाम्रो भोलि निकै दुःखदायी हुनेछ ।
केही दिनअघि एउटा लिडरले तरार्इंको संस्कार नै खत्तम पार्नेगरी को आउँदोरहेछ हेरौं त भनेर बोल्नुभएछ । यसले हामी सवैलाई एकपटक फेरि दुःखित बनायो । देशमा यत्रो संकट आएको बेला पनि त्यस्तो बोल्न सक्ने व्यक्ति हाम्रो देशका नेता कहलाउँदै छन् । जसका आँखामा रोदन छैन । दुःख पर्दा आँशु टप्किँदैन भने त्यस्तो व्यक्तिलाई अझै हामी नेता मान्दैछौं ।
महन्त ठाकुरले ओम हस्पिटलका सुत्केरी र बालबालीकालाई खुवाइदिनुस् भनेर बिस्कुट, कर्नफ्लेक्स र दुध पठाईदिए । मलाई निकै खुसी लाग्यो । जसलाई चोट लागेको हुन्छ, उसलाई मात्र विपद्को पीडा थाहा हुन्छ ।
म हरेक बिहान ओम हस्पिटलमा शल्यक्रिया गर्छु, दिउँसो बिरामी हेर्छु । तर यस्तो विपद्का बेला मलाई हस्पिटलमा बसेर काम गर्ने मन छैन । बरु हरेक ठाउँमा गएर वृद्ध र बालकहरुका लागि केही न केही गर्ने मन छ । म भोलिको उज्यालोको बारेमा उनिहरुलाई जानकारी गराएर नैराश्यवाट जोगाउन चाहन्छु । यता बारम्वार हस्पिटल छाडेर हिँड्न पनि अप्ठेरो ।
समाजमा जसको बोली विश्वास गर्छन् तिनीहरुले बारम्बार सर्वसाधारणलाई नैराश्य मानसिकताबाट बाहिर निकाल्न प्रयत्न गरिरहनुपर्छ । भोलि हामी जब स्थायी पुनर्निमार्णको कुरा गर्छौ त्यतिवेला सन्तुलन गुमायौं भने के चैं बाँकी रहन्छ ?आयो–आयोको आवाज सुन्नासाथ बालवालिकाहरु तर्सिएर भाग्छन् । उनिहरुको मनोवैज्ञानिक ट्रिटमेन्ट शुरु गर्न ढिला भैसक्यो । हस्पिटलमा चेक अप गर्न आउने हरेक गर्भवतीले मलाई सोध्नुहुन्छ, ‘मेरो पेटको बच्चालाई भूकम्पले के गर्छ ?’ म ग्यारेन्टी गर्छु तपाईंहरुको गर्भको बच्चालाई केही हुँदैन । किनकी यसमा विकीरण छैन, तर मानसिक तनावबाट भने जोगिनुपर्छ । दोस्रो कुरो भागम भाग गरेर गर्भवतीहरुले आफूलाई ट्रमाबाट जोगाउनुपर्छ ।
म पनि सखाप भएर फेरि बनेको मान्छे हुँ । मैले जीवनकालमा मेरी श्रीमतीलाई कसरी मृत्युको मुखवाट जोगाएँ भन्ने कुरा अविस्मरणीय छ । मैले सबैलाई भन्नेगरेको छु, आज म जे छु त्यो श्रीमतीको कारणबाट छु । डाक्टर भएर महिलाको स्वास्थ्यको लागि काम गर्छु भनेर म गाईनोक्लोजिस्ट हुनुको मुख्य कारण मेरी श्रीमती हो । मेरो कान्छो छोरो जन्मने बेलामा म कस्तो अवस्थामा थिएँ, त्यो कुरा यहाँ उल्लेख नगरौं । त्यतिवेला मलाई धेरै डाक्टरहरुले इन्करेज गरे । यदि त्यो अवस्थाबाट माथि निस्कन नसकेको भए आज म के हुन्थेँ ? थाहा छैन ।
एमविबिएस सकेर राजविराजमा मेडीकल अफिसरको रुपमा काम गर्दै थिएँ परिवारमा भागवन्डा भयो,म पोष्ट ग्राजुएट गर्न जाने भएँ, श्रीमती यहाँ बस्ने भईन् । त्यतीबेला श्रीमतीले इन्करेज गरेर जे हुन्छ, म यहाँको एक्लै खप्छु तपाईं जानुस् नभन्दिएको भए आज म यो ठाउँमा आउन सक्ने नै थिइनँ ।
हरेक मान्छेको जीवनमा एक खालको उत्तारचढाव आउँछ । त्यसबाट पाठ सिक्न सकेन भने उ धसिएको धसियै हुन्छ । कहिल्यै माथि आउन सक्दैन । आज नेपालको परिस्थितीलाई पनि म आफ्नो जिवनकालको परिस्थतिसँग जोड्दै छु ।
यतिबेला हामी बिग्रिएका, भत्किएका र बर्बाद भएका छैनौं, बरु एउटा नयाँ पाठ सिकेका छौं । अंग्रेजहरुले हामीलाई कहिल्यै पनि शासन गर्न पाएनन् । त्यो हाम्रो भाग्य हो की दुर्भाग्य आज जोड्न सकिन्छ । यदि अंग्रेजले शासन गरेको भए हामीमा पनि अरुको विरुद्धमा लडेर देश बनाउने सामथ्र्य हुन्थ्यो होला । हामीहरुले कहिल्यै त्यो सेचेनौं । बरु हामीलाई कसैले केही गर्न सकेन भनेर छाती फुलाएर हिँड्यौ, त्यो हाम्रो लागि दुर्भाग्य थियो ।
हरेक मान्छेको जीवनमा एक खालको उत्तारचढाव आउँछ । त्यसबाट पाठ सिक्न सकेन भने उ धसिएको धसियै हुन्छ । कहिल्यै माथि आउन सक्दैन । आज नेपालको परिस्थितीलाई पनि म आफ्नो जिवनकालको परिस्थतिसँग जोड्दै छु ।
आज हाम्रो आँखा अगाडि दशौं हजार दाजुभाई दिदीबहिनीले ज्यान गुमाए, त्यो हामै्र अकर्मयण्ताका कारणवाट भएको हो । हाम्रा यी घरहरु बनाउन कसले दिएको थियो सिफारिस ? अब यो गल्तीबाट पाठ सिक्नुपर्छ र भोलिका दिनमा यस्तो दोहो¥याउनु हुँदैन । पुनर्वास भनेको एउटा घर बनाउने मात्रै सवाल हैन, बच्चाको पालन–पोषणदेखि पढाइ र स्वास्थ्यलाई कसरी सुब्यवस्थित गर्ने भन्ने पनि हो । हामीले अझैसम्म शुद्ध पिउने पानी त पाएका छैनौं, फेर्ने हावाको त कुरै छोडौं । अबका दिनमा वातावरण बनाउनु नै हाम्रो लागि ठूलो अवसर हो । त्यो हामीले गर्न सक्छौं ।
भूकम्प गएसँगै हामी पुरै असक्षम र तन्नम जस्तो बनेर दातृ निकयहरुसँग चामल र च्युरा माग्न थाल्यौं । के हामी त्यतिसारो गरिव र तन्नम भैसकेका हौं ? मान्छेले मौकामा हीरा फुटाउनुपर्छ । आज एउटा नेपाली र नेपाल सरकारले परेको बेलामा आफ्नो हिरा फुटाउन सक्दैन र ढुकुटी राखेर दातृ निकायको मुख ताकेर बस्छ भने त्यो भन्दा निर्लज्ज अरु के हुनसक्छ ? मलाई लाग्छ हामीले यसरी विदेशीको मुख ताक्नै पर्दैन ।
मुुलुकले आग्रह गर्दा फोटो खिचाउनकै लागि कसैले दुई–चारवटा घर बनाइदेलान, कसैले टेण्ट बाँड्लान । तर,त्यो दीर्घकालीन हुँदैन । बरु १० हजार घर बनाउन चाहने दातृनिकायलाई आग्रह गरौं, दुई–दुई हजारका दरले पाँच ठाउँमा बनाइदिनुस् । अनि त्यति कुरा गर्न हामी किन खुट्टा कमाईरहेका छौं ? बाँकी जेसुकै भए पनि दातृ निकायहरु पिसाबको न्यायो मात्र हुन् ।
हामीले पौरखी हातहरु खियाउनै पर्छ । कसैले दिएर हामीलाई पुग्दैन । हामी त्यति तन्नम र गरिब छैनौं । बरु सुनको थालमा मागिरहेका छौं । अनि पाएका छौं के ? ‘भिक्षा !’ यसरी थाल थापेर भिक्षा मागिरहने हो भने हामी दोस्रो हाईटी हुन्छौं ।
(डा. रिजाल ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष हुन् । तस्बिर:गोकर्ण लामिछाने)

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment