बाल्टिमोरमा आफ्नै ब्यबसाय गरेर बस्नु भएकी रबिना थापा एनआरएन अमेरिकाकी उपाध्यक्ष हुनुहुन्छ | उहाँ रबिना फाउन्डेसनको अध्यक्ष समेत हुनुहुन्छ | हालै नेपालमा गएको भुकम्पपछि नेपालमा गएर उद्धार र राहत वितरण कार्यमा सहयोग गरेर फर्कनु भएको छ | बाल्टिमोरमा सक्रिय सामाजिक संस्था बानाको पूर्व अध्यक्ष समेत रहनुभएकी थापासंग द नेपाल टुडेका लागि सतिश चापागाईंले गर्नु भएको कुराकानी प्रस्तुत छ:
विजयको प्रमाण पत्र पनि नबुझ्दै नेपाल जानु भयो, तपाई जाँदा कस्तो थियो नेपालको स्थिति ?
त्यो समयको माग थियो | हामीले निर्वाचन जित्दै गर्दा देशमा ठुलो भुकम्प आयो | सबैले आफ्ना कामहरु थाती राखेर देशको सेवामा लागे, हामीले पनि आफ्ना कामहरु पन्छाएर नेपाल गयौं | जतिबेला हाम्रो टिम नेपाल पुगेको थियो | त्यतिबेला देश, रोग, भोक र शोकमा डुबेको थियो | विनाशकारी भुकम्पले तहस नहस भएको मेरो जन्मभूमि नेपाल र भुकम्प द्वारा आहत दाजु भाई दिदि बहिनिहरुको सेवामा एन आर एन अमेरिकाको नबनिर्बाचित टोलिमा संलग्न भएर म नेपाल पुगेकी थिएं |
एनआरएनका नवनिर्वाचित अध्यक्ष केशव पौडेलको नेतृत्वमा एउटा टोली गएको थियो | जसमा संगीता लम्साल, राम सी. पोख्रेल, राधा पौडेल, मोहन बहादुर ज्ञावाली, गोविन्द श्रेष्ठ र म लगायतका सामाजिक कार्यकर्ताहरु थियौं | खगेन्द्र जी. सी. जी को तत्कालिन कार्य समिति पनि त्यहाँ पुगेको थियो | आईसीसीको टिम पनि आएको थियो | शुरुमा त हामी अलमलमा पर्यौं | के गर्ने, कहाँ गर्ने ? कताबाट शुरु गर्ने ? केहि पत्तो पाउन सकेनौ | जता हेर्यो उतै बिग्रेको देखिन्छ | भत्केको मात्र छ, रुवाबासी मात्र छ | अनि हाम्रो टिमले आईसीसी छलफल गर्यौं र कोहि नगएको ठाउंबाट शुरु गर्ने भनेर रसुवा पुग्यौं | रसुवामा हामी आईसीसीका उपाध्यक्ष टि.बि कार्कीको नेतृत्वमा ५५ जनाको टोलि गएको थियो | धेरै देशका एनआरएन साथीहरु हुनुहुन्थ्यो | हामी रसुवाको समर्थाली भन्ने ठाउँमा गएका थियौं | त्यहाँको अवस्था अत्यन्त नै दयनीय थियो | मानिसहरु डर र त्रासमा थिए | प्राय घरहरु चर्केका र भत्केका थिए | मानिसहरु घाइते भएका थिए | हाम्रो टिमले उनीहरु लाई केहि मात्र मा ढाडस दिने काम गर्यो, मलमपट्टि गरियो |
त्यहाँ के गर्नु भयो ?
शुरुमा त उद्दारको काम नै गर्यौं | मानिसहरु घाऊ सहित बसेका थिए | हामीले नर्सको काम गर्नुपर्यो |डाक्टर पौडेल हामीसंगै हुनुहुन्थ्यो, त्यसैले घाइते बिरामीको सेवा गर्न धेरै सजिलो भयो | साथसाथै हामीले पुगेका जिल्लामा राहत वितरणका काम पनि गर्यौं | समग्रमा भन्नु पर्दा हामीले राहत वितरण गर्नुको अतिरिक्त ६०० भन्दा बढी घाइतेहरुको औषधी उपचार पनि गरेका थियौं |
मानिसहरुले के भने?
सर्बसाधारणहरुको बिचल्ली थियो | हामी पुग्दा त त्यहाँका बासिन्दाहरुले भगवान आए जस्तो गरे | खुशी भए | मानिसहरुमा आत्मविश्वास बढ्यो |
अरु कुन कुन ठाउं जानु भयो?
हामी रसुवाका अतिरिक्त तनहुँ र काठमाडौँका ग्रामीण भेगमा गयौं | म आफ्नै संस्था, रबिना फाउन्डेसन मार्फत कास्कीसम्म पुगेर आएँ | एनआरएनका साथीहरुसंग केहि दिन काम गरेपछि मैले कास्कीका केहि सामुदायिक स्कूलहरुमा सहयोग गरेर आएँ | १० वटा स्कूलको अस्थाई भवन बनाउनका लागि केहि सहयोग रकम प्रदान गर्यौं |
एनआरएन अमेरिकालाई समस्त अमेरिकामा प्रभाबकारी बनाउन हाम्रो टिम लालायित छ | हाम्रो नयाँ टिम छ, हामी साथीहरु नयाँ छौं, एन आर एन अमेरिका लाई गतिशिल बनाउन हामी क्रियाशिल छौ | तपाईलाई थाहा छदैछ, हामीले बाल्टिमोरमा पहिलो औपचारिक मिटिंग र बृहत टाउन हल मिटिंग सम्पन्न गर्यौं | बैठक पश्चात हामी सबैले आफुलाई जिम्मेवारीपुर्बक अगाडी बढ्ने थप प्रतिबद्धता ब्यक्त गरेका छौं | टाउन हलले दिएका सुझाब र सल्लाहहरुलाई मध्यनजर गर्दै हामीले आगामी थप कार्यक्रम अगाडी बढाउदैछौं | नेपालमा हामीले गरेको कुरा सबैलाई थाहै छ | राहतका लागि हामीले रकम संकलन गरेर पठाईसकेका छौं | अब पुनर्निर्माणका लागि सोच्दै छौं |
के छ पुनर्निर्माणका बारेमा तपाईहरुको योजना ?
पुनर्निर्माणका लागि एनआरएन अमेरिकाले धेरै रकम संकलन गर्नुपर्छ र देशलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो सोच छ | एउटा पैसा हो भने अर्को दक्ष जनशक्ति पठाउने कुरा हो | हामी छलफलकै क्रममा छौँ | आईसीसी र सरकारका निकायहरुसंग समन्वय गर्नका लागि अध्यक्षलाई जिम्मेवारी दिईएको छ |
हामी सबैको मुख्य उद्देश्य एनआरएनलाई मजबुत पार्ने हुन्छ | निर्वाचनपछि सबै ठाउँमा साना तिना विवादहरु हुन्छन | प्रजातान्त्रिक पद्धती अनुसार भएको निर्बाचनमा बहुमतको निर्णय र अल्पमतको कदर गर्नुपर्दछ l चुनाब २ बर्षको लागि भएको हो, यसपछि फेरी चुनाब हुन्छ | चुनाबले संस्थालाई मजबुत बनाउछ | यसकारण चुनाबपछि आएका विवाद केहि समयपछि ठिक हुन्छ | चुनाबमा उठ्नु भएका हाम्रा अग्रजहरु सबै एनआरएनलाई माया गर्ने साथीहरु हुनुहुन्छ | उहाँहरुको सद्भाव हामीलाई अपरिहार्य छ | हामी छलफलकै क्रममा छौं | समस्या ठुलो छैन | केहि दिनमै सबै कुरा मिल्छ | हामी सबैको उदेश्य संस्थालाई राम्रो बनाउने नै हो | यसकारण म सबै साथीहरुलाई हातेमालो गरेर एनआरएन रुपी रथलाई सुरक्षित अवतरण गर्न अनुरोध गर्दछु |
0 comments :
Post a Comment