English Edition

युग परिवर्तनको सवाल

‘योनासिएको देशको धूलोबाट हाम्रो देश र जाति झन् उच्च श्रेणीमा पुगोस् भन्ने आशा राख्तछु । बेफाइदाबाट फाइदाको जन्म होस् भनी प्रार्थना गर्दछु ।’
ब्रह्मशमशेर जबराकृत पुस्तक ‘नेपालको महाभूकम्प १९९०’ को भूमिकाबाट साभार यो पंक्तिले विपत्देखि युग परिवर्तनसम्म संकेत गर्दछ । र, १९९० सालको भूकम्प एक युग परिवर्तनको द्योतक बनेको पुस्तक बोल्दछ ।
त्यसबेला भूकम्पले शासक र शासितबीचको सम्बन्ध निकै प्रगाढ बनाइदिएको अनि शासक र शासितहरू मिलेरै तिनको ‘गच्छे’ ले भ्याएसम्मको अर्को युग प्रारम्भ र निर्माण गरेको देखिन्छ । अहिले फेरि ८२ वर्षपछि २०७२ वैशाख १२ को भूकम्पले त्यस युगको विध्वंस गरिदियो । भूकम्पले राणाकालीन युगमा निर्माण गरिएका प्रशासनिक केन्द्रहरूदेखि निजी र सार्वजनिक अरू धेरै संरचनाहरू निमेषभरमा ढालिदियो । अब नयाँ युग प्रारम्भ र निर्माणको सबाल छ । भूकम्पको सामना गर्ने हो भने पनि ठीक यतिबेला पीडित नेपालीले भोगिरहेका पीडा दूर गर्न सकिने आधार खडा छ ।
व्यावहारिक आधारहरू प्रशस्त बाँसको उत्पादन हुने तराईबाट भूकम्प प्रभावित सबै जिल्लाका लागि पुग्ने बाँस ल्याएर अस्थायी घर निर्माण गर्न सम्भव भइकन यसपालि हामीले किन त्यसो गरिरहेका छैनौं ? जो ९० सालमा गरिएको थियो । अझ ९० सालको भन्दा बढी सम्भावना छ यतिबेला । सरकारले विदेश गएकालाई त परै जाओस् स्वदेशमै रहेकालाई पनि सार्वजनिक स्वयम्सेवाका लागि आह्वानसमेत गरेन । युवा परिचालन कार्यविधि पारित भएको जनाउ गरी विज्ञप्ति निकालेका भरमा परिवर्तन सम्भव छैन । यस्तो बेला राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान नै चलाएर युवालाई सशक्त परिचालन गर्न  सकिन्थ्यो र राष्ट्रिय आह्वान गर्न सकिन्थ्यो । युवाहरूलाई एकत्रित गरी परिवर्तनको रेखा कोर्न सकिन्थ्यो स्वदेशमै । यसका अलावा विदेशमा रहेका युवाहरूलाई पनि एकसाथ स्वेदश फर्काएर आफ्नै देशमा घर बनाउनका लागि आह्वान गर्न सकिन्थ्यो र पुनर्निर्माणमा लगाउन सकिन्थ्यो । वैशाख १२ गतेकै दिन सरदर १ हजार ५ सय युवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छाडेकामा यो क्रम केही अंकले पनि कम भएको छैन । १२ वैशाखपछि पनि नेपालका युवाहरू उही क्रममा भत्केको देश के भनौं घर छाडेर परदेशतिर श्रमका लागि उडी नै रहेका छन् । यस्तो बेला श्रमको खास मूल्य तोकिदिएर हरेक दिन देश छाडिरहेका सारा युवाहरूलाई रोक्न सक्ने वातावरण हुँदाहुँदै पनि सरकारले यस्तो केही गरेन ।
जनताका साथी जनता मात्रै भूकम्पलगत्तै प्रभावित प्राय: जिल्लामा पुग्दा देखिएको यथार्थ के हो भने, यदि स्वदेश, विदेशमा रहेका नेपालीजनले तत्कालै भूकम्प प्रभावितका लागि आपतकालीन राहत सामग्री नपुर्‍याएका भए यो समयसम्म प्रभावित अरू हजारौं हजारको मृत्यु भइसकेको हुनेथियो । खासगरी देशको मध्यमवर्गले यसपटक देखाएको सहायताभाव नै आज जनभाव भएको छ । सरकारले बाँडेको दाल, चामल वा खाद्यान्नको हिसाबै गरेर देखाए पनि त्यो लाजलाग्दो अंकमा छ । भूकम्पपछि आज यो देशका अति प्रभावित क्षेत्रमा जो जति जीवित छन् तिनको प्राणमा स्वदेश, विदेशका नेपालीकै अन्न परेको छ, सरकारको मद्धत होइन ।
यसपटकको विपत्को व्यवस्थापन यतिसम्म हदबाहिर गयो कि को–को आएर कुन–कुन स्थानमा के–के गरे भन्ने जानकारी सरकारलाई छैन । संसारका कुनाकुनाबाट अनेकन प्रकारका स्वार्थ भिरेर आएका विदेशीहरू गाउँगाउँमा राहत वितरण गरिरहेका देखिन्थे । राहत वितरणमा सरकारको अनुगमन नभएबाट वा सरकार मौन र निरीह भएका कारण कतिपय विदेशीहरूको नियत पनि सही देखिएन । भूकम्पले ढालेका धरहरा, धरोहरहरू, भवन र घरहरूको धूलोबाट अब निस्किनु छ नयाँ पुस्ताको नयाँ शक्ति । तर, यही मौकामा संविधान सार्वजनिक गर्ने लहड र विपत् सामनाको असफलताबाट भाग्ने कोसिसलाई छुट नदिएर नयाँ शक्तिको हस्तक्षेप जरुरी छ ।
वैशाख १२ गते भूकम्प गएपछि सारा सखाप भए जसरी विश्व समुदायसामु अति प्रचार गरियो । यसैका कारण नेपाल आउँदै गरेका हजारौं पर्यटकहरू बीच बाटोबाटै फर्किए, आउने योजना बनाएकाहरूले रद्ध गरे र विपत्माथि झन् ठूलो असर पार्ने प्रकारको काम भयो, यसपालि । तर, खासमा नेपाल त्यति धेरै क्षतिग्रस्त छैन जति प्रचार गरिएको छ । नेपालका ७५ जिल्लामध्ये १४ वटा जिल्ला भूकम्पका कारण अलि बढी प्रभावित भएका हुन्, ६१ जिल्लामा भूकम्पको खास असर छैन । नेपालमा रहेका पर्यटकीय आकर्षणका १० वटा राष्ट्रिय निकुञ्जमध्ये दुइटा निकुञ्जमा मात्रै भूकम्पको असर परेको हो । सर्वाधिक आकर्षणका अरू सबै निकुञ्जहरूमा आनन्दले भ्रमण गर्न सकिने अवस्था छ । भूकम्पका कारण नेपालको कुनै एउटा पनि राजमार्ग ठप्प भएको छैन ।
विश्व सम्पदा सूचीमा सूचीकृत ८ क्षेत्रमध्ये दुई वटालाई मात्रै भूकम्पले असर गरेको हो । भूकम्पलगत्तै देशका ९० प्रतिशत ठूला होटलहरू पूर्ववत् सञ्चालित छन् । नेपालको प्रमुख पर्यटकीय केन्द्र पोखरा, लुम्बिनी, बर्दिया, सौराहालगायतका स्थानमा होटलहरू निर्बाध सञ्चालित छन् । नेपालका ३५ वटा ट्रेकिङ रुटमध्ये दुई वटालाई मात्रै भूकम्पले असर गरेको हो, अरू सबै पूर्ववत् छ । नेपालको अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलमा भूकम्पका कारण कुनै असर परेको छैन, सबैतिर नियमित उडान भइरहेको छ । नेपालमा नियमित इन्टरनेट, टेलिफोन, एटीएम सबै चलेकै छ । भूकम्पपछि कुनै सरुवा रोगले महामारीको रूप लिएको पनि छैन । त्यसैले यहाँ घुम्न आउने पर्यटकका लागि कुनै पनि प्रकारको सामान्य अप्ठ्यारो र अवरोध छैन । र, भूकम्पपछिको नेपाल सुरक्षित छ । नेपाल आउने कसैका लागि पनि यहाँ कुनै जटिलता छैन बरु मानवीय भाव बोकेकाहरूका लागि मद्धतको अवसर छ ।
श्रोत इ कान्तिपुर 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment