English Edition

शोकमग्न बारपाकको यथार्थ

प्रदीप ज्ञवाली, सचिव, एमाले
पृष्ठभागमा मनास्लु, गणेश र विभिन्न हिमशिखरहरू । गाउँको सिरानमा हरियाली वन । ढुंगाको छानो, ढुंगाकै गारो र एउटै लहरमा आबद्ध घरहरू । ढुंगा छापेको सडक–गल्ली र मिलेका मनहरू । अनारदानाजस्ता दाँत खोलेर पोखिएको सुन्दर मुस्कानजस्तो बस्ती । भाइ प्रकाश थापाले बनाएको फिल्म ‘वल्र्ड कप इन नेपाल’ मा यस्तो अद्भुत गाउँको दृश्यांकन देख्दा मन त्यसै–त्यसै सम्मोहित भएको थियो । यो गाउँका बारेमा केही थाहा पाएदेखि नै एउटा हुटहुटी मनमा पलाएको थियो– एकपटक बारपाक पुग्न पाए !
जेठ १३ गते बारपाक त पुगियो, तर  मोरो परेको घरमा पाहुना लाग्न गएजस्तो । खण्डहर गाउँको सिरानको थुम्कोमा भग्नावशेषमाथि उभिएर एउटी महिला एक्लै विलाप गरिरहेकी थिइन् । छाती चिरिने रुवाइबाटै उनीभित्रको अथाह पीडाको गहिराइ अनुमान गर्न सकिन्थ्यो । उनी १२ गतेको विनाशलीलामा प्यारी छोरी, भतिजी, सासु र देउरानी गुमाएकी कान्छी गुरुङ रहिछन् । रोटी पकाउँदै गरेका उनीहरू भुइँचालाले पुरिएपछि चुलोबाट सल्केको आगोले खरानी परेका रहेछन् । एकजनाको दाँतसहितको सानो अस्थि र अर्की एकजनाको एउटा पाखुराको अवशेष भेटिए पनि बाँकीको कुनै निसानीसम्म फेला परेको रहेनछ । त्यो दिन भग्नावशेषबाट काठ निकाल्दा लाससम्म नभेटिएका आफन्तको पीडादायी सम्झनाले उनको घाउ बल्झाइदिएको रहेछ । ध्वस्त बनेको बारपाक र निरन्तर बल्झिरहेको पीडाकी उनी प्रतिनिधि पात्र रहिछन् ।
मलाई मात्र होइन, क्यानाडामा बस्ने छोरी टीकामाया गुरुङको सौजन्यबाट प्राप्त राहत सामग्री बोकेर आएको पोखरेली भुपु सैनिक टोलीका लागि पनि बारपाकसँगको यो पहिलो साक्षात्कार कहिल्यै नमेटिने पीडासँगको साक्षात्कार थियो । भारतीय र बेलायती सेनामा काम गर्ने गोर्खा सैनिकका लागि बारपाक त्यसै पनि आकर्षक गन्तव्य हो, किनभने यो फौजीहरूका ‘आइकन’ भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँ जो हो । तर, बारपाकका अरू हजार घरजस्तै गजे घलेको घरको पनि कुनै नामनिसाना थिएन । बस्, जताततै भत्किएका ढुंगाको खण्डहर मात्रै थियो । एउटा केराको बोट भने घरको अवशेष कुरेर बसेजस्तै देखिन्थ्यो र पातहरू सुस्त–सुस्त हल्लिरहेका थिए । एक ठाउँ हामीले भग्नावशेषभित्र ठडिएको ‘बारपाक ट्याटु हाउस’को साइनबोर्ड देख्यौँ, जसले भुइँचालोले ध्वस्त हुनुअघि यो गाउँ आर्थिक गतिविधि र सौन्दर्यको खोजीमा कति जीवन्त रहेछ भन्ने साक्षी बकिरहेको थियो ।
वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सिर्जना गरेको ध्वंस र विपत्तिको प्रतिनिधि बनेर बारपाक उभिएको छ (उभिएको के भन्नु, भुइँमा पसारिएको छ ।) भूकम्पको केन्द्रबिन्दु भनिएको सिन्दारा पहरोको विशाल पहिरो र धुलोपिठो बनेको मान्द्रे गाउँको दृश्यले जोकोहीलाई कहाली लगाउँछ । ७० भन्दा बढी आफन्त गुमाएको यो गाउँ धुलो टकटक्याएर उठ्ने प्रयासमा छ ।
बारपाक त एउटा दृष्टान्त हो, भूकम्पले ल्याएको विध्वंस र विनाशको । यतिवेला मुलुकका डेढ दर्जन जिल्लाका पाँच सयभन्दा बढी गाविसका हजारौँ गाउँ यस्तै विनाशको साक्षी बनेर खडा छन् । ध्वस्त भएका बस्ती, त्रिपालमुनिको जिन्दगी, राहतको आशामा बाटो कुर्ने आँखाहरू एवं स्कुल भत्किएर बन्द भएका कारण अलपत्र नानीहरू, नेपालले यतिवेला शताब्दीकै सबैभन्दा ठूलो संकटको सामना गरिरहेको छ । सशस्त्र द्वन्द्वले एघार वर्ष र संक्रमणकालीन उकाली–ओरालीले नौ वर्ष गरी झन्डै दुई दशक पछाडि परेको नेपालमा, थाहा छैन, यस विनाशबाट ‘रिकभर’ हुन कति समय लाग्ने हो । सही दृष्टिकोण अपनाइएन, कुशल नेतृत्व प्राप्त भएन र विवेक पुर्‍याइएन भने यस विनाशले नेपाललाई साँच्चै असफल राष्ट्र बनाउने जोखिम पनि छ । केही नकारात्मक संकेत देखिई पनि सकेका छन् । राज्य भ्रष्ट छ त्यसैले राज्य कोषमा एक पैसा सहयोग नगर भन्ने प्रयासका रूपमा । दुई पोका चाउचाउ बाँडेर सेल्फी खिच्दै पार्टी र नेताहरूले केही गरेनन् भन्ने अभियानका रूपमा । राहतको चरण सकिइसक्दा पनि विभिन्न बहानामा सैन्य उपस्थिति कायमै राख्ने विदेशी प्रयासका रूपमा । कुल बजेटको तीनचौथाइभन्दा बढी हिस्सा आफ्नै कर्मचारीका लागि खर्चेर ठूलो धनराशि खर्च गरेको देखाउने महँगा आइएनजिओका धन्धाका रूपमा, आदि आदि ।
आरु आर्वाङमा स्कुलको टहरो बनाएर फर्कने क्रममा हामीले घ्याम्पेसालनजिकै स–साना नानीहरूको ठूलो हुल देख्यौँ, जसले गाडी रोकेर ‘चाउचाउ चाउचाउ !’ ‘बिस्कुट बिस्कुट †’ भन्दै हात थापिरहेका थिए । दृश्यले कटक्क मन काट्यो । बारीमा मकै गोड्ने वेला भयो, काटेको गहुँ चुट्न बाँकी नै छ । तर, मान्छे राहतको दुई माना चामल र केही पोका चाउचाउका लागि दिनभरि लाइन लाग्न तयार छन् । कतै हामी पीडितलाई मगन्ते त बनाइरहेका छैनौँ ?
तर, कालो बादलमा चाँदीको घेरा पनि देखिएको छ । ध्वस्त बारपाकमा हामीले बलियो सामुदायिक एकता देख्यौँ । राहतमा जे–जति आउँछ, त्यसलाई वडा तहसम्म संरचना बनाएर बाँड्ने र सबैलाई बराबर बाँड्ने राम्रो पद्धति बसालिएको रहेछ । मान्छेले खण्डहरबाट नयाँ जीवनको बीजारोपण गर्न सुरु गरिसकेका छन् । जितबहादुर भन्दै थिए– सर, सरकारले सबैभन्दा पहिले यो गाउँको भौगर्भिक अध्ययन गरिदिनुपर्‍यो, बस्न मिल्ने र नमिल्ने ठाउँ छुट्याइदिनुपर्‍यो । त्यसपछि एउटा गुरुयोजना बनाइदिओस् सरकारले, त्यसलाई हामी जसरी पनि सम्पन्न गरेरै छाड्छौँ । लघु जलविद्युत्को क्षेत्रमा सक्रिय वीरबहादुर गुरुङको पनि अठोट थियो– गाउँमा नवर्निर्माण गर्न सकिन्छ । मुहारमा अझै पनि त्रासको छाया सलबलाइरहेकै छ । आँखामा अझै पनि पीडा छचल्किरहेकै छ । तैपनि, ती सबैलाई बिर्संदै मुस्काउने प्रयासमा छन् उनीहरू । मान्द्रेमा भत्किएकै घरछेउ फेरि चियापसल सुरु गरेकी युवती आसिका हुन् या शिक्षक सीताराम दवाडी, सबैमा भग्नावशेषबाट नयाँ जीवन अगाडि बढाउने अठोट पलाउँदै गरेको देखिन्छ ।
निश्चय नै अगाडिका दिन सुगम छैनन् । मान्छेको मनजस्तै छियाछिया परेर चिरिएका डाँडाबाट यो वर्ष जाने पहिरो र बाढीको कल्पनाले आङै सिरिंग हुन्छ । गोरखाकै कुरा गर्दा लाप्राक र केरौँजाको सिंगै गाविस र अरू धेरै गाविसका विभिन्न बस्तीलाई सुरक्षित पुनस्र्थापना गराउनुपर्ने चुनौती छ । बर्खायाममा पुग्ने गरी खाद्यान्नको जोहो गर्नुपर्ने छ र त्यसलाई पीडितसम्म पुर्‍याउनु छ । विद्यालय भत्किएर भविष्य अलपत्र भएका हजारौँ विद्यार्थीलाई भूकम्पसिर्जित मानसिक ‘ट्रमा’बाट बाहिर ल्याएर सामान्य जीवनमा फर्काउनु छ । त्यसका लागि विद्यालयमा टहरा बनाउने अभियान सुरु भए पनि अझ पर्याप्त हुन सकेको छैन । भूकम्पले भौतिक संरचना ध्वस्त भए पनि मनोबल, आत्मविश्वास र भविष्यप्रतिको आशावादितालाई ध्वस्त हुन नदिनु सबैभन्दा ठूलो चुनौती विद्यमान छ ।
यस्तो अवस्थामा पार्टीले सुरु गरेको राष्ट्रिय स्वयंसेवक अभियानअन्तर्गत सयौँ स्वयंसेवक अहिले गाउँ–गाउँमा खटिएका छन् । यस अभियानमार्फत हामीले पीडितलाई एउटा सन्देश दिन चाहेका छौँ– दु:खको यस घडीमा तपाईंहरू एक्लो हुनुहुन्न है, हामी पनि तपाईंहरूकै साथमा छौँ । पीडाको यो सह–अनुभूति र पहाडको घाउमा मल्हम लगाउन मधेसका युवा खटिएको अवस्था, गोरखाको पीडालाई साथ दिन कास्की र पर्वत–बागलुङ–म्याग्दीका साथीहरूको उपस्थिति, रसुवामा घर बनाउन नवलपरासी र रुपन्देहीबाट पौरखी हात सक्रिय रहेको अवस्था अनि सिन्धुपाल्चोकको आँसु पुछ्न मेची, राप्ती र अन्य विभिन्न भूभागबाट मानव मनहरूको उपस्थितिले पीडितलाई ठूलो सहयोग पुगेको छ । अन्य पार्टीका स्वयंसेवकहरू पनि खटिइरहेका देखिन्छन् । यसले एउटा बलियो आत्मविश्वास, राष्ट्रिय एकता र आत्मनिर्भर विकासको सोचलाई पनि अभिप्रेरित गरिरहेको छ ।
यतिवेला सर्वाधिक खाँचो छ एउटा बलियो राष्ट्रिय नेतृत्वको, जसले आमजनतालाई अपिल गर्न सकोस् कि यो विनाश अस्थायी परिघटना हो, यसमाथि विजय प्राप्त गर्न सम्भव छ । खाँचो छ एउटा बलियो राष्ट्रिय नेतृत्वको, जसको अपिलले मान्छेमा आशावादिता र विश्वासको सञ्चार गर्न सकोस् र राष्ट्रलाई कठिन अवस्थाबाट बाहिर निकाल्न सही मार्गदर्शन गर्न सकोस् ।
 नयाँपत्रिकाबाट 



























Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment