English Edition

बिपत्तिको पहिचान - कृष्ण पौडेल

८ दशक पछि गएको महाभूकम्पका कारण पछिल्लो पुस्ताले बिपत्तिको बिशाल खण्डहर मुनि मानवीय स्वाभावका अनेक आयामहरु देख्ने र भोग्ने अवसर पायो । पीडितहरुको पीडा र आर्तनाद , स्वयंसेवी सहयोगीको सेवा र समर्पण, किंकर्तव्यबिमुढ बनेकाहरुको अन्यमनस्कता र अकर्मण्यता, बिपत्तिलाई अवसर बनाएर लुट्ने र कमाउने ध्याउन्नले लिप्त अनेक थरि मानिसहरु बिचित्र व्यवहार सहित आ-आफ्ना असली स्वरूपहरुमा प्रकट भए । त्यसैले भनिन्छ ‘समस्याले मान्छेको वास्तविक पहिचान बाहिर ल्याइदिन्छ’ ।
तस्विरमा एक जना नेता जीर्ण घरको फेददेखि फलामे गल उधिनेर घर भत्काउन एक्लै मरिहत्ते लागेका देखिन्छन् । वरिपरि अंगरक्षक सुरक्षाकर्मीहरु र पार्टीका राजनैतिक रमितेहरु छन् । आँफैलाई भिजनरी भएको दाबी गर्ने  बाबुराम हरेक अवस्थामा आँफूलाई प्रचारको ‘लाइमलाइट’ मा राखेर ‘हाइलाइट’ गराउन खोज्ने बाठो राजनैतिक पात्र पनि हुन्, नेपाली राजनैतिक वृत्तमा । प्रस्तुत तस्विरले भने वालक कालिदास् सम्झाउँछ । विदुषी विद्योत्तमासंग विवाह गराइनु र विद्वान बन्नु पूर्व वालक कालिदास पटमुर्ख थिए रे ,  उल्टो पट्टि बसेर रुखको हाँगा काट्ने ! तस्विरमा जस्तो तलबाट घर भत्कायो भने गर्ल्लम्म लडेरै पुर्न सक्छ भन्ने भेउ त हुनै पर्ने थियो ! भनिन्छ,  ठूलो सोच्ने र धेरै बुद्धि हुनेको सानो कुरोमा ध्यान नपुग्न पनि सक्छ । अनि त्यतिका ठूलो पूर्व प्रधानमन्त्रीलाई एक्लै काममा लगाएर रमिता हेर्न सक्ने त्यो जमातले पनि त यो प्रचारको फोटो शेसनलाई विश्वासिलो बनाउने कोशिस गर्नु पर्थ्यो नि ।  कमसेकम , काम गर्ने खालको कपडा र हेल्मेट लगाएर , अलिकति धुलो-मैलो घसिएको फोटो बढी पत्याउने खालको हुन्थ्यो भने सेवाको चित्रण राजनैतिक प्रचारमा बढी प्रभावकारी हुन सक्थ्यो पनि । भलै त्यो, सेवा नभएर राजनैतिक स्टण्ट नै किन नमानियोस् ।

तर पनि एउटा कुरा भन्नै पर्ने हुन्छ, यो देशको अधोगति न त नेताले खन्ति र औजार नसमात्नाले भएको हो न त अबको पुनर्निर्माणमा नै त्यो अमूक नेताले खन्ति लिनाले नै सम्पन्न हुने विश्वास राख्न सकिन्छ  । मुलुकलाई चाहिएको कुरो हो, राजनीति र त्यस्का पात्र तिनलाई जनताले सुम्पिएको जिम्मेवारी बहन गर्न सक्ने र तिनलाई निचोडमा पुर्याउन सक्ने बनून् । तिनले मुलुकका हरेक क्षेत्र नगिजोलून् र राजनीतिलाई जनताको आँखामा घीन लाग्ने चिज नबनाऊन् । तिनले आफ्नो ठाउँबाट गर्नु पर्ने राजनैतिक काम नै सही र जावफदेहीपूर्ण ढंगले गरुन् , चटके नबनून् । नेता र राजनीतिले नेतृत्व र दिशा देखाउन सके मात्र मुलुक र नव-निर्माणले असल र प्रभावकारीगति लिन सक्छ , यो बाल कालीदास पाराको खन्ति अवतार पनि चाहिने थिएन ।       प्राकृतिक बिपत्तिले एउटा सन्देश प्रखर रुपमा दिन्छ । त्यो हो, प्राकृतिक बिपत्तिले भेदभाव गर्दैन, बरु आफ्नो सीमा भित्र पर्ने जो कोहीलाई यसको सर्वग्रासी मुखले उदरस्थ बनाउँछ र यसपाली पनि बनायो । महाभूकम्पले जात, भाषा, राजनीति र क्षेत्र भनेन । गोरखादेखि सोलुखुम्बुसम्म भूकम्पको राजनीति, जात र भाषा एउटै थियो मृत्यु, बिनाश र ध्वंश । तर ,प्रकृतिको त्यो क्रूर सन्देशलाई हाम्रा राजनैतिक नेताहरुले भने बुझेनन् , बुझ्न सकेनन् वा तिनीहरुसंग त्यो बुझ्ने सामर्थ्य नै नरहेको प्रष्टियो ।

कतिपय राजनैतिक दलका नेताहरु भूकम्पको बिपत्तिबाट प्रभावित गाउँ र शहरमा उद्धार र सहयोग गर्ने उद्देश्यले पार्टीका झण्डा बोकेर उपस्थित भए । पीडितको दिमागमा पार्टी झण्डाको छाप हानेर भोलिको चुनाबमा ‘तँलाई दुःख पर्दा हामी आएका थियौँ नि, बिर्सिस् ?’ भन्ने निहितार्थ बोकेको यो अवस्था  emotional  blackmailing को उदाहरण तुच्छ उदाहरण नै हो । कुनै बिदेशी धर्म प्रचारक संस्थाले राहतको चामलको प्याकेटभित्र बाइबल हालेर धर्म प्रचार गर्न खोज्नु र झण्डा बोकेर पार्टी वा व्यक्तिलाई विशिष्ट साबित गराउने  हेतूले कथित राहत-उद्धारमा खटिनुका नियतहरु आधारभूत रुपमा एउटै हुन् । सारमा ती दुबैको लक्ष्य अरूका बिरुद्ध आफ्नो एकल विशिष्टता साबितीको ध्येय हो । तर, यो महाबिपत्तिमा ९५% भन्दा बढी उद्धार र राहतको समर्पणमा खटिएर ज्यानको बाजी समेत लगाएका सेना, पुलिस, राष्ट्रसेवक र बिदेशी सहयोगीहरुको कुनै भाषा, जात, राजनीति र अभिष्ट थिएन किनभने ती नितान्त सेवा भावले मात्र समर्पित थिए । तर, ५% पनि योगदान नभएकाहरु प्रचारमा छाए । सेवामा खट्नेले चाहिने नै भए राष्ट्रिय झण्डा बोक्दा हुन्थ्यो , त्यो नभए मन भित्र बोकिएको सेवाको झण्डा पर्याप्त थियो ।

समाज र देश पीडामा भएको बेला हामी बीच बलात् खडा गरिएका मानव निर्मित तिक्तता र भिन्नताहरुको सरहद भन्दा हामी माथि उठ्न सक्नु पर्थ्यो । जात, नश्ल, राजनीतिका नाममा खेती गर्नेहरुले  प्रवर्द्धन गरिरहेका संकीर्ण सोच भन्दा माथि उठेर मानव हुनुको साझा सामूहिक चिनारीलाई हामीले उद्बोधन गरेको हुन सक्नुपर्थ्यो । तर , यस पटकको महाबिपत्तिले पनि हामीलाई हाम्रा लघु चिनारीहरु तर्फ बढी आकर्षित गरिरह्यो , हामीले मानवीयतालाई भन्दा अमूक राजनैतिक, दल र व्यक्तिको पक्षमा यसलाई ‘क्यास’ गर्नुपर्छ भन्ने नै बुझेको देखियो ।

माथिको तस्वीर र मिडियामा छाएका यस्तै सहयोगका दृश्यहरु पछि जेन गुरु Thic Nhat Hanh का यी शब्दहरु अचानक मस्तिष्कमा तैरिएः “if your love is only a will to possess, it’s not love” । पूर्वीय चिन्तन र जीवन व्यवहारमा निष्काम कर्म योगको त्यो आशयप्रति दाता र सहयोगीलाई अक्सर सचेत गराइएको पाइन्छ ‘सेवा समर्पण भावले पूर्ण र नामको तृष्णाबाट मुक्त हुनु पर्छ’ । आफ्ना उदार र  सहयोगी कर्मलाई नाम र प्रचारको प्रलोभनको नगदमा रुपान्तरण गर्न चाहनु निचता  हो , सहयोग हैन ।

 अन्त्यमा, हाम्रो मान्यताले हामीलाई सिकाउँछ की सेवा , दान वा मद्दत गर्न चाहने असल मानवले, आफ्नो काम गराईलाई डंका पिटेर प्रचारमा लैजाने लोभ राख्नु हुन्न । त्यसो गरियो भने त्यो सेवा नभएर आदानप्रदान वा व्यापार हुन जान्छ । ‘सेवा हि परमो धर्म’ भन्ने विश्वासको निचोड पनि त्यही हो । समस्याको गौँडो कुरेर , सेवाको व्यापार गर्नु हुँदैन।


(लेखक लामो समय शिक्षण सेवासंग सम्वद्ध हुनुहुन्छ र विविध सामयिक विषयमा लेख्न मन पराउनु हुन्छ )
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment