English Edition

नेताका पेट किन पुट्ट ?

 काठमाडौं । शनिबार नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल सुरु हुँदै थियो। कार्यक्रमका सञ्चालकद्वय नेतालाई खेलाडीका रूपमा परिचय गराउँदै थिए। पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई परिचय गराउने क्रममा कार्यक्रम सञ्चालकले भने, ‘झलनाथ खनालको पेट अलिकति सानो भइदिएको भने सबैभन्दा हाइट उहाँको छ।’ मैदान हाँसोले गुन्जिएपछि अर्का सञ्चालकले थपे, ‘छैन छैन, उहाँको पेट देखिएकै छैन, देखाइएको हो।’
Neta Vs Kalakar football Match  (7)
हल्चोकस्थित सशस्त्र प्रहरी खेल मैदानमा निस्किएको प्रसंगले सामाजिक सञ्जालमा ‘भुँडी बहस’कै रूप लियो। केहीबेरमै अनलाइनहरुले नेताका पुट्ट भुँडी देखिने फोटो अपलोड गरेपछि धेरैले ‘नेताले भुँडीभित्र बल लुकाएको’ भन्दै व्यंग्य पनि कसेको नागरिक दैनिकमा खबर छ ।
मैत्रीपूर्ण खेलको पहिलो चरणमा प्रधानमन्त्री सुशील कोइरालाबाहेक अधिकांश शीर्ष नेता मैदानबाट बाहिरिएका थिए। नेता टिमका क्याप्टेन कोइरालाले क्यान्सरको उपचार गराएका भए पनि सबैभन्दा स्वस्थ र सानो पेटमा देखिएका थिए। उनी सबैभन्दा बढी २५ मिनेटसम्म मैदानमा टिके। उनले हावामा उडेर बल प्रहार गरेको तस्बिरले निकै चर्चा पनि बटुल्यो।
पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईसमेत एकैछिनमात्रै मैदानमा टिके। केपी ओली, विष्णु पौडेल, विजय गच्छेदार, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, मीनेन्द्र रिजालको हालत पनि उस्तै थियो। दौडिन नसकेकै कारण अधिकांश वरिष्ठ नेताले एकैछिनमा मैदान छाडे।
सामाजिक सञ्जालमा ‘भुँडी बहस’ नेताको सुन्दरतामा केन्द्रित भए पनि चिकित्सकले भने भुँडीलाई अधिकांश रोगको कारक मानेका छन्।
गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.मनबहादुर केसीका अनुसार मोटोपनमध्ये सबैभन्दा नराम्रो भुँडीवृद्धि हो। ‘हातपाखुरा, ज्यान सबै ठूल्ठूला र तलसम्म प्यारालल छन् भने त्यति डराउन पर्दैन,’ डा. केसीले भने, ‘हातखुट्टा, गर्धन छाती सानो तर भुँडीमात्रै पुट्ट भएको मोटोपन स्वास्थ्यका हिसाबले प्रतिकूल हुन्छ।’
ग्रान्डी अस्पतालका मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलका अनुसार मोटोपन उच्चरक्तचाप, मधुमेह, उच्च कोलेस्टोरेल, हृदयघात, मतिष्कघात, क्यान्सरदेखि यौन दुर्बलता, बाँझोपन र जोर्नीसम्बन्धी समस्यको प्रमुख कारण हो। ‘अधिकांश नेताको स्वास्थ्य अवस्थाबारे सुन्दा प्रमुख रोग यिनै भएको देखिन्छ,’ डा.अनिलले भने।
चिकित्सकहरू मोटोपनसँगै उच्चरक्तचाप, सुगर र उच्च कोलेस्टोरेललाई ‘रिस्क फ्याक्टर’ मान्छन्। यस्ता रिस्क फ्याक्टरले मुटुरोग, मिर्गौलाको समस्या, हृदयघात र मतिष्कघातजस्ता समस्या निम्त्याउँछन्।
‘भुँडी लाग्नु भनेको चक्रव्युहमा बस्नुजस्तै हो,’ डा.अनिलले थपे, ‘भुँडी बढेपछि दौडिँदा श्वासप्रश्वास बढ्छ, त्यसैले अल्छी गरिन्छ, झन् भुँडी बढ्दै जान्छ।’ खेल अवधिभर नेताको तुलनामा केही छरितो ज्यान भएका कलाकारको टिमले बल नियन्त्रणमा लिएका थिए।
नेताहरु मैदानमा टिक्न नसक्नुको प्रमुख कारण मोटो भुँडी नै भएको चिकित्सक बताउँछन्। एमाले नेता ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। ओली अहिले पनि मधुमेह, उच्चरक्तचाप र युरिक एसिड समस्या झेलिरहेका छन्। खनाललाई मुटु र उच्चरक्तचापको समस्या छ। पूर्वप्रधानमन्त्री दाहाललाई मधुमेह र उच्चरक्तचाप, नेपाललाई मुटु र भट्टराईलाई रक्तचापको समस्या छ। कांग्रेस नेताहरु सिटौला, केसी, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पनि उच्चरक्तचाप छ। यीमध्ये अधिकांशले सुगर र प्रेसरसँगै बढी तौलकै कारण जोर्नी दुख्ने समस्यासमेत भोगिरहेका छन्।
source: onlinekhabar.com

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment