८ दशक पछि गएको महाभूकम्पका कारण पछिल्लो पुस्ताले बिपत्तिको बिशाल खण्डहर मुनि मानवीय स्वाभावका अनेक आयामहरु देख्ने र भोग्ने अवसर पायो । पीडितहरुको पीडा र आर्तनाद , स्वयंसेवी सहयोगीको सेवा र समर्पण, किंकर्तव्यबिमुढ बनेकाहरुको अन्यमनस्कता र अकर्मण्यता, बिपत्तिलाई अवसर बनाएर लुट्ने र कमाउने ध्याउन्नले लिप्त अनेक थरि मानिसहरु बिचित्र व्यवहार सहित आ-आफ्ना असली स्वरूपहरुमा प्रकट भए । त्यसैले भनिन्छ ‘समस्याले मान्छेको वास्तविक पहिचान बाहिर ल्याइदिन्छ’ ।
तस्विरमा एक जना नेता जीर्ण घरको फेददेखि फलामे गल उधिनेर घर भत्काउन एक्लै मरिहत्ते लागेका देखिन्छन् । वरिपरि अंगरक्षक सुरक्षाकर्मीहरु र पार्टीका राजनैतिक रमितेहरु छन् । आँफैलाई भिजनरी भएको दाबी गर्ने बाबुराम हरेक अवस्थामा आँफूलाई प्रचारको ‘लाइमलाइट’ मा राखेर ‘हाइलाइट’ गराउन खोज्ने बाठो राजनैतिक पात्र पनि हुन्, नेपाली राजनैतिक वृत्तमा । प्रस्तुत तस्विरले भने वालक कालिदास् सम्झाउँछ । विदुषी विद्योत्तमासंग विवाह गराइनु र विद्वान बन्नु पूर्व वालक कालिदास पटमुर्ख थिए रे , उल्टो पट्टि बसेर रुखको हाँगा काट्ने ! तस्विरमा जस्तो तलबाट घर भत्कायो भने गर्ल्लम्म लडेरै पुर्न सक्छ भन्ने भेउ त हुनै पर्ने थियो ! भनिन्छ, ठूलो सोच्ने र धेरै बुद्धि हुनेको सानो कुरोमा ध्यान नपुग्न पनि सक्छ । अनि त्यतिका ठूलो पूर्व प्रधानमन्त्रीलाई एक्लै काममा लगाएर रमिता हेर्न सक्ने त्यो जमातले पनि त यो प्रचारको फोटो शेसनलाई विश्वासिलो बनाउने कोशिस गर्नु पर्थ्यो नि । कमसेकम , काम गर्ने खालको कपडा र हेल्मेट लगाएर , अलिकति धुलो-मैलो घसिएको फोटो बढी पत्याउने खालको हुन्थ्यो भने सेवाको चित्रण राजनैतिक प्रचारमा बढी प्रभावकारी हुन सक्थ्यो पनि । भलै त्यो, सेवा नभएर राजनैतिक स्टण्ट नै किन नमानियोस् ।
कतिपय राजनैतिक दलका नेताहरु भूकम्पको बिपत्तिबाट प्रभावित गाउँ र शहरमा उद्धार र सहयोग गर्ने उद्देश्यले पार्टीका झण्डा बोकेर उपस्थित भए । पीडितको दिमागमा पार्टी झण्डाको छाप हानेर भोलिको चुनाबमा ‘तँलाई दुःख पर्दा हामी आएका थियौँ नि, बिर्सिस् ?’ भन्ने निहितार्थ बोकेको यो अवस्था emotional blackmailing को उदाहरण तुच्छ उदाहरण नै हो । कुनै बिदेशी धर्म प्रचारक संस्थाले राहतको चामलको प्याकेटभित्र बाइबल हालेर धर्म प्रचार गर्न खोज्नु र झण्डा बोकेर पार्टी वा व्यक्तिलाई विशिष्ट साबित गराउने हेतूले कथित राहत-उद्धारमा खटिनुका नियतहरु आधारभूत रुपमा एउटै हुन् । सारमा ती दुबैको लक्ष्य अरूका बिरुद्ध आफ्नो एकल विशिष्टता साबितीको ध्येय हो । तर, यो महाबिपत्तिमा ९५% भन्दा बढी उद्धार र राहतको समर्पणमा खटिएर ज्यानको बाजी समेत लगाएका सेना, पुलिस, राष्ट्रसेवक र बिदेशी सहयोगीहरुको कुनै भाषा, जात, राजनीति र अभिष्ट थिएन किनभने ती नितान्त सेवा भावले मात्र समर्पित थिए । तर, ५% पनि योगदान नभएकाहरु प्रचारमा छाए । सेवामा खट्नेले चाहिने नै भए राष्ट्रिय झण्डा बोक्दा हुन्थ्यो , त्यो नभए मन भित्र बोकिएको सेवाको झण्डा पर्याप्त थियो ।
समाज र देश पीडामा भएको बेला हामी बीच बलात् खडा गरिएका मानव निर्मित तिक्तता र भिन्नताहरुको सरहद भन्दा हामी माथि उठ्न सक्नु पर्थ्यो । जात, नश्ल, राजनीतिका नाममा खेती गर्नेहरुले प्रवर्द्धन गरिरहेका संकीर्ण सोच भन्दा माथि उठेर मानव हुनुको साझा सामूहिक चिनारीलाई हामीले उद्बोधन गरेको हुन सक्नुपर्थ्यो । तर , यस पटकको महाबिपत्तिले पनि हामीलाई हाम्रा लघु चिनारीहरु तर्फ बढी आकर्षित गरिरह्यो , हामीले मानवीयतालाई भन्दा अमूक राजनैतिक, दल र व्यक्तिको पक्षमा यसलाई ‘क्यास’ गर्नुपर्छ भन्ने नै बुझेको देखियो ।
माथिको तस्वीर र मिडियामा छाएका यस्तै सहयोगका दृश्यहरु पछि जेन गुरु Thic Nhat Hanh का यी शब्दहरु अचानक मस्तिष्कमा तैरिएः “if your love is only a will to possess, it’s not love” । पूर्वीय चिन्तन र जीवन व्यवहारमा निष्काम कर्म योगको त्यो आशयप्रति दाता र सहयोगीलाई अक्सर सचेत गराइएको पाइन्छ ‘सेवा समर्पण भावले पूर्ण र नामको तृष्णाबाट मुक्त हुनु पर्छ’ । आफ्ना उदार र सहयोगी कर्मलाई नाम र प्रचारको प्रलोभनको नगदमा रुपान्तरण गर्न चाहनु निचता हो , सहयोग हैन ।
अन्त्यमा, हाम्रो मान्यताले हामीलाई सिकाउँछ की सेवा , दान वा मद्दत गर्न चाहने असल मानवले, आफ्नो काम गराईलाई डंका पिटेर प्रचारमा लैजाने लोभ राख्नु हुन्न । त्यसो गरियो भने त्यो सेवा नभएर आदानप्रदान वा व्यापार हुन जान्छ । ‘सेवा हि परमो धर्म’ भन्ने विश्वासको निचोड पनि त्यही हो । समस्याको गौँडो कुरेर , सेवाको व्यापार गर्नु हुँदैन।
(लेखक लामो समय शिक्षण सेवासंग सम्वद्ध हुनुहुन्छ र विविध सामयिक विषयमा लेख्न मन पराउनु हुन्छ )


0 comments :
Post a Comment