English Edition

अवसर र चुनौतीको दोबाटो -दिपेश घिमिरे

महाभूकम्पले करिब नौ हजार नागरिकको ज्यान लियो भने १६ हजारभन्दा बढी घाइते भए । पाँच लाखभन्दा बढी घरहरूमा क्षति पुग्यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरू माटोमा मिले । चार सय अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान सरकारले सार्वजनिक गर्‍यो । वर्तमान पुस्ताले एउटा त्रासदीपूर्ण विपत्ति भोग्यो । यो विपत्तिमा उद्धार र राहतको लागि झन्डै तीन दर्जन देशबाट सहयोग प्राप्त भयो । नेपाललाई सहयोग गर्नको लागि संसारभर अभियान चलिरहेको छ । यसरी हेर्दा भूकम्पको विध्वंसपछि नेपाल चुनौती र अवसरको दोबाटोमा उभिएको छ । अब चुनौतीको दलदलतिर लाग्ने वा अवसरको शिखर चढ्ने, दुईवटा बाटा छन् । पाइला कता अगाडि बढ्छ ? त्यसले नेपालको भविष्य निर्धारण गर्नेछ । 
भूकम्पले नेपाली समाजमा विविध समस्याहरू थप्न सक्नेछ । भूकम्पले सहरी क्षेत्रको तुलनामा गाउँमा धेरै क्षति पुर्‍यायो । उद्धार तथा राहत गाउँको तुलनामा सहरमा छिटो, प्रभावकारी र बढी देखियो । जसले गर्दा ग्रामीण क्षेत्रबाट सहरतर्फको बसाइसराइ थप बढ्न सक्छ । गाउँघरमा भएका जीविकोपार्जन तथा रोजगारीका अवसर तथा स्रोतहरूसमेत कटौती हुने र अवसर तथा सुविधा राजधानी वा सहरी क्षेत्रमा मात्र थुप्रिने अवस्था आयो भने मानिसहरू राजधानी नै भित्रिन्छन् वा नजिकैको साना सहरमा जाने सम्भावना बढी छ । परिणामत: एकातिर गाउँको जग्गाजमिन थप बाँझिने र खाद्यान्न उत्पादनमा कमी आउन सक्छ भने अर्कोतिर सहरी गरिबीको दर तथा दायरा थप बढ्ने छ ।  
भूकम्पपछि उद्धार र राहतपछि पुनर्निर्माणको काम सुरु हुन्छ । हाईटी, इन्डोनेसियाजस्ता भूकम्पबाट बढी क्षति भएका देशहरूको अनुभव हेर्ने हो भने विपत्तिपछि वितरण गरिने राहत र गरिने पुनर्निर्माणमा व्यापक भ्रष्टाचार भएको देखिन्छ । हाइटी तथा इन्डोनेसियामा राहत वितरणमा मात्र होइन भूकम्पपछिको पुनर्निर्माणको क्रममा पनि व्यापक भ्रष्टाचार भएको घटना सार्वजनिक भएको थियो । नेपालमै पनि यस्ता विपत्तिका समयमा भ्रष्टाचार भएका इतिहास छ । राहत वितरण र पुनर्निर्माणका क्रममा भ्रष्टाचारजन्य क्रियाकलापसमेत बढ्ने खतरा रहन्छ किनकि संक्रमणकाल भनेको भ्रष्टाचारको उर्वरभूमि हो । सरकारी निकायमा मात्र होइन गैरसरकारी संघसंस्थाले गर्ने काममा पनि भ्रष्टाचार हुन सक्ने देखिन्छ । भर्खरै पनि राहत वितरणकै क्रममा कतिपय गुनासा सार्वजनिक भए । अब पुनर्निर्माणको काम सुरु भएपछि यसमा भ्रष्टाचार बढ्न सक्ने चुनौती छ । यसको लागि राष्ट्रिय सर्तकता केन्द्र तथा अख्तियारले समेत विशेष निगरानी गर्नु आवश्यक छ । 
भूकम्पपछि विभिन्न विदेशी देशबाट सहयोग गर्ने नाममा सेना ओइरिइरहेछन् । सहयोगको नाममा नेपाल आएका कतिपय देशका सेना नेपाल सरकारसँगको सम्पर्कमै छैनन् । सहयोगका नाममा आएकाहरू अर्को देशको विरुद्ध जासुसी गरेको भन्दै औपचारिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् । ठूलो रकम सहयोग गर्ने घोषणा गरेका राष्ट्रले पनि प्रधानमन्त्री राहत कोषमा रकम उपलब्ध गराएका छैनन् । बरु आफंै वा आफ्ना निकटस्थमार्फत खर्च गरिरहेका छन् । सहयोगको लागि आएका भनिएका सेनाले एकमात्र विमानस्थल कब्जा गरेर अरूलाई ल्यान्ड गर्न दिएका छैनन् । छोटकरीमा भन्ने हो भने यदि सरकार तथा राजनीतिक दलले राष्ट्रिय स्वार्थलाई हेरेनन् र आपसी किचलो गरिरहे भने विदेशी हस्तक्षेपको दर र दायरा दुवै बढ्न सक्ने चुनौती हाम्रासामु देखिएको छ ।   
१० वर्षको सशस्त्र युद्धपछि नेपाल भर्खरै विकास निर्माणका काममा बामे सर्दै थियो । यसबीचमा मध्यपहाडी लोकमार्ग, विभिन्न सिँचाइ योजनाहरू, अपर तामाकोसी हाइड्रोपावरजस्ता नेपालको समग्र विकासमै प्रभाव पार्न सक्ने योजनाहरू सञ्चालनमा छन् । निजगढ, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ–काठमाडांै फास्टट्रयाकजस्ता परियोजना पाइप लाइनमा थिए । यसैबीचमा आएको भूकम्पले देशको प्राथमिकता नै परिवर्तन गराइदियो । यसले देशको प्रगतिको लागि चुनौती थप्ने सम्भावना प्रबल छ ।
एकातिर यस्ता चुनौतीहरू छन् भने अर्कोतिर अवसरको मिर्मिरे उज्यालो पनि देखिएको छ । यतिखेर सहरमा मात्र होइन गाउँमा पनि योजनाबद्ध विकास प्रक्रिया थालनी गर्ने राम्रो अवसर आएको छ । अहिले छरिएर रहेका गाउँका बस्तीलाई एउटै ठाउँमा ल्याएर योजनाबद्ध रूपमा बसोबास र विकास प्रक्रिया थालनी गर्न राम्रो अवसर आएको छ । विद्यालय, स्वास्थ्य चौकी, प्रहरीजस्ता निकायहरूलाई पनि व्यवस्थित रूपले राख्न सकिन्छ । बिजुली, पानी, सडकजस्ता अत्यावश्यक सुविधा पुर्‍याउन पनि सहज हुन्छ । यसैगरी गाविसका घरहरू पनि भूकम्प प्रतिरोधात्मक बनाउनको लागि यो एउटा अवसर हो । यसैगरी, भवन निर्माणका सम्बन्धमा कडा नियम बनाउने र त्यसलाई बलियोसँग कार्यान्वयन गर्ने सुनौलो अवसर आएको छ । पुराना घरटहराहरू भत्काउने र निश्चित तलाभन्दा बढी बनाउन नदिने नियम लागू गर्न सकिन्छ । अहिले बनेका अग्ला घरहरूलाई घटाउने नियम लागू गर्ने उपयुक्त मौका आएको छ ।
दोस्रो भनेको, जात, धर्म, लिंग, क्षेत्र, वर्ग र राजनीतिक दर्शनको आधारमा चिराचिरा परेको नेपाली समाजलाई एउटै मालामा उन्ने अवसर आएको छ । पहाडमा भूकम्पले क्षति पुर्‍याउँदा तराई मधेसलाई दुखेको छ । पहाडे खस बाहुन, क्षेत्रीलाई समस्या पर्दा पूर्वका राई लिम्बू र पश्चिमका थारूले सहयोग गरेका छन् । हिन्दु मारमा पर्दा मुस्लिम, शिख, क्रिश्चियनले सहयोग गरेका छन् । संघीयता, जातीयताका विषयले बिगार्न खोजेको नेपालको साम्प्रदायिक एकतालाई व्यवस्थित किसिमले पुनर्निर्माण गर्ने अवसर आएको छ । वास्तवमा नेपाल सप्तरंगी छ । यहाँ कुनै एउटा, जात, धर्म, लिंग, क्षेत्रको मात्र आधिपत्यता नभई सबैको समान उपस्थितिको सुनिश्चितता गर्ने एउटा गतिलो अवसर हो ।
तेस्रो, स्थानीय निकायलाई जतिसक्यो छिटो जनप्रतिनिधिलाई जिम्मा लगाउनुपर्ने बोध सबैलाई भएको छ । यतिखेर जनप्रतिनिधिको अभावमा स्थानीय निकायले क्षतिको विवरण संकलन, उद्धार तथा राहतको लागि प्रभावकारी रूपमा काम गर्न सकेन । क्षणिक राजनीतिक स्वार्थको कारण ओझेलमा परेको स्थानीय निकायको निर्वाचनको सबाल यतिखेर राजनीतिको अग्रभागमा देखिएको छ । स्थानीय नेतृत्वको विकास गर्ने, लोकतन्त्रलाई स्थानीयस्तरसम्म विस्तार गर्ने र नागरिकका जनजीविकाका सवाललाई तत्काल सम्बोधन गर्ने सरकारको तल्लो तहको निकायमा जनप्रतिनिधिको आवश्यकताको बोध डेढ दशकपछि सबैमा भएको छ । यो लोकतन्त्रलाई स्थानीय तहबाटै संस्थागत गर्ने महत्वपूर्ण अवसर हो ।
चौथो भनेको अन्तर्राष्ट्रिय सहयोग र सहायतालाई व्यवस्थित गर्ने अवसर आएको छ । विगतदेखि नै विदेशी सहयोगलाई व्यवस्थित गर्ने बारेमा बहस हँुदै आएको छ । आ–आफ्नो किसिमले खर्च गरिरहेका विदेशी दातृ निकायहरूलाई नेपालको विकास तथा पुनर्निर्माणको काममा एकद्वार प्रणालीमा ल्याउने उपयुक्त अवसर प्राप्त भएको छ । गत सातामात्र दातृ निकायहरूले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण योजनाको निम्ति एकद्वार प्रणालीमा जान सहमति जनाएका थिए । यदि यो सहमति व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकियो भने नयाँ नेपाल निर्माणको लागि महत्वपूर्ण अवसर बन्न सक्छ । यसले काममा ‘डुप्लिकेसन’ हुने, सहयोगको ठूलो मात्रा प्रशासनिक र ‘कन्सल्ट्यान्ट’को लागि खर्च हुने अवस्थामा कमी ल्याउँदछ ।
पाँचौं भनेको तत्काल राष्ट्रिय सरकार गठन गरी सहमतिमा संविधान निर्माण गर्ने अवसर आएको छ । भूकम्पले भौतिक पूर्वाधारमात्र होइन, चुलिएको राजनीतिक गतिरोध र वैमनश्यतालाई पनि लडाइँ दिएको छ । दलहरूबीचको दूरी घटेको छ भने संघीयताको पेचिलो मुद्दालाई यस विनाशकारी महाभूकम्पले सहज बनाउन सक्छ । पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रिय सरकार बनाउनुपर्ने भनाइ र पुष्पकमल दाहालले गोरखामा राहत र पुनस्र्थापनासँगसँगै गर्नुपर्छ भन्नुले यही अवसरलाई संकेत गर्दछ । पार्टीको हितमा हेरेर राजनीति गर्नेहरूले यतिखेर राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने दायित्व आएको छ । इतिहासले सुम्पिएको यो दायित्वलाई राजनीतिक दल तथा तिनका शीर्ष नेताहरूले अनुभूति गर्ने हो भने तत्काल राष्ट्रिय सरकार निर्माण गरेर पुनर्निर्माणसँगै संविधान निर्माण गर्नको लागि उपयुक्त अवसर दिएको छ ।
यसरी हेर्दा भूकम्पपछि नेपाल अवसर र चुनौतीको दोबाटोमा पुगेको छ । अब अवसरलाई छोप्दै सफलताको शिखरतर्फ लाग्ने कि चुनौतीको दलदले बाटोमा फसिरहने भन्ने निर्णय गर्ने बेला आएको छ । राजनीतिक इच्छाशक्ति बलियो हुने हो भने जातीय, धार्मिक, लिंग, क्षेत्रको संकीर्णताबाट बाहिर निस्किने र नयाँ नेपाल निर्माण गर्ने बलियो अवसर प्राप्त भएको छ । यदि राजनीतिक नेतृत्वले यसलाई व्यावहारिक रूपमा आत्मसात् गर्ने चाहे भने ढोकैमा आएका अवसरले प्रगतिको मार्गमा तान्नेछ, अन्यथा हामी चुनौतीको दलदले हिलोमा जुगौंजुगसम्म भासिने छौं  ।  
देशान्तरबाट dipesh.ghimrie33@gmail.com




























Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment