English Edition

लिडर लीला - सर्बज्ञ वाग्ले

सबै शब्दहरू आफ्नै भाषामा हुनुपर्छ भन्ने जरुरी पनि छैन र शब्दहरू भेटेसम्म आयातित गर्दा मर्का नपर्ला । लिडर भन्नाले जुनसुकै प्राणीमा पनि नेत्रित्व गर्न सक्ने लिंडे खुबी भएका हिंडे नरोक्किने महान् र साहसी जन्तुलाई लिडर भनिन्छ।

 लिडर खुट्टी हेरेर कत्ति छुट्टयाइन्न ! उसका खुट्टी दुई चार छ आठ जति पनि हुन सक्छन् । तर बुद्धि हेरेर चाहिँ पक्कै छुट्टयाइन्छ छक्कै भए पनि । एक जमानाको कुरा हो । हाम्रो गाउँमा चार पाँच घरकै गाई वस्तु चराउन जाँदा हामीले धौले गोरुलाई ठुलो घाँडो झुण्डयाई दिन्थ्यौँ किनकि ऊ सही ठाउँमा चररेर सही बेलामा फर्कन्थ्यो । त्यस्तै सिँगारी बाख्रीको काँधमा पनि उस्तै खालको जिउ सुहाउने सानो घण्ट लगाइन्थ्यो।

 आफू भने लुकी खेल्दै ठुलो सालघारी वनमा, मनै आनन्द । मैन गट्टाको तरकारी, अमला, हर्रो, वर्रो, इमिली, कान्छीसाग, पडके च्याउ, भलायो जामुनो, काफल, सिताफल के गर्नु अहिले त लिडर लीलाले जङ्गलकै लिंड्को लगाइदिए, एउटा रुख पनि छैन । सफा छ हाम्रो कैलाली कञ्चनपुर, नयाँ मुलुक एउटा लिडरले बक्सिस पाएको मुलुक अरु बग्रेल्ती लिडरले पच्चिस सालबाट लिंड्को लाउन सुरु गर्या छत्तिस, छायालिस, छपन्न, बैसठी साँध सिमा गैसके छैंसट्टी।

 यो लिडर पनि हात्तीको, गैंडाको, कुकुरको, ढुकुरको, गोरुको, भैंसीको गाईको, बाख्राको, भेडाको, घोडाको, खच्चरको, बाँदरको, सबै पशुपंछीको । एउटा स्यालले हुइँया गरेपछि त्यसको कानमा सिङ पलाउँछ भन्थे सबै स्यालले आफ्नो पनि सीङ पलाउँछकि भनेर हुइँया हुइँया । मेरी बास्यै खास्सै छ बा पशु लिडरको कथा । अरु त अरु बगाले साँप भन्छन्, त्यसको एउटा लिडरलाई मार्यो भने एकै छिनमा अर्को साँप, त्यसपछि अर्को साँप, त्यसपछि अर्को मर्नै पनि आउने । त्यसैले त्यो नटोक्ने साँपलाई दुईखुटे पशुले चिनेन।

 आखिरमा जब चिन्यो ढिला भयो कुरोको चुरो लिडर लीलाको, यो लिडरले जहिले पनि मिठो खानु पर्ने, पहिला खानु पर्ने, दगुर्दै गएर भाग छोप्नु पर्ने, चाहे बाँदरले फलफुलको बोटमा झुन्डिँदा होस् चाहे गोरु चरनमा मुन्टिँदा होस्, चाहे भेडा चरनमा जाँदा होस् लिडर त अगाडि लाग्नै पर्यो ‘जता हरियो त्यतै तरियो।’ म पनि यो लिडर–लीला सोध्न एका बिहानै गुरुप्रसाद गुर्धामीका घराँ धसारिएँ । गुरुले पनि बिहानै नित्यकर्म सकेपछि भने– ‘ए मुर्खाण्डे कताबाट आइस् आज हँ एकाबिहानै ?’ मैले भनेँ–" गुरु यो लिडर लीला भनेको के हो हँ ? आजकाल जसको मुखाँ पनि लिडर लीलाकै कुरो हुन्छ त्यही बुझौँ भनेर।

 त्यसपछि बल्ल गुरु गुरुप्रसाद गुर्धामीले भने– "यो लिडर भन्नाले जीवजन्तु, पशुपंक्षी जसमा नेत्रित्व गर्न सक्ने खुबी हुन्छ । जसमा पुरै आफ्नो बगालको संरक्षण गर्ने चरन गरी पेट भरण गर्ने गुणले भ्रुण जोगाउने चातुर्यता बिकशित गरेकै हुन्छ । हुन त लिडर लीला दुई खुट्टेमा पनि त्यस्तै त्यस्तै हुन्छ । राम्रो काम गर्ने, बिबेकी, ज्ञानी, दानीलाई पो मानव भन्ने बिगार्ने भत्काउनेलाई त दुईखुट्टे पशु भन्दा फरक पर्छ त ?

