English Edition

धन्यवाद प्रधानमन्त्रीज्यू ! - सुभाष घिमिरे

                                                            प्रधानमन्त्रीज्यू,

 यसरी तपाईंको लागि भनेर धन्यवाद र बधाइ साँचेर राखेको धेरै भएको थियो | मनमा कता कता संशय समेत उत्पन्न हुन थालिसकेको थियो, कतै मैले त्यो अवसर नै नपाउने त होइन ! किनभने फगत शब्दमा होइन म तपाईंलाई अन्तरमनदेखि नै धन्यवाद दिन चाहन्थें | लोकतन्त्रप्रतिको तपाईंको अविचलित निष्ठामा मेरो मनको कुनै कुनामा कहिल्यै रत्तिभर शंका नरहेपनि मुलुकमाथि मडारिइरहेको अनिश्चयको कालो बादललाई चिरेर मुलुकलाई निकास दिने तपाईंको चाहना सजिलै पूरा हुन नदिन भइरहेका प्रयासप्रति मलाई सधैँ भय थियो | नेपाली कांग्रेस जस्तो विशाल पार्टीको नेता भएर पनि प्रधानमन्त्री पदलाई समेत हमेशा गौण सम्झने तपाईंले देशको आवश्यकता बुझेर यो जिम्मेवारीको बोझ उठाउने निर्णय लिनुभयो, त्यसैका लागि पनि हो धन्यवाद दिन मन लागेको !

 राजनीतिका चतुर खेलाडीहरू असफल भएको संविधान लेख्ने जस्तो जटिल कामको जिम्मेवारी सहित तपाईंलाई प्रधानमन्त्री बनाइएपछि साँच्चै नै डर लागेको थियो | तपाई जस्तो निष्कपट व्यक्तिलाई कामै गर्न नदेलान् भन्ने मलाई सधैं लागिरह्यो | धेरै जटिल घुम्तीहरू पार गरेर जब मुलुकले तपाईंलाई राष्ट्रिय राजनीतिक परिदृश्यको केन्द्रमा पायो, अरूलाई के लाग्यो उनीहरू नै जानुन्, मलाई भने डरकै बीच पनि अब मुलुकको लोकतान्त्रिक भविष्यप्रति ढुक्क हुन सकिन्छ भन्ने लागेको थियो | तपाईंको लोकतान्त्रिक पद्दतिप्रतिको अटल निष्ठा थियो त्यसको कारण | सीधा भएर पनि मुलुक र जनताको लागि बाङ्गाहरूसंग हिड्ने साहस गरिरहनुभएको छ, त्यही भएर हो धन्यवाद दिन मन लागेको !

 तपाईंमा धेरैले धेरै कुरा देखेका होलान्, मैले चाहिं तपाईंमा एउटा निष्ठाभाव देखेको थिएँ, समर्पणभाव देखेको थिएँ | साँच्चै भनूँ भने मेरो विश्वासको आधार त्यति नै थियो, किनभने तपाईं मुलुकको लागि untested नेता हुनुहुन्थ्यो | निष्ठा र समर्पणको अगाडि जस्तोसुकै चातुर्य फिक्का हुन्छ भन्ने पनि तपाईले प्रमाणित गरेर देखाइदिनु भयो | त्यसैका लागि हो तपाईलाई धन्यवाद दिन मन लागेको !

 हाम्रो जस्तो परिवेशमा आँफूले रोजेको मन्त्रालय लिने अफरलाई पटक पटक अस्वीकार गर्न तपाईंले र मात्र तपाईंले सक्नुहुन्थ्यो | त्यसैले त आँफूलाई महानायक सम्झनेहरूले नपाएको ऐतिहासिक अवसर पाउनुभयो तपाईंले र मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान तपाईंको नेतृत्वमा लेखिने भयो | प्रजातन्त्रका आधारभूत सिद्धान्तमा आफ्नो चट्टानी अडान कायम राख्दै जनताको भावना अनुरुप देशलाई सहमतिको बाटोमा हिडाइरहनुभएको छ, त्यसैका लागि हो तपाईलाई धन्यवाद दिन मन लागेको !

 म दोश्रो संविधानसभा निर्वाचनमा तपाईंलाई चितवन क्षेत्र न ४ मा विजयी गराउन मन, वचन र कर्मले समर्पित भएर लागेको व्यक्ति हुँ | आज यसो भनिरहँदा ममा गौरवबोध भएको छ, चितवन क्षेत्र न ४ का जनताको छाती गर्वले फुलेको छ | आँफूले मत दिएर जिताएको नेता मुलुकको सफल प्रधानमन्त्री हुँदा चितवनबासी खुशीले गदगद छन् | तपाईं जस्तो नेता पाएर आज मुलुकबासी धन्य भएका छन् | चितवनबासीको मतको यति ठूलो गौरव राखिदिनुभयो, त्यसैका लागि पनि हो तपाईलाई धन्यवाद दिन मन लागेको !

 राष्ट्रिय संकटको यो किंकर्तव्यविमुढताको स्थितिमा वी पी को राष्ट्रिय मेलमिलापको नीति अनुरुप सहमति र सहकार्यको मार्ग अवलम्बन गरेर तपाईंले नेपाली भूमिमा वहाँको नीतिको सही प्रयोग गर्नुभएको छ | हालै दलहरुबीच भएको सहमतिले तपाई बोल्ने होइन गर्ने नेता हो भनेर प्रमाणित भएको छ | 'हलो अड्काउने गोरु पड्काउने' हाम्रो राजनीतिमा जनताको हित सर्वोपरि हुनेगरी जुन सम्झौता तपाईंले गर्नुभयो, त्यसैका लागि हो धन्यवाद दिन मन लागेको !

 भन्नेहरू त भन्थे नि तपाई सानो घेराभित्र बस्नुहुन्छ र त्यही रुचाउनुहुन्छ ! तर त्यसरी बोल्नेहरुलाई तपाईले आफ्नो व्यवहारले गलत सावित गर्दै आउनु भएको छ, पार्टीमा होस् या सरकारमा | आफै प्रधानमन्त्री र पार्टी सभापति हुँदा पनि तपाईंले त्यो घेरालाई कहिल्यै महत्व दिनुभएको छैन | पार्टीमा पार्टीका कार्यकर्ताको अभिमतलाई कदर गर्नुभएको छ भने देशमा जनताको भावनालाई ! त्यसैले पनि हो तपाईलाई दिल खोलेर धन्यवाद दिन मन लागेको |

 मुलुकलाई नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै अंगीकार गरेको आधारभूत सिद्दान्तमा आधारित लोकतान्त्रिक संविधान दिने आफ्नो भीष्मप्रतिज्ञामा सफल हुँदैहुनुहुन्छ | संविधान तपाईंकै नेतृत्वमा लेखिने कुरामा देशभरि नै विश्वास छाएको छ | त्यसपछि धेरै धेरै बधाइ दिउँला | हताशा र निराशाको बादलले डम्म ढाकेर अन्धकार भएको देशमा आशा र भरोशाको किरण फुटेको छ, त्यसैका लागि हो तपाईंलाई धन्यवाद दिन मन लागेको |

 प्रधानमन्त्रीज्यू , यी र यस्तै कुराहरूका लागि धेरै धेरै धन्यवाद !

 (लेखक नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका निवर्तमान सभापति हुन् |)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment