काठमाडौं /
पूर्वसभासद् शान्ता चौधरीले टीकापुर घटनाका बारेमा आफ्नो स्पष्ट विचार ब्यक्त गर्दै आएकी छन् | चौधरी थारुको माग जायज भएपनि त्यो दिनको घटना र प्रवृतिलाई स्वागत गर्न नसकिने बताएकी छिन | थारुहरु भुमी पुत्र हुन्, देशको माया अरुलाई भन्दा थारु समुदायलाई धेरै भएको बताएकी छिन् ।
उनले लेखेकी छिन्, ‘म पनि थारु हूँ र दावी गरेर भन्छु– नेपालमा सबैभन्दा शान्ति पक्षधर समुदाय थारु हो । यो देशको माया अरुलाई भन्दा धेरै नै छ थारु समुदायलाई । हत्या हिँसाको विरुद्धमा थारु समुदाय स्पष्ट रुपमा उभिन्छ ।’
दुई बर्षे बालक लाई मारेर अघि बढेको आन्दोलनप्रति तिक्तता ब्यक्त गर्दै शान्ता चौधरीले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेकी छिन :
शान्ता चौधरीको स्टाटस :-
दुई वर्षे बालकलाई मार्ने कस्तो आन्दोलन हो ? दूधमुखे बालक मारेर आमाको काख उजाड बनाउनेलाई आन्दोलनकारी कसरी भन्ने ? लोकतन्त्रमा हिँसात्मक आन्दोलन कुनै हालतमा मान्य हुन सक्दैन । टिकापुरमा बालक सहित निहत्था प्रहरी मार्ने कस्तो आन्दोलन हो ? युद्धको बेला समेत निहत्था सुरक्षाकर्मीलाई मारिँदैन । थारु समुदायलाई अगाडि सारेर हत्या हिँसा गर्ने अपराधी हुन् ।
यसको दोष सिंगो थारु समुदायलाई दिन खोजिन्छ भने त्यसलाई कुनै हालतमा स्वीकार गरिँदैन । केही व्यक्तिले षडयन्त्रमूलक ढंगले गरेको अपराधमा सिंगो थारु समुदायलाई दोष दिने र थारुलाई आक्रमण गर्ने काम भयानक अपराध हो । म पनि थारु हूँ र दावी गरेर भन्छु– नेपालमा सबैभन्दा शान्ति पक्षधर समुदाय थारु हो । यो देशको माया अरुलाई भन्दा धेरै नै छ थारु समुदायलाई । हत्या हिँसाको विरुद्धमा थारु समुदाय स्पष्ट रुपमा उभिन्छ ।
शान्तिपूर्ण आन्दोलन भन्ने अनि जनतालाई घरेलु हतियार र लाठी सहित आन्दोलनमा आउन बाध्य पार्ने, उत्तेजना फैलाउनेलाई राजनीतिक शक्ति मान्न सकिन्न । थारु समुदायको हित गर्छु भन्दै आन्दोलन गर्ने अनि त्यही समुदायलाई अगाडि सारेर गरिएको हिँसालाई समर्थन गर्ने काम थारु नेता कसैले गर्न हुँदैन । हो, थारु समुदाय विभेद र अन्यायमा परेको छ तर हिँसा गरेर न्याय पाउन सकिँदैन । शान्तिपूर्ण आन्दोलनमा जुन शक्ति हुन्छ हिँसात्मक आन्दोलनमा हुँदैन । शान्तिपूर्ण आन्दोलनलाई बदनाम बनाउने र आफूले आव्हान गरेको आन्दोलनमा भएको नैतिक जिम्मेवारी नलिने गैरजिम्मेवार काम लोकतान्त्रिक हुँदैन ।
लोकतन्त्रमा आन्दोलन गर्न सबैले पाउनुपर्छ, माग राख्न पाउनुपर्छ । तर आन्दोलन शान्तिपूर्ण हुनुपर्छ, हिँसात्मक आन्दोलन गरेर थारु समुदाय मात्र होइन कुनै समुदायलाई बदनाम बनाउन पाइन्न । आन्दोलनको नाममा साम्प्रदायिकता र हिँसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नुपर्छ । थारु समुदायको घर पसल जलाउने हुन् या थारु समुदायको हितको नाममा हिँसा मच्चाउने हुन्, उनीहरुलाई जातको आँखाले नहेरौं, उनीहरुलाई कानुनको कठघरामा उभ्याएर दण्ड दिनैपर्छ, मुलुकमा कानुनी राज हुनैपर्छ ।
अहिले देश रोइरहेको छ, रोइरहेको देशको आँशु पुछ्न नयाँ संविधान ल्याउनैपर्छ । यो स्थितिमा सबैलाई सकारात्मक सोच राख्न, शान्तिको पक्षमा उभिन सबैलाई आग्रह गर्दछु ।
0 comments :
Post a Comment