 गुरु गुर्धामीले मलाई प्रश्न तेर्ल्याउदै थपे– ‘लिडर भन्ने जन्तु संसारमा जता गयो उतै पाइन्छ । लिडरको एउटा विशेष गुण छ । यो जन्तुलाई सभा सोसाइटीको मैदानमा दौडने उफ्रने डुक्रने बानी परेको हुन्छ । यसको सक्कल भन्दा पनि बानी बेहोरा बिल्कुल मानिससँग मिल्छ । यो जन्तुले खानपिन शानसँग गर्छ । लिडर लीलामा आफ्नो बिल्ला कम हुनुहुन्न । चाहे अखवारको अग्रपंक्तिमा होस्।
 चाहे सरकारको हाली मुहालिमा किन नहोस् । लिडर लीलाले आफ्नो पोजिसनको बिल्ला र सिँगौरी खेल्ने मैदानको किल्ला उफ्रने जिल्ला, टेबुलमा हात बजार्ने जमिनमा पाउ थचार्ने, माइकमा मुख उगार्ने एउटा हातमा झन्डा, अर्को हातमा डन्डा, साँझ परेपछि दारु र अण्डा नोटका बण्डै–बन्डा । लिडर आफ्नो सभा र सोसाइटीमा शान र मानको खातिर सर्वस्व दान गर्छ । बेलुका साझामा दानको दोब्बर धन, दौलत दोब्रयाउँछ।

 जसरी बाढीलाई बारले छेक्न सक्दैन । त्यसरी नै नेताको क्रान्तिकारी गाडीलाई कुनै जनता न त कानुनको बाँधले छेक्न र रोक्नै सक्छ । किनकि लिडर त्यो शक्तिशाली जन्तु हो जसले कानुन पनि आफै बनाउन सक्छ र जसरी कानुन बनाउने शक्त्ति छ भत्काउन पनि उसलाई कसैले छेक्न र रोक्न सक्दैन । जसरी माकुराको जालोलाई ठूला-ठूला किरा फट्यांग्राले सजिलैसँग च्यातेर निस्कन सक्छ तर साना-साना किरा फट्यांग्रा भने त्यही जालोमाँ पालो-पालों माकुराको सिकार बन्छ् क़ानून पनि त्यही हो।

 लिडर लीलाको अगाडि परेपछि चाहे कुर्ची होस् चाहे माइक किन नहोस्, चाहे टेवल नै किन नहोस्, चाहे कानुन उनका अगाडि भगवानले जानुन् । लिडर लीला लो क्लासको सवारी वाहन त देब्रे नजरले पनि हेर्न जान्दैन । प्रत्येक दुई महिना भित्र इन्टर नेसनल सेमिनारका नामले संसारका देशमा सिधासाधा र विद्वान तथा इमानदार सज्जनका भेषमा बाँकी बचेका देशमा संसार देखने रेसमा एक्लासको स्पेशमा पालै पालो राष्ट्रको ढुकुटीको जालो ‘उल्फा धन फुपूको सराद ।’ पालो पालो बिकासको नमुना हेर्ने भाषा, दौरा र सुरुवाल काम माम र मुख फेर्ने होडमा मिलेमोतो बोर्डको कोड चाहिँ संरक्षण गर्छन् । यो लिडर लीलाले कृष्ण लीला जस्तै लीला शिव बाबाको जस्तो तान्डव नाच, पाण्डव जुवा, देश धुजा, बिकास भुजा परेपछि बाँकी कुराको त कुरै नगरौँ न !

 लिडर लीला कसैसँग कम बोल्छ, कहिले आधा मुख खोल्छ, कहिले कसैसँग खुब दिल खोलेर हाँस्छ, कसैसँग आधा हाँस्छ, कसैसँग पुरै बोल्छ, मान सम्मान, पद पावर र पैसा पाएन भने उसको मन भतभती पोल्छ । गरिव, साधारण र सरीफ मान्छेको अनुहार जानेर, चिनेर र उसले खुवाएको गाँस, उसले दिएको भोट, उसले किनिदिएको कोट पनि बिर्सन्छ । सर्वसाधारण त उसको अगाडि देख्न पनि रुचाउँदैन।
 लिडर लीला संसारमा छ । संसारमा लिडर लीलाको कमी छैन । यो जन्तुले कुनै देशमा लीलालाई स्थगित गरेर जिल्ला सेवामा लागे होलान् कतै पुर्खा बाँदरको रुपबाट भरखर बिकसित हुँदै होलान् फरक त्यति हो । जे होस् यो रुप हेर्ने इच्छा भए लिडर लीलाको ताण्डव नाच हेर्न र सोध्न एउटै चिजलाई थाहा छ । त्यो घटना ताजा छ । कसलाई थाहा छ त्यो के होला ? आउनुस् सबैजना त्यो कुर्ची र संविधानलाई सोध्न जाउँ उसलाई केही थाहा छ कि ? सहिद दिवसमा कुर्ची र संबिधान बोकेर सहिद गेट जाउँ । उनैले भनिदिन्छन् । असली लिडर–लीला कहाँ पाइन्छ ? जहाँ चाहिन्छ !
 (वाग्ले एन आर एन अमेरिका का मिडिया को-अर्डीनेटर हुन् | ब्यङ्ग लेखन उनको विधा हो |)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